अहिले विश्व जगतमा मानसिक स्वास्थ्य समस्या बढ्दो क्रममा छ, जसको प्रभावबाट नेपाल पनि अछुतो रहन सकेको छैन । राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण २०२० अनुसार कुनै पनि व्यक्ति (१० प्रतिशत वयस्क व्यक्ति) जीवनकालमा कुनै न कुनै प्रकारको मानसिक विचलनबाट गुज्रिएको छ भने ४.३ प्रतिशत बालबालिकामा कुनै न कुनै प्रकारको मानसिक विचलन भएको पाइएको छ । जसमध्ये पछिल्लो समयमा आत्महत्याको संख्याले पनि यसतर्फ सबैले प्राथमिकताका साथ काम गर्नुपर्ने कुरालाई संकेत गर्दछ ।
दिगो विकास लक्ष्य अन्तर्गतको सुस्वास्थ्य तथा समृद्ध जीवनमा उल्लेख भए अनुसार नेपालले सन् २०३० सम्म आत्महत्याको दरलाई प्रति १ लाख जनसंख्यामा ४.२ मा झार्ने लक्ष्य लिएको छ । तर प्राप्त घटनाहरूको विश्लेषण गर्ने हो भने अहिले नेपालमा सरदर २० जनाको आत्महत्याका कारण मृत्यु भएको पाइन्छ । नेपाल प्रहरीको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा मात्रै ७ हजार २२३ व्यक्तिहरूको ज्यान आत्महत्याको कारणले गएको छ ।
यसको विश्लेषण गर्ने हो भने यसरी नेपालमा दैनिक सरदर २० जनाको आत्महत्याको कारण मृत्यु हुन्छ । आ.व. २०८०/८१ मा प्रति लाखमा करिब २५ जनाले आत्महत्याको कारणबाट ज्यान गुमाएको नेपाल प्रहरी तथ्यांकले देखाउँछ । अर्थात् आ.व. २०८०/८१ मा प्रति लाखमा २५ जनाले आत्महत्याका कारण ज्यान गुमाएका छन् । अनुसन्धानका अनुसार हरेक एक आत्महत्या पछाडि २० देखि २५ असफल प्रयास भएका हुन्छन्, जुन यस डाटामा आएको हुँदैन । नेपालमा अकालमा मृत्यु हुने यो नै प्रमुख कारण मानिन्छ ।
छिटो-छिटो समाचार सम्प्रेषण गर्ने होडबाजीमा आत्महत्या गर्ने व्यक्तिको पहिचान तथा कसरी आत्महत्या गरिएको हो, त्यसको बारेमा सूचना, जानकारी राख्नुको सट्टा समाचार सम्प्रेषण गरेको पाइन्छ । कुनै पनि विषयमा लेखेको लेख तथा समाचारकै कारणले व्यक्तिमा सकारात्मक तथा नकारात्मक दुवै प्रभाव पर्ने भएकोले समाचारका कारणले असहज अवस्थामा रहेका व्यक्तिलाई त्यसले कसरी प्रभाव पार्दछ भन्ने कुराको हेक्का गर्नुपर्ने अवस्था रहेको छ । आज ‘आत्महत्या रोकथाम बारे संवाद सुरु गरौं, दृष्टिकोण बदलौं’ भन्ने मूल नाराका साथ विश्व आत्महत्या दिवस मनाइराख्दा यसमा सञ्चारकर्मीको भूमिका बारे यो लेखमा चर्चा गरिनेछ ।
आत्महत्याको प्रयास गरेका, जो बाँचेर राम्रा काम गर्नेहरूको सफलताका कथाहरू लेख्दा जटिल मनोभावका सिकार बनिरहेका, जीवनदेखि हार खाएका व्यक्तिहरूलाई बाँच्नको लागि प्रेरित गर्दछ
२०८१ वैशाख ३० गते बिहान सल्यानको वनगाड कुपिण्डे नगरपालिकामा ३४ वर्षीय एक व्यक्तिले आफ्नी श्रीमतीको हत्या गरी आफूले पनि आत्महत्या गरे । तीन बालबालिका प्रत्यक्षदर्शी भएको बीभत्स उक्त घटनाको एक दिनपछि केही सञ्चारकर्मी ‘एक्सक्ल्यूसिभ न्यूज’ बनाउने होडमा त्यहाँ पुग्छन् र उक्त घटनाको नालीबेली आफ्नो मिडिया मार्फत प्रस्तुत गर्दछन् । अबोध बालकसँग ‘बाइट’ लिएर समाचारलाई पूर्णता दिन्छन् ।
धेरैले उक्त समाचार हेर्छन् । लाइक, कमेन्ट र सेयर पनि उल्लेख्य हुन्छ । तर उक्त घटना घटेको केही दिनपछि छिमेकी गाउँपालिकाको सिद्धकुमाखमा उस्तै प्रकृतिको घटना घट्छ । श्रीमतीको हत्या गरी आफूले आत्महत्या गरेको घटना २०८१ जेठ १ गते पुनः पुनरावृत्ति हुन्छ ।
यी दुई प्रतिनिधिमूलक तर कारुणिक घटना हुन् जसले त्यस क्षेत्र आसपासका जनमानसलाई त्रसित मात्रै बनाएको छैन, यस प्रकृतिको समाचार लेख्ने पत्रकारलाई पनि चुनौती थपेको छ ।
मूलतः हाम्रो समाचार लेखन केका लागि हो ? आम जनतालाई सुसूचित गर्ने वा घटनालाई थप प्रश्रय दिने ? दुवै घटनाको मूल कारणमा मानसिक स्वास्थ्य समस्या जोडिएको भए पनि यसले उस्तै मनोभावसँग गुज्रिएका व्यक्तिहरूलाई वा मानसिक रूपमा विक्षिप्त भई के गरौं, कसो गरौं भनेर मनोवैज्ञानिक समस्यामा परेका व्यक्तिलाई समाधानका रूपमा यस्ता घटना घट्नका लागि प्रेरित गर्ने विज्ञहरू बताउँछन् ।
‘निश्चय नै, यस्ता समाचार जसले सूचना प्रदान गर्ने भन्दा पनि घटना कसरी घट्यो भन्ने बारेमा समाचार बनाइँदा यसले मानसिक स्वास्थ्य समस्यामा परेर जोखिममा रहेका व्यक्तिलाई घटना घटाउन प्रेरित गर्छ’ मानसिक अस्पताल, लगनखेलमा कार्यरत वरिष्ठ कन्सल्टेन्ट साइक्र्याटिष्ट डा. वासुदेव कार्की भन्छन् । उनले अझ आत्महत्याको समाचार लेख्नुपूर्व थप सजगता हुनुपर्ने सुझाए ।
विभिन्न अनुसन्धानका अनुसार झण्डै ९५ प्रतिशत व्यक्तिहरू जसले आत्महत्याको प्रयास वा आत्महत्या गर्छन्, उनीहरूमा मानसिक समस्या रहेको हुन्छ । तीमध्ये ८० प्रतिशतमा उदासीनता, १० प्रतिशतमा साइकोसिस, ५ प्रतिशतमा डिमेन्सिया, डेलिरियम र लागूपदार्थ सम्बन्धी समस्या रहेका छन् ।
त्यसैगरी, सामान्य व्यक्तिहरूको तुलनामा मानसिक समस्या भएका व्यक्तिहरूमा आत्महत्याको जोखिम ३ देखि १२ गुणा बढी रहेको हुन्छ । यस्ता बीभत्स घटना घट्नुका पछाडि कुनै न कुनै रूपमा मानसिक स्वास्थ्य समस्याले प्रभावित बनाएको भएतापनि हामीले घटनामा के के भयो भनेर जानकारी गराउनु भन्दा कारण र सोको निवारण समाचारको प्राथमिकता बन्नुपर्दछ ।
आत्महत्याको रोकथाममा सञ्चारकर्मीहरूको अत्यन्त महत्वपूर्ण भूमिका रहन्छ । आत्महत्याका घटनाको उचित सम्प्रेषणले आत्महत्याको जोखिममा रहेका व्यक्तिको ज्यान जोगाउन मद्दत पुग्न सक्छ भने गलत सम्प्रेषणले त्यस्ता व्यक्तिलाई दुरुत्साहन गरी त्यस्ता घटना बढाउन सक्छ
भेरी अस्पताल, नेपालगञ्जमा कार्यरत मनोसामाजिक परामर्शकर्ता कमला डाँगीको सुझाव छ, ‘बरु आत्महत्याको प्रयास गरेका, जो बाँचेर राम्रा काम गर्नेहरूको सफलताका कथाहरू लेख्दा जटिल मनोभावका सिकार बनिरहेका, जीवनदेखि हार खाएका व्यक्तिहरूलाई बाँच्नको लागि प्रेरित गर्दछ ।’
माथि उल्लिखित समाचारहरूले सहानुभूति बटुल्दै परिवारजनलाई केही सहयोग जुटाउँला भन्ने अभिप्राय पत्रकारमा रहन सक्छ । तर सहयोग जुटाउने क्रममा हामीले जानी नजानी मानसिक स्वास्थ्य समस्या भएका व्यक्ति वा विक्षिप्त मनोभावले आक्रान्त व्यक्तिलाई यस्ता ठूला एवं जघन्य प्रकृतिका घटना घटाउन वा आत्महत्याका घटनालाई प्रोत्साहन त गर्दै छैनौं, विचारणीय समय भने आएकै हो ।
विज्ञहरूका अनुसार, आवेशमा गरिने घटना बाहेक यस्ता घटना घट्नुपूर्व व्यक्तिले कुनै न कुनै सन्देश वा सूचना दिएको हुन्छ । त्यसलाई पहिचान गर्न नसक्नु परिवारका सदस्य, छिमेकी वा प्रियजनको कमजोरी हुन आउँछ ।
२०८१ जेठ १ मा दोस्रो घटना घट्नुअघि नै ‘अब यस गाउँमा २०८१ वैशाख ३० गतेको जस्तो घटना घट्छ’ भनेर सूचना दिइएको भए पनि त्यसमा चासो दिइएन वा गम्भीर भइएन । तर, २०८१ वैशाख ३० गतेको उक्त घटना समाचारमा हेरेदेखि नै निज व्यक्ति दुई दिनदेखि घर बाहिर ननिस्किएको र उक्त घटनाबारे अरूसँग कुरा गर्ने गरेको स्थानीयले बताएका थिए ।
विज्ञहरूका अनुसार, प्रत्येक आत्महत्याको पछाडि २० देखि २५ पटक असफल प्रयास हुन्छ भने प्रत्येक एक आत्महत्याका कारणले कम्तीमा १३५ जनालाई प्रत्यक्ष असर पारेको हुन्छ ।
पत्रकार हुनुका नाताले हामीले बुझ्नुपर्ने भनेको घटना वा आत्महत्या लगायत समाचारलाई कम प्राथमिकता दिंदै सोको कारण, सकारात्मक र आशलाग्दा समाचार, आत्म हानि गर्न खोजेका तर संघर्षशील अवस्थाबाट सफल भएका व्यक्तिहरूका सफलताका कथालाई प्राथमिकता दिनुपर्ने डा. कार्कीले सुझाए ।
डा. कार्कीको भनाइ छ, ‘अनिवार्य छ भने मात्रै यस्ता समाचार लेख्ने, वा लेख्नैपर्ने भए पनि अतिरञ्जित नहुने गरी कारण खुलाउनका लागि नलेख्ने, सकेसम्म यस्ता फ्रन्ट पेजमा वा मुख्य समाचारका रूपमा स्थान नदिने, घटनाको विस्तृत जानकारी भन्दा पनि हरेक समाचारमा सूचना मात्रै होइन व्यवहार परिवर्तनका कुराहरूलाई समेत प्राथमिकता दिन सकिन्छ भन्ने सन्देश दिने लगायतका स–साना तर संवेदनशील भई पत्रकारले रिपोर्टिङ गर्दा मानसिक स्वास्थ्यलाई स्थापना गर्न मद्दत गर्दछ ।’
आत्महत्या रोकथाममा सञ्चारकर्मीको भूमिका
आत्महत्याको रोकथाममा सञ्चारकर्मीहरूको अत्यन्त महत्वपूर्ण भूमिका रहन्छ । आत्महत्याका घटनाको उचित सम्प्रेषणले आत्महत्याको जोखिममा रहेका व्यक्तिको ज्यान जोगाउन मद्दत पुग्न सक्छ भने गलत सम्प्रेषणले त्यस्ता व्यक्तिलाई दुरुत्साहन गरी त्यस्ता घटना बढाउन सक्छ । व्यक्तिले के कारणले आत्महत्या गर्यो र के–के गरेको भए बचाउन सकिने थियो भन्ने बारेमा समचार प्रस्तुत गरी जनचेतना फैलाउन सकिन्छ ।
आशा जगाउने खालका, आत्महत्या प्रयास गरी बाँचेकाहरूको समाचारहरू प्रसारण गर्ने लगायतका कामले पनि यस्ता घटना न्यूनीकरणमा भूमिका खेल्छ ।
अतः सञ्चारमाध्यममा यस्ता घटनालाई छिटो कभर गर्ने होडमा, प्रायः संवेदनशील प्रत्यक्षदर्शीहरूलाई संलग्न गराउँदा धेरै ध्यान तानिए पनि अतिरञ्जित रिपोर्टिङले पुर्याउने सम्भावित क्षति ठूलो हुन सक्छ । यस्ता प्रकारका घटना घटाउने, हिंसात्मक कार्य गर्ने वा आत्महत्याका घटनाहरूको यति विस्तृत कभरेजले मानसिक स्वास्थ्य समस्या भएका, मनोसामाजिक समस्यामा परेका वा असहज परिस्थितिबाट गुज्रिरहेका व्यक्तिहरूलाई नक्कल गर्न उत्प्रेरित गर्न सक्ने खतरा रहन्छ ।
यसअर्थमा, समाचार सम्प्रेषण गर्दा मानसिक स्वास्थ्य समस्याहरू यी घटनाहरूको मूल कारण भए पनि, सञ्चारमाध्यमको ध्यान केवल घटना रिपोर्टिङमा सीमित नराखी त्यसका कारणहरूको समाधान खोज्नमा केन्द्रित भए त्यसले समाजलाई नै सकारात्मक उन्मुख बनाउँछ । कुनै पनि नकारात्मक समाचार प्रकाशित वा प्रसारण गर्दा विषय उठान हुन्छ, त्यसले निर्णायक स्तरमा समेत दबाब दिन्छ । तर, यस्ता समाचारले मनोवैज्ञानिक रूपमा दबाबमा परेका व्यक्तिहरूलाई भने अप्रिय दुर्घटना घटाउनलाई प्रश्रय दिन्छ, थप बल प्रदान समेत गर्छ ।
नेपालले विश्व समुदायमा गरिएका प्रतिबद्धताको पालन गर्न वा उक्त लक्ष्य हासिल गर्नका निम्ति योगदान पुर्याउनु नागरिक कर्तव्य हुन आउँछ । त्यसमा पनि राज्यको चौथो अंग भएका हिसाबले जिम्मेवार पत्रकारिता मार्फत दिगो विकास लक्ष्य प्राप्त गर्न र आमनागरिकको मानसिक स्वास्थ्य स्थापनार्थ मानसिक स्वास्थ्यका विषयलाई प्राथमिकता दिनु अहिलेको आवश्यकता हो । मानसिक स्वास्थ्यलाई राज्यले प्राथमिकताका साथ लिने नीतिगत व्यवस्था भएतापनि त्यसको प्रभावकारी कार्यान्वयन हुनसकेको छैन ।
मानसिक स्वास्थ्यका कारण जटिल आर्थिक अवस्थाको सामना गरिरहेका, विविध संघर्ष गरिरहेका व्यक्तिहरूको पुनरुत्थानका कथाहरूलाई प्राथमिकता दिन सकिन्छ भने थप घटनाहरूलाई रोक्न र मानसिक स्वास्थ्य सम्बन्धी सचेतना फैलाउन महत्वपूर्ण भूमिका खेल्न संवेदनशील पत्रकारिताले सहयोग पुर्याउँदछ । जसले गर्दा यस्ता घटनाको जिम्मेवार र संवेदनशील रिपोर्टिङको महत्व अझ बढेर जान्छ ।