प्रकाशित मिति : श्रावण ४, २०८१ शुक्रबार
शुक्रबार विश्वव्यापी कम्प्युटर प्रणालीमा ठूलो अवरोध उत्पन्न हुँदा संयुक्त राज्य अमेरिकामा उडानहरू अवरूद्ध भएका थिए भने बेलायतमा टेलिभिजन प्रसारणहरू अवरुद्ध भएका थिए र अस्ट्रेलियामा दूरसञ्चार सेवा नै प्रभावित भए ।
‘माइक्रोसफ्ट एज्योरमा देखिएको प्राविधिक समस्या’ का कारण विश्वव्यापी रूपमा उडानमा ढिलाइ वा अवरोधहरू भएको हुनसक्ने फ्रान्स, बेलायत, संयुक्त राज्य अमेरिका, भारतलगायतका प्रसिद्ध विमान कम्पनीहरूले शुक्रबार जानकारी गराएका छन् ।
माइक्रोसफ्ट एज्योर वा जस्ट एज्योर, माइक्रोसफ्टद्वारा विकसित क्लाउड कम्प्युटिङ प्लेटफर्म हो र यसले व्यक्ति, कम्पनी र सरकारलाई अनुप्रयोग र सेवाहरूको व्यवस्थापन, पहुँच र विकास प्रदान गर्दछ ।
अमेरिकी संघीय उड्डयन प्रशासनका अनुसार डेल्टा, युनाइटेड र अमेरिकन एयरलाइन्सलगायत प्रमुख अमेरिकी वायु सेवा प्रदायक कम्पनीहरूले सञ्चारको समस्याका कारण शुक्रबार सबै उडानहरू ग्राउन्डेड गरेका थिए ।
जर्मनीको बर्लिन ब्रान्डेनबर्ग विमानस्थलमा ’प्राविधिक समस्या’ का कारण उडान स्थगन गरिएको एक प्रवक्ताले एएफपीलाई बताउनुभयो । “चेक–इन गर्न ढिलाइ भएको छ, र उडानहरू स्थानीय समयानुसार बिहान ८ः०० बजेसम्म रद्द गर्नुपरेको छ,” उहाँले बताउनुभयो ।
स्पेनका सबै विमानस्थलमा ‘आइटी आउटेज’का कारण ‘व्यवधान’ उत्पन्न भएको र यसले शुक्रबार विश्वभरका कैयौं कम्पनीहरूलाई प्रभावित पारेको विमानस्थल सञ्चालक आइनाले बताउनुभएको छ ।
हङकङको विमानस्थलले पनि केही एयरलाइन्स प्रभावित भएको बताएको छ र अवरोधलाई माइक्रोसफ्ट आउटेजसँग जोडेको छ ।
बेलायतको सबैभन्दा ठूलो रेल अपरेटरले आईटी समस्याहरूको कारण सम्भावित रेल रद्द हुने चेतावनी दिएको छ । अनलाइन पोस्ट गरिएका फोटोहरूमा अष्ट्रेलियाको सिड्नी विमानस्थलमा ठूलो लाइन लागेको देखाइएको छ ।
सिड्नी विमानस्थलका प्रवक्ताले भन्नुभयो, “अहिले उडानहरू आइरहेका छन् र प्रस्थान गरिरहेका छन् तर साँझसम्म केही ढिलाइ हुन सक्छ ।”
“हामीले हाम्रा एयरलाइन साझेदारहरूसँग हाम्रो आकस्मिक योजनाहरू सक्रिय गरेका छौं र यात्रुहरूलाई सहयोग गर्न हाम्रो टर्मिनलमा थप कर्मचारीहरू तैनाथ गरेका छौं।”
अस्ट्रेलियाको राष्ट्रिय साइबर सुरक्षा संयोजकले ‘थर्ड पार्टी सफ्टवेयर प्लेटफर्म’को समस्याका कारण ठूलो परिमाणमा प्राविधिक अबरोध भएको र ह्याकरको संलग्नताबारे अहिलेसम्म कुनै जानकारी नआएको बताउनुभयो ।
बेलायतको स्काई न्यूजले यस गडबडीका कारण बिहानको समाचार प्रसारण बन्द भएको जनाएको छ भने अस्ट्रेलियाली प्रसिद्ध टेलीभिजन ९एबिसी० ले पनि ठूलो ‘आउटेज’ भएको जनाएको छ ।
अस्ट्रेलियाको सबैभन्दा ठूलो सुपरमार्केट चेनमध्ये एकमा केही सेल्फ चेकआउट टर्मिनलमा अवरोध आएको थियो ।
न्युजिल्याण्डका सञ्चार माध्यमका अनुसार देशको संसदभित्र रहेका बैंक तथा कम्प्युटर प्रणालीमा समस्या आएको बताएका छन् ।
अस्ट्रेलियाली दूरसञ्चार कम्पनी टेल्स्ट्राले माइक्रोसफ्ट र साइबर सुरक्षा कम्पनी क्राउडस्ट्राइकले उपलब्ध गराएको ‘विश्वव्यापी समस्या’का कारण विद्युत् आपूर्ति बन्द भएको जनाएको छ ।
माइक्रोसफ्टले विभिन्न माइक्रोसफ्ट ३६५ एप्स र सेवाहरूमा पहुँच गर्ने प्रयोगकर्ताहरूको क्षमतामा असर पार्ने समस्याको अनुसन्धान गरिरहेको बताएको छ । माइक्रोसफ्टले आफ्नो पछिल्लो अपडेटमा भनेको छ, “हामी समस्यालाई कम गर्न प्रभावित ट्राफिकलाई वैकल्पिक प्रणालीमा पुनः पठाउन काम गर्दैछौँ ।”
माइक्रोसफ्टले आफ्नो पछिल्लो अपडेटमा भनेको छ, ’हाम्रा सेवाहरूमा अझै पनि निरन्तर सुधार भइरहेको छ । हामी न्यूनीकरण कार्य जारी राख्छौं ।
–भारतीय विमान कम्पनीद्वारा पनि धैर्य रहन आग्रह –
यसैबीच भारतीय समाचार संस्था, एएनआईले भारतको राजधानी नयाँदिल्लीबाट सम्प्रेषित समाचारमा भारतका एयरलाइन्सले नेटवर्कमा रहेको आफ्नो प्रणाली प्रभावित भएको शुक्रबार जानकारी दिएका छन् । उडानका बारेमा जानकारीका लागि यात्रुले आ–आफ्नो एयरलाइन्समा सम्पर्क गर्न आग्रह गरिएको छ ।
“नेटवर्कमा हाम्रो प्रणालीहरू माइक्रोसफ्ट एज्योरको साथ चलिरहेको समस्याबाट प्रभावित छन्, जसको परिणामस्वरूप हाम्रो सम्पर्क केन्द्रहरू र विमानस्थलहरूमा प्रतीक्षा समय बढेको छ । तपाईँले ढिलो चेक–इन र लामो लाइनको अनुभव गर्न सक्नुहुनेछ,” भारतीय विमान कम्पनी इन्डिगोले सेवाग्राहीका लागि जारी सूचनामा भनेको छ ।
“हामी सबै डेकमा छौं र स्थिरता र सामान्य स्थिति बहाल गर्न अथक रूपमा काम गरिरहेका छौं । हाम्रो डिजिटल समूहले माइक्रोसफ्ट एज्योरसँग पनि नजिकबाट समन्वय गरिरहेको छ ताकि यी समस्याहरू छिटो समाधान गर्न सकियोस् । हामी यस समयमा तपाईंको धैर्य र समझदारीको सराहना गर्दछौं,” इन्डिगोद्वारा जारी सूचनामा भनिएको छ ।
भारतको अर्को विमान कम्पनी अकासा एयरले पनि यस्तै अवरोध भएको जनाएको छ । अकासा एयरले भनेको छ, “सेवा प्रदायकसँग पूर्वाधारको समस्याका कारण, ‘बुकिङ, चेक–इन र व्यवस्थापनसम्बन्धी सेवासहित हाम्रा केही अनलाइन सेवाहरू अस्थायी रूपमा अवरोध हुने देखिएको छ ।”
“तपाईंको धैर्यता र सहयोगका लागि धन्यवाद,” स्पाइसजेटले सामाजिक सञ्जाल एक्समा जारी एक संक्षिप्त जानकारीमा उल्लेख गरेको छ ।
“सेवाहरूमा व्यवधानका कारण प्रभावित उडानहरू वा यात्रुहरूको सङ्ख्यासहित सटीक विवरणहरू तत्काल उपलब्ध गराउन असमर्थ छौँ । रासस