मुसुरो उत्पादन गर्ने संसारकै सातौं ठूलो देश नेपाल, किन घटिरहेछ निर्यात ?


News Summary

Generated by OK AI. Editorially reviewed.

  • नेपाल संसारमा मुसुरो दाल उत्पादन गर्ने सातौं ठूलो देश हो, तर सन् २०८०/८१ मा उत्पादन २० प्रतिशतले घटेर १ लाख ५२ हजार टनमा सीमित भयो।
  • नेपालले आव २०७८/७९ देखि २०८१/८२ सम्म मुसुरो आयात निरन्तर बढाएको छ, चालु आव पहिलो तीन महिनामा ७ हजार ५ सय टन आयात भएको छ।
  • मुसुरो उत्पादन घट्नुको मुख्य कारणलाई ‘टुहुरो बाली’ को रूपमा हेरिनु, बजार व्यवस्थापन समस्या र खुला सीमाबाट प्रतिस्पर्धी मूल्य कायम गर्न नसक्नु मानिएको छ।

२८ कात्तिक, काठमाडौं । संसारमा सबैभन्दा धेरै परिमाणमा मुसुरो दाल उत्पादन गर्ने ‘टप टेन’ देशको सूचीमा नेपाल रहँदै आएको तथ्य नयाँ होइन । यो सूचीमा नेपाल परेको अहिले होइन, डेढ दशक नाघिसकेको छ ।

नेपाल अहिले मुसुरो धेरै उत्पादन गर्ने संसारकै सातौं ठूलो देश हो । एक दशकअघि त पाँचौं स्थानमा थियो । लामो अवधिदेखि नेपाल टप टेनभित्रै छ । सन् २०२३ यो सूचीमा नेपालभन्दा पछाडि बंगलादेश, काजकस्तान र चीन छन् ।

दालका रूपमा खाइने कोशेबाली अन्तर्गतको मुसुरो उत्पादनमा विश्वमै अग्रणी स्थानमा पर्ने नेपालमा पछिल्लो पटक भने यही मुसुरो विदेशबाट किनेर खाने गरिएको छ ।

त्यतिबेला मुसुरो धेरै उत्पादन हुने बालीमात्र नभई निर्यात हुनेमा पनि पर्थ्यो । बंगलादेशसँगको व्यापारमा प्रमुख हिस्सा मुसुरोकै थियो ।

सयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ) ले आर्थिक वर्ष २०७१/७२ मा विश्वभरि मुसुरो उत्पादन गर्ने देशको सूचीमा नेपाललाई पाँचौ स्थानमा राखेको थियो । त्यस वर्ष नेपालमा २ लाख २६ हजार ८ सय ३० टन मुसुरो उत्पादन भएको तथ्यांकले देखाउँछ ।

त्यो बेला क्षेत्रफलका आधारमा धेरै मुसुरो खेती गर्नेमा क्यानडा, भारत, अस्ट्रेलिया, टर्कियपछि नेपाल थियो । आव २०७१/७२ मा नेपालमा २ लाख ५ हजार ९ सय ४९ हेक्टर क्षेत्रफलमा मुसुरो खेती भएको थियो ।

सन् २००९ देखि २०२३ सम्मको तथ्यांक अनुसार नेपाल दाल उत्पादनका लागि विश्वको सातौं ठूलो देश हो । नेपालको वार्षिक उत्पादन २.८४ प्रतिशतले बढ्दै गएको देखिन्छ । तर, सन् २०२३ मा आइपुग्दा भने नेपालको उत्पादन २० प्रतिशतले घटेको देखिन्छ ।

सन् २०२३ मा २ लाख ८ सय टनमा सीमित भयो । २०२३/२४ मा मुसुरो उत्पादन अझै घटेको देखिन्छ । २०२३/२४ मा नेपालमा १ लाख ५२ हजार टन उत्पादन भएको तथ्यांक छ ।

कति छ निर्यात ?

उत्पादनसँगै नेपालले उत्तिकै परिमाणमा मुसुरो निर्यात पनि गर्थ्यो । तथ्यांक केलाउँदा आव २०६५/६६ मा नेपालले ५ अर्ब ६६ करोड रुपैयाँको मुसुरोमात्र निर्यात गरेको पनि देखिन्छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकले २०६५/६६ मा १ लाख ८३ हजार हेक्टरमा मुसुरो खेती गरिएकामा त्यसबाट १ लाख ४७ हजार टन उत्पादन भएको थियो ।

तर, अहिले व्यवस्था फेरिएको छ । अहिले भने नेपालले विभिन्न देशबाट निर्यातको दोब्बर परिमाणसम्म आयात गर्ने गरेको भन्सार विभागकै तथ्यांकले देखाउँछ ।

नेपालमा गुणस्तरीय दाल उत्पादन हुने कृषि विज्ञ बताउँछन् । त्यस्तो दाल विदेश निर्यात हुने गरेको छ । देशमा छाक टार्न भने विदेशबाट ठूलो परमाणमा आयात गर्नुपर्ने अवस्था छ ।

भन्सार विभागको तथ्यांकले चालु आव पहिलो ३ महिना (साउन–असोज) सम्म मात्रै ७५ करोड २७ लाख रुपैयाँको ७ हजार ५ सय टन मुसुरो आयात भएको देखाउँछ । सोही अवधिमा नेपालबाट १८ करोड ५२ लाख रुपैयाँको १ हजार २ सय टन निर्यात भएको छ ।

नेपालमा उत्पादित मुसुरो धेरै बंगलादेश निर्यात भएको छ भने यहाँ अस्ट्रेलिया, क्यानडा र भारतबाट आयात भएको देखिन्छ ।

नेपालमा उत्पादित मुसुरो उत्कृष्ट स्वाद र उच्च गुणस्तरीय भएकाले बंगलादेशमा यसको माग निकै बढी छ । यहाँ उत्पादित मुसुरो प्रोटिन, आइरन र जिंकजस्ता खनिज पदार्थको राम्रो स्रोत मानिन्छ र यसको पोषण मूल्य उच्च रहेको विशेषज्ञ बताउँछन् ।

बर्सेनी घट्दै उत्पादन क्षेत्रफल

कृषि मन्त्रालयको तथ्यांकले नेपालमा बर्सेनि मुसुरो उत्पादन क्षेत्रफल घटेको देखाउँछ ।

आव २०७६/७७ मा २ लाख १२ हजार ८ सय ७६ हेक्टरमा मुसुरो खेती गरिएको थियो । त्यसबाट २ लाख ६२ हजार ८ सय ३५ टन  उत्पादन भएको थियो ।

२०७७/७८ मा खेती गरिने क्षेत्रफल ६० हजार हेक्टर घट्यो । त्यसबेला २ लाख २ हजार ४ सय १६ हेक्टरमा मुसुरो खेती गरिएको थियो । त्यसबाट २ लाख ४६ हजार ९२ टन उत्पादन भएको थियो ।

यसैगरी २०७८/७९ मा क्षेत्रफल पनि अघिल्लो वर्षभन्दा घटेर १ लाख ९८ हजार हेक्टरमा पुग्यो । त्यस वर्ष क्षेत्रफल घटे पनि उत्पादन भने बढेको तथ्यांकले देखाउँछ । त्यति क्षेत्रफलमा २ लाख ५२ हजार टन मुसुरो फलेको थियो ।

मुसुरो उत्पादन गर्ने संसारकै सातौं ठूलो देश नेपाल, किन घटिरहेछ निर्यात ?

 

मन्त्रालयको तथ्यांक अनुसार २०७९/८० मा १ लाख ७३ हजार ११ हेक्टर क्षेत्रफलमा मुसुरो खेती गरिएकोमा २ लाख ७ सय ८७ टन फलेको थियो । त्यस्तै २०८०/८१ मा पनि मुसुरो उत्पादन क्षेत्रफल घटेको देखिन्छ । त्यस वर्ष १ लाख ४५ हजार ८ सय ९८ हेक्टर क्षेत्रफलमा खेती हुँदा १ लाख ५२ हजार ९ सय ३६ टन मुसुरो उत्पादन भएको थियो ।

विगतमा मुसुरो आयातभन्दा निर्यात धेरै

नेपाल कृषि अनुसन्धान परिषद (नार्क) का अवकाशप्राप्त वरिष्ठ वैज्ञानिक रामकृष्ण न्यौपाने मुसुरो उत्पादन क्षेत्रफल र परिमाण घटे पनि उत्पादकत्व भने बढ्दै गएको बताउँछन् ।

तराईका खेतीयोग्य जमिनमा सहरीकरण र आवास योजना विस्तारले मुसुरो खेती क्षेत्रफल घटेको उनी बताउँछन् । सिँचाइ सुविधा विस्तारपछि किसान अन्य बढी लाभदायक बाली तरकारी, धान लगायतमा आकर्षित भएकाले पनि मुसुरोको जमिन अन्य बालीले ओगटेको उनको भनाइ छ ।

‘करिब ५०–६० वर्षअघि तराई क्षेत्रमा विशेषगरी धान खेती नहुने जमिनमा खेसरी दालको व्यापक खेती हुने गरेको थियो,’ वरिष्ठ वैज्ञानिक न्यौपाने भन्छन्, ‘तर, यसको सेवनबाट लाटोपन जस्ता स्वास्थ्य समस्या निम्तिने देखिएकाले सरकारले खेसरी दालको बिक्री–वितरणमा प्रतिबन्ध लगाएको थियो, त्यसपछि क्रमश: मुसुरो खेती विस्तार हुँदै गयो, २०४७–४८ सालतिर नेपालमा प्रशस्त मुसुरो उत्पादन हुने गर्थ्यो ।’

२०४८–४९ सालतिर नेपालले ठूलो मात्रामा मुसुरो निर्यात गरेको उनी बताउँछन् । उनका अनुसार एक वर्षमा ५० हजारदेखि ६० हजार टनसम्म मुसुरो निर्यात भएको रेकर्ड थियो ।

‘त्यतिबेला नेपाली मुसुरो अर्गानिक र चाँडो पाक्ने भएकाले बंगलादेश जस्ता मुलुकले उच्च प्राथमिकता दिई अन्यभन्दा बढी मूल्य दिने गर्दथे,’ उनी भन्छन्, ‘बंगलादेशमा किलोको ५० टाका पर्ने मुसुरोको मूल्यमा नेपालको मुसुरो ५८–६० टाकासम्ममा बिक्री हुन्थ्यो, कहिलेकाहीँ नेपालले आयात गरेको मुसुरो आफैं खपत गरेर पनि आफ्नो उच्च गुणस्तरको मुसुरो निर्यात गर्ने गर्दथ्यो ।’

न्यौपानेका अनुसार २०५६–५७ पछि मुसुरोको निर्यात घट्नुका मुख्य कारणमा आन्तरिक खपतमा भएको अत्यधिक वृद्धि प्रमुख छ । नेपालीको क्रयशक्ति बढेसँगै दाल उपभोग गर्ने बानीमा परिवर्तन आएको छ । ‘मुसुरो दाल पकाउन सजिलो र छिटो हुने, साथै पौष्टिक मानिने भएकाले स्वदेशमै यसको खपत बढ्यो,’ उनले थपे ।

यद्यपि, कुल उत्पादन मात्रामा भने खासै कमी नआएको वैज्ञानिक न्यौपानेको भनाइ छ । उनका अनुसार ५० वर्षअघि प्रतिहेक्टर ६ सयदेखि ७ सय किलो मुसुरो उत्पादन हुने गरेकोमा अहिले १ हजार १ सयदेखि १ हजार २ सय किलो प्रतिहेक्टर उत्पादन भइरहेको छ । प्रविधि विकास र नयाँ उन्नत बीउबिजन प्रयोगका कारण उत्पादन वृद्धि भएको उनको तर्क छ ।

प्रतिस्पर्धी मूल्यमा टिक्न कठिनाइ

नेपालमा मुसुरो उत्पादन लागत (मुख्यत: हातले गरिने खेती र कम यान्त्रिकीकरण) बढी भएकाले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी मूल्य कायम गर्न कठिन भएको छ । अन्तर्राष्ट्रिय व्यापार नीतिमा आएका परिवर्तनले पनि निर्यातमा असर गरेको छ ।

भारतले पहिले मुसुरो निर्यातमा कडाइ गरे पनि अहिले सहज बनाउँदा त्यहाँको उत्पादन आवागमन बढेको देखिन्छ । आन्तरिक माग पूरा गर्न नेपालले अहिले आधिकारिक र अनौपचारिक दुवै माध्यमबाट मुसुरो आयात गरिरहेको छ ।

नेपालको खुला सीमाका कारण अनौपचारिक माध्यमबाट समेत मुसुरो आयात–निर्यात भइरहेको छ, जसको तथ्यांक देखिँदैन । नेपाली किसानले पनि तत्काल पैसा कमाउन आफ्नो मुसुरो खुला सीमा हुँदै बेच्ने गरेको अवस्था छ ।

मुसुरोको ५ वर्षे तथ्यांक

भन्सार विभागको पछिल्लो ५ वर्षको तथ्यांक केलाउँदा भने मुसुरो आयात बर्सेनि बढ्दै गएको देखिन्छ । आव २०७८/७९ मा ४ अर्ब ४० करोड रुपैयाँको मुसुरो आयात भएको थियो । सोही वर्ष नेपालबाट ५६ करोड ६३ लाखको  निर्यात भएको थियो ।

मुसुरो उत्पादन गर्ने संसारकै सातौं ठूलो देश नेपाल, किन घटिरहेछ निर्यात ?

यसैगरी २०७९/८० मा ६ अर्ब ६९ करोडको आयात हुँदा ४९ करोड ८१ लाखको निर्यात भएको थियो । २०८०/८१ मा भने  आयात घटेको देखिन्छ । त्यस वर्ष ५ अर्ब १० करोडको आयात हुँदा  ५६ करोड ८४ लाखको मुसुरो निर्यात भएको थियो ।

२०८१/८२ मा भने आयात बढेको देखिन्छ । त्यसबेला ६ अर्ब ७२ करोडको मुसुरो आयात भएको थियो भने ३६ करोड १३ लाखको मुसुरो बंगलादेश, भारत, कोरिया, सिंगापुर, डेनमार्क लगायत देश निर्यात भएको थियो ।

चालु आव पहिलो तीन महिनामा भने ७५ करोड २७ लाखको मुसुरो आयात भएको छ । यस अवधिमा १८ करोड ५२ लाखको निर्यात भएको छ ।

मुसुरो ‘टुहुरो बाली’

बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र प्रमुख केशव देवकोटा कोशेबालीको राष्ट्रिय आवश्यकता ५ लाख टन रहेकोमा हाल १ लाख ९ हजार टन अपुग रहेको बताउँछन् ।

उनका अनुसार मुसुरो दालको मात्रै उत्पादन हुने क्षेत्रफल २ लाख हेक्टर छ । मुसुरो उत्पादन घट्नु र अपेक्षित प्रगति हुन नसक्नुको मुख्य कारण यसलाई ‘टुहुरो बाली’ का रूपमा हेरिनु हो ।

‘अहिले पनि यस बालीलाई ‘टुहुरो बाली’ का रूपमा हेर्ने चलन छ, मुसुरो लाइदियो, लगाएपछि त्यसलाई गोडमेल छैन, पानी छैन, त्यसको स्याहार सम्भार पनि छैन,’ उनी भन्छन्, ‘धान र तरकारी जस्ता बालीले सिँचाइ, मलजल र गोडमेल स्याहार पाउँदा कोशेबालीले राज्यको प्राथमिकता र किसानको उचित स्याहार पाउन सकेको छैन, यसलाई असल कृषि अभ्यासका रूपमा पनि अपनाइएको छैन ।’

संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारका कार्यक्रम तथा परियोजनामा कोशेबालीले जति प्राथमिकता पाउनुपर्ने हो, त्यति नपाएको उनी बताउँछन् ।

‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना’ जस्ता ठूला राष्ट्रिय परियोजनामा समेत मुसुरो वा अन्य कोशेबालीका लागि छुट्टै जोन, सुपरजोन वा ब्लक बनाइएको छैन,’ उनी भन्छन्, ‘सरकारको प्राथमिकतामा धान, गहुँ, मकै, तरकारी, फलफूल, कफी, चिया र अलैँचीजस्ता बाली छन् ।’

किसानमा ज्ञानको कमी, भण्डारण र बीउको समस्या

किसानलाई मुसुरो खेतीसम्बन्धी प्राविधिक ज्ञान, सिप, नयाँ जात तथा प्रविधिको पर्याप्त जानकारी पनि नभएको उनी बताउँछन् । यो बालीका लागि भण्डारण अभाव पनि एक प्रमुख समस्या हो, जसले गर्दा भण्डारण गरिएका मुसुरोमा किरा लाग्ने गरेको उनको भनाइ छ ।

‘किसानलाई सुरक्षित भण्डारणका लागि सहयोग र ज्ञान दिइएको छैन,’ उनी भन्छन्, ‘उन्नत जातका बीउ उत्पादन कम हुनु र किसानसम्म नपुग्नु पनि उत्पादन घट्नुको अर्को कारण हो ।’

उच्च उत्पादन क्षमता भएका जात विकास नहुनु र बीउ उत्पादन व्यवस्थित शृङ्खला (प्रजनन बीउदेखि उन्नत बीउ किसानसम्म पुर्‍याउने) कमजोर हुनुले किसान पुरानै बीउमा निर्भर रहेको उनको भनाइ छ ।

मुसुरो उत्पादन सबैभन्दा धेरै मधेश प्रदेशमा

नेपालमा मुसुरो उत्पादन गर्ने प्रमुख प्रदेशमा मधेश अग्रस्थानमा छ । त्यसपछि लुम्बिनी र सुदूरपश्चिम छन् । बाँके खुजुरामा कृषि अनुसन्धान केन्द्र सारिएपछि त्यतातिर उत्पादनमा केही वृद्धि भएको छ ।

कृषि ज्ञान केन्द्र नेपालगञ्ज बाँके कार्यालय प्रमुख विनोद घिमिरे बाँकेमा मुसुरो खेती प्रवर्द्धनका लागि सघन बाली विकास कार्यक्रम सञ्चालन भइरहेको र यसमा किसानको उत्साह बढेको बताउँछन् ।

उनका अनुसार पछिल्ला वर्षहरूमा मुसुरो उत्पादन र मूल्य दुवै राम्रो भएकाले किसान यस खेतीतर्फ आकर्षित भएका छन् ।

मुसुरो उत्पादन गर्ने संसारकै सातौं ठूलो देश नेपाल, किन घटिरहेछ निर्यात ?

कार्यालय प्रमुख घिमिरेले सघन बाली विकास कार्यक्रम अन्तर्गत विगतमा करिब १ सय ५ हेक्टर क्षेत्रफलमा मुसुरोको बीउ वृद्धि र उत्पादनमा सहयोग गर्ने काम गरिएको बताउँछन् ।

‘पहिलाभन्दा अहिले मुसुरो खेतीप्रति किसानको उत्साह बढेको छ,’ उनी भन्छन्, ‘अहिले उन्नत जातको बीउ प्रयोगबाट उत्पादन वृद्धि भएको हुँदा र मूल्य पनि राम्रै पाएकाले किसान उत्साहित भएका हुन् ।’

बाँके र आसपास क्षेत्र बर्दिया, दाङ र पूर्वका रौतहट, सिरहा लगायत क्षेत्र मुसुरो खेतीका लागि एकदमै सम्भावना बोकेका क्षेत्र हुन् ।

मुसुरो बाली जलवायु परिवर्तनप्रति अलि बढी संवेदनशील मानिन्छ । फुल्ने र दाना लाग्ने बेला पानी पर्दा वा सुकखा हुँदा यसको उत्पादनमा असर पर्छ, जसले गर्दा किसानले कहिलेकाहीँ अन्य बालीतर्फ आकर्षित हुने गरेको घिमिरेले बताए ।

हिउँदे बालीमा किसानसँग आलु, तोरी, मुसुरो, अन्य दलहन बाली, गहुँ र मकैजस्ता धेरै विकल्प हुन्छन् । गहुँ र मकैजस्ता बालीमा यान्त्रिकीकरण सुविधा बढी भएको र मकैलाई पोल्ट्री उद्योगले समेत किन्न थालेकाले किसान त्यसतर्फ आकर्षित भएको उनको भनाइ छ ।

सामान्य अवस्थामा मुसुरो बालीमा रोग कीराको खासै समस्या नहुने प्रमुख  घिमिरेले बताए । कहिलेकाहीँ अत्यधिक पानी पर्दा वा अन्य प्रतिकूल मौसमका कारण ‘ब्लाइट’ जस्ता रोग लाग्न सक्ने भए पनि यस वर्ष त्यस्तो समस्या नदेखिएको र उत्पादन राम्रो भएको उनले बताए ।

बाँकेको डुडुवा गाउँपालिका मुसुरो उत्पादन हुने प्रमुख क्षेत्र हो । जहाँका किसान, समूह र सहकारीहरूसँग ज्ञान केन्द्रले नियमित समन्वय गरिरहेको छ ।

डुडुवा गाउँपालिकाका कृषि अधिकृत तथा कृषि शाखा प्रमुख सुशीलकुमार शर्मा पछिल्ला वर्षहरूमा मुसुरो उत्पादन र मूल्य दुवै राम्रो भएकाले किसान यस खेतीतर्फ आकर्षित भएको बताउँछन् ।

शर्माले गत आर्थिक वर्ष डुडुवा गाउँपालिकामा १ सय २ हेक्टर क्षेत्रफलमा मुसुरो खेती भएको बताए । यसमध्ये ८० हेक्टरमा उन्नत जातको लगाइएको थियो भने बाँकीमा किसानले स्थानीय बीउ लगाएका थिए । डुडुवामा ‘खजुरा ३’ र ‘खजुरा २’ जातका उन्नत बीउ प्रयोग बढी हुने गरेको उनले उल्लेख गरे ।

‘स्थानीय जातका बीउको प्रयोग पनि हुने गरेको छ, तर उन्नत जातमा किसानको आकर्षण बढी छ,’ उनी भन्छन्, ‘उन्नत जातको उत्पादकत्व प्रतिहेक्टर १.१ देखि १.३ टन छ भने स्थानीय जातको ०.८ टनमात्र छ ।’

बजार व्यवस्थापन र खुला सीमा चुनौती

मुसुरो उत्पादनको मुख्य चुनौती बजार व्यवस्थापन र भारतसँगको खुला सीमा रहेको शर्मा बताउँछन् । नेपालगञ्जमा मुसुरो प्रशोधन उद्योग एउटा मात्रै रहेको र यसले पनि स्थानीय किसानबाट सिधै खरिद नगर्ने उनले उल्लेख गरे ।

गत वर्ष मुसुरोको मूल्य ९० देखि १ सय रुपैयाँ किलोसम्म खेतबाटै किसानले पाएका थिए । तर, भारतीय व्यापारीले प्रतिक्विन्टल ७ देखि ८ हजार भारुमा खरिद गर्ने गरेकाले किसानलाई उतै बेच्दा बढी फाइदा हुने गरेको छ, किनभने नेपाली मूल्य र भारतीय मूल्यबीच क्विन्टलमा २ देखि ३ हजार रुपैयाँ फरक पर्छ ।

के भन्छन् किसान ?

डुडुवा गाउँपालिका–२ का किसान राधेश्याम बर्मा मुसुरो खेतीमा विगतदेखि नै संलग्न रहेको र नयाँ उन्नत जातको बीउ प्रयोग गर्दा उत्पादन वृद्धि भएको बताउँछन् ।

उनले उन्नत जातको खजुरा–२ मुसुरो बीउ प्रयोग गर्दै आएका छन् । बर्माले यस वर्ष १ बिघा जग्गामा मुसुरो लगाएका छन् । मौसमले साथ दिए वर्षमा प्रतिकठ्ठा ३० देखि ४० किलोसम्म उत्पादन हुने  उनी बताउँछन् ।

‘मौसम प्रतिकूल भए प्रतिकठ्ठा २०–२५ किलोमात्र उत्पादन हुन्छ,’ उनी भन्छन्, ‘यस क्षेत्रमा खजुरा–२ जातको मुसुरोबाहेक शिखर जातको मुसुरो पनि लगाउने गरिएको छ, तर त्यसको उत्पादन खजुरा–२ भन्दा कम छ ।’

मुसुरो खेतीमा सबैभन्दा ठूलो समस्या बजार र मूल्यको रहेको उनी बताउँछन् । उनका अनुसार स्थानीय बजारमा मुसुरोको भाउ नै हुँदैन । उत्पादन भएको मुसुरो स्थानीय व्यापारीले प्रतिक्विन्टल ७ हजार रुपैयाँमा खरिद गरेर बाहिर महँगोमा बेच्ने गरेको उनले सुनाए ।

प्रदेशमा कति हुन्छ मुसुरो उत्पादन ?

कृषि मन्त्रालयको तथ्यांक अनुसार आव २०८०/८१ मा कोशी प्रदेशमा १४ हजार ४ सय ८८ हेक्टरमा मुसुरो खेती हुँदा १७ हजार ७ सय ६७ टन उत्पादन भएको छ । यस प्रदेशमा मुसुरोको प्रतिहेक्टर उत्पादकत्व १.२३ टन छ ।

यस्तै मधेशमा ६२ हजार ३ सय ३५ हेक्टरबाट ६७ हजार ८ सय ३६ टन मुसुरो उतपादन भएको तथ्यांकले देखाउँछ । यस प्रदेशमा  प्रतिहेक्टर उत्पादकत्व १.९ टन छ ।

मुसुरो उत्पादन गर्ने संसारकै सातौं ठूलो देश नेपाल, किन घटिरहेछ निर्यात ?

त्यस्तै बागमतीमा २ हजार ७ सय २६ हेक्टरबाट ३ हजार ७ सय १७ टन उत्पादन भएको छ भने प्रतिहेक्टर उत्पादकत्व १.२५ टन छ ।

गण्डकीमा ४ हजार ७ सय ६९ हेक्टरबाट ५ हजार ५ सय ७२ टन उत्पादन र उत्पादकत्व प्रतिहेक्टर १.१७ टन छ ।

लुम्बिनीमा ४५ हजार ३ सय ३४ हेक्टरबाट ४३ हजार ६ सय ६८ टन र उत्पादकत्व ०.९६, कर्णालीमा ३ हजार ४ सय ६१ हेक्टरबाट  ३ हजार २ सय ४७ टन र उत्पादकत्व ०.९४ टन र सुदूरपश्चिममा १२ हजार ८ सय ७१ हेक्टरबाट ११ हजार ४ सय २९ टन र उत्पादकत्व प्रतिहेक्टर ०.८९ टन छ ।

मुसुरो बालीका जात

नेपालमा मुसुरोका विभिन्न जात छन्, जसमा खजुरा मुसुरो १, २, ३, ४, सिन्दूर, सिम्रिक, शिशिर, सिमल, शिखर, शीतल, श्रद्धा, रसुवा कालो मुसुरो (स्थानीय जात), महेश्वर भारती र सगुन लगायत जात छन् ।

विज्ञको सुझाव र समाधानका उपाय

कार्यालय प्रमुख देवकोटा मुसुरोको उत्पादन बढाउन र यसलाई दिगो बनाउन सरकारका तीनै तहले कोशेबालीलाई प्राथमिकतामा राखेर कार्यक्रम बनाउनुपर्नेमा जोड दिन्छन् ।

उनका अनुसार उच्च उत्पादन दिने नयाँ जात विकासमा जोड दिने विशिष्ट परियोजना ल्याउने, किसानलाई उचित खेती प्रविधि, सुरक्षित भण्डारणका तरिका सिकाउनुपर्ने आवश्यकता छ ।

बीउ उत्पादन प्रणालीमा सुधार ल्याई किसानसम्म उन्नत जातको बीउ पुर्‍याउन बीउ उत्पादन र वितरण प्रणाली बलियो बनाउनुपर्ने उनको भनाइ छ ।

सरकार धान र मकैमा मात्र केन्द्रित नभई पोसिलो अन्नबालीका रूपमा कोदो, फापर र कोशेबालीलाई बढावा दिन जोन वा कार्यक्रम ल्याउनुपर्ने उनको सुझाव छ ।





Source link

Leave a Comment