महराका ज्वाइँले सहकारी देखाएर खाइदिए १० कट्ठा जग्गा


काठमाडौंमा एमए अध्ययनरत छोरीको पढाइ शुल्कबापत तिर्नुपर्ने एक लाख रूपैयाँ तिर्न घोराही–७ की ६२ वर्षीया मूलजिता रोकालाई हम्मे पर्‍यो। कसले देला, एक लाख रूपैयाँ? गाउँमा रहेको १० कट्ठा, आठ धुर जग्गा आम्दानीको एक मात्रै स्रोत थियो। वृद्धा मूलजितासँग फुपूको नाता गाँस्न आइपुगे माओवादी नेता कृष्णबहादुर महराका छोरीज्वाइँ टीका बुढा।

जग्गा लिजमा लिने भन्दै मूलजितालाई फकाएका महरा ज्वाइँ टीकाले १० कट्ठा आठ धुर जग्गा खाइदिए। लिजमा जग्गा लिने भन्दै मूलजितालाई झुक्याएर टीकाले जग्गा बेचिदिए। मूलजिता अहिले जग्गा फुकुवाका लागि हारगुहार गरिरहेकी छन्। ‘जग्गा लिजमा दिनुस् भनेर दिएको हुँ, बेचेर खाइदिएछन्,’ उनले भनिन्, ‘मेरो जग्गा कसरी फिर्ता ल्याउने होला ?’

छोरीको पढाइ शुल्क तिर्न हम्मे परेका बेला महराका ज्वाइँ टीका मूलजिताको घर पुगेका थिए। त्यसो त माओवादी युद्धकै बेला टीका मूलजितालाई फुपू नाता लगाएर बोल्थे। ‘द्वन्द्वका बेला पनि मलाई फुपू भनेर बोलाउँथ्यो,’ उनले भनिन्, ‘तर धेरै समय भएको थियो, त्यो मान्छे सम्पर्कमा थिएन।’

तर टीका लामो समयपछि फेरि फुपू नाता गाँस्न मूलजिताको आँगन टेकेका थिएनन्। टीकाको स्वार्थ थियो– मूलजिताको जग्गा हत्याउनु। गाउँमा रहेको मूलजिताको १० कट्ठा आठ धुर जग्गा टीकाले आफूलाई लिजमा दिन आग्रह गरे। फुपू भन्दैफेरि नाता गाँस्न आइपुगेका टीकालाई मूलजिताले विश्वास गरिन्। त्यसो त छोरीको पढाइ शुल्कका लागि एक लाख रूपैयाँको जोहो गर्नै थियो उनलाई। टीकाको विश्वासमा परेर मूलजिताले वार्षिक २४ हजार रूपैयाँ भाडामा जग्गा दिने सहमति जनाइन्। टीकाले आफ्नो सहकारीका लागि भन्दै जग्गा लजमा लिने निर्णय लिएका थिए। सहकारीमार्फत कृषि फार्म सञ्चालन गर्ने योजनामुताबिक टीकाले जग्गा लिजमा फुत्काए।

घोराही–१५ स्थित जनज्योति पशुपन्छी कृषक सहकारी संस्थाका हर्ताकर्ता थिए महराका ज्वाइँ टीका। २०७८ असार १६ गते यो सहकारी र मूलजिताबिच कृषि फार्मका लागि जग्गा लिजमा दिने दुई पक्षीय सहमतिको कागज गरिएको छ। ‘कृषि फार्म खोल्ने हो, तपाईलाई पनि पैसा आउँछ भनी फकाएर जग्गा लगेको हो,’ मूलजिताले भनिन्, ‘सुरुमै एक लाख रूपैयाँ दिन्छु पनि भनेको थियो तर पैसा त्यो बेला दिँदै दिएन।’

टीकाले चार पटक गरेर एक लाख २० हजार रूपैयाँ मूलजितालाई दिए। तर मूलजिताको जग्गा टीकाले बेचिसकेका थिए।

मूलजिताका अनुसार कृषि फार्म खोल्न जग्गाधनीको समेत सहमति रहनुपर्ने भएकाले मूलजितालाई घोराहीस्थित मालपोत कार्यालयमा बोलाइएको थियो। मालपोत कार्यालयमा टीका र दाङ रामपुरका लक्ष्मण शर्मा नाम गरेका व्यक्तिले मूलजितालाई केही कागजमा सही गर्न लगाएका थिए। मूलजिताले त्यो कागज कृषि फार्म खोल्न सहमतिका लागि गरिएको भन्ने मात्रै बुझिन्। तर त्यो मूलजिताले जग्गा पास दिएको कागजात थियो। ‘कृषि फाराम खोल्न तपाईंको सही चाहिन्छ भनेर मलाई मालपोत कार्यालयमा पुर्‍याएका थिए,’ मूलजिताले भनिन्, ‘के–के कागजमा सही गर्न लगाए। मैले सही गरेर घर फर्किएँ।’ मूलजिताको जग्गा २०७८ असारमा बिक्री भएको थियो।

त्यसको केही दिनपछि एक युवक र युवती मूलजिताको घरमा आए। उनीहरूले मूलजिताको जग्गा छिनुवा पासमार्फत बिक्री भएको सुनाए। ‘तिनीहरू को हुन् मैले चिन्दिनँ तर तपाईंको जग्गा छिनुवा पास भएको छ, बरु हामीलाई बेच्नुस् भनेर भने,’ उनले भनिन्, ‘मेरो जग्गा बिक्री भएको होइन, ठेक्कामा दिएको हुँ भनें।’ तर जग्गा बिक्री भएको भन्ने सुनेपछि मूलजिताले टीकालाई फोन गरेकी थिइन्। तर टीकाले आफूले जग्गा बिक्री गरिदिएको नभई ठेक्कामा प्रयोग गर्ने भन्दै ढुक्क रहन आगह गरे। ‘मेरो रिस गर्नेहरूले मेरा विरुद्धमा जग्गा बेचिदियो भनेर भनेका होलान्, तपार्इंको जग्गा कतै बिक्री हुन्न भनेर ढुक्क हुन भन्यो,’ मूलजिताले भनिन्, ‘म पनि होला भनेर ढुक्क भएर बसें।’

तर जग्गा दोस्रो पटक बिक्री भइसकेपछि मात्रै मूलजिताले आफ्नो जग्गा बिक्री भएको भन्ने थाहा पाइन्। उनी मालपोत कार्यालयमा उक्त जग्गाको पोत तिर्न पुगेकी थिइन्। तर उनको जग्गा उनको नाममै थिएन। उनको जग्गा घोराही–१५ का परशुराम श्रेष्ठको नाममा थियो। मूलजिताका अनुसार यो जग्गा दोस्रो पटक बेचिएको रहेछ। लक्ष्मणले आफूले जग्गा खरिद गरेको ६ महिनापछि परशुरामलाई २०७८ पुस २० गते बिक्री गरेको देखिन्छ। ‘मेरो जग्गा बेचिएको भन्ने थाहा पाएपछि म झसंग भएँ,’ उनले भनिन्, ‘मालपोतमै बसेर रोएँ।’

मालपोत कार्यालयबाटै जग्गा बिक्री भइसकेको तथ्य पाएपछि मूलजिताले सम्पर्क गर्दा टीकाले जग्गा फिर्ता गर्ने आश्वासन दिए। तर अहिले सम्पर्कमा छैनन् उनी। ‘जग्गा फिर्ता दिलाउँछु कि पैसा दिन्छु भनेर भन्यो तर झुट बोल्यो,’ मूलजिताले भनिन्, ‘अहिले त सम्पर्कमै छैन।’

जग्गा बेच्ने टीकाका ससुरा माओवादीमा उच्च नेता भएकाले र टीकाबाट जग्गा फिर्ता दिलाइदिन सक्ने भरोसायोग्य ठानिएकाले माओवादी नेता कृष्णबहादुर महराले आफूलई न्याय देलान् भनेर उनले सम्झिन्। ज्वाइँले गरेको बदमासी सुनाउन अनि जग्गा फिर्ताको अपिल गर्न मूलजिता महरासमक्ष पुगिन्। महराले आफूले ज्वाइँसँग बसेर कुरा गर्ने वचन दिए। तर मूलजिताका अनुसार महराले ज्वाइँले नमाने आफ्नी छोरी र आफूलाई असर पर्ने कुनै काम नगरिदिन आग्रह गरेका थिए। ‘महरालाई भेटेर ज्वाइँले जग्गा खाइदियो फिर्ताका लागि भनिदिनुप¥यो भनेर अनुनय गरें,’ मूलजिताले भनिन्, ‘महराले आफूले बोलाएर कुरा गर्ने तर नमानेपछि आफ्नी छोरी र आफूलाई यो मुद्दामा नमुछ्न भनेका थिए।’

महरासँग अनुनय गर्न पुगेकी मूलजिता हाल जग्गा खरिद गरेका परशुराम श्रेष्ठसम्म पुगिन्। तर परशुरामले भने आफूले जग्गा खरिद गर्दा लागेको रकम पाए जग्गा फिर्ता गरिदिने बताए। ‘मलाई मेरो पैसा फिर्ता दिएपछि म जग्गा फिर्ता गरिदिन्छु भनेर परशुरामले भने,’ मूलजिताले भनिन्, ‘कहाँ गएर जग्गा फिर्ता ल्याउने होला, साह्रै चिन्तामा छु।’ तर झुक्याएर मूलजिताको जग्गा अर्कैलाई बेचेका महराका ज्वाइँ टीका अहिले सम्पर्कमा छैनन्। उनले प्रयोग गर्दै आएको फोनमा पनि सम्पर्क हुन सक्दैन।

वृद्धा मूलजितालाई झुक्याएर जग्गा बेचेका टीकाले सहकारीमा नक्कली पदाधिकारी खडा गरेर जग्गा लिजको सम्झौता गरेका थिए। जबकि सहकारीका पदाधिकारी चुनिएकैहरूले आफूहरू सहकारीको पदाधिकारी रहेको भन्ने नै थाहा नपाएको बताउँछन्। यो सहकारीको कोषाध्यक्ष पदमा दीपा बुढाको नाम उल्लेख छ। तर उनी भन्छिन्, ‘हामीलाई त खाता खोल्न मात्रै लगाइएको हो, हामीले खाता खोलेका हौं तर हामी सहकारीको पदमा रहेको भन्ने त हामीलाई कहिल्यै भनिएन।’

सहकारीका हर्ताकर्ता महरा ज्वाइँ टीकाले सहकारीमा खाता खोलेर आबद्ध हुन दीपालगायत स्थानीय महिलाहरूलाई आग्रह गरेका थिए।

सहकारीलाई राम्रो ढंगबाट चलाउने र जग्गा लिजमा लिएर कृषि फार्म समेत सञ्चालन गर्न लागिएको भन्दै टीकाले स्थानीय महिलाहरूलाई फकाएका थिए। त्यहि बेला दीपालगायत केही महिलाहरूलाई सहकारीका तर्फबाट हस्ताक्षर गराएर मूलजिताको जग्गा लिजमा लिने सम्झौतासमेत गराएका छन्। ‘जग्गा लिजमा लिन लागेको छु, कृषि फार्मका लागि लिन लागेको सम्झौतामा तपाईहरूले पनि सही गर्नुस् भनेर टीकाले हामीलाई सही गर्न लगाएका हुन्,’ दीपाले भनिन्, ‘तर त्यो जग्गा लिने बेलामा हामीलाई हामी नै अध्यक्ष, कोषाध्यक्ष, सचिवका रूपमा छौं भन्ने नै थाहा थिएन।’

प्रकाशित: २१ असार २०८२ ०९:०४ शनिबार





Source link

Leave a Comment