माघ, स्वस्थानी, विज्ञान र मनाेविज्ञान


वर्तमान भनेकै विज्ञानको युग भएकाले यो युगसँग सहकार्य गरिरहेको पुस्ता आफूले गर्दै आएका, गर्नुपर्ने र नगर्नुपर्ने समेत कामलाई विज्ञानसँग जोडेर हेर्न चाहिरहेको हुन्छ। यो पुस्ता परम्परावादी सोच र अप्रमाणित कुरालाई अवलम्बन गर्न सकभर हिचकिचाउँछ र चाहँदैन पनि। यसका पछाडि अनेकौं कारण छन्। यो संक्षिप्त आलेखमा के सबै काम विज्ञानले सिद्ध गर्दा मात्र लागु हुन्छन् भन्ने चर्चा गरिएको छ।

नयाँ पुस्ताले अवलम्बन गर्न चाहेको विज्ञान भनेको क्रमबद्ध वस्तुनिष्ठ ज्ञान हो। विज्ञान शब्द ल्याटिन भाषाको ‘सान्टिया’बाट अङ्ग्रेजीमा र संस्कृतबाट विशिष्ट ज्ञानको अर्थमा नेपालीमा आएको देखिन्छ। नेपालीमा विज्ञान भनेको प्रथमतः ऋषिमुनिहरूबाट प्रतिपादित, तर्कपूर्ण, अनुसन्धानबाट सिद्ध भएको सार्वभौम र परिवर्तनशील ज्ञान हो भन्ने बुझिन्छ।

आधुनिक विज्ञानका जनक भनेर ग्यालिलियोलाई भन्ने गरिन्छ। जुनसुकै समाजमा पनि हामी जे गछौं, वा जे गर्दैनौं, जेमा तर्क र प्रयोगबाट सिद्ध भएको देख्छौं, त्यसैलाई विज्ञान मान्छौं। ग्यालिलियो यसैमा विश्वास गर्थे।

सभ्यता सिक्ने क्रममा मानवजातिले धेरै किसिमका परम्परा र मान्यताको अनुसरण गर्दै आएको छ। मान्छेले भिन्नाभिन्नै रीतिरिवाज मान्छ, संस्कार र संस्कृति अँगाल्छ। त्यसरी परम्परागत रूपबाट मानिँदै र अवलम्बन गर्दै आएका काममध्ये हिन्दुहरूका निमित्त माघ महिनाका कृत्यहरू पर्छन्।

माघ महिना सनातनी हिन्दुहरूका निमित्त विशिष्ट महिना हो। यो महिनामा विशेष गरेर स्नान, दान, व्रत–उपवास, स्वस्थानी व्रत र पूजा गरिन्छ। यसै महिनामा घिउ, चाकु, तिलौरा, खिचडी खाने गरिन्छ। माघ महिनामा स्नान गर्दा पनि कुवाभन्दा तलाउमा, तलाउभन्दा नदीमा र नदीमध्ये पनि समुद्रसँग जोडिएको ठुलो नदीमा नुहाउनुपर्ने उल्लेख छ।

यसरी माघमा गर्ने गरेका यी कामलाई पनि विज्ञानसँग जोडेर हेर्नुपर्ने माग दिनानुदिन बढिरहेको छ। यी कामको वैज्ञानिकता र उपयुक्तता खोज्नु असान्दर्भिक पनि नहोला।

माघमा सूर्य मकर राशिमा प्रवेश गर्ने भएकाले क्रमशः दिन बढिरहेको हुन्छ। जाडो घट्दै जाने भएकाले काम गर्ने जाँगर र समय पनि बढ्दै जान्छ। माघसम्म जाडो बढी हुने भएकाले शरीरलाई तताउनुपर्ने हुन्छ।

शरीर तताउन तातो पानीमा नुहाउने, गर्मी हुने खानेकुरा तिल, सखर, लड्डु आदि खाने परम्परा बसेको हुनुपर्ने कुरामा कसैको विमति पनि नहोला। यस्ता कुरा आधुनिक प्रयोगशालाबाट सिद्ध हुनसक्ने र परम्परा पनि धानिने भएकाले नयाँ पुस्ताले पनि विमति गरेको पाइन्न।

माघमा आगो बढी ताप्ने, घाममा बस्ने, तेल लगाउने प्रचलन छ। यी सबै कुरा जाडो र चिसोबाट जोगिन गरिएको भन्दा नपत्याउने पनि कोही हुँदैन। यसरी धेरै आगो ताप्दा वा घाममा बस्दा पसिना बढी आउने, शरीर मैलो हुने, गनाउनेजस्ता कारणले माघमा नुहाउनुको महत्त्व बढी गाइएको हुन सक्छ।

शास्त्रीय हिसाबले भने माघस्नानलाई शुद्धताको अतिरिक्त यस जन्ममा सुख, सम्पत्ति, दीर्घ जीवन र मृत्युपछि पनि जरामरणबाट मुक्त शाश्वत धाम प्राप्तिसम्मको उद्देश्य व्याख्या गरिएको छ। त्यसै पनि नित्य स्नान गर्ने कुरा संस्कृति, परम्परा, शास्त्र र विज्ञान सबैले प्रशंसा गरेकै हुन्।

विज्ञानले सिद्ध गरेका वा नगरेका कतिपय कामलाई परम्परासँग जोडेर आलोचना गर्ने र पुर्खौंदेखि परम्परागत रूपमा गर्दै आएका कतिपय कामलाई विज्ञानसँग जोडेर आलोचना गर्ने, विज्ञानले सिद्ध गरेको छैन भनेर त्याग गर्नु पनि बुद्धिमानी हुँदैन। गुरु, बाबु र असल मान्छेले भनेको मान्नुपर्छ, उनीहरूको संगत गर्नुपर्छ भनेर विज्ञानले सिद्ध नगरेको भए पनि मर्यादाको ख्याल गरेर परम्परा मान्नुपर्ने हुन्छ।

माघमा घिउ–चाकु खाने, नुहाउने, खिचडी खाने विषय मनोगत रूपबाट स्वयंसिद्ध भएकाले कुनै आधुनिक प्रयोगशालाबाट प्रमाणित नभए पनि गर्नुपर्ने हुन्छ। यी वस्तु सेवन गर्दा शरीरमा तापक्रम बढ्ने भएकाले हाम्रो शरीरले नै औचित्यसिद्ध गरेको हुन्छ। त्यस्ता कुरालाई मनोगत भनेर आस्था, परम्परा र रुढीवादसँग तुलना गर्न मिल्ने देखिन्न। कुनै पनि धर्मका कुल परम्पराहरू ती धर्मग्रन्थबाट निर्देशित छन् भन्ने बुझ्नुपर्छ।

हामी सबैलाई थाहा छ, बिहान नुहाउनुले  शरीरको स्वच्छता र सफाइलाई मात्र उजागर गर्ने होइन, यसले मानसिक स्वच्छता, आलस्यको निराकरण, सोचाइ, फूर्तिमा नै उचाइ थपिदिने कुरालाई नुहाएपछिको अवस्थाले स्वतः सिद्ध गरिदिन्छ। यसैले पनि माघमा पुराण, धर्मशास्त्र र परम्पराले स्नानमा दिएको महत्त्वलाई विज्ञानले सिद्ध गरेको छैन भनेर उपेक्षा गर्न मिल्ने देखिन्न। सबैले बुुझ्नुपर्छ कि हिन्दुलगायतका कुनै पनि धर्म आआफ्ना धर्मशास्त्रमा बताइएका आस्था, विश्वास र सम्बन्धबाट सञ्चालित हुन्छन्।

कुरानले मुस्लिम धर्म, बाइबलले इसाई धर्म, मुन्धुमले किरात धर्मलाई चलायमान बनाएजस्तै  हिन्दुका वेद, पुराण, धर्मशास्त्र, नीतिशास्त्र, संहिता आदिले हिन्दु धर्मका गतिविधि र पराम्परालाई सबल बनाइरहेको हुन्छ। ब्याप्टिजमले संस्कारित बनाउने काम इसाइहरूमा आज पनि जीवन्त छ। राम्रो नराम्रो भन्न मिल्दैन।

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिना (माघ) को चान्द्रमास अवधिलाई माघ स्नान, स्वस्थानी व्रत उपासनाको समय मानिन्छ। त्यसैअनुसार माघ महात्म्य श्रवण गरेर स्वस्थानीको व्रत र उपासना गर्ने विधि र परम्परा शास्त्रीय आधारमा गरिँदै आएको छ।

स्वस्थानीको व्रत र उपासना हिन्दुधर्मावलम्बीमध्ये पनि विशेषतः काठमाडौं र त्यसवरिपरि क्षेत्रमा बढी प्रचलनमा छ। यो समयमा काठमाडौंको साँखु भएर बग्ने शालीनदीमा स्नान गर्ने र त्यहाँ भएको माधव–नारायणको मूर्तिमा पूजा गर्नेको ठुलो मेला लाग्छ। त्यस मन्दिरको वरिपरि जाग्राम बसेर स्वस्थानी देवीको आराधना गर्ने विशिष्ट पराम्परा नै बसेको छ।

एक महिनासम्म श्रद्धालु भक्तजनहरूको अभूतपूर्व भिड लाग्ने भएकाले त्यस बेलामा अस्थायी बजार, त्यस बेलालाई लक्षित होटल, सुरक्षा व्यवस्था, स्वयंसेवकहरूको सेवासमेत परिचालन गरिने प्रचलन छ।

इन्द्रिय निग्रहका लागि व्रतको महत्त्व मानिन्छ। व्रत बसेको बेलामा सकेसम्म नखाने, खाए पनि फलफूल मात्र खाने, एकछाक खाने, त्यो पनि स्वल्पाहार गर्ने, धेरै नबोल्ने, मनलाई ईश्वरीय चिन्तनमा लगाउनेजस्ता काम गरिन्छ।

यसरी व्रत बस्दा अन्यथा भोजन, अन्यथा सोच नहुने भएकाले अभिष्टसिद्धि हुनमा निकै मद्दत पुग्छ। यस्ता कुरामा विज्ञानको संगति स्वतः सिद्ध हुन्छ। व्रत बस्नेहरूले हात गोेडाका नङ काट्ने, कपाल खौरने वा मिलाउने, कोर्ने, प्रायश्चित्त गोदान गरेर अरू कुनै पनि शास्त्र, समाज र मानव वर्जित काम गर्दिन भनेर संकल्प (प्रतिवद्धता) गर्ने, हविष्य मात्र खाने, शुद्ध वस्त्र लगाउने विधानलाई विज्ञानको सिद्धि खोज्नु आवश्यक पनि देखिन्न।

स्वस्थानी कथा पार्वती पुत्र कुमार र ऋषि मित्रावरुण र उर्वशी अप्सराका छोरा अगस्त्यको संवादका रूपमा अघि बढेको पाइन्छ। कथाका मुख्य नायक–नायिका शिव–पार्वती हुन्छन्। शिव–पार्वती विभिन्न हिन्दु मन र मन्दिरमा इष्ट देवदेवीका रूपमा पुजिने गरेकै छन्।

धर्मापरायण हिन्दुको उपास्य यी देवदेवी विभिन्न पीठदेखि पहरा, छहरा, कन्दरा, नदी आकाश, पृथ्वी, सूर्य, हावा, शब्द जताततै भएको विश्वास गरिन्छ। विज्ञानको भाषामा भन्नुपर्दा अक्सिजनका रूपमा, ग्यासका रूपमा, तापका रूपमा पनि उनै देवदेवी अधिष्ठित छन्। पच्चिस तत्त्वभित्रका हरेक तत्त्वमा बसेका उनै देवदेवी ब्रह्मा बनेर सृष्टि गर्छन्, विष्णु बनेर पालन गर्छन् भने लक्ष्मी बनेर सम्पत्ति र सरस्वती बनेर ज्ञान दिन्छन्।

जतिसुकै शक्तिशाली भए पनि त्रिपुरासुर, तारकासुरहरूले समेत मर्नुपरेको, स्वधर्ममा बस्न सकेमा शिव ब्राह्मण र सती ब्राह्मणीजस्ता अति सामान्य व्यक्तिले पनि सम्पन्नता र ब्रह्मपद प्राप्त गर्न सकेका, नवराजले राजसिंहासन पाएको, लोक कल्याणका लागि श्राप परेर विष्णुले शिला (शालिग्राम), घाँस (कुश), झार (तुलसी), वृक्ष (पिपल) हुनुपरेको कथा स्वस्थानीमा आउँछ।

यी कथा र तथ्यहरूबाट एकदिन सबैले मर्नुपर्ने शिक्षा दिएको छ भने पुनर्जन्ममा विश्वास नगर्नेहरूलाई पनि आफूले गरेका कीर्तिमानी कामलाई मात्र समाजले सम्झने भएकाले अरूलाई मन नपर्ने, शास्त्रविरुद्ध हुने, अर्काको मन दुख्ने काम गर्नुहुँदैन भन्ने ज्ञान र शिक्षा दिएको छ।

केही धार्मिक रूढी विचार र चिन्तन सबै धर्ममा पाइने आवरण हुन्। स्वस्थानी कथामा पनि यस्ता केही आवरण भेटिन्छन्। वैज्ञानिक दृष्टिले सूक्ष्म परीक्षण नभएको अवस्थामा आजको समाजलाई मन नपर्ने एकाध कुरा स्वस्थानीमा आयो भनेकै भरमा प्रतिवाद गरिहाल्नु उपयुक्त हुँदैन। सबै धर्ममा ‘शास्त्राद् रूढीबर्लीयसी’ (शास्त्रभन्दा रूढी बलियो हुन्छ)को मान्यताबाट कत्ति कुराहरू चलेका हुन्छन् भन्ने बिर्सनु हुँदैन।

–पोख्रेल अर्थशास्त्री एवं जयतु संस्कृतम्का अध्यक्ष र अठार महापुराणका नेपाली अनुवादक पनि हुन्।  

प्रकाशित: १९ पुस २०८२ ०८:१७ शनिबार





Source link

Leave a Comment