जुन नक्षत्रमा बृहस्पतिको उदय हुन्छ, त्यही नक्षत्रका आधारमा कार्तिकादि वर्ष बृहस्पतिको महावर्ष भनिन्छ। यी वर्षहरूको क्रम कार्तिक, मार्गशीर्ष, पौषादि क्रमले १२ महिनाहरूको नामअनुसार नै हुन्छ। बृहस्पति उदयको घटना लगभग १३ महिनाको अन्तरालमा हुने गर्छ। एक उदयदेखि अर्को उदयबिचको कालावधिलाई बृहस्पतिको महावर्ष भनिन्छ।
कृत्तिका नक्षत्रदेखि दुई–दुई नक्षत्रहरूको क्रमशः कात्र्तिक आदि एक मास हुन्छ। कृत्तिका रोहिणीले कात्र्तिक वर्ष, मृगशिरा आद्र्राले मार्गशीर्ष वर्ष इत्यादि हुन्छ। तर पाँचौं, एघारौं र बारौं महिनामा तीन–तीन नक्षत्रहरूको संयोग हुन्छ। वृहस्पति उदयको घटना तीन सय ९९ दिन अर्थात् लगभग १३ महिनाको अन्तरालमा हुने गर्छ।
दृग्गणनाअनुसारको पञ्चाङ्गमा यस वर्ष वैशाख ३१ गते बृहस्पति वृषबाट मिथुन राशिमा प्रवेश गरेको थियो। जेठ ३० गते आद्र्रामा प्रवेश गरी जेठ ३१ गते आद्र्रा नक्षत्रमा पश्चिममा अस्त भयो, साथै असार २३ गते आद्र्रा नक्षत्रमा पूर्वमा उदय भएपछि विश्वमा मार्गशीर्ष महावर्षको प्रारम्भ भइसकेको छ। आउने कार्तिक २५ गतेदेखि फागुन २७ गतेसम्म गुरु वक्री रहन्छ। साउन २८ गते गुरुको प्रवेश पुनर्वसु नक्षत्रमा हुनेछ। कार्तिक १ गतेदेखि मंसिर १९ गतेसम्म कर्कट राशिमा गुरु रहन्छ। त्यसपछि वर्षको अन्तिमसम्म मिथुन राशि र पुनर्वसु नक्षत्रमा वृहस्पतिको गोचर भ्रमण रहनेछ।
मार्गशीर्ष महावर्षको फल यसप्रकार उल्लेख गरिएको छ –
सौम्येऽब्देऽनावृष्टिर्मृगाखुशलभाण्डजैश्च सस्यवधः, व्याधिभयं मित्रैरपि भूपानां जायते वैरम्। (बृहत् संहिता ८/४) अर्थात् मार्गशीर्ष महावर्षमा वर्षाको कमी वा सुक्खा, जङ्गली जनावर, मुसा, कीट आदिबाट फसलको हानि, सर्वत्र रोग, भय, शासक र मित्रमा वैरभाव हुन्छ अर्थात् शत्रुमा अधिक शत्रुता हुन्छ।
पराशरले कात्र्तिक वर्षमा हुने फल नै मार्गशीर्ष पनि भनेका छन्। यस वर्षमा मात्र गाईहरूलाई पीडा नहुने भनिएको छ। अर्को वर्ष २०८३ सालमा सुरु हुने पौष नामक वर्षको फल भने गर्गले सर्वलक्षणसम्पन्न भन्नुभएको छ।
२०८१ सालमा वैशाख २५ गते कृतिकामा अस्त भएर जेठ २० गते कृतिकामा उदय भएपछि कात्तिक महावर्ष सुरु भएको थियो। कार्तिक महावर्षको फलबारे बृहत् संहितामा यसप्रकार उल्लेख गरिएको थियो– कार्तिक नामको वर्षमा सबै प्रकारका सवारी साधनबाट जीविकोपार्जन गर्ने ड्राइभर, पाइलट आदि वा सामान बोक्ने, ट्राभल एजेन्सी चलाउनेहरूलाई पीडा–कष्ट हुन हुन्छ। आगोबाट जीविकोपार्जन गर्ने फलाम, सुनको काम गर्ने, इँटाभट्टा, रेस्टुरेन्ट, बेकरी, ज्वलनशील पदार्थका व्यवसायी र गाईवस्तुलाई पीडा हुन सक्ने मानिन्छ। पशुहरूको हानि, रोग र शस्त्र प्रयोगको अधिकता (हत्या, लुटपाट, युद्ध) हुन्छ। रातो र पहेँलो फूलहरूको भने वृद्धि हुने हुन्छ।
ऋषि पराशरले उक्त फलहरूको अतिरिक्त कार्तिक नामक वर्षमा अधिक वर्षा हुने भनेर पनि भन्नुभएको थियो – कृत्तिकारोहिणाषूदिते क्षुच्छस्त्राग्निना वृष्टिव्याधि प्राबल्यं गोशाकटिकपीडा च। (पराशर संहिता)
कार्तिक महावर्षको ड्राइभर र पाइलटहरूले अति सजगता अपनाउनुपर्ने प्रभाव चलिरहेको अवस्थामा गएको वर्ष नेपालमा असार २८ गते बिहान सिमलताल पहिरोको घटना जसमा त्रिशूलीमा यात्रुले भरिएका दुई बस जुन अहिलेसम्म भेटिएको छैन। साउनमा कठमाडौंमा सौर्य एयरलाइन्सको ठुलो जहाज तथा लगत्तै हेलिकोप्टर, सवारीलगायत विश्व परिवेशमा घटेका दुर्घटना तथा नेपाललगायत विश्वका विभिन्न ठाउँमा भएका ठुलाठुला अनेकौं अग्नि काण्डहरूका घटना, गएको वर्ष वर्षाले पुर्याएको क्षति सम्झिन सकिन्छ।
गएको वैशाखमा गुरुको क्षेत्र मानिने सिन्धु नदीको पूर्वमा पर्ने जम्मु–काश्मीरको पहलागावमा दर्जनौं पर्यटकहरूले ज्यान गुमाउनुका साथै भारत र पाकिस्तानबिच केही दिन चलेको युद्धमा पनि जनहानीहरू भएका थिए।
भनिएको छः यदि बृहस्पति राम्रो राशिमा गोचर गरिरहेको छ, अस्त छैन, स्वच्छ विम्बवाला छ, कुनै ग्रहका साथ युति विशेषतया गुढ युति नगरेको छ र बलवान् सुस्थित ग्रहबाट दृष्ट छ भने भनिएका शुभ फल अधिक मात्रामा हुन्छ र अशुभ फल सीमित नै रहन्छ। यसविपरीत स्थिति हुँदा अशुभता ज्यादा बढ्ने हुन्छ।
गुरु र शनि गएको वर्ष २०८१ मा वैशाखबाट स्थिर राशि वृष र कुम्भमा तथा यस वर्षको वैशाखबाट द्विस्वभाव राशि मिथुन र मीनमा परस्पर केन्द्रको राशिमा भ्रमण गरिरहेका छन्। सयौं वर्षको अन्तरालमा गएको चैत १५ देखि जेठको मध्यसम्म गुरुको घरमा राहु र शनिको जमघट भएको थियो।
जेठ १५ गते राहु शनिको घरमा सरिसके तापनि शनि अहिले दहन अर्थात् आगो मार्गमा राहु अधिष्ठित राशिको स्वामी भएको प्रभाव बोकेर वृहस्पतिको घर मानिने उत्तर दिशाको जल तत्त्वीय राशि मीनमा वर्षभरि नै भ्रमण गरिरहने छ। गुरुको अर्को पूर्व दिशामा पर्ने राशि धनु, दक्षिण दिशामा पर्ने वृष र कन्या राशिमा पनि शनिको वर्षभरि नै पूर्ण दृष्टि रहन्छ। संहितामा विशेष विचार गर्नु भनिएको शनि अहिले कूर्म चक्रअनुसार पूरै विश्वको तथा कुनै पनि देश प्रदेशको उत्तर दिशामा स्थापना गरिने उत्तराभाद्रपदा नक्षत्रमा भ्रमण गरिरहेको छ। त्यसैले विश्वको तथा हरेक देश प्रदेशको उत्तर दिशातर्फ पनि सजगता अपनाउनु राम्रो रहने मानिन्छ।
बृहत् संहितानुसार तत्काल उत्तराभाद्रपद नक्षत्रमा भ्रमण गरिरहेको शनिको फलमा नदीहरूको छेउछाउको भागमा बस्ने, सबै प्रकारका वाहन निर्माणादिसँग सम्बन्धित व्यक्ति, स्त्री र सुन यी सबै वस्तु र जीवहरूलाई कष्ट वा वस्तुहरूको अभाव हुन्छ भनिएको छ।
वायु तत्त्वीय राशि कुम्भमा राहु प्रवेश गरेको १४ औं दिनमा गएको जुन १२ तारिख बिहीबारको दिन बृहस्पतिकै होरामा भारतको अहमदावादमा सयौंको ज्यान जानेगरी ठुलो विमान दुर्घटना भयो। अंक विज्ञान अनुसार १२ तारिखको मूलांक ग्रह पनि बृहस्पतिलाई नै मानिन्छ। इजरायल र इरान युद्ध पनि १२ दिन चलेको थियो।
अहमदावादमा ३७ वर्षअघि सन् १९८८ अक्टोबरमा ठुलो विमान दुर्घटना हुँदा पनि कुम्भ राशिमा राहु थियो। राशिचक्रमा कुम्भ राशि पश्चिम दिशामा पर्ने राशि मानिन्छ र नक्सा हेर्दा अहमदावाद पूरै भारत देशको लगभग ठिक पश्चिमतर्फ नै पर्ने गुजरात राज्यमा परेको देखिन्छ।
त्यसैगरी अन्य संहिता ग्रन्थहरूमा मिथुन राशिस्थ गुरुफलम् भनेर विस्तृतमा जानकारी गराइएको छ– जब मिथुन राशिको बृहस्पति हुन्छ तब बालकहरू र घोडाहरूमा रोग र खण्डवर्षा हुन्छ। कर्कोटक वा गन्डुपद नामक वर्षा बर्सिन्छ र लोक पापी मन भएका चोरहरूबाट पीडित हुन्छन्। पश्चिमायां सिन्धुदेशे वायव्ये चोत्तरादिशि, चित्रा विचित्रा जायन्ते रोगाः पीडोत्तरापथे। अर्थात् मिथुनको गुरु हुँदा पश्चिममा सिन्धुदेशमा वायव्य र उत्तर दिशाका देशमा चित्र विचित्र रोग र उत्तरतर्फका देशप्रदेशमा पीडा हुन्छ।
लोकमा मिथुनराशिको गुरुलाई व्यभिचार गराउन सक्ने भनिएको छ र कुनै बेला यस्तो गुरुचारको प्रभावले देशभंग हुने पनि गर्छ। यदि मिथुन राशिको वृहस्पति वक्री भएमा पशुहरूको भाउ बढ्ने मार्गशीर्षादि महिनाहरूमा भूमिमा सुभिक्ष हुने, सबै लोक सुखी र कतै दुर्भिक्ष हुनसक्ने मानिन्छ।
मृगशीर्ष र आद्र्रा नक्षत्रमा वृहस्पति भएमा सुभिक्ष सुख र राम्रो वर्षा हुन्छ, पुनर्वसु, पुष्य र अश्लेषा नक्षत्रमा वृहस्पति हुँदा तब अनावृष्टि, घोरभय र सबै देशहरूमा दुष्काल हुनसक्छ। मृगशीर्ष आदिदेखि पाँच र चित्रादिदेखि आठ नक्षत्रहरूमा वृहस्पतिले भ्रमण गरेमा अशुभ र बाँकी नक्षत्रमा बृहस्पति हुँदा शुभ रहने भनेर पनि भनिएको छ।
तत्काल आद्र्रा नक्षत्रमा गुरुको भ्रमण फल– आद्र्रायां प्रचुरं जलं कर्पासतिल विनाशः, पुनर्वसौ आरोग्यं सुभिक्षं सुवृष्टिः सर्वधान्यनिष्पत्तिः। अर्थात् गुरुको भ्रमण आद्र्रा नक्षत्रमा हुँदा प्रचुर वर्षा तथा कपास र तिलको नाश हुन्छ। पुनर्वसु नक्षत्रमा गुरुको भ्रमण आरोग्य सुभिक्ष राम्रो वर्षा र सबै धान्यहरूको राम्रो उत्पादन हुने मानिन्छ।
मिथुनराशिमा बृहस्पति उदय हुँदा वृहस्पतिको अवस्थानुसार (उमेरका) देह व्यापार गर्ने वेश्याहरूलाई पीडा हुन्छ। त्यसैगरी असार महिनामा गुरु उदय भएमा प्रमुख शासकहरूमा युद्ध र अन्नको भाउ तेज हुन्छ। मिथुन राशिमा गुरु अस्त हुनुलाई भने खासमा त्यति शुभ मानिएको छैन।
विचार गर्दा उत्तरतर्फका देश–प्रदेशमा कष्ट हुनसक्ने प्रभाव बोकेको मिथुन राशिको गुरु उदय हुनासाथ कुनै प्रकारको पूर्व सूचनाबिना नेपालको उत्तर दिशातर्फ पर्ने चीनमा हिमताल फुटेर तिब्बतको भोटेकोशी नदीको बाढीले नेपाल र चीनको सिमानामा पर्ने रसुवागढी नाकामा ठुलो जनधनको हानी तथा नेपालको उत्तरतर्फ नै पर्ने मुस्ताङलगायत क्षेत्रमा पनि बाढीको प्रकोपले दुःख दिइरहेको देखिन्छ।
काठमाडौं हुँदै कैलाश मानसरोवर जाने पर्यटकहरूले पनि सास्ती भोग्नुपरिरहेको छ। गएको जेठ २६ गते बुध उदय भएको थियो र आउने साउन ७ गते अस्त हुन्छ। गुरु उदय भएकै दिन असार २३ गतेबाट शनि वक्री हुन सुरु भएर मंसिर २५ गते मार्गी भएको देखिन्छ।
तत्काल गएको जेठ तेस्रो सप्ताहबाट साउन १२ गतेसम्म युद्ध र अत्यधिक वर्षाकारक मानिने कुम्भको राहु र सिंहमा रहेको नेपाल देशको राशि स्वामी मंगल परस्पर १८० डिग्रीको अन्तरमा रहेको प्रभाव पनि जुधिरहेको अवस्था छ।
कुनै एक प्रकारको अशुभ प्रभावभन्दा धेरै प्रकारका अशुभ प्रभावहरू जुधेको खण्डमा विश्व परिवेशमा ठुला अप्रिय घटनाहरू घट्ने गरेको ज्योतिषीय अनुसन्धानमा पनि देखिएका छन्। यो वर्ष कस्तो रहन सक्ला भनेर नजिकैका दिनहरूमा नागरिक दैनिकमा प्रकाशित लेखहरू – ‘अधिकमास र अधिपति शुक्रको अशुभ उदय’, ‘शुक्रको उदयास्त र राजनैतिक सामाजिक प्रभाव’, ‘संवत्सर वर्ष २०८२ र अधिकारी ग्रहका शुभाशुभ संकेत’मा पनि उल्लेख गरिएको छ। संहिता ज्योतिषअनुसार वर्षको विषयमा बुझ्नुपर्ने भदौ र फागुनमा देखिने चन्द्रग्रहण, बुधको उदय, मीनको शनिलगायत अरू पनि धेरै कुराहरू बाँकी छन्।
प्राचीन महर्षिहरूको मतमा शुक्र वृहस्पति अस्त र बाल वृद्ध हुँदा विवाह, व्रतबन्ध, यात्रा, गृहारम्भ, गृहप्रवेश आदि कर्महरू गरियो भने त मृत्यु दायक हुने मानिन्छ। भनिएको छ– ‘विवाहो व्रतबन्धो वा यात्रा वा गृहकर्म च, गुरावस्तमिते शुक्रे ध्रुवं मृत्युं विनिर्दिशेत्।’
ज्योतिष रत्नमालानुसार श्रीपतिको मतमा पूर्वमा शुक्रको उदय भएमा तीन दिन शिशुत्व र अस्त भएमा दस दिन वृद्धत्व तथा पश्चिममा उदय हुँदा दस दिन शिशुत्व र पाँच दिन वृद्धत्व वर्जित मानिन्छ।
गुरुको उदय र अस्तमा पन्ध्र दिन वर्जनीय हुन्छ भनेर अत्रि र वशिष्ठले भनेका छन्। धर्मसिन्धु ग्रन्थमा उल्लेख भएअनुसार जुन कुराहरू अधिकमासमा वर्जित भनिएको छ, ती सबै कुरा गुरु र शुक्रको अस्त, बाल्य, वृद्ध, पनि वर्जित जान्नु भनिएको छ। त्यसैगरी गुरु र शुक्रको अस्तभन्दा पहिले सात दिनसम्म वृद्ध र उदयपछि सात दिनसम्म बाल्यावस्था हुन्छ। यो मध्यम पक्ष हो। १५ दिन, पाँच दिन र तीन दिन आदि जुन पक्ष छन्, ती आपत्ति अनापत्तिको विषयमा हुन, यसमा देश–कालविशेषमा नै ती बुझ्नु भनिएको छ।
प्रकाशित: १० श्रावण २०८२ ०७:५१ शनिबार
