मिनीयापोलिसमा आप्रवासन कारबाहीका क्रममा आइस एजेन्टद्वारा अमेरिकी महिलाको हत्या



प्रकाशित मिति : पुस २२, २०८२ बुधबार

मिनीयापोलिसमा आप्रवासन कारबाहीका क्रममा आइस एजेन्टद्वारा अमेरिकी महिलाको हत्या

होमल्याण्ड सेक्युरिटीका अनुसार बुधबार मिनीयापोलिसमा आप्रवासन सम्बन्धी एक कारबाहीका क्रममा मानिसहरूको समूहले अवरोध सिर्जना गरेपछि इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट आइसका एक एजेन्टले गोली चलाउँदा एक महिलाको मृत्यु भएको छ।

प्रवक्ता ट्रिसिया म्याकलाफलिनले एक विज्ञप्ति जारी गर्दै आइस एजेन्टहरूले सहरमा लक्षित अप्रेसन गरिरहेका बेला ती महिलाले आफ्नो सवारी साधनलाई हतियारको रूपमा प्रयोग गरी सुरक्षाकर्मीहरूलाई मार्ने उद्देश्यले गाडीले किच्न खोजेको आरोप लगाएकी छिन्। होमल्याण्ड सेक्रेटरी क्रिस्टी नोएमले पत्रकार सम्मेलनमा एजेन्टहरूको गाडी हिउँमा फसेको र उनीहरूले गाडी धकेलिरहेका बेला ती महिलाले आक्रमण गरेको आरोप लगाउँदै उनले यसलाई घरेलु आतंकवादको संज्ञा दिएकी छिन्।

मिनीयापोलिसमा आप्रवासन कारबाहीका क्रममा आइस एजेन्टद्वारा अमेरिकी महिलाको हत्या

एजेन्टले आत्मरक्षाका लागि गोली चलाएको र यसबाट ती महिलाको मृत्यु भएको म्याकलाफलिनले बताइन्। उनले आफ्नो तालिमको प्रयोग गरी आफ्नो र अन्य साथीहरूको ज्यान बचाएको प्रवक्ताको भनाई छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाका विभिन्न सहरहरूमा आप्रवासन एजेन्टहरू परिचालन गरेका छन्, जसले पछिल्लो समय निकै आक्रामक रणनीति अपनाइरहेका छन्। यसले स्थानीय अधिकारी र समुदायहरूबीच तनाव बढाएको छ, जहाँ धेरै ठाउँमा विरोध प्रदर्शन भइरहेका छन्।

घटनापछि स्थानीय बासिन्दाहरू सडकमा भेला भएर संघीय एजेन्टहरू विरुद्ध नाराबाजी गर्दै हिउँका डल्लाहरू प्रहार गरेका थिए। स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले पेपर स्प्रे र अश्रुग्यास प्रहार गरेका थिए। घटनामा घाइते भएका आइसका अधिकारीहरू जोखिममुक्त रहेको जनाइएको छ ।

मिनीयापोलिसका मेयर जेकब फ्रेले आइस अधिकारीहरूलाई तुरुन्त सहर छोड्न माग गरेका छन्। उनले संघीय एजेन्टहरूको उपस्थितिले सहरमा अराजकता फैलाइरहेको बताएको तथा आफूहरु आप्रवासी र शरणार्थी समुदायको साथमा अडिग रहेको बताएका छन् ।

डिसेम्बरको सुरुदेखि मिनीयापोलिसमा आईसीईले करिब १४ सय जनालाई पक्राउ गरिसकेको छ। यो संख्या डिसेम्बर १२ सम्म पक्राउ परेका ३०० को तुलनामा ठूलो वृद्धि हो। होमल्याण्ड सेक्युरिटीले यस हप्ता मिनीयापोलिसमा थप सयौं अधिकारीहरू पठाएको छ । साथै यसलाई मिनेसोटाको इतिहासकै सबैभन्दा ठूलो अप्रेसन भनेको छ। यस अप्रेसनमा कुल २,१०० अधिकारीहरू संलग्न हुने बताइएको छ, जसमा १,५०० प्रवर्तन अधिकारी र ६०० अनुसन्धान एजेन्टहरू रहनेछन्।

यो कडा कारबाही क्रिसमसको भोलिपल्ट एक दक्षिणपन्थी भिडियो निर्माताले सार्वजनिक गरेको भिडियोपछि सुरु भएको हो। उक्त भिडियोमा मिनीयापोलिसका सोमाली मूलका मानिसहरूद्वारा सञ्चालित डे केयर सेन्टरहरूले सरकारी अनुदान लिएर ठगी गरिरहेको आरोप लगाइएको थियो।

यद्यपि, मिनेसोटा राज्य सरकारले गरेको जाँचमा ती १० वटा डे केयर सेन्टरहरू सामान्य रूपमा सञ्चालन भइरहेको पाइएको थियो। मिनीयापोलिसका प्रहरी प्रमुख ब्रायन ओहाराले संघीय एजेन्टहरूको यस्तो ठूलो उपस्थिति र कारबाहीले राजनीतिक अस्थिरता निम्त्याउन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।

पछिल्लो समय सोमाली मूलका धेरै अमेरिकी नागरिक बासिन्दाहरू पक्राउ पर्ने डरले घरभित्रै बस्न थालेका छन्। राष्ट्रपति ट्रम्पले हालै सोमाली समुदायप्रति नकारात्मक टिप्पणी गर्दै उनीहरूले सहर र देश बर्बाद गरेको आरोप लगाएका थिए।





Source link

Leave a Comment