सिदिङबाट उकालो हिंडेको करिब एक घण्टापछि एउटा चौतारो भेटियो। बिसौनीले बाटो छेकेपछि नबसी कसरी जानु! हामीले झोला बिसायौं। चौतारोदेखि हेर्दा माथिबाट माछापुच्छ्रेले घाँटी तन्काई–तन्काई हामीलाई नै हेरे जस्तै देखिन्थ्यो। मार्दी चाहिं त्यही माछापुच्छ्रेको काखमा लुकी बसेको थियो।
म माछापुच्छ्रे हेर्दै चौतारीमा अडेस लागेर ढल्किएँ। माथि–माथि हिमाल छोएर आएको चिसो बतास मलाई पनि छोएर गयो। क्या मिठो हावा यार मामाश्री, हामी पनि हावा जस्तै उडेर त्यहाँसम्म पुग्न पाए त है? सन्देश मतिर फर्किएर बोल्यो।
है, मैले त्यति मात्र जवाफ फर्काएँ।
तर मलाई त्यो रहर कत्ति पनि थिएन। मलाई त हिंड्नु थियो। मेरो पैतालाले त्यो भूगोल नाप्नु थियो जसलाई टेकेर म मेरो अठोटलाई छुन पुग्नेछु। सन्देश र सागर मेरा भान्जाहरू हुन् जो मार्दी यात्रामा मसँगै थिए। केही समयको बसाइपछि सागर र सन्देश आफ्नो-आफ्नो झोला बोकेर अघि लागे म उनीहरूलाई पछ्याउन थालें। आज हामी बादल डाँडासम्म पुग्ने ध्याउन्नमा थियौं।
साना साना पोथ्रापोथ्री र ठूला विशाल रूखहरू, लहरा ज्याउला झारपात सबै सबै हरियै छन्। ठूलाठूला रूखहरू हरियो कम्बल ओढे झैं बाक्लो झ्याउले बेरिएका छन्। कतै कतै बाटो नै छेकेर तर्ल्याङ तुर्लुङ्ग लहराहरू झुन्डिएका छन्। नाघेर जानुको सास्ती छ।
बाटोमा भेटिएका देखिएका डाँडापाखा हरियै छन् अझ रंगीविरंगी फूल फुलाएर सारै सुन्दर छन्। जता हेर्यो उतै राम्रो, जहाँ रोकियो त्यहीं रमाइलो। बाटो तल्तिर मास्तिर प्रशस्तै फूल फुलेका छन्। हरियोपरियो जङ्गल बीचको बाटो हामीलाई हाम्रो गन्तव्य पुर्याउनलाई लम्पसार परेको थियो।
सायदै बर्खाको समय भएकोले होला बाटोमा धेरै पदयात्री भेटिएनन्। पदमार्ग मर्मत गर्दै गरेका कामदारहरू भेटिए बेलाबेला। कतै ठाडो उकालो, कतै घुमाउरो, कतै तेर्सो तेर्सो पछ्याउँदा पछ्याउँदै बाटोले हामीलाई फुत्त लो–क्याम्पमा पुर्याइदियो।
लगभग तीन घण्टा जति लाग्यो सिदिङ छोडेर लो–क्याम्प आइपुग्न। उकालो हिंडाइले पैताला पोलेको थियो। पसिनाले शरीर भिजेको थियो। चियाको तिर्सना कुरा गरिसाध्य थिएन। एकै छिन थकाइ मार्नलाई चिया भन्दा अर्को के नै बहाना चाहियो र हामी लुसुक्कै एउटा होटलमा छिर्यौं।
जसै हामी होटल भित्र छिर्यौं बाहिर पानी पर्न थाल्यो। बडेमानको फलामे चुलोमा बसाएको चिया कित्लीको टुटीबाट सिर्र सिठी लगाउँदै बाफको मुस्लो निस्कियो। होटलको साहुनीले कप भरी–भरी चिया हालेर हामीलाई दिइन्।
चिया सुर्काउँदै आधा घण्टा जति अलमलिंदा पनि पानीले रोकिने छाँट देखाएन। हामीलाई थप त्यहीं रोकिने छुट थिएन। सबैले आफ्नो आफ्नो झोलातुम्बी मिलाउन थाल्यौं। कति भारी हो यार झोला पनि सागर आफ्नो झोला मिलाउँदै आफैं मुर्मुरिन थाल्यो। तिरोभरो सकेर हामी बादल डाँडा भेट्न उकालो लाग्यौं।
पानी झमझम परिरहेछ। पानीबाट जोगिनलाई हामी तीनै जनाले गम्लङ्ग रेनकोट ओढेको छौं। रेनकोटमा ठोक्किएको पानी बजेर अरू केही पनि सुनिंदैन। आँखाले देखिने जति सबै भूगोललाई हुस्सुले खर्लप्प निलेको छ। दुई–तीन मिटर अघि पछि के छ को छ केही देखिंदैन।
यो निस्पट अँध्यारोमा घोसेमुन्टो लगाएर हामी लुरुलुरु हिंडिरह्यौं। करिब दुई घण्टा पछि पानी विस्तारै कम हुन थाल्यो। वरपर अलि अलि देखिन थाल्यो। हुस्सु विस्तारै हराउँदै गयो। गजगज हिलो र उकालो काट्दै जसोतसो गरेर हामी बादल डाँडासम्म पुग्यौं।
झोला झुन्ड्याएर काँध गलेर फत्रक्कै भएको छ। ढाड छोइनसक्नु छ। पानीमा भिजेर लुगा लपक्कै छ। झरीमा एकोहोरो हिंडाइले जुत्ताभरि हिलो लतपत छ। जुत्ताभित्र खुट्टा पोलेर भतभत छ। ज्यानले बाँकी उकालो नधान्ला जस्तो लागेपछि हामी आज यतै बस्ने सुर कस्यौं।
शरीरले मस्तसँग आराम पाएर होला एकै छिन पानीले दिएको हैरानी बाहेक बादल डाँडादेखिको यात्रा सहज नै रह्यो।
होटलवाला दाइले कोठा देखाइदिए। हामीले कोठा पुगेर लुगा फेऱ्यौं र केही समय आराम गर्यौं। मामा चिया खान जाऊँ ल ! गुटमुटिएर सुतिरहेको सन्देश सिरक पन्छाउँदै बोले। ठिक कुरा गरिस् केटा ! सागर पनि जर्याकजुरुक्क उठे हामी चिया खान गयौं।
चिया खाँदै गर्दा एक जना साथी भेटिए समीर सिंह विष्ट। समीर मार्दी पुगेर फर्किएका रहेछन्। चिया खाँदै उनीसँग लगभग एक घण्टा कुरा भयो होला। गज्जबका फोटो, भिडियो खिच्दा रहेछन्। मुस्ताङ बसेर त्यहाँको पर्यटन प्रवर्धन गर्दा रहेछन्।
हामी एकअर्काको सामाजिक सञ्जालमा साथी बन्यौं। इन्स्टाग्राममा उनले राखेका फोटो भिडियो देखेर म अवाक् भएँ। क्या खिच्नु हुँदोरहेछ यार, मैले उनीसँग हात मिलाएँ।
समीरले मार्दीको बाँकी यात्राको लागि आवश्यक जानकारी दिए। मार्दीको एक दुई वटा सट हेर्नुहुन्छ ? मेरो आँखा उनको मोबाइल स्क्रिनमा पोखियो। समीरले देखाएको भिडियो यति सुन्दर थियो कि मलाई अहिले नै दौडिएर जाऊँ झैं भयो।
ल सरोजजी अब म चैं लाग्छु! भेटेर खुसी लाग्यो बरु यसो मिलाएर मुस्ताङ आउनुहोला म त्यतै हुन्छु, झोला उचाल्दै उनी बोले। उनको निमन्त्रणा र समयलाई धन्यवाद सहित मैले उनलाई बिदा गरें। समीर हिंडेको एक छिन पछि होटल साहुले तात्तातो चाउचाउ पकाएर ल्याइदिए।
हामी चाउचाउ बोकेर बाहिर निस्क्यौं र आँगनको पल्लो छेउसम्म गयौं। म चारैतिर आँखा डुलाउन थालें। घाम अस्ताउन लागेको थियो। सगरमा डढेलो लागे झैं देखिन्थ्यो। चिसो बतासमा बाकटे हान्दै चिरबिर चिरबिर चराहरू उडिरहेका थिए। त्यो गोधूलिमा बादल डाँडामा उभिएर मैले नारायणगोपाल र आशा भोस्लेको गीत देखें।
पहाडको माथि माथि घुम्दै उडेर
आकाशको चारैतिर फैलिएर
पागल जस्तै उडी हिंड्ने
बादल हो त्यो बादल हो।
भोलि बिहान हामीलाई आठ बजेसम्ममा त्यहाँबाट हिंड्नु थियो। भोलिको लागि झोला तयार पारेर बेलुकाको खानपान सिध्याएर हामी सुत्यौं। भोलिपल्ट बिहान सात बजेको हुँदो हो हामी उकालो लाग्दा। शरीरले मस्तसँग आराम पाएर होला एकै छिन पानीले दिएको हैरानी बाहेक बादल डाँडादेखिको यात्रा सहज नै रह्यो।
हामीलाई हाम्रो उत्साहले डोऱ्याएर होला हाईपोइन्ट पुग्न लामो समय लागेन। हाम्रो निर्धारित होटल बेलैमा पुग्यौं तर हाईपोइन्ट पुग्दासम्मको उत्साह त्यहाँ पुगेर धेरैबेरसम्म रहेन। हाईपोइन्ट डाँडै अनकन्टार बनाएर कुहिरो थुप्रिएको थियो।
हिमाल हेर्न आएको मान्छे एक हात परको मान्छे नदेखिने भएपछि मन निराश भयो। के दिनमा हिंडिएछ यार। म गन्गनाउन थालें। आजदेखि मौसम लास्टै बिग्रियो — उसै बेला अग्लो कद तर दुब्लो ज्यान भएका एक जना व्यक्ति यसो भन्दै हामी भएतिर आए। उनी सुदिपजी थिए मार्दी हिमाल पदमार्गका सूत्रधार हाम्रो होटलका साहुजी। अबको केही दिन उनको होटल हाम्रो बसोबासको ठेगाना थियो। एकाध घण्टाको बसाइपछि होटलमा बसिरहन मन लागेन सुदिजीले भ्यु पोइन्टसम्म जान सुझाए हामी उकालो लाग्यौं।
कतै कतै चौडा नत्र सानो बाटो। घरीघरी नाकै ठोकिएला झैं उकालो। जति जति हिंड्यो उति उति मुस्लो भित्र पसे झैं लाग्ने कुहिरो स्वार्र स्वार्र काट्दै हामी लम्किरह्यौं। दुई घण्टासम्म उकालो र कुहिरोसँग पौंठेजोरी खेलेपछि एउटा गोठ भेटियो। हामी रोकियौं। कता पुगियो केही पत्तो छैन। जता हेर्यो कुहिरो मात्र छ।
त्यहाँ बसेको केही समय पछि कुहिरो पातलिंदै गयो। बादल छेडेर फुत्त फुत्त हिउँका टाकुरा बाहिर निस्किन थाले। हेर्दा हेर्दै कुहिरो त कता हो कता विलाइगयो। कुहिरो भित्र लुकिबसेको आकाश मुस्कुरायो। आहा जता हेर्यो हरियै डाँडा मात्र छ रङ्ग रङ्गका फूल फुलेका छन्। हिमालको सुन्दरता बयान गरिसाध्य छैन।
आँखालाई भ्याई–नभ्याई भयो। अलिक तल्तिर देब्रे पाटोमा ठूलो बथान भेडा चरिरहेका छन्। हरियो पाटोमा सेताम्मे भेडा कम्ती दामी देखिएको हैन। क्यानभासमा पोतिएको चित्र जस्तै। भेडा चरिरहेको ठ्याक्कै पारिपट्टिबाट एक जना दाइ घरीघरी ठूलो आवाजमा ल्या ल्या ल्या भन्दै कराउँदै कराउँदै हामी भए ठाउँसम्म आइपुगे।
उनी आइपुग्दा नपुग्दै कुहिरोले फेरि सबै थोक निलिहाल्यो। कतासम्म हिंड्नु भो? उनले सोधे। भ्यु पोइन्टसम्म दाइ मैले जवाफ फर्काएँ। ए त्यसो भए त ओरालो झर्नुस् यो त भ्यु पोइन्ट भन्दा धेरै माथि हो उनले ठट्यौली पारामा बोले। हामी अलमल्ल पर्यौं। यो अन्धकारमा बसिरहनु भन्दा जाऊँ होटलतिरै सन्देशले भने।
अब यहाँ त आइपुग्नु भो भोलि बिहान यहींसम्म आउने हो नजानुस् दु:खसुख यतै बसौं भेडाको सुकुटी छ मस्तसँग खाउँला जसोतसो रात कटाउँला– भेडीगोठे दाइ बोले। हामीले एकअर्कालाई हेऱ्यौं। आ बसौं न त! हामीले हुन्छको जनाउमा टाउको हल्लायौं।
अलिक माथि नै पुगेकाले होला निकै जाडो भयो। त्यो बेलुका मज्जाले भेडाको सुकुटी र बाक्लो दालसँग खाना खाइयो र सुतियो। बिहान उठ्दा आकाश पूरै उघ्रिएको थियो। चारैतिर हरियो परियो देखिन्थ्यो। भेडाहरूले गोठ छोडेर अघि नै चरन डाँडा ढाकिसकेका थिए।
थोरै लम्किंदा हातैले छोइएला झैं लाग्ने गरेर आँखै अघिल्तिर माछापुच्छ्रे र त्यसको छेवैमा मार्दी हिमाल टलल्ल टल्किरहेको थियो। त्यो बिहान हाम्रो यात्राले साँच्चैको रङ्ग लिएको थियो। जहाँ सोचेर हिंडेको त्यहाँ पुगिएको थियो। जे हेर्न खोजेको त्यो देखिएको थियो।
सुन्दरताको अर्थ सेताम्मे हिमालमा टल्किएको थियो। हरिया पहाडमा पोखिएको थियो। फूल भएर फुलेको थियो। चिसो बतासले बोकेको थियो। म उभिएको ठाउँमा मोहनी थियो म लट्ठिएको थिएँ। मैले त्यो दिन एउटा कुरा अनुभव गरें, खुसीले आँखा साँच्चै रसाउने रहेछ। मैले चारैतिर हेरें र दुई पटक शिर निहुराएँ– एक पटक सृष्टिको सृजनालाई सम्झिएर। एक पटक सृष्टिको यो अभूतपूर्व शृङ्गारलाई।