हरेक प्रजातिको आफ्नो प्राकृतिक वासस्थान वा रैथाने क्षेत्र हुन्छ । सामान्यतया दक्षिण अमेरिकामा पाइने प्रजाति हजारौं किलोमिटर टाढा समुद्र पार गरेर एशियामा वा अष्ट्रेलियामा पुग्ने सम्भावना कम हुन्छ ।
चराहरू एक ठाउँबाट टाढा पुगेका हुन्छन्, तर उनीहरू फर्किन्छन् । जमिनका जनावर वा बिरुवाहरू रैथाने ठाउँबाट टाढा पुग्न सक्दैनन् । हरेक प्रजातिको आफ्नो प्राकृतिक रैथाने क्षेत्र हुन्छ । त्योभन्दा टाढा जान विभिन्न अवरोध हुन्छन् । मरुभूमि, समुद्र, अग्ला हिमाल जस्ता प्राकृतिक विषमताका कारण यस्ता वनस्पतिहरू आफ्नो थातथलोबाट टाढा पुग्न पाउँदैनन् ।
तर मान्छेको आवतजावत र बसाइँसराइपछि वनस्पति र रूख–बिरुवा पनि एक ठाउँबाट अर्को ठाउँमा सर्न थाले । त्यसले गर्दा दक्षिण अमेरिकाका प्रजातिहरू मानिसहरूले ओसारेर एशियामा पुग्न थाले । यिनलाई युरोपबाट अष्ट्रेलियासम्म पुर्याउन थालियो ।
मानिस मार्फत एक ठाउँबाट अर्को ठाउँमा सारिएका प्रजातिलाई हामीले बाह्य प्रजाति भन्छौं । नेपालमा वर्षांैदेखि उत्पादन भइरहेका आलु, मकै लगायत पनि बाह्य प्रजाति हुन् । यी दुई प्रजातिको रैथाने क्षेत्र दक्षिण अमेरिका हो ।
ओसारपसारबाट अर्को क्षेत्रमा पुगेका बाह्य प्रजातिमध्ये कतिपय प्रजातिहरू प्राकृतिक वासस्थानमा स्थापित हुन्छन् । ती प्रजातिहरू हामीले लगाइएका निश्चित ठाउँभन्दा बाहिर पनि फैलिन्छन् । तीमध्ये केहीले अरू वनस्पति र प्रजातिहरूलाई हानि पुर्याउँछन् ।
त्यस्ता प्रजातिहरूले नयाँ ठाउँमा पुगेर त्यहाँका प्रजातिहरूलाई विस्थापित गर्ने, पर्यावरणीय सन्तुलन बिगार्ने, उत्पादनमा असर पार्ने लगायत काम गर्छन् । त्यस्तो हानि पुर्याउने प्रजातिलाई मात्रै हामीले बाह्य मिचाहा प्रजाति भन्ने गरेका छौं ।
सबै बाह्य प्रजातिलाई हामी मिचाहा प्रजाति भन्दैनौं । हानि पुर्याउने प्रजातिलाई मात्रै हामीले बाह्य मिचाहा प्रजाति भन्ने गरेका छौं । तीन वर्षअघि प्रकाशित विश्वव्यापी अनुसन्धान प्रतिवेदन अनुसार, मानिसहरूले एक ठाउँबाट लगेर अर्को ठाउँमा स्थापित भएका बाह्य प्रजातिको संख्या करिब ३७ हजारभन्दा बढी छ भन्ने अनुमान गरिन्छ । तीमध्ये नयाँ ठाउँमा पुगेर हानि पुर्याउने ३५०० प्रजातिलाई मात्रै मिचाहा प्रजाति भन्ने गरिएको छ ।
कतिपय मिचाहा प्रजातिहरू नेपालभर फैलिइसकेका छन् । काँडे वनमारा नेपालभर फैलिइसकेको छ । निकै तीव्र गतिमा फैलिएकाले त्यो नियन्त्रण भन्दा बाहिर गइसकेको छ ।
नेपालमा पनि केही वर्षदेखि मिचाहा प्रजातिका बारेमा अनुसन्धान भइरहेको छ । अहिलेसम्म हेर्दा वनस्पतिमा करिब ३० वटा प्रजातिलाई मिचाहा भन्ने गरिएको छ । २० थरीका जीवजन्तु पनि यही मिचाहा प्रजातिको वर्गीकरणमा परेका छन् । तर यो आलेख जीवजन्तु भन्दा पनि वनस्पतिकै विषयमा केन्द्रित हुनेछ ।
नेपालमा पाइएका ३० मध्ये ६ वटा वनस्पतिहरूलाई विश्वव्यापी रूपमा नै अत्यन्त हानिकारक मानिएको छ । काँडे वनमारा (वैज्ञानिक नाम ल्यान्टाना), सेतो वनमारा (क्रोमोलिना), लहरे वनमारा (माइकिने), जलकुम्भी (वाटर हाइफिन) छन् । अर्को सिंगापुर डेभी भन्ने पनि छ, जसको नेपाली नामकरण भएकै छैन । यो वनस्पति काभ्रे र कैलालीमा मात्रै भेटिएको छ । अर्को इपिलइपिल पनि मिचाहा प्रजातिको कोटिमा पर्छ ।
नेपालमा इपिलइपिललाई घाँसका लागि भित्र्याइएको हो । अफ्रिका, अष्ट्रेलिया एवं एशियाका कतिपय मुलुकमा यसलाई घाँसको रूपमा लगियो तर पछि त्यो बिरुवा घाँस लगाएको ठाउँबाट प्राकृतिक वासस्थानमा फैलियो । इपिलइपिल अहिले नै फैलिएर समस्या बनिसकेको छैन, तर विस्तारै फैलिने क्रममा छ । तर भविष्यमा समस्या हुनसक्ने भएकाले यसलाई हानिकारक कोटिमा राखिएको हो ।
कतिपय मिचाहा प्रजातिहरू नेपालभर फैलिइसकेका छन् । काँडे वनमारा नेपालभर फैलिइसकेको छ । निकै तीव्र गतिमा फैलिएकाले त्यो नियन्त्रण भन्दा बाहिर गइसकेको छ । कतिपय प्रजातिहरू केही सीमित ठाउँमा मात्रै छन् र भोलि फैलिने जोखिममा पुगेका छन् । अरू देशहरूमा धेरै नै असर गरिसकेको तर नेपालमा भर्खरै आइपुगेका वनस्पतिलाई पनि हामीले मिचाहा प्रजातिको कोटिमा राख्ने गरेका छौं ।
वनस्पतिहरूका प्राकृतिक वासस्थान छन् । जंगल, चौर, सिमसार क्षेत्रहरूलाई यी मिचाहा प्रजातिले असर पुर्याउँछन् र बिगारिदिन्छन् । वस्तुभाउहरू चर्ने चौरमा मिचाहा प्रजाति फैलिएमा जनावरहरू चर्न पाउँदैनन् । काँडे वनमारा वस्तुभाउले खाँदैनन्, तर ती चउरभरि फैलिएका हुन्छन् ।
मिचाहा प्रजातिहरूले चौरको घाँस घटाइदिन्छ । त्यसले घरपालुवा र जंगली दुवै जनावरलाई हानिकारक असर गर्ने भयो । मिचाहा प्रजातिले रैथाने प्रजातिलाई त्यहाँबाट विस्थापित गरिदिन्छन् । यसले हाम्रा रैथाने प्रजातिको पुनरुत्पादनलाई पनि असर गर्छ ।
अर्कोतर्फ सिमसार क्षेत्रको पानी जलकुम्भीले ढाकेको हुन्छ । जलकुम्भीले ढाकेपछि पानीभित्र प्रकाश कम छिर्छ । अनि पानीभित्रको जीवन प्रणाली र जलचरहरूलाई त्यसले प्रत्यक्ष असर गर्छ । कतिपय चराहरूले पानीभित्र गएर आफ्नो आहार खोज्छन् । तिनलाई पनि जलकुम्भीले असर गर्छ । यस्ता मिचाहा प्रजातिले वातावरणीय रूपमा वासस्थानलाई क्षति पुर्याउँछ ।
मिचाहा प्रजातिले कृषि उत्पादनमा पनि दख्खल पुर्याउँछ । यसले कृषि उत्पादन घटाउँछ र त्यसलाई रोक्न ठूलो खर्च गर्नुपर्ने हुनसक्छ । त्यसले उत्पादकत्व घटाउँछ । त्रिशूलीको खहरे क्षेत्रको धानमा एकथरी झार फैलियो । जलकुम्भी भन्दा सानो हुने झारले यति दुःख दियो कि किसानले ब्याड राख्दादेखि धान स्याहार्दासम्म ३/४ पटक त्यो झार हटाउनुपर्ने अवस्था बन्यो ।
कतिपय मिचाहा प्रजातिको झार/घाँस बन्छ र तिनलाई गाईवस्तुले पनि खान्छन् । त्यसैले तिनलाई खासै समस्याको रूपमा हेरिंदैन । अहिले भित्री मधेश र उच्च पहाडी क्षेत्रमा निलुगन्धे नामक झार निकै फैलिएको छ । अहिले नै यो झार किसानहरूको टाउकोदुखाइ बनिसकेको छ । हुनत सेतोगन्धे पनि मिचाहा नै हो, तर त्यो घाँसको रूपमा प्रयोग हुने भएकाले किसानहरूले समस्या ठान्दैनन् ।
तर निलुगन्धे आकारमा पनि अलि ठूलो हुन्छ, त्यसको घाँस पनि हुँदैन । अनि पशुका लागि पनि विषालु हुन्छ । त्यो वनस्पति हुर्कने क्रम निकै तीव्र हुन्छ । त्यस्ता मिचाहा प्रजातिका कारण किसानले बढी खर्च गर्नुपर्छ, अर्कोतर्फ कृषि उत्पादन पनि कम हुन्छ ।
ढोरपाटन क्षेत्रतिर भोटेझार फैलँदो क्रममा छ, ज्वानो जस्तो देखिने भएकाले त्यसलाई कतिपयले ज्वाने झार पनि भन्ने गरेका छन् । ज्वाने झारले आलु, गहुँ जस्ता हिउँदेबाली सखाप बनाएको रहेछ । मकैमा जस्तो गहुँबारीमा भित्र गएर झार गोडमेल गर्न मिल्दैन ।
त्यहाँका किसानहरूले ज्वानेझारका कारण आलु उत्पादन आधाभन्दा बढी घटेको गुनासो गर्छन् । ढोरपाटन क्षेत्र आलुकै लागि प्रसिद्ध छ । त्यहाँको आलुले स्थानीयलाई सामाजिक र आर्थिक रूपमा भरथेग गरेको हुँदोरहेछ । तर यसरी मिचाहा झारको प्रकोप फैलिएपछि किसानहरू मारमा परेका छन् ।
मिचाहा प्रजातिले स्वास्थ्यमा पनि असर गरेको हुन्छ । पाती झार कतिपयका लागि निकै एलर्जी गराउने खालको हुन्छ । पूर्वी नेपालमा उल्टा काँडा भन्ने वनस्पति फैलँदो छ । लज्जावती जस्तो देखिने तर केही ठूलो आकारको यो झारको विषालुपनाले कैयौं बाख्रा मरेका छन् ।
त्यो झारको मुन्टामा विषयुक्त रसायन हुन्छ । उल्टो काँडा भएको त्यो झार गाईवस्तुले खाँदा सहजै पेटभित्र जान्छ । तर उनीहरूले उघ्राउँदा काँडाका कारण शरीरको भित्री भागमा रक्तस्राव भएर बाख्राहरू मरेका थुप्रै उदाहरण छन् ।
यसरी सरसर्ती हेर्दा मिचाहा प्रजातिका विभिन्न असर देखिने भयो । पहिलो, मिचाहा प्रजातिका कारण रैथाने प्रजातिहरू विस्थापित हुनेभयो । दोस्रो, मिचाहा प्रजातिले प्राकृतिक वासस्थानलाई बिगारेका हुन्छन् । तेस्रो, यसले कृषि उत्पादनलाई निकै घटाएको छ । चौथो, पशु तथा मानव स्वास्थ्यका लागि यसले असर गरिरहेको छ, कतिपय अवस्थामा अत्यन्त हानिकारक असर पनि छ ।
अहिले जैविक विविधतामा ह्रास भएकोमा विश्वव्यापी चिन्ता छ, त्यसका विभिन्न कारण छन् । जैविक विविधता संकटमा पर्नुका ५/६ वटा कारणमा जंगल फडानी प्रमुख कारण हो भने दोस्रो कारण मिचाहा प्रजातिको अतिक्रमण नै हो । यसरी मिचाहा प्रजातिको बहुआयामिक असर देखिन्छ । आर्थिक पक्ष, मानव स्वास्थ्यदेखि वातावरणसम्म यसले असर गरेको हुन्छ । यसले मानिसको जीविकोपार्जनमा पनि असर गरिरहेको हुन्छ ।
पोखराका तालतलैयाबाट जलकुम्भी हटाउने प्रयास निकै सराहनीय थियो । तर, साना त्रुटिले गर्दा प्रयासहरू अर्थहीन बन्न पुग्ने गरेको छ ।
मिचाहा प्रजाति रोकथामका उपायहरू पनि छन् । मानिसहरू मार्फत नै एक ठाउँबाट अर्को ठाउँमा मिचाहा प्रजाति ओसारपसार हुने वा सर्ने गर्छन् । अब हामी कसरी यो सर्छ भन्नेमा चनाखो बन्नु आवश्यक छ । हामीले जानाजान पनि मिचाहा प्रजातिलाई ओसारपसार गरिरहेका हुन्छौं ।
कतिपयले फूलका लागि ल्याएका हुन्छन्, कतिपयले राम्रो घाँस हुन्छ भनेर ल्याएका हुन्छन् । तर, निश्चित अवधिपछि ती वनस्पतिले आफ्नो मिचाहा चरित्र देखाउँछन् । फूलका लागि ल्याउँदा जलकुम्भी र काँडे वनमाराहरू हाम्रो समाजमा सल्किएका हुन् । निश्चित प्रयोजनका लागि ल्याए पनि तिनीहरू प्राकृतिक वासस्थानमा फैलिए ।
अन्तर्राष्ट्रिय व्यापारको सिलसिलामा सामानहरूसँग मिसिएर पनि यस्ता मिचाहा प्रजातिका वनस्पति एक ठाउँबाट अर्को ठाउँमा पुगेका हुन्छन् । खुला सिमाना भएका देशहरूमा यस्ता प्रजातिहरू सहजै एक ठाउँबाट अर्कोमा पुग्छन् । हाम्रै सीमा क्षेत्रमा तरकारी ओसारपसार गर्दा तरकारी मात्रै आउँदैन । झार, बीउ र कीराफट्याङ्ग्रा पनि एक ठाउँबाट अर्को ठाउँमा पुग्छन् ।
हामीले राष्ट्रियस्तरमा जैविक सुरक्षा नीति तय गर्नुपर्छ । अन्तर्राष्ट्रिय सीमामा क्वारेन्टाइनका क्रममा मिचाहा वनस्पतिहरूको ओसारपसार नहुने सुनिश्चितता गर्नुपर्छ । नेपालमा अरू मुलुकका प्रजातिहरू भित्र्याउन आवश्यक हुन्छ । हामीलाई काम लाग्ने र उपयोगी हुने चिजहरू भित्र्याउनुपर्छ । तर ल्याउनुअघि उक्त वनस्पति भविष्यमा मिचाहा बन्न सक्छ कि सक्दैन भन्नेमा पूर्वपरीक्षण गर्नुपर्छ । पूर्वपरीक्षण गरेर ल्याइएका प्रजातिहरू नेपाल ल्याएपछि मिचाहा हुने सम्भावना कम हुन्छ ।
कुनै मिचाहा प्रजाति नेपाल ल्याइसकेपछि रातारात देशभर फैलिंदैन, एक ठाउँमा टिक्न र विस्तारै फैलिन समय लाग्छ । कुनै ठाउँमा फैलिएको छ भने तत्काल त्यसलाई नियन्त्रण गर्न अग्रसर हुनुुपर्छ । उदाहरणका लागि पूर्वी नेपालमा मात्रै फैलिएको उल्टा काँडालाई हामीले तत्काल नियन्त्रण गर्नुपर्छ । त्यसलाई रोक्न नसक्ने हो भने केही वर्षमा त्यो देशभर पुग्छ र नियन्त्रण गर्न असम्भव जस्तै हुन्छ ।
कैलाली र काभ्रेको पाँचखालमा मात्रै रहेको अर्को प्रजातिलाई पनि अहिले नै नियन्त्रण गर्नुपर्छ । शुरूको अवस्थामा भएकाले तिनलाई नष्ट गर्नु नै प्रभावकारी विकल्प हो । फूल फुल्नुभन्दा अघि नष्ट गर्न सकियो भने केही वर्षमा नियन्त्रणमा ल्याउन सकिन्छ ।
कतिपय प्रजाति नेपालभर फैलिइसकेको छ । त्यसको क्षतिको मात्रा थाहा नहुने मानिसहरूले अझै पनि कतिपय वनस्पति विभिन्न प्रयोगका क्रममा एक ठाउँबाट अर्को ठाउँमा ओसारिरहेका छन् । त्यसैले यसमा जनचेतना पनि आवश्यक छ ।
कतिपय ठाउँमा मिचाहा प्रजाति नियन्त्रण गर्न समुदाय वा स्थानीय सरकारले गरेको पहल पनि उदाहरणीय हुन्छ । पोखराका तालतलैयाबाट जलकुम्भी हटाउने प्रयास निकै सराहनीय थियो । तर, साना त्रुटिले गर्दा प्रयासहरू अर्थहीन बन्न पुग्ने गरेको छ । जलकुम्भी हटाउने क्रममा ५/१० प्रतिशत अवशेषहरू त्यतिकै छुटेका हुन्छन्, जसले गर्दा २/४ वर्षमै फेरि पुरानै अवस्था हुन्छ । यसले नियमित खर्च भइरहने तर समस्याको समाधान नहुने अवस्था आउँछ ।
झारहरू हटाउने क्रममा फूल फुलेपछि बोट काटेर अर्थ हुँदैन, फूल फुल्नुअघि नै बिरुवा फाँड्नुपर्छ । पूर्वी नेपालमा उल्टा काँडा हटाउँदा फूल फुलेपछि बोट फाँड्न भएका प्रयास अर्थहीन भएको छ । यसरी मिचाहा प्रजाति हटाउने क्रममा भएका प्रयासहरूलाई सावधानीपूर्वक अघि बढाउनुपर्छ ।
करिब आठ वर्षअघि वन मन्त्रालयले मिचाहा प्रजाति हटाउनेबारे रणनीति तय गरेको थियो । तर, आजको मितिसम्म त्यो रणनीति पारित भएको छैन । संरक्षित क्षेत्र, राष्ट्रिय निकुञ्ज लगायतका बारेमा विभिन्न नीति तथा रणनीतिहरू छन् । त्यसक्रममा अब मिचाहा प्रजाति नियन्त्रण सम्बन्धी नीति पनि आवश्यक भइसकेको छ । बाघ, गैंडा संरक्षण लगायतका नीति छन् । तिनको वासस्थान संरक्षण गर्न मिचाहा प्रजाति नियन्त्रण सम्बन्धी नीति बनाउनुपर्दैन र ?
(वनस्पतिविद् प्रा.डा. श्रेष्ठसँग अनलाइनखबरका लागि कृष्ण ज्ञवालीले गरेको कुराकानीमा आधारित ।)