मस्तिष्क ट्युमर अर्थात् दिमागको क्यान्सर भन्नाले मस्तिष्कका कोषिकाहरुको अनियन्त्रित रुपमा असामान्य वृद्धि र त्यसले गराएको रोग भनेर बुझिन्छ । ट्युमर तथा क्यान्सरका कोषिकाहरु सामान्य कोषिका र मस्तिष्कको मांसपेशी भन्दा भिन्न हुन्छ ।
क्यान्सर भएको अवस्थामा मस्तिष्कका कोषिकाहरु अनियन्त्रित रुपमा कैयौं गुणा बढ्छन् । र, आफ्ना वरपरका कोषिका र तन्तुहरूलाई नष्ट पार्ने वा विस्थापित पार्ने गर्छन् ।
मस्तिष्कमा अहिलेसम्म १५० वटा भन्दा बढी प्रकारका ट्युमरहरु पत्ता लागिसकेका छन् । मस्तिष्कमा हुने ट्युमरलाई प्राइमरी ब्रेन ट्युमर र मेटास्टेटिक ट्युमर गरी दुई भागमा विभाजित गर्न सकिन्छ ।
प्राइमरी ब्रेन ट्युमर
प्राइमरी ब्रेन ट्युमर मस्तिष्कको तन्तु, कोषिका, झिल्ली जस्ता भागबाट उत्पन्न भएका हुन्छन् ।
प्राइमरी ब्रेन ट्युमरका प्रकार
ग्लियाल ट्युमर : यो कोषिकाहरु मिलेर बनेको ट्युमर हो ।
नन् ग्लियाल ट्युमर : यो स्नायु, रक्तनली ग्रन्थीहरु तथा मस्तिष्कको संरचनामा बनेको ट्युमर ।
बिनाइङ ट्युमर : यो ट्युमर हानिरहित हुन्छ ।
मिलिगेन्ट ट्युमर : यो हानिकारक क्यान्सरको रुपमा परिणत हुनसक्छ ।
मेटास्टेटिक ट्युमर : यो शरीरमा अन्यत्र उत्पन्न भएको ट्युमरहरु मस्तिष्कमा सरेर बन्ने ट्युमर हो ।
सामान्यतया स्तन, फोक्सो, पेट, श्वासनली, प्रोस्टेट, मिर्गौला, थाइराइडका क्यान्सरका ट्युमहरु रक्त प्रवाहको माध्यम हुँदै मस्तिष्कमा सर्छन् । जुन ट्युमर एकै अंगमा पलाएको हुन्छ, त्यसलाई प्राइमरी ट्युमर भनिन्छ । जुन ठाउँमा सरेर गएको हुन्छ त्यो ट्युमरलाई मेटास्टेटिक अथवा सेकेन्डरी भनिन्छ ।
एक अंगबाट अर्को अंगमा सर्ने लक्षण भएका ट्युमर प्राणघातक क्यान्सरमा पाइन्छ ।
लक्षण
– टाउको दुख्ने समस्या (विशेषगरी बिहान र रातिको समय)
– शरीरको एक भाग, आधा शरीर, हात वा खुट्टा कमजोर हुनु वा पक्षघात हुनु
– छारेरोग जस्तै जीउ, हातखुट्टा काँप्नु वा बटारिनु
– सोच्न, बोल्न र शब्द उच्चारण गर्न कठिन हुनु ।
– व्यक्तित्वमा परिवर्तन आउनु
– रिंगटा लाग्नु वा शरीरको सन्तुलन गुमाउनु
– दृष्टिमा परिवर्तन आउनु वा खराब हुनु
– कानको सुन्ने क्षमता परिवर्तन वा खराब हुनु
– चेतनामा परिवर्तन वा बिर्सिनु
– वाकवाकी लाग्नु वा बान्ता हुनु
कारण
– कोषिकाको क्रोमोजोममा भएका जीनहरु बिग्रिएमा वा कोषले काम नगरेमा
– वातावरणमा भएका नराम्रो तत्व र रसायनको असर
– द्रुत गतिमा विभाजित भई रहेका कोषिकाहरुको वृद्धि नियन्त्रण गर्ने संयन्त्रहरू निष्क्रिय भएमा
– शरीरको प्रतिरक्षा प्रणाली विफल भएमा
– खराब कोषिकाहरुलाई मार्न र निष्क्रिय गर्ने नसकिएमा
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले मस्तिष्कका ट्युमरहरुलाई सरल किसिमले ग्रेड १, २, ३ र ४ गरी मुख्य चार वर्गमा छुट्याएको छ ।
बेनाइङ ट्युमरका प्रकारहरु
मेनिन्जियोमा
यो ट्युमर मस्तिष्क र मेरुदण्ड वरपर ‘एराक्नोइड मेम्ब्रेन’बाट उत्पन्न हुन्छ, जुन पछि बढेर ठूलो आकारमा परिणत हुन सक्छ । प्रायजसो यो ट्युमर मस्तिष्कको फेदतर्फ बसेको हुन्छ । यो ट्युमरले मस्तिष्कको १० देखि १५ प्रतिशतसम्म ओगट्न सक्छ । यो सबैभन्दा बढी देखिने ट्युमरमध्ये एक हो ।
क्रोनियोफारेन्जियोमा
बेनाइङ ट्युमर भए पनि यो ट्युमर मस्तिष्कको गहिराइमा महत्त्वपूर्ण संरचना र तन्तु नजिक अवस्थित हुन्छ । त्यस कारणले यी ट्युमरलाई हटाउन कठिन हुन्छ । यी ट्युमर पिटयुटरी ग्रन्थी (शरीरमा धेरै किसिमको हर्मोनहरु नियन्त्रण गर्ने संरचना)को भागबाट उत्पन्न हुन्छन् ।
तसर्थ, पिट्युटरी ग्रन्थीको ट्युमर भएको बिरामीमा हर्मोनको गडबढी भएको पनि पाइन्छ ।
गाङ्गल्यिोसाइटोमा, गाङ्गल्यिोमा र अनाप्लाष्टिक गाङ्गल्यिोमा
यी दुर्लभ किसिमको ट्युमर हुन् । जुन ट्युमरजन्य स्नायु (नियाप्टास्टिक) नर्भ सेल)बाट बनेका हुन्छन् । प्रायजसो वयस्क मानिसमा यो समस्या देखा पर्छन् ।
कोरडोमा
यो विस्तारै बढ्ने ट्युमर हो । जुन ५० देखि ६० वर्षको उमेरमा बढी देखिन्छ । यी मुख्यतया मस्तिष्कको फेद र मेरुदण्डको तल्लो भागमा बढी पाइन्छ । यद्यपि, यी ट्युमर मध्यम खालका हुन्छन् ।
यिनीहरुले छेउछाउको हड्डीमा भने आक्रमण गर्न सक्छन् । र, नजिकैको नसा तथा तन्तुहरूमा दबाब दिन सक्छन् । यी ट्युमर दुर्लभ छन् ।
श्वानोमा
यो सामान्यतया पाइने मध्यम मस्तिष्क ट्युमर हो । यिनीहरू स्नायुबाट उत्पन्न हुन्छन् । श्वानोमाले स्नायुको भागलाई आक्रमण गर्नु सट्टा स्नायुलाई नै विस्थापित गर्छ । यिनीहरु बढ्दै गएर स्नायुमा र मस्तिष्कमा दबाब दिन सक्छन् । जसकारण गम्भीर जटिलता र मृत्यु पनि हुनसक्छ ।
पिटयुटरी एडेनोमा
यो गिल्योमा, मेनिन्जियोमा र श्वानोमा पछिको सबैभन्दा बढी देखिने ट्युमर हो । यो ट्युमर ढिलो वृद्धि हुन्छन् । यद्यपि, यो घातक पिटयुटरी ट्युमरमा पनि हुन्छन् । जुन शरीरमा विरलै फैलिन्छन् ।
यी ट्युमर बच्चा तथा वयस्कमा देखा पर्छन् । यो ट्युमर हुँदैमा आत्तिनु पर्दैन । किनकि यसको उपचार सफलतापूर्वक गर्न सकिन्छ ।
घातक मस्तिष्कका ट्युमरका प्रकार
ग्लियोमा
मस्तिष्कको सबैभन्दा बढी पाइने ट्युमरमध्ये ग्लियोमा एक हो । मस्तिष्कको घातक ट्युमरको ७८ प्रतिशतमा यो ट्युमर पर्छ ।
यो ट्युमर मस्तिष्कको सहयोगी कोषिकाहरुबाट उत्पन्न हुन्छ । जसलाई ग्लियल कोषिका भनिन्छ । यो कोषिकाहरु एस्ट्रोसाइटस, एपेन्डिमल सेल्स र ओलिगोडेन्ड्रो ग्लियल सेल्समा हुन्छन् । एस्ट्रोसाइटोमा सबैभन्दा बढी पाइने ग्लियोमा ट्युमर हो ।
एस्ट्रोसाइटोमा
मस्तिष्क र मेरुदण्डको करिब ५० प्रतिशत ट्युमरहरूमा भेटिन्छ ।
एस्ट्रोसाइटोमा तारा आकारको ग्लियल कोषिकाहरुबाट विकसित हुन्छ, जसलाई एस्ट्रोसाइट्स भनिन्छ । यी मस्तिष्कका धेरैजसो भागमा उत्पन्न हुन्छन, तर विशेषगरी सेरेब्रममा बढी हुने गर्छन् ।
इपेनडाइमोमा
ट्युमर इपेनडाइमल कोषिकाहरूको क्यान्सरजन्य रुपान्तरणबाट विकसित हुन्छन् । मस्तिष्कका सम्पूर्ण ट्युमरमध्ये २ देखि ३ प्रतिशत इपेनडाइमोमा हुन्छन् ।
ग्लियोब्लास्टोमा मल्टीफर्म
ग्लियल ट्युमरको सबैभन्दा आक्रामक प्रकार हो । यी ट्युमर द्रुत गतिमा बढ्छन् र अन्य तन्तुहरूमा फैलिन्छन् । यी ट्युमरको दीर्घकालीन अवस्था राम्रो हुँदैन । किनकि यो जटिल र कष्टकर हुन्छ ।
यी ट्युमर विभिन्न प्रकारका कोषिका जस्तै एस्ट्रोसाइट्स र ओलिगोडेनड्रोसाइट्स मिलेर मिलेर बनेका हुन्छन् । ५० देखि ७० वर्ष उमेरका मानिस बढी देखा पर्न सक्छ । यो ट्युमर पुरुषमा बढी महिलामा कम देखिन्छ ।
मेडुलोब्लास्टोमा
यो ट्युमर सेरेबेलममा उत्पन्न हुन्छ, जुन बच्चाहरुमा बढी भेटिन्छ । यो उच्च ट्युमर हो जसको उपचार विशेषगरी किमोथेरापी र विकिरणले गरिन्छ ।
ओलिगोडेनड्रोग्लियोमा
माइलिन बनाउने कोषिकाबाट यो ट्युमर उत्पन्न हुन्छ । माइलिनले कोषिकाको सहायताले मस्तिष्क र स्नायुलाई घेरेर सुरक्षा प्रदान गर्ने गर्छ । यी माइलिन कोषिकाहरूमा खराबी आएमा ओलिगोडेनड्रोग्लियोमा टयुमरमा परिणत हुन्छ ।
परीक्षण गर्ने विधि
न्युरोलोजिकल परीक्षण : न्युरोलजिस्ट वा फिजिसियनमले गरेको न्युरोलोजिकल परीक्षणमा दृष्टि, श्रवण, सन्तुलन, बल, रिफ्लेक्स इत्यादी पर्छन् । यो परीक्षणले बिरामीलाई भएको कठिनाइले ट्युमरको अवस्था र त्यो बसेको मस्तिष्कको विशेष भाग प्रभावित भएको जनाउँछ ।
इमेजिङ परीक्षण : समस्या पत्ता लगाउन एमआरआई र सिटी स्क्यान जस्ता विभिन्न पद्धतिका प्रयोग गर्न सकिन्छ । एमआरआई परीक्षणबाट मस्तिष्कको ट्युमरको निदान गरिन्छ । यो परीक्षणको क्रममा बिरामीको हातको नसाको माध्यमबाट डाई इन्जेक्सन दिइन्छ ।
विशेष खालका एमआरआई जस्तो कि फंसनल एमआरआई, परफ्युजन एमआरआई, म्याग्नेटिक रिसोनेन्समा देखिने क्षतिले मस्तिष्कको ट्युमरको मूल्यांकन गर्न उपचारको योजना बनाउन मद्दत गर्छ ।
त्यस्तै, सिटी स्क्यान र पेट सिटी स्क्यान प्रयोग विशेष परिस्थितिमा गरिन्छ । यसबाट पछि अन्य उपचार र मूल्यांकनमा मद्दत पुग्छ ।
बायोप्सीको नमुना सङ्कलन र परीक्षण : सुईको माध्यमबाट नमुना निकालेर पहिचान गर्न वा एकैपटक पूरै शल्यक्रिया समेत गर्न सकिन्छ । कुन प्रक्रिया अपनाउने भन्ने तय ट्युमरको किसिम र स्थान हेरेर हुन्छ ।
स्टोरियोटयाक्टिक सुई बायोप्सीको प्रयोग : मस्तिष्कको भित्री भाग वा जटिल अवस्थामा बसेको ट्युमरको बायोप्सीको लागि गरिन्छ ।
अति संवेदनशील भागहरु र शल्यक्रियाले हानि गरी क्षत विक्षत् गर्न सक्ने टयुमरका लागि यो उपयुक्त हुन्छ । यसका लागि न्युरो सर्जनले बिरामीको टाउकोमा सानो प्वाल पारी पातलो सुई हालेर बायोप्सी गर्न सक्छन् ।
उपचार
मस्तिष्कको ट्युमरको उपचार यसको किसिम, आकार र त्यसले ओगटेको मस्तिष्कको स्थानमा भर पर्छ ।
शल्यक्रिया : यदि ट्युमर मस्तिष्कको बाहिरी भागतिर अवस्थित छ भने यो प्राथमिक रोजाइमा पर्छ । यो अवस्थामा शल्यक्रिया गरेर पूरै ट्युमर झिक्ने प्रयास हुन्छ ।
यदि ट्युमर मस्तिष्कको भित्री भाग वा संवेदनशील क्षेत्र नजिकै भए शल्यक्रिया गरेर पूरै ट्युमर झिक्ने विधि जोखिमपूर्ण र जटिल हुन जान्छ । ट्युमरको एक भाग हटाउनाले पनि बिरामीको लक्षण कम गर्न मद्दत हुन्छ । तर यो प्रक्रियाले शल्यक्रिया गर्दा कीटाणुको संक्रमण र रक्तस्राव जस्ता जोखिम हुनसक्छ ।
अन्य जोखिम मस्तिष्कको भागमा निर्भर हुनसक्छ । जस्तो कि, आँखा नजिकसँग जोड्ने नसा नजिकको ट्युमरको शल्यक्रिया गर्दा दृष्टि गुम्ने जोखिम हुनसक्छ ।
विकिरण उपचार : विकिरण थेरापीले ट्युमर कोषिकाहरू मार्न उच्च ऊर्जा बीमहरु जस्तै एक्स-रे वा प्रोटोनहरु प्रयोग गर्छ । विकिरण थेरापी शरीरको बाहिरी भागबाट दिन सकिन्छ ।
इबीआरटी बीम थेरापी : यो थेरापीले मस्तिष्कको सो क्षेत्रमा केन्द्रित भएर ट्युमरमाथि विकिरण दिई त्यसले नष्ट र निष्क्रिय पार्न सक्छ ।
होल ब्रेन रेडिएसनको प्रयोग : यो रेडिएसनको प्रयोग मेटास्टेटिक ट्युमर (जुन शरीरको अन्य भागको क्यान्सरबाट मस्तिष्कमा फैलिएको हुन्छ) को उपचारका लागि गरिन्छ ।
थेरापीको साइड–इफेक्ट
यो थेरापीको साइड-इफेक्ट बिरामीले प्राप्त गरेको विकिरणको मात्रा र प्रकारमा निर्भर गर्छ । विकिरणको समयमा वा तुरुन्तै पछि हुने सामान्य साइड-इफेक्टमा थकान, टाउको दुख्ने, स्मरण शक्ति कमी हुने बान्ता हुने, टाउकोको जलन हुने, कपाल झर्ने हुनसक्छ ।
रेडियो सर्जरी : स्टेरियोट्याक्टिक रेडियो सर्जरी भनेको शल्यक्रिया भने पक्कै होइन । यसको सट्टा रेडियो सर्जरी प्रविधिमा सानो क्षेत्रको ट्युमरको कोषिकाहरूलाई मार्न उच्च विकिरण बीमको प्रयोग गरिन्छ । रेडियो सर्जरीमा मस्तिष्कको ट्युमरको उपचार गर्न विभिन्न प्रकारका प्रविधि छन् । जस्तै, गामा नाइफ वा लिनियर एक्सेलेटर ।
रेडियो सर्जरी सामान्यतया एकै पटकमा गरिन्छ । यो प्रक्रियापछि त्यही दिन बिरामीलाई घर पठाइन्छ ।
किमोथेरापी
यसमा ट्युमरको कोषिकाहरू मार्न औषधिको प्रयोग गरिन्छ । किमोथेरापी औषधि खाने चक्कीको रूपमा लिन सकिन्छ वा नसामा इन्जेक्सन माध्यमबाट लिन सकिन्छ ।
औषधि
मस्तिष्क ट्युमरको उपचारमा प्रयोग गरिने औषधिमध्ये टेमोजोलामाईड पनि एक हो । क्यान्सरको प्रकारअनुसार अन्य किमोथेरापी औषधिहरूको प्रयोग गरिन्छ । किमोथेरापीको साइड-इफेक्ट वाकवाकी लाग्ने, बान्ता हुने, रगतको कमी हुने, कपाल झर्ने, हात खुट्टा झम्झमाउने, छाला रातो हुने इत्यादि हुनसक्छ ।
लक्षित औषधि उपचार
लक्षित औषधि उपचार क्यान्सर कोषिकाभित्रका विशेष गुण र प्रकृतिविरुद्ध लक्षित हुन्छन् । ती विशेष संरचना र कोषिकाका इकाईमाथि असर पुर्याउन सकेमा क्यान्सर कोषिका नियन्त्रण गर्न सकिन्छ ।
लक्षित थेरापीका औषधिहरु निश्चित प्रकारका मस्तिष्कका ट्युमरका लागि उपलब्ध छन् । अन्य धेरै क्लिनिक परीक्षणहरुमा अध्ययन भइरहेका छन् ।
उपचारपछिको पुनर्स्थापना
मस्तिष्कका विभिन्न भागहरू विभिन्न कार्यमा मद्दत गर्छन् । जस्तै सुन्ने, हेर्ने, हात खुट्टा चल्ने, बोल्ने उठ्ने, बस्ने लगायतको नियन्त्रण तथा कार्य । मस्तिष्कको जुन भागमा ट्युमर बसेको हुन्छ, त्यो भागले ठीक काम गर्न सक्दैन । तसर्थ, बिरामीलाई विशेष व्यायाम, प्रशिक्षण र सीपको आवश्यकता हुन्छ ।