मानिसले कहिलेदेखि, केका लागि भूगोल बदल्न थालेको हो ?


सभ्यताको सुरुवातदेखि अहिलेसम्म मानिसहरू एक ठाउँबाट अर्को ठाउँमा सरेर आफ्नो अस्तित्वलाई सहज र उन्नत बनाउन खोजिरहेका छन् । उद्देश्य, तौरतरिका र गन्तव्य फरक भए पनि लाखौं वर्षदेखि मानिस नयाँ ठाउँ चहारिरहेका छन् । ‘बसाइँसराइको मानवशास्त्र’ माथि त्रिभुवन विश्वविद्यालयको मानवशास्त्रका सहप्राध्यापक सुरेश ढकालसँग अनलाइनखबरकर्मी कृष्ण ज्ञवालीले गरेको कुराकानी :

मानिसले कहिलेदेखि भूगोल बदल्न थालेको हो ? केका लागि उसले भूगोल बदल्नु आवश्यक भयो ? मानवशास्त्रीहरूले बसाइँसराइलाई कसरी व्याख्या गर्छन् ?

प्रागऐतिहासिक कालको कुरा गर्ने हो भने दक्षिण अफ्रिकी सहारा मरुभूमि वा घाँसेमैदानबाट करिब २० लाख वर्ष पहिले मानिसको आदिम पुस्ता बाहिर निस्कन थालेको प्रमाणहरू भेटिन्छन्। अफ्रिकाको एउटा समुदाय त्यहाँबाट विभिन्न भूगोलमा जान थालेको २० लाख वर्ष पुरानो इतिहास छ ।

यस्ता प्राग्ऐतिहासिक प्रमाण दुई किसिमबाट आउँछन् । एउटा, प्राग्ऐतिहासिक ढुंगे हतियारबाट । अर्को आनुवंशिक अनुसन्धानबाट पनि उनीहरू कति पुराना हुन् भन्ने नतिजा आउँछ । यस्ता अनुसन्धानबाट हेर्दा त्यतिबेलादेखि मानव जातिले भूगोल बदल्न थालेको देखिन्छ ।

त्यतिबेला मानिसहरूमा एक खालको बौद्धिक चेतना वा क्षमता विकास भएको थियो । थाहा नभएको ठाउँमा गएर पनि बाँच्न सकिन्छ भन्ने आँट आएपछि उनीहरू बसाइँ सर्न थालेका हुन् । आधुनिक मानवको कुरा गर्दा अफ्रिकाबाट करिब एक लाख वर्ष पहिले संसारमा फैलिन थालेको मान्यता छ । हाम्रो आदिम पुर्खा २० लाख वर्ष पहिले बसाइँ सरे भने हाम्रो नजिकको पुर्खा एक लाख वर्षअघिदेखि संसारभर फैलन थालेको देखिन्छ ।

मानिसहरू फरक भूगोलको खोजी गरेर हिंड्न थालेको लामो समय भइसकेको छ । भूगोल किन बदल्छन् भन्ने जिज्ञासामा बसाइँसराइबारे दुई आधारहरू नै आउँछन् । एउटा स्वेच्छिक आधारमा बसाइँसराइ हुनेभयो, अर्को बलपूर्वक वा बाध्यतावश बसाइँ सर्नेहरू पनि हुन्छन् ।

नयाँ कुरा खोजी गर्न, नयाँ ठाउँमा जाने उत्सुकताले राम्रो अवसरको खोजीमा मानिसहरू आदिम कालदेखि बसाइँ सर्थे, अहिले पनि त्यही भइरहेको छ । अर्कोतर्फ बाध्यताले पनि मानिसहरू बसाइँसराइ गर्छन् । बाढी, पहिरो, डुबान, आगलागी लगायतका विपत्तिहरूबाट जोगिन मानिसहरू अर्को ठाउँमा सर्ने गरेका छन् ।

त्यतिबेला जंगली जनावरहरूको आक्रमणबाट बच्न अर्को सुरक्षित ठाउँमा हिंड्ने गरेका थिए । अहिले पनि मानिसहरू बाध्यताले बसाइँ सरिरहेका छन् । तर त्यतिबेलाको तुलनामा अहिलेको बाध्यता अलि फरक खालको छ । लडाइँ, झगडा, युद्ध लगायत कारण बसिरहेको ठाउँबाट मानिसहरू हिंडेका छन् । अहिलेको चरित्रको बसाइँसराइ औद्योगिक क्रान्तिपछि विस्तार भएको हो भन्ने गरिन्छ ।

पछिल्ला ४/५ सय वर्षमा मानिसहरू अलि बढी र बाक्लो रूपमा बसाइँसराइ गरे । औद्योगिक क्रान्तिपछि उद्योगहरूमा काम गर्न मानिसहरू चाहियो । बसाइँसराइबाटै श्रमिकहरू एक ठाउँमा जम्मा हुन थाले। उद्योगका लागि स्रोत जुटाउनुपर्ने भयो । फरक भूगोलमा गएर कच्चा पदार्थ ल्याउन श्रमिक चाहियो।

त्यतिबेला श्रमका लागि दासहरू नै प्रयोग भएका थिए । यस्ता कारणले पछिल्लो ४/५ सय वर्षमा बलपूर्वक बसाइँ सर्नेहरू बढेको देखिन्छ । अहिलेको प्रवृत्ति भने केही फरक छ, जुनबारे हामी पछि कुरा गरौंला ।

बसाइँसराइको वातावरणीय, आर्थिक कारण पनि रहेछ । राजनीतिक र सामाजिक कारणहरू पनि छन् । त्यतिबेला भन्दा अहिले सामाजिक कारण प्रबल बनेका छन् । यसर्थ बसाइँसराइ भनेको आदिमकालदेखि अहिलेसम्म अभिन्न मानवीय स्वभाव बनेको छ ।

इतिहासदेखि अहिलेसम्म बसाइँसराइ भइरहेको छ । पहिलो र दोस्रो विश्वयुद्धका दौरान लडाइँमा नेपालीहरू सहभागी भएपछि बसाइँसराइ गर्ने क्रम ह्वात्तै बढेको देखिन्छ । पछिल्लो २० वर्षको अनुभव हेर्ने हो भने श्रम गर्न मानिसहरू विदेश जाने क्रम बढ्यो । बसाइँ सरेर हिंड्नेहरूको संख्या र तौरतरिका फरक होला, तर बसाइँसराइ अभिन्न मानवीय चरित्र बनेको छ । बसाइँसराइ कुनै कालखण्डको मात्रै विशेष चरित्र होइन ।

 तर, हिजो हाम्रा पुर्खा जुन उद्देश्यले नयाँ ठाउँमा हिंडेका थिए, आज हामी हिंड्नुको उद्देश्य अर्कै छ । बसाइँसराइको विकासक्रम के कसरी फेरिंदै जाँदो रहेछ ?

मानिसहरू हिजो नयाँ ठाउँ खोजी गर्न त गए, तर सबै कुरामा अनभिज्ञ थिए । आफूहरू जान खोजेको ठाउँ कस्तो छ भन्ने उनीहरूलाई थाहा थिएन । त्यसैले पनि होला, प्राग्ऐतिहासिक कालखण्डमा बसाइँ सर्ने प्रवृत्ति र अभ्यासबारे ‘स्काउटिङ’ भन्ने शब्दावली प्रचलनमा छ ।

त्यसरी हिंड्दा उनीहरू सबैजना एकै ठाउँमा जाँदैनथे । समुदायमा रहेकामध्ये कुनै झुण्ड नयाँ ठाउँमा जान्थ्यो । त्यो ठाउँ आफूहरूलाई उपयुक्त छ भन्ने भएपछि उनीहरू मूल थलोमा आएर खबर गर्थे । त्यसपछि बल्ल सबै जना नयाँ ठाउँमा जान्थे । यस सम्बन्धी अभ्यासका पुरातात्विक प्रमाणहरू भेटिएका छन् । त्यतिबेला अनभिज्ञता र अनिश्चिततामै बसाइँसराइ हुन्थ्यो ।

वातावरणीय पक्ष, आर्थिक पाटो र बाँच्नका लागि अरू दबाबले उनीहरू यसो गर्न बाध्य हुन्थे । स्थायी रूपमा खेतीपाती गरेर बस्ने युगभन्दा अघि मानिसहरू मूलतः घुमफिर गरिरहेका हुन्थे, बसाइँसराइ भइरहेको हुन्थ्यो । त्यतिबेला घुमन्ते र यायावर जीवनशैली थियो । उनीहरूको कुनै निश्चित थातथलो थिएन । कृषिकाल अघिको शिकारी जीवनमा मानिसहरूको पहिचान नै घुमन्ते हो ।

नेपाली मूलका मानिसमा पनि कुनै बेला नेपाल फर्किने चाहना हुन्छ । अमेरिका बसेका नर्वेजियनहरू, पेरु बसेका जापानीहरू घर फर्किन खोजिरहेका छन् । अवसरको खोजीमा भौंतारिनेहरू एउटा ढंगको उपलब्धि पछि आफ्नो जरामा फर्किने क्रम चलिरहेको हुन्छ ।

स्थायी बसोबास गर्न थालेपछि मानिसको चरित्र त बदलियो, एक ठाउँबाट अर्को ठाउँमा बसाइँसराइ गर्ने क्रम पनि केही घट्यो । निश्चित ठाउँमा खेतीपाती गर्नुपर्ने भएपछि मानिसहरू एक ठाउँमा केन्द्रित हुन थाले ।

अन्यत्र छरिएका मानिस निश्चित ठाउँ र भूगोलमा आउन थाले । कृषिको अलि पछिल्लो खेपमा आइसकेपछि अर्थात् औद्योगिक क्रान्ति हुनुभन्दा अघि (आजभन्दा ४/५ हजार वर्ष पहिले) विस्तारै व्यापार गर्ने सिलसिलामा घुम्ने क्रम शुरु भयो ।

नेपाल निर्माणकै कुरा गर्ने हो भने बसाइँसराइबाट आएका मानिसले यो मुलुक बनाएका हुन् । बसाइँसराइको सबैभन्दा ठूलो प्रतिबिम्ब के हो भने सांस्कृतिक र भाषिक विविधता हो । जति धेरै बसाइँसराइ भयो, त्यसले उति नै बढी सांस्कृतिक र भाषिक विविधता ल्याउँछ । अहिले संसार विविधताले सुन्दर छ भनिन्छ, त्यो बसाइँसराइका कारणले मात्रै सम्भव भएको हो । हामी नेपाली पनि सांस्कृतिक, भाषिक र जातीय विविधतामा गर्व गर्छौं । बसाइँसराइले गर्दा नेपाली समाज विविधतायुक्त भएको हो ।

पहिलेको बसाइँसराइ अनिश्चितता र अनभिज्ञतातिर थियो । बसाइँसराइ गराइदिने कुनै एजेन्सी हुँदैनथे । अब त्यो कठिनाइ छैन । हामी कतै जान खोज्दा त्यो ठाउँ अरू कसैले खोजी गरिसकेको छ । हिजो हाम्रा पुर्खाले पहिलो पटक त्यो ठाउँको खोजीनिती गरेका थिए भने आज त्यो ठाउँमा अरू कोही बसिसकेको, त्यो ठाउँबारे पर्याप्त ज्ञान भइसकेको हुन्छ ।

हिजोको तुलनामा आज मानिसहरू अलि बढी निश्चितता भएको ठाउँतिर गइरहेका हुन्छन् । अलि बढी सुविधा भएको ठाउँमा गइरहेका छन् । निश्चित गन्तव्यमा गइरहेका छन् । हिजो होस् या आज दुवैथरी बसाइँसराइको एउटै ध्येय हुन्छ ।

उनीहरू अहिलेभन्दा अलि सुखी, अलि उन्नत र गतिलो जीवनयापनका लागि हिंडिरहेका हुन्छन् । औद्योगिक क्रान्तिपछि पूँजीवादको विकासक्रमसँगै भूमण्डलीकरणको व्यापक विस्तार भयो । अनि बसाइँसराइले पनि व्यापकता पायो ।

बसाइँसराइकै दौरान आधुनिक राज्यको अवधारणा निर्माण भएको मान्न सकिने रहेछ ?

राज्य निर्माण मानव सभ्यताको निकै पछिल्लो चरित्र हो । त्योभन्दा पहिले नै थुप्रै मानिसको हलचल भइसकेको थियो । हामी भास्कोडिगामा र कोलम्बसको कथा पढ्छौं । भास्कोडिगामाले भारत र कोलम्बसले अमेरिका पत्ता लगाए भनिन्छ ।

शक्तिशाली र सैन्यशक्ति सम्पन्न र केही प्राविधिक क्षमता भएका मानिसहरू गएर कतिपय नयाँ ठाउँमा उपनिवेश बनाए, अनि विस्तारै राज्य स्वरुप लिन थाले । अहिले विश्वमा चानचुन २०० मुलुक छन्, तिनलाई हामीले राज्य मान्ने हो भने त्योभन्दा अगाडि पनि राज्यका अवधारणाहरू थिए । साना साना संयन्त्रहरूलाई एकीकृत गरेर राज्य निर्माण भएको देखिन्छ । अहिले नेपाल जे थियो, त्योभन्दा अघि पनि राज्य थियो ।

बसाइँसराइको प्रवृत्ति हेर्दा दुई स्वरुप देखापर्छ । पहिलो प्रवृत्तिमा एकथरी जाने र अर्कोथरी आउने क्रम भइरहेको हुन्छ । अर्को प्रवृत्तिमा समुदायको एउटा हिस्सा वा झुण्ड नै बसाइँ सरेर हिंडेको हुन्छ । झुण्ड गएपछि निश्चित वातावरण र पर्यावरणमा जीविकोपार्जनका उपायहरू खोजेको हुन्छ ।

समूह नै बसाइँ सरेर नयाँ ठाउँमा गएपछि खास खालको संस्कृति निर्माण हुन्छ । त्यसले उसको शारीरिक र सांस्कृतिक रूपमा प्रभाव पारिरहेको हुन्छ । छुट्टै खालको सांस्कृतिक र भौतिक परिचान निर्माण हुन्छ । अनि एउटा जातिसमूह निर्माण र राज्य तयार भएको हुन्छ ।

अहिले संयुक्त राज्य अमेरिका राज्यहरूको संयुक्त रूप हो । राज्य निर्माण बसाइँसराइका कारण हुने हो र यतिबेलाको जुन आधुनिक राज्य छ, निश्चित खालको औपनिवेशिक कालखण्डबाट विश्व गुज्रेर आउँदा परिणामस्वरुप राज्य बनेको देखिन्छ ।

मानिसहरूमा बुद्धिकै कारण बसाइँ सर्ने चेत पलाएको मान्ने हो भने अरू प्राणीहरू पनि बसाइँसराइ गरिरहेका छन् । तर उनीहरूको बसाइँसराइले मानिसमा जस्तो चेतनाको विकास हुन सकेन । यसरी हेर्दा मानिसहरूको हिंडाइ के अर्थमा भिन्न हो ?

तनावबाट उम्किएर सहज ठाउँमा जान मानिसहरू बसाइँ सर्छन् । जनावरहरू भने अर्को झुण्डको जनावरबाट बच्न बसाइँ सर्ने हुन् । पश्चिममा कृष्णसार र पूर्वमा कोशीका अर्नाहरू नेपाल भारततिर ओहोरदोहोर गरिरहेका हुन्छन् ।

कतिपय अरू घरपालुवा जनावरहरू घोडा, कुकुर, गाईबस्तुहरू त्यतिबेलादेखि नै मान्छे जता लाग्यो, त्यसै गएका उदाहरण भेटिन्छन् । मानिसहरूको हिंडाइ अलि स्वेच्छिक हुन्छ, जनावरले जस्तो अभाव व्यहोर्नुपरेको हुँदैन । अरू जनावरको बसाइँसराइको उद्देश्य हँदैन । भइरहेको भन्दा अलि राम्रो अर्को ठाउँमा मात्रै जान खोजिरहेको हुन्छ ।

मानिसहरूले उद्देश्यसहित बसाइँसराइ गर्छन् । कल्पनाशीलता र दक्षताले गर्दा मानिसलाई व्यवस्थित रूपमा बसाइँसराइ गर्न सक्ने बनायो । परापूर्वकालको उदाहरण हेर्ने हो भने जनावरहरूको हिंडडुल पनि स्वतन्त्र छैन, मानिसहरू जता गयो, उतैतिर गएको भेटिन्छ ।

घोडा युरेसियाबाट यहाँसम्म आएको भन्ने गरिन्छ । भनिन्छ कुन भाषा कति पुरानो हो भन्नका लागि कुनै जनावरको नाम त्यो भाषाको कति पुरानो हो भन्ने आधारमा लेखाजोखा गर्ने गरिन्छ । घोडा लामो समयदेखि मानिससँग बसाइँसराइ गरेर आएको देखिन्छ ।

घोडाले आफ्नै विचारले बसाइँसराइ गरेको थिएन । मानिसले बसाइँसराइ गर्दा घोडालाई पनि एक ठाउँबाट अर्को ठाउँमा सार्‍यो । मानिसहरूले ‘यहाँबाट हिंडेर अलि राम्रो ठाउँमा पुगें भने मेरो भविष्य सुन्दर हुनसक्छ’ भनेर कल्पना गर्न सक्छ, जनावरको त्यस्तो कल्पना हुँदैन । मानिसहरूको बसाइँसराइ उद्देश्य सहित हुन्छ, जनावरहरूको हुँदैन ।

भूगोल परिवर्तन गर्दा मानिसले के कस्ता जोखिमहरू लिन्छ ? फरक ठाउँ र परिवेशमा पुग्दा ती स्थानहरूमा के कस्ता जोखिम वा अवसर हुन्छन् ?

बसाइँ सरेर हिंड्दा जोखिम र अवसर दुवै हुन्छन् । हिजोको सन्दर्भमा भूगोल, पर्यावरण नै थाहा नभएको अवस्थामा मानिसहरू नयाँ ठाउँमा जाने गर्थे । त्यहाँको छरछिमेक नै थाहा छैन, के उपलब्ध छ भन्ने थाहै नभएको बेलामा मानिसहरू अनकन्टार ठाउँमा जानुपर्थ्यो।

पछिल्ला ५/७ हजार वर्ष पहिलेको कुरा गर्ने हो भने मानिसहरू जोखिमको हिसाब गरेर नयाँ ठाउँमा जानसक्ने भए । बाहिरियाहरूलाई त्यहाँ बसिरहेको समुदायले कसरी स्वीकार गर्छ भन्ने अर्को प्रश्न आउन थाल्यो ।

लामो समयको अनुभव हेर्‍यो भने यसरी बसाइँसराइ हुँदा कि बाहिरियाले त्यहाँ रहेको समुदायलाई दमन गरेको भेटिन्छ । नभए बाहिरिया त्यहाँको समुदायमा पुगेर आफ्नो पहिचान समर्पण गरेर त्यहाँको परिवेश स्वीकारेको हुन्छ । कतिपय ठाउँमा दुइटाको बीचमा संस्कृतिको प्रसार हुन्छ । एकअर्काको सांस्कृतिक आदानप्रदान हुन्छ र नयाँ संस्कृतिको निर्माण हुन्छ ।

पृथ्वीनारायण शाह सैन्य शक्तिको बलमा काठमाडौं आए । त्यो पनि एक किसिमको बसाइँसराइ नै थियो । उनी यहाँ आउँदा बाहिरको कतिपय संस्कृति काठमाडौं भित्रियो भने यहाँका कतिपय संस्कृति उनीहरूले पनि ग्रहण गरे । यो नियमित र क्रमिक रूपमा हुने प्रक्रिया हो ।

सिन्धुघाँटीको सभ्यता भयंकर ठूलो सभ्यता थियो भन्ने इतिहासहरूले देखाउँछन् । आर्य समुदायको आगमनले उनीहरूको अस्तित्व निमिट्यान्न पारे भन्ने उदाहरण भेटिन्छन् । नेपालमै पनि पृथ्वीनारायण शाह सैन्य शक्तिको बलमा काठमाडौं आए । त्यो पनि एक किसिमको बसाइँसराइ नै थियो । उनी यहाँ आउँदा बाहिरको कतिपय संस्कृति काठमाडौं उपत्यकामा भित्रियो भने यहाँका कतिपय संस्कृति उनीहरूले पनि ग्रहण गरे । यो नियमित र क्रमिक रूपमा हुने प्रक्रिया हो । दुईवटा संस्कृतिको घुलन भएपछि तेस्रो संस्कृति निर्माण हुन्छ, जुन दुई वटा भन्दा अझै उन्नत हुन्छ भन्ने मान्यता राखिन्छ ।

घुमन्ते व्यापारीहरूले अरूभन्दा अलि सिपालु, जोखिम आँकलन गर्न सक्ने र अरूभन्दा घुलमिल हुनसक्ने क्षमता विकास गरेका हुन्छन् । जति घुम्यो, उति परिपक्व भएका हुन्छन् । ‘जति खोलाको पानी खायो, उति बुद्धि आउँछ’ भन्ने नेपाली किंवदन्ती पनि छ ।

एकभन्दा बढी ठाउँमा गएपछि मानिसले एउटाभन्दा बढी भाषा सिक्छ, एउटाभन्दा बढी समुदायसँग घुलमिल हुन सक्छ । आफ्नो र अरूको क्षमता दाँज्न सक्छ । त्यसो हुँदा म यिनीहरूलाई दमन गर्न सक्छु भन्छ वा यिनीहरूबाट म जोगिनुपर्छ भन्ने सोचको विकास गर्छ । मेरो विचारमा अवसर र संस्कृति दुवै त्यसरी नै प्रसार भइरहेको हुन्छ ।

समुदायमा भएकामध्ये कसलाई बसाइँसराइको आवश्यकता पहिले हुन्छ ? बलियालाई कि निर्धालाई ? अथवा, कमजोरहरू पहिले बसाइँ सर्न खोज्छन् कि बलियो ?

सामान्यतया हेर्दा थातथलो छाडेर हिंड्नेहरू नै बलियो हुन्छन् भन्ने पढ्न पाइन्छ । उसले राम्रो प्रगति गरेको देखिन्छ । नेपाल बाहेक बाहिरतिरको अभ्यास हेर्‍यो भने पनि त्यही देखिन्छ । आइरिसहरू (आयरल्याण्डका मानिस) गएर अमेरिका नै कब्जा गरे ।

थातथलो छाडेर कस्ता मानिसहरू हिंडेका छन् भन्ने कुराले अहं अर्थ राख्छ । स्वेच्छिक बसाइँसराइ हो भने ऊ पुरानो ठाउँमा पनि बलियो छ, अर्को ठाउँ गएर पनि बलियो हुन सक्छ । बाध्यकारी बसाइँसराइ हो भने ऊ यहाँ कमजोर थियो, अर्को ठाउँमा अलि बलियो हुन सक्छु कि भनेर गएको हुन्छ । त्यसैले रैथाने बलियो हुन्छ कि अर्को बलियो भन्ने कुनै निश्चित मान्यता छैन ।

अर्कोतर्फ, कसलाई बलियो र कसलाई कमजोर मान्ने ? कमजोर र बलियोपन मापनको आधार के हो ? भन्ने प्रश्न पनि आउँछ । कसैले आफ्नो संस्कृति र परम्परालाई बलियोसँग जोगाएर राखेको छ भने एउटा समुदायका लागि त्यो सम्पत्ति हो ।

रैथानेहरूले जोगाएको संस्कृति भएकाले त्यो बलियो भयो । सांस्कृतिक समृद्धताका हिसाबले हेर्दा ऊ बलियो भयो । तर पारिवारिक र व्यक्तिगत हिसाबले हेर्‍यो भने जो थातथलो छाडेर गएको छ, ऊ बलियो देखिन्छ ।

थातथलो छाडेर जानेहरूको कुरा गर्दा ऊ गएर अर्को संस्कृतिमा घुलमिल गरेको छ, अर्को ज्ञान सिकेको छ, ऊ बलियो हुन्छ । आफ्नो थातथलो छाडेर नयाँ ठाउँमा गएर नयाँ ज्ञान सिकेर नयाँ वातावरणसँग जुधेर आफूलाई जोगाएर अघि बढ्न सक्यो भने त्यो धेरै अर्थमा सक्षम हुने रहेछ । ऊ प्रतिकूलताको बीचमा पनि बाँच्न सक्ने हुन्छ होला ।

बसाइँ सरेर हिंड्न खोज्दा हाम्रा पुर्खाहरूले हिजो पृथ्वीमा नदी, पहाड, मरुभूमि, जंगल जस्ता ठूला प्राकृतिक अवरोधहरूको सामना गरे । आजको मानिसले ती अवरोध छिचोल्यो । तिनका ठाउँमा आज भाषा, ज्ञान, सीप जस्ता नयाँ अवरोध देखा परेका छन् भन्न मिल्छ ?

प्राग्ऐतिहासिक कालमा मानिसहरूलाई अफ्रिकाबाट बाहिर निस्केर हिंड्न गाह्रो थियो । उत्तर अफ्रिकाको शुष्क वातावरण, मरुभूमियुक्त अरब क्षेत्र जस्ता प्रतिकूल ठाउँ छिचोलेर मानिस अफ्रिकाबाट बाहिर निस्केको थियो । त्यहाँबाट पूर्वोत्तर भागमा पुग्नका लागि निकै ठूलो अड्चन थियो । पश्चिम जान त झनै समुद्र बाधक थियो ।

शुष्क मरुभूमिमा के खाने, गर्मीबाट कसरी जोगिने ? कसरी हिंड्ने ? मानिसहरूलाई अर्को ठाउँमा जान निकै कठिनाइ थियो । खोला, नदी तरेर जान कठिनाइ हुन्थ्यो । घना जंगलहरू छिचोलेर जान अर्को कठिनाइ थियो ।

नेपालकै कुरा गर्दा, त्यतिबेला मानिसहरू दक्षिणबाट उत्तर आएको उदाहरण भेटिंदैन । उत्तरपूर्व र पश्चिमबाट मानिसहरू नेपाल छिरेका छन् । गंगाको मैदान र हाम्रो दक्षिणी भागमा यति ठूलो घना जंगल थियो कि त्यसलाई छिचोलेर मानिसहरू पस्न सक्दैनथे ।

अस्तिसम्म पनि चारकोसे झाडी हाम्रा लागि अनकन्टार ठाउँ हो । केही वर्ष अघिसम्म त त्यस्तो हालत थियो भने ५/१० हजार वर्ष पहिले कस्तो अवस्था थियो होला ? त्यो भाग छिचोलेर मानिसहरू नेपालमा आउन सम्भव नै थिएन ।

प्राकृतिक अवरोधले गर्दा नै पश्चिमबाट पूर्व लागेका र पूर्वबाट पश्चिम लागेकाहरू यहाँ आए र उनीहरूबाट नेपाल बनेको हो भन्ने मान्यता छ । दक्षिणबाट उत्तरतिर आउने क्रम निकै पछि र ढिलो गरी शुरु भएको हो ।

आदिम कालमा प्राकृतिक अवरोधका बाबजुद मानिसहरूले कडा संघर्ष गरेका छन् । आगोको आविष्कारपछि मानिसहरूलाई हिंडडुल गर्न सजिलो भयो । आगोको सहायताले उनीहरूले बाटो सफा गर्न र जंगली जनावरहरूबाट जोगिन सके । पछि डुंगाहरू बनाएर खोलानदी तर्न थाले ।

Remittances and migration: the case of Nepal - Devpolicy Blog from the Development Policy Centre

आजको अवस्थामा बसाइँँसराइका अवरोधक तत्व फेरिएका छन् । अहिले हामी बाँचिरहेको युगलाई पूँजीवादी युग भनिरहेका हुन्छौं । बसाइँसराइमा सबैभन्दा महत्वपूर्ण तत्व पनि पूँजी नै हो । पूँजी भएमा धेरै अवरोध कम हुन्छन्, पूँजी छैन भने केही पनि सहज छैन । व्यक्तिगत सीप, क्षमता, दक्षता, भाषाको ज्ञान लगायतले बसाइँसराइलाई सहजीकरण गर्ने रहेछन् भन्ने मान्न सकिन्छ ।

तर पूँजीवादी युगमा दक्षता र पहुँच आदिको केन्द्रमा पनि पूँजी नै रहन्छ । उदाहरणका लागि दक्षिणकोरिया जान चाहनेहरूले भाषा सिक्नुपर्छ । फि तिर्न नसकेर भाषा सिक्न नपाउँदा कोरिया जान नसक्ने नेपालीहरू पनि छन् । जापानी भाषा सिक्न नसक्ने पनि छन् । त्यसैले क्षमता, दक्षता आदि औजारको निर्धारक पनि पूँजी नै हो । हिजोको जस्तो शारीरिक बल र आँटले मात्रै पुग्दैन, अब पूँजी पनि चाहिन्छ ।

मानव सभ्यताले बसाइँसराइबाट के पायो ? आजको सन्दर्भमा जोड्दा बसाइँँ हिंड्ने ठाउँले के गुमायो ? बसाइँँ सर्नेहरूको केन्द्र बनेका ठाउँहरूले के पाइरहेका छन् ?

बसाइँसराइको नोक्सान र उपलब्धिलाई व्यक्ति, समुदाय र राज्य गरी तहगत रूपमा हेर्न उचित हुन्छ । नेपालबाट यति ठूलो संख्यामा मानिसहरू विदेश गइरहेका छन् कि त्यसको असर व्यक्ति, समुदाय र राज्यमा परेको हुन्छ । बसाइँसराइबाट राज्यले गुमाइरहेको अनि व्यक्ति र परिवारले पाइरहेको हुनसक्छ । कहिलेकाहीं समुदायले गुमाइरहेको हुनसक्छ ।

नर्वेले शान्तिका लागि हरेक वर्ष नोबेल पुरस्कार वितरण गर्छ, नर्वे साँच्चिकै शान्तिप्रिय देश हो । तर उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) को सबैभन्दा पहिलो सदस्य देश नै नर्वे हो । शान्तिप्रिय देश सैन्य गठबन्धनमा सबैभन्दा पहिले सामेल भयो ।

सन् १९४०/५० ताका नर्वे अहिले जस्तो सम्पन्नशाली थिएन । ऊ नाटोको सदस्य बने बापत अमेरिका जान चाहने नर्वेजियनहरूलाई सहज हुने भन्ने नीति आयो । रूसलाई निगरानी गर्न र घेराबन्दीमा पार्न अमेरिकाबाट सबैभन्दा नजिकको रणनीतिक ठाउँ नर्वे थियो ।

त्यतिबेला नर्वेका नागरिकहरू अहिले जस्तो सम्पन्न थिएनन् । माछा खाएर बस्नुपर्ने अवस्था थियो । अहिले आधाभन्दा बढी नर्वेजियनहरू अमेरिकामा छन् । हामी श्रमका लागि दक्षिण कोरिया जाँदै गर्दा जापानमा वैदेशिक रोजगारीमा काम गर्ने सबैभन्दा बढी कोरियाका नागरिक थिए ।

हामी कोरिया गइरहेका थियौं, उनीहरू अन्यत्र हिंडिरहेका थिए । अहिले पनि ठूलो संख्यामा फिलिपिनोहरू जापानमा बसिरहेका छन् । हिजो प्रतिकूलता हुँदा जापानीहरू पेरुदेखि ब्राजिलसम्म पुगेका थिए । बसाइँसराइले व्यक्ति, समुदाय र राज्यका आ–आफ्ना स्वार्थ अनुसार बसाइँसराइको क्रम निर्धारण गर्दछ ।

नेपालमा १९९० सालको भुइँचालोपछि विहार र बंगालबाट ठूलो संख्यामा मानिस आए । नेपालबाट पनि आसाम, मेघालयतिर खेती गर्न गए । बसाइँसराइ कहिले पनि एकोहोरो हुँदैन, आउने–जाने क्रम चलिरहेको हुन्छ ।

बसाइँसराइको सबैभन्दा ठूलो प्रतिबिम्ब सांस्कृतिक र भाषिक विविधता हो । जति धेरै बसाइँसराइ भयो, त्यसले उति नै बढी सांस्कृतिक र भाषिक विविधता ल्याउँछ । अहिले संसार विविधताले सुन्दर छ । बसाइँसराइले गर्दा नै नेपाली समाज पनि विविधतायुक्त भएको हो ।

नेपाली मूलका मानिसमा पनि कुनै बेला नेपाल फर्किने चाहना हुन्छ । अमेरिका बसेका नर्वेजियनहरू नर्वे फर्किन खोजिरहेका छन् । पेरु बसेका जापानीहरू घर फर्किन खोजिरहेका छन् । अवसरको उपलब्धताको खोजीमा भौंतारिनेहरू एउटा ढंगको उपलब्धता र सहज भइसकेपछि आफ्नो जरामा फर्किने क्रम चलिरहेको हुन्छ ।

यसबाट समाजले के पायो भन्ने प्रश्न छ । एक त आर्थिक रूपमा भरथेग भयो, अर्कोतर्फ समुदायले नयाँ संस्कृति पायो । भाषिक विविधता हुनेभयो । नयाँ संस्कृति निर्माणमा त्यसले सहयोग गर्ने भयो । नयाँ ठाउँमा मानिसहरू बसाइँसराइ गरेर गएका छन् भने प्राकृतिक भूगोललाई सांस्कृतिक भूगोलका रूपमा निर्माण गर्ने भए ।

नेपालको दक्षिणी भाग त्यसको उदाहरण हो । हिजो राज्यले नै ‘वन फाँड, राज्यलाई कर देऊ अनि बस’ भनेर बाहिरबाट मानिसहरू ल्याएर राखेको थियो । त्यो प्राकृतिक जमिन मात्रै थियो, त्यो भूमिलाई मानिसहरूले सांस्कृतिक जमिनको रूपमा निर्माण गरेको देखिन्छ ।

बसाइँसराइपछि समाजले के पायो भन्नेमा सांस्कृतिक पाटो अझै महत्वपूर्ण हुन्छ भन्ने लाग्छ । आर्थिक पाटो र सुविधाका कुराहरू भइहाले । नेपालको सन्दर्भमा बसाइँसराइका दुईवटा पाटा छन् । नेपालीहरू बसाइँँ सरेर अमेरिका÷क्यानडा पुगेका छन् । अर्कोतर्फ कामदारको रूपमा श्रम गर्न खाडी लगायत मुलुकमा जानुपरेको छ । श्रमका लागि गएकाहरूले समाजमा आर्थिक स्रोत उपलब्ध गराएका छन्, धेरथोर ज्ञान–सीप भित्रिएको छ ।

स्वेच्छिक रूपमा विदेश जानेहरूबाट राज्यको सम्पत्ति पनि अप्रत्यक्ष रूपमा बाहिर गइरहेको छ । अमेरिकामा गएर ग्रीनकार्ड पाएको मानिसलाई नेपालको सम्पत्ति बेचेर कसरी त्यसलाई अमेरिका लैजाने भन्ने चिन्ता हुन्छ । राज्यले के पायो ? केही पनि पाएको छैन । गुमाएको छ ।

Coming back home: The road ahead for migrant returnees in Nepal

त्यही घटनामा व्यक्तिले के पायो ? भन्ने प्रश्न पनि आउँछ । ऊ नयाँ ठाउँमा जान पायो । अलि बढी सुरक्षित भयो । परिवारको तहमा एउटा प्रभाव हुँदा राज्यको तहमा अर्कै प्रभाव हुँदोरहेछ । त्यही हिसाबले बसाइँसराइको असर तीन तहमा हेर्नुपर्छ भनेको हुँ ।

बसाइँसराइले समुदायलाई कमजोर बनाउँछ भन्ने मान्यता छ । कमजोर हुने वित्तिकै समुदाय विभाजित हुनेभयो । मानिस अनेकतिर छरिएपछि समुदायमा रहेकाहरू विचलित हुने भए । व्यक्ति र परिवारले केही पाउँदापाउँदै पनि समुदाय र देशले केही गुमाइरहेको पनि देखिन्छ ।

श्रम आप्रवासमा जानेहरूले घर, परिवार र समुदाय छोडेर बसेका छन्, उनीहरूका अनेक खालका समस्या छन् । सामाजिक समस्या छ, समुदायले केही कुरा गुमाइरहेको छ । श्रमिकहरूले जुन रकम पठाएका छन्, राज्य त्यसैको भरमा चलेको छ । बसाइँसराइबाट समाजले के पायो ? के गुमायो भनेर सोच्नुअघि कुन खालको बसाइँँसराइ भनेर हेर्नुपर्ने रहेछ ।

अहिलेको संसारमा धेरै कुराको निर्धारक पूँजी छ । त्यसलाई हामी पूँजीवादी बजार व्यवस्था भनिरहेका हुन्छौं । त्यसैले जहाँ जसरी जो बसाइँ सरे पनि एउटा कुरा समान छ । गरिब झन् गरिब हुँदै र धनी झन् धनी हुँदै जाने भइरहेको देखिन्छ ।

कुनै निश्चित ठाउँबाट शुरु भएको मानव अस्तित्व संसारभर फैलियो । अहिले संसारभरका मानिसहरू अवसर र सुविधाको खोजीमा निश्चित ठाउँतिर आकर्षित भइरहेका छन् । मानिसहरूको आकर्षक गन्तव्य भोलि फेरिने सम्भावना कत्तिको छ ?

पछिल्ला दुई हजार वर्षको इतिहास हेरौं । नेपालको तुलनामा चीन र भारत दुवै शक्तिशाली क्षेत्र हुन् । अहिले अमेरिका शक्तिशाली भए झैं एक हजार वर्ष अघिसम्म चीन, भारत र दक्षिणपूर्वी एसिया नै केन्द्र थियो । करिब ४÷५ सय वर्ष अघिदेखि त्यो केन्द्र ओरालो लाग्ने प्रक्रिया आरम्भ भयो । औद्योगिक क्रान्तिपछि युरोप त्यसैगरी केन्द्र बन्यो ।

दोस्रो विश्वयुद्धपछि अमेरिका केन्द्र भयो । केन्द्र सधैं एकै ठाउँमा रहँदैन, विस्तारै अर्कोतिर सर्दै गइरहेको देखिन्छ । यति हुँदाहुँदै पनि नेपाल कहिल्यै पनि केन्द्र हुन सक्दैन । हामी फेरि पनि केन्द्रभन्दा टाढा परिधितिर (सेटेलाइट) मा रहेका हुनेछौं ।

आफ्ना भौगोलिक सीमा, जनसांख्यिक सीमितता लगायत अवसर र सम्भावनाको सीमाले गर्दा हामी विश्वव्यवस्थाको केन्द्र हुन सक्दैनौं । अबको केही दशकपछि चीन र भारत केन्द्र बन्न सक्छन् । इन्डोनेसिया, ब्राजिल केन्द्र हुन सक्छन् । केन्द्र बदलिइरहने कुरा हो, सधैं एउटै हुन सक्दैन ।

अमेरिकाको कथा हामीले पढेकै हो । कोलम्बसले अमेरिका पत्ता लगाएको १४९२ मा हो । पाँच सय वर्षको इतिहास भएको अमेरिका अहिले विश्वव्यवस्थाको केन्द्र छ । छोटो इतिहास भएको मुलुक विश्वव्यवस्थाको केन्द्र बन्न सकेको छ ।

अमेरिकाभन्दा अगाडि केन्द्र बनेका मुलुकहरू पनि आगामी दिनमा केन्द्र बन्ने सम्भावना उत्तिकै छ । कुनै बेला मिश्र (हालको इजिप्ट) केन्द्र थियो । सभ्यता, संस्कृति राज्यका नयाँ अवधारणा जस्ता कुराहरूले पश्चिम एसिया पनि केन्द्र नै थियो । खाडी मुलुक पनि कुनै समय केन्द्र थियो । माटोको भाँडादेखि लुगा बन्ने कुरा त्यहींबाट शुरु भएको इतिहास छ ।

एक वा दुई दशकको इतिहास हेर्‍यो भने एउटा आकार देखिन्छ । तर सय वर्षभन्दा लामो अथवा हजार वर्षको इतिहास हेर्ने हो भने केन्द्र भनेको अस्थायी विषय रहेछ भन्ने निष्कर्ष निकाल्न कठिनाइ हुँदैन । राजनीतिक र आर्थिक शक्तिको विस्तारसँगै नयाँ–नयाँ केन्द्र बन्ने र पुरानाहरू हराउने भइरहेको हुन्छ । पहिले एउटा मात्रै केन्द्र थियो भने आगामी दिनमा एक भन्दा बढी केन्द्र हुने सम्भावना रहन्छन् । मानिसहरू अवसर र सुगमताको खोजीमा केन्द्रतिर आकर्षित भइरहेका हुन्छन् ।

भविष्यमा मानिसहरू माथि उल्लेख भएकै जस्तो अवसर र सुगमताको केन्द्र मानिने ठाउँतिरै आकर्षित हुने त होलान् ?

हो, त्यतै दौडिइरहेका हुन्छन् । किनभने अवसरहरू भोलि त्यतै केन्द्रित हुन्छन् । र सानो संख्यामा भए पनि मानिसहरू पुर्खाको थातथलोमा जाने क्रम पनि देखिने रहेछ । तीन पुस्ता बिताइसकेपछि चौथो पुस्ताबाट त्यो क्रम शुरु हुने रहेछ ।

बसाइँसराइको कुरा गर्दा मानवशास्त्रीहरूले अलि लामो कालखण्डमा कुरा गरिरहेका हुन्छन् । समय र स्थानको सन्दर्भमा हेर्दा समाज, संस्कृति जस्ता विषय निरन्तर परिवर्तन भइरहेका हुन्छन् । अरू प्रक्रियाबाट अलग्याएर बसाइँँसराइ जस्ता मानव सभ्यताको अभिन्न अंगलाई बुझ्न सकिन्न । त्यसको आर्थिक, सामाजिक, राजनीतिक लगायत विभिन्न आयाम हुन्छन् । एउटा आयामलाई मात्रै हेरेर अरूलाई नहेर्दा त्यसको नतिजा पनि अपुरो र एकाङ्की नै हुन्छ ।

मानिस पहिलो पुस्ता नयाँ ठाउँमा गयो, संघर्ष नै गर्नुपर्‍यो । नयाँ ठाउँमा अलिअलि स्थापित भएकालाई दोस्रो पुस्ताले पूरै स्थापित गर्ने काम गर्छ । तेस्रो पुस्ताले पहिचानको संकट भएको महसुस गर्न थाल्छ । ‘हाम्रो बाजे पुस्तादेखि यहाँ बसेको, हामीलाई त कसैले वास्तै गर्दैन’ भन्ने प्रतिक्रिया दिन थाल्छन् । ऊ आर्थिक रूपमा त सम्पन्न भयो, तर पहिचानको संकट महसुस गर्न थालेको हुन्छ ।

त्यसले उनीहरूलाई जरा (रुट) मै फर्कन प्रेरित गरेको हुन्छ । किन यत्तिका वर्षपछि बर्मिजहरू पुर्खा खोज्दै आए भन्ने प्रश्नको उत्तर यसमै भेटिन्छ । अमेरिकामा बस्ने नर्वेजियनहरू नर्वेमै फर्केर काम गर्न पाए हुन्थ्यो भनिरहेका छन् । पेरुतिर रहेका जापानीहरू जापानमै फर्किन खोजिरहेका छन् ।

अब इन्टरनेट, सञ्चारको सुविधा लगायतले निश्चित ठाउँमा बस्ने अवधारणाको विकास भएर बसाइँसराइ त्यसमा केन्द्रित हुनसक्छ । हिजो मानिसहरू बजारतिर जान खोज्थे भने अब भने सबै सुविधा पुगेकाले त्यो भन्दा अलि टाढा सुविधासम्पन्न ठाउँ जान रुचाउन थालेका छन् । आगामी दिनमा सम्भावना र अवसरको केन्द्रतिर मानिसहरूको आकर्षण हुनसक्छ । बसाइँसराइ पनि त्यसतर्फ केन्द्रित भएको हुनसक्छ ।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School