मेगा ड्रिम सहकारी सञ्चालकले गरे बचतकर्ताको साढे २ अर्ब बढी अपचलन

मेगा ड्रिम सहकारी सञ्चालकले गरे बचतकर्ताको साढे २ अर्ब बढी अपचलन


३० जेठ, काठमाडौं । बालाजु माछापोखरीमा केन्द्रीय कार्यालय रहेको ‘मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्था’ सञ्चालक तथा व्यवस्थापकले बचतकर्ताको २ अर्ब रुपैयाँभन्दा बढी अपचलन गरेको तथ्य भेटिएको छ ।

सहकारी सञ्चालक समिति र उनीहरूका आफन्त र व्यक्तिगत लगानी भएका कम्पनीमा ऋण लगानी गर्दै अपचलन गर्ने गरेको तथ्य भेटिएको हो ।

प्रहरी वृत्त बौद्धले गरेको अनुसन्धान अनुसार मेगा ड्रिम सहकारी अध्यक्ष महाशंकर रेग्मी, कोषाध्यक्ष रविनकुमार कार्की, लेखा समिति संयोजक उमाकान्त न्यौपाने र सञ्चालक शेखर बस्नेतले संस्थाको रकम दुरुपयोग गरी व्यक्तिगत जग्गा किनेको, ऋण लिएर नतिरेको तथा निजी कम्पनीमा समेत लगानी गरेको खुलेको छ ।

प्रहरी वृत्त बौद्धले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा  सरकारी वकिलको कार्यालय काठमाडौंले उक्त सहकारी अध्यक्ष रेग्मीसहित १० जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको छ । सहकारी संस्थाका १ सय ६१ बचतकर्ताको २१ करोड ५६ लाख  ९४ हजार रुपैयाँ बराबर मागदाबी परेको छ ।

प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालय काठमाडौंले प्रतिवादीहरू वासुदेव भट्ट, ईन्द्रप्रसाद गेलाल, शरदकुमार अधिकारी, महाशंकर रेग्मी, रविनकुमार कार्की, शेखर बस्नेत, राजकुमार श्रेष्ठ, उमाकान्त न्यौपाने, प्रकाश घिमिरे र सुभद्रा चौलागार्इंले २१ करोड ५६ लाख ९४ हजार ठगी गरेको देखिएको भन्दै अदालतमा मुदा दायर गरेको हो ।

प्रतिवादीहरूलाई मुलुकी अपराध संहिता, २०७४ बमोजिम सजाय गरी जाहेरीकर्ताको मागदाबी समेत उपलब्ध गराउन माग गरिएको छ ।

कार्यालयले सहकारी सचिव ईन्द्रप्रसाद गेलाल, उपाध्यक्ष वासुदेव भट्ट, सञ्चालक शरदकुमार अधिकारी र पूर्वअध्यक्ष तथा लेखा समिति संयोजक उमाकान्त न्यौपानेलाई प्रतिवादी बनाएको छ ।

यस्तै हाल फरार प्रतिवादीहरू सहकारी अध्यक्ष महाशंकर रेग्मी, कोषाध्यक्ष रविनकुमार कार्की, सञ्चालकहरू शेखर बस्नेत, राजकुमार श्रेष्ठ, लेखा सुपरीवेक्षण समिति सदस्यहरू प्रकाश घिमिरे र सुभद्रा चौलागाईंलाई पनि प्रतिवादी बनाइएको छ । उनीहरूका हकमा अदालतबाट मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ अनुसार पक्राउ पुर्जी जारी गर्नसमेत माग गरिएको छ  ।

पछिल्लो डेढ वर्षदेखि सहकारीको कार्यालय तथा सेवा केन्द्र बन्द गरेर अध्यक्ष तथा व्यवस्थापक फरार थिए । बौद्ध प्रहरी वृत्तले १ जेठमा सहकारी व्यवस्थापक तथा सञ्चालक समिति सचिव ईन्द्रप्रसाद गेलाल, उपाध्यक्ष वासुदेव भट्ट र सञ्चालक शरदकुमार अधिकारीलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो । यसैबीच सहकारीको लेखा सुपरीवेक्षण समिति संयोजक उमाकान्त न्यौपानेलाई समेत पक्राउ गरी अनुसन्धान प्रतिवेदन बुझाइएको हो ।

सहकारीले काठमाडौं उपत्यकाका सात ठाउँमा सेवा केन्द्र स्थापना गरी सर्वसाधारणबाट बचत संकलन गर्दै आएको थियो ।

सहकारीमा काम गरेका एक कर्मचारीका अनुसार विभिन्न सेवा केन्द्रमा कर्मचारी तथा आफन्त समेतलाई उच्च ब्याजको प्रलोभन दिएर बचत संकलन हुने र संकलित बचत सोही सेवा केन्द्रमार्फत लगानी भए पनि अन्य रकम भने केन्द्रीय कार्यालयमा ट्रान्सफर हुने गरेको थियो ।

‘सेवा केन्द्रका प्रबन्धकलाई २ लाखभन्दा बढीको ऋण स्वीकृत गर्ने अधिकार नै दिइएको थिएन । आफैं आबद्ध संस्था भएकाले आफन्त र चिनेजानेका मान्छेलाई समेत राम्रो ब्याज पाइने भनेर बचत राख्न लगाएका थिए । आफू त समस्यामा परियो नै आफन्तको पनि करौडौं डुबेको छ,’ संस्थामा काम गरेका अर्का एक कर्मचारीले भने ।

बौद्ध प्रहरीले अनुसन्धान गरे पनि प्रहरीमा उजुरी दिन गएका पीडित बचतकर्ताको उजुरी समेत नलिई अनुसन्धान प्रतिवेदन बुझाएको ती कर्मचारीले अनलाइनखबरलाई बताए ।

प्रहरीले २१ करोड रुपैयाँ मागदाबीको रायसहितको प्रतिवेदन पठाए पनि सहकारीमा बचतकर्ताको २ अर्बभन्दा धेरै रकम अपचलन भएको देखिन्छ ।

सोही  सहकारीमा काम गरेका अर्का एक कर्मचारीको अनुसार संस्थामा समस्या आएको करिब दुई वर्ष भएको छ । त्यसयता सञ्चालक समितिमा भएकोहरूले आफन्तको १/२ करोड बचत फिर्ता गरेको भए पनि कार्यालय नै बन्द गरेर सञ्चालकहरू सम्पर्कविहीन भएका कारण बचत फिर्ता भएको छैन ।

पूँजी तथा दायित्व सवा २ अर्ब

सहकारीको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन अनुसार २०७९ असार मसान्तमा कुल बचत दायित्व मात्रै १ अर्ब ७४ करोड १५ लाख रुपैयाँ छ ।

संस्थाको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन ।

त्यस्तै सेयर पूँजी १६ करोड ४५ लाख छ । अन्य कोष ५ करोड ५२ लाख र कर्जा जोखिम कोषमा ९ करोड २८ लाख ३० हजार छ ।

यस्तै राष्ट्रिय सहकारी बैंकबाट लिएको तिर्नुपर्ने ऋण दायित्व १५ करोड ३० लाख छ । २०७९ असार मसान्तमा संस्थाको कुल पूँजी तथा दायित्व २ अर्ब २५ करोड ९३ लाख रुपैयाँ छ । जसमध्ये २ अर्ब ३ करोड १२ लाख कर्जा लगानी र १८ करोड ८५ लाख बैंक मौज्दात देखाइएको छ ।

ऋण असुली र बैंक मौज्दातबाट केही रकम फिर्ता भए पनि बचतकर्ताको बचत तथा सेयर समेत १ अर्ब ७० करोडभन्दा बढी रकम फिर्ता गर्नुपर्ने दायित्व संस्थामा रहेको ती कर्मचारीले बताए ।

सञ्चालकले यसरी गरे रकम अपचलन

सहकारी अध्यक्ष महाशंकर रेग्मीले संस्थाको रकम सबैभन्दा धेरै दुरुपयोग गरेको ती कर्मचारीले बताए । महाशंकरका भिनाजु जीवन ओझाको नाममा ५ करोड ऋण दिइएको छ । उनी शुक्रपथ सहकारीमा प्रमुख कार्यकारी अधिकृत भएर समेत काम गरेका थिए ।

चोभारमा जग्गा रहेको भन्दै हुपील्यान्ड भन्दा पछाडि नेपाली सेनाले प्लानिङ गरेको सँगै रहेको जग्गा पनि देखाउने गरेका थिए । पछिल्लो समय सहकरी सचिव ईद्रप्रसाद गेलालले त्यसमा ऋण लगानी गरेको बताउँदै आएका थिए ।

उक्त जग्गामा सहकारीको १६ करोड लगानी रहेको संस्थाका कर्मचारी बताउँछन् । ‘संस्थाका नाममा उक्त जग्गा छैन । सञ्चालकहरूले अन्य व्यावसायिक साझेदार र आफन्तका नाममा विनाधितो ऋण देखाएर उक्त जग्गामा लगानी गरेका हुन्,’ एक कर्मचारीले भने, ‘उक्त जग्गा बिक्री गर्दा ३० करोड रकम आउने र त्यसबाट बचत फिर्ता गर्ने भनेर सहकारीका सञ्चालकले बचतकर्तालाई आश्वासन देखाउँदै आएको थिए ।’

उनका अनुसार उक्त जग्गा सहकारी अध्यक्ष महाशंकरका व्यावसायिक साझेदार गुरु तिमल्सिना, निरहरि उपाध्याय, महाशंकरका भिनाजु जीवन ओझा लगायतका नाममा छ ।’

निरहरि उपाध्याय काठमाडौं न्युरोडमा रहेको शुक्रपथ सहकारीका पूर्वअध्यक्ष हुन् । जीवन ओझा शुक्रपथ सहकारीका कार्यकारी सचिव हुन् । मेगाड्रिम सहकारीका सचिव ईन्द्रप्रसाद गेलालले विगतमा शुक्रपथ सहकारीमा समस्या हुँदा व्यवस्थापक भएर काम पनि गरेका थिए ।

त्यसबेला शुक्रपथमा समस्या हुँदा मेगाड्रिमबाट नै अन्तरसहकारी फन्ड ट्रान्सफर गरेर समस्या समाधान भएको संस्थामा काम गरेका कर्मचारीहरू बताउँछन् ।

सहकारी अध्यक्ष रेग्मीले अमृता श्रेष्ठ नामक अर्को एक व्यक्तिसँगको साझेदारीमा  १६ रोपनी जग्गा किनेका छन् ।  उक्त जग्गा सहकारीको स्रोतबाट नै खरिद भएको संस्थाका एक कर्मचारीले बताए ।

यस्तै रेग्मीले अमृता श्रेष्ठको लगानी रहेको एसडीजी नामक कम्पनीमा समेत सेयर लगानी गरेर साझेदार बनेका थिए ।

मेगा ड्रिम सहकारी सञ्चालकले गरे बचतकर्ताको साढे २ अर्ब बढी अपचलन
अमृता श्रेष्ठ र महाशंकर रेग्मीको नाममा रहेको जग्गा ।

सहकारी सचिव गेलालले प्ररीलाई दिएको बयानमा पनि उक्त कुरा पुष्टि गरेका छन् । ‘संस्थाका अध्यक्ष महाशंकर रेग्मीले अमृता श्रेष्ठले सञ्चालन गरेको एडीजी नामक खाद्य सप्लायर्सको कम्पनीमा आफ्नो समेत सेयर खरिद गरी आफू त्यो कम्पनीमा सेयरवाला भई संस्थाबाट करिब २० करोड ऋण  प्रवाह गरेका थिए । उक्त ऋण समेत उठ्न सकेको छैन,’ उनले बयानमा भनेका छन् ।

सहकारीले लगानीको गरेको १० करोडसम्म ऋण लिने अधिकांश ऋणीले ऋण चुक्ता नगर्दा अदालतमा मुद्दा दायर गरेको उनको बयान छ । ‘अध्यक्ष महाशंकर रेग्मीले आफैं लिएको ७ करोड ऋण तिरेका छैनन्,’ उनले बयानमा भनेका छन् ।

अध्यक्ष रेग्मीले काठमाडौं दहचोकमा जग्गा किनेको सहकारी सचिव गेलालले आफ्नो बयानबाट पुष्टि गरेका छन् । यस्तै सहकारी अध्यक्ष रेग्मीको नाममा चितवन तथा उनकी श्रीमती चण्डिका हुमागाईं रेग्मीको संयुक्त नाममा चोभारमा पनि जग्गा रहेको उनको बयान छ ।

सहकारी कोषाध्यक्ष रविनकुमार कार्कीले लिएको ५ करोड ऋण भुक्तानी नभएको सचिव गेलालले बयानमा बताएका छन् । जोरपाटीस्थित लिम्पिया इन्टरनेसनल स्कुलमा समेत सहकारीका तर्फबाट करिब ८ करोडको सेयर रहेको उनको बयान छ ।

सोही स्कुलको सेयर बिक्री गर्ने योजनामा रहेका सञ्चालकहरूलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट सिभिलमा खटिएको टोलीले ग्राहक बनेर पक्राउ गरेको थियो ।

सीआईबीले अनुसन्धानका लागि बौद्ध वृत्तमा बुझाएको हो । उक्त स्कुलमा १६ करोडभन्दा बढी सहकारीबाट लगानी भएको एक कर्मचारीले बताए ।

सहकारी सञ्चालकमध्येका शेखर बस्नेतको नामबाट समेत झापा जिल्लामा समेत लगानी रहेको जग्गा छ ।

बचतकर्तालाई महँगो जग्गा बेच्ने प्रयास

सहकारी सञ्चालकले बिचौलिया प्रयोग गर्दै बचतकर्तालाई १० धुरको १५ लाख मूल्यमा जग्गा दिने र बचतमा १० लाख कटाउने तथा ५ लाख थप गर्नुपर्ने गरी सर्लाही हरिवन नगरपालिकामा जग्गा पास गर्न समेत बोलाएका थिए ।

संस्थामा करिब ६ लाख बचत भएका एक बचतकर्ताले ९ लाख रुपैयाँ थपेर १५ लाखमा हरिवन नगरपालिकाको डाबरी भन्ने स्थानमा जग्गा पास गरेर लिए र पास गरेको जग्गा बिक्री गर्न खोज्दा ६ लाखमा पनि १० धुर जग्गा बिक्री हुने अवस्था नभएको ती बचतकर्ताले बताए ।

‘पहिले ६ लाख मात्रै फसेको थियो, जग्गा भए पनि लिन्छु भन्दा ९ लाख थपेर पास गरेँ । अहिले जग्गाको ६ लाखभन्दा नआउने भयो । अर्को ३ लाख पनि फस्यो,’ ती बचतकर्ताले अनलाइनखबरसँग भने ।

संस्थामा आबद्ध कर्मचारी र उनीहरूका आफन्तलाई भने बचत रकमबाट नै समायोजन हुने र रकम थप गर्नु नपर्ने गरी सर्लाहीमा जग्गा पास गर्न बोलाएको उनले बताए ।

सहकारीका आधाकारिक व्यक्तिभन्दा पनि जग्गाको कारोबार गर्ने बिचौलिया मार्फत उक्त अफर आउने गरेको ती बचतकर्ताले बताए । सहकारी कोषाध्यक्ष रविनकुमार कार्कीले झापा अर्जुनधारामा जग्गा रहेको भन्दै उक्त जग्गा लिन बचतकर्तालाई आग्रह गरेका थिए ।

संस्थामा ५ सयभन्दा धेरै ऋणी छन् । जसमध्ये साना ऋणी केही भने पनि मुख्य ऋणीहरू सञ्चालक र व्यवस्थापकसँग जोडिएको र ऋण उठाउन फोन गर्दा सहकारीकै पदाधिकारीले चलाएको वा उनीहरूसँग मिलाइसकेको जवाफ आउने गरेको उनले बताए ।

सहकारीको थानकोट शाखाका प्रबन्धक अध्यक्ष महाशंकर रेग्मीको मामाको छोरा नाता पर्ने दामोदर शर्मा थिए । उक्त सेवा केन्द्रको बचत दायित्व १६ करोड भन्दा धेरै छ भने उठ्न बाँकी ऋण ८० लाख मात्रै छ ।

दामोदर शर्माले उक्त सेवा केन्द्रमा बचत रकम चेक काटेर केन्द्रीय कार्यालयमा जम्मा गर्ने गरेका थिए । अन्य सेवा केन्द्रमा पनि आफन्त वा विश्वासिलो पात्रलाई नै प्रबन्धकको जिम्मा दिएर त्यसरी नै रकम केन्द्रीय कार्यालयमा ट्रान्सफर गरेर दुरुपयोग गरिँदै आएको थियो ।

यस्तै सहकारी सचिव गेलालका सालो सन्तोष गजुरेलले न्युरोड सेवा केन्द्रको प्रबन्धकका रूपमा काम गर्ने गरेका थिए । गजुरेल मार्फत सहकारी सचिव गेलालले उठ्नुपर्ने ऋणमार्फत आफन्तको बचत मिलाइसकेको र उक्त विवरण संस्थामा इन्ट्री भने भएको छैन ।

गजुरेल मार्फत नै गेललले आफन्तहरूलाई ऋण दिलाए पनि त्यसको यकिन विवरण भने नभएको स्रोतले बतायो ।

सहकारी सचिव जीवन ओझाका दाइ दीपकराज ओझाले संस्थाको चाबहिल सेवा केन्द्र हेर्दै आएका थिए । यसरी सञ्चालक र व्यवस्थापक तथा उनीहरूको आफन्तले सेवा केन्द्रमार्फत उठाएको रकम केन्द्रीय कार्यालयमा लैजाँदै दुरुपयोग गर्दै आएको देखिन्छ ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School