मिथिलाञ्चल क्षेत्रमा चौरचन पर्वको रौनक , चन्द्रमाको पूजा गर्ने चलन



प्रकाशित मिति : भाद्र २१, २०८१ शुक्रबार

जनकपुरधामसहित सम्पूर्ण मिथिलाञ्चल क्षेत्रमा चौरचन पर्वको रौनक देखिएको छ । मिथिलाको महत्त्वपूर्ण पर्वका रुपमा रहेको चौरचन पर्व मनाउन बजारमा किनमेल गर्नेहरूको बिहानदेखि नै भीड छ । व्रती तथा तिनका परिवार पर्वको तयारीमा जुटेका छन् ।

चौरचनमा प्रयोग हुने माटाको भाँडावर्तन एक साता अगाडि नै किनेका भए पनि फलफूल तथा अन्य पूजाका सामग्री आजसम्म किनमेल गरिने भएकाले बजारमा भीड बढेको हो ।

मिथिलाका ठूला पर्वमध्ये एक रहेको चौरचन पर्वमा चन्द्रमालाई पूजा गर्ने परम्परा छ । मिथिलामा सूर्यको मात्र होइन, मानवसहित सम्पूर्ण जगतलाई शीतलता दिने चन्द्रमाको पनि पूजा गर्ने चलन रहेको छ ।

यो पर्व भदौ महिनाको शुक्लपक्ष चौथी तिथिका दिन मनाइन्छ । मधेसी समुदायले यसलाई छठपछिको दोस्रो ठूलो पर्वका रूपमा मनाउने गर्दछन् ।

चौरचन पर्वका दिन व्रत बस्ने चलन छ । यस पर्वको माध्यमबाट मैथिल कला, संस्कृतिको उजागर हुने वरिष्ठ पत्रकार रामभरोस कापडी बताउनुहुन्छ ।

खासगरी आँगनमा पूजा हुने भएकाले चामलको पिठोको कलात्मक अरिपन बनाई, त्यसमाथि पूजाका सामग्री राखेर धार्मिक विधिपूर्वक पूजापाठ गरिन्छ ।

सो क्रममा नयाँ माटोको भाँडाको दही, केरा, मिठाई, फलफूलका साथै विभिन्न प्रकारका पकवान राखेर विभिन्न देवीदेवतालाई चढाइने गरिन्छ कापडीले भन्नुभयो ।

प्रसादका रूपमा पिरकिया, खजुरी, खाजा, पुरी र खिर घरघरमा बनाउने चलन छ । फलफूलका अतिरिक्त दहीले पनि गणेश र चन्द्रमाको पूजा गरिन्छ ।

मिथिलाञ्चल क्षेत्रमा चौरचन पर्वको रौनक , चन्द्रमाको पूजा गर्ने चलन

चौथीको दिन चन्द्रदेवलाई खाली हात दर्शन गर्न नहुने मान्यताअनुसार चौरचन पर्व मान्ने परिवारजनले हातमा केरा, स्याउ, अम्बा, अनार, काँक्रो, घरमा तयार पारेको पकवान, मिठाई, गाँजरजस्ता सामग्री लिएर दर्शन गर्ने परम्परा छ ।

दिनमा प्रसाद बनाउने र बेलुका पूजा गर्ने गरिन्छ । पण्डित इन्द्रकान्त झा शास्त्रीका अनुसार यो पर्वको प्रारम्भ मिथिला नरेश हेमाङ्ग ठाकुरद्वारा भएको मानिन्छ ।





Source link

Leave a Comment