काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडान भरेको सौर्य एयरलाइन्सको सीआरजे–७ (९एन–एएमई) कलसाइन भएको विमान बुधबार बिहान ११ बजेर ११ मिनेटमा त्रिभुव अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गनजिकै आकाशबाट भुइँमा बजारिएर भयानक दुर्घटनामा प¥यो ।
सो विमान विमानस्थलको पेप्सीकोला र गोठाटारतिरको रनवेबाट पूर्वतिरको भागमा खसेर दुर्घटना भएको हो । सो विमान मर्मतपछिको पूर्ण परीक्षण (सी–चेक)का लागि पोखरा जानेक्रममा विमानस्थलको धावनमार्ग छोड्नासाथ भयानक दुर्घटनामा परेको हो ।
दुर्घटनाग्रस्त विमानमा परी चालक दलका सदस्यसहित १८ जनाको ज्यान गएको छ । सो विमानका चालक (क्याप्टेन) मनीषरत्न शाक्य मात्र बाँच्न सफल भएका छन् । आफ्नै कर्मचारी र प्राविधिक-इन्जिनियर बोकेर मर्मतका लागि पोखरा उडेको सो विमानमा अधिकांश सौर्य एयरकै प्राविधिक कर्मचारी थिए । सो विमानमा चालक दलका सदस्यसहित कुल १९ जना सवार थिए । घाइते विमान चालक शाक्यको केएमसी अस्पतालमा उपचार भइरहेको छ ।
– विमानस्थलमै भयानक दुर्घटना
– सौर्य एयरलाइन्सको विमानमा सवार १८ जनाको मृत्यु
– विमान चालक शाक्यको अस्पतालमा उपचार हुँदै
चालक शाक्य र सहचालक एस कटुवालले उडान भरेको सो विमानमा सवारमध्ये एक जना विदेशी नागरिक हुन् । सो विमान दुर्घटनामा ज्यान गुमाउने १८ जनामा सहचालक कटुवाल, अमितमान महर्जन, सागर आचार्य, दिलीप बर्मा, मनुराज शर्मा, अश्विनकुमार निरौला, सुदीपलाल जोशी, सर्वेश मरासिनी, श्याम बिन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञप्रसाद पौड्याल, सन्तोष महतो, पुण्यरत्न शाही र आरिफ रेडा रहेका छन् । रेडा यमनका नागरिक हुन् ।
मृतक १८ जनाको शव पहिचानका लागि त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गर्ने काम भइरहेको छ । तीन दिनपछि मात्र मृतकको शव आफन्तलाई बुझाइने त्रिवि शिक्षण अस्पतालले जनाएको छ । आगोले डढेका कारण उनीहरूको शव पहिचानमा समेत समस्या भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार उडान भर्नेबेला सो विमानको टावरसँग अन्तिम संवाद ‘क्लियर फर टेकअफ’ भएको थियो । जुन एयर ट्राफिक कन्ट्रोलरले विमान उडाउन विमान चालकलाई दिने आदेश हो ।
धावनमार्ग शून्य दुई (कोटेश्वरतर्फ) बाट सो विमानले टेकअफ लिएर उड्यो । त्यसको २० देखि २२ सेकेन्डमा आकाशमा ढलपल–ढलपल गर्दै दाहिनेतर्फ मोडिएर भुइँमा बजारिन पुगेको प्राधिकरणले जनाएको छ ।
नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार दुर्घटनामा परेको विमानसँग एटीसीको अन्तिम संवादमा जहाजमा कुनै पनि समस्या’bout क्याप्टेनबाट जानकारी आएको थिएन । प्रारम्भिक रिपोर्टका आधारमा धावनमार्ग छाडेको २० देखि २२ सेकेन्डमा सो विमानले नियन्त्रण गुमाएको देखिएको जानकारी गराउँदै भुलले भने, ‘प्रारम्भिक अनुमानबाट यो विमान के कारणले दुर्घटना हुनपुग्यो भन्ने’bout अझै केही खुलेको छैन ।’ विस्तृत अध्ययन र छानबिनपछि मात्र वास्तविक कारण खुल्ने उनले बताए ।
विमानस्थल कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरले पनि त्रिभुवन विमानस्थलबाट पोखरा उड्ने क्रममा सौर्यको सो विमान अभानक दुर्घटनामा परेको बताए । दुर्घटनास्थलमा विमानस्थलका सुरक्षाकर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायतको टोली उद्धार तथा आगो निभाउन खटिरहेको थियो ।
उद्धारका क्रममा दुर्घटनास्थलमा दर्जनभन्दा बढी एम्बुलेन्स पुगेका थिए । विमानस्थल कार्यालयका अनुसार दुर्घटनामा परेको सो विमानले अन्य विमानलाई भने केही क्षति पु¥याएको छैन । विमानस्थलनजिकका घरहरूमा पनि कुनै क्षति पुगेको छैन । विमानमा लागेको आगो सुरक्षाकर्मी र विमानस्थलका अग्नि नियन्त्रकले तत्काल नियन्त्रणमा लिएका थिए ।
दुर्घटनामा परेका सौर्यका कर्मचारीहरू विमानको मर्मतका लागि पोखरा जाने क्रममा थिए । दुई–तीन दिनदेखि नै सो विमानको इन्जिनमा समस्या देखिएको थियो । विमान कम्पनीले त्रिभुवन विमानस्थलमा आफ्नो ह्यांगर नभएका कारण मर्मतका लागि पोखरा लान खोजेको थियो । तर, त्रिभुवन विमानस्थलबाट उडान भर्ने क्रममा दुर्घटनामा परेको सो विमान धावनमार्गबाट दाहिनेतिर मोडिन गई पूर्वतिरको पाखामा दुर्घटनाग्रस्त हुन पुगेको देखिएको छ । भुइँमा बजारिएर दुई टुक्रा भएको सो विमानमा आगलागी भएको थियो ।
सौर्य एयरलाइन्सको विमान दुर्घटनापछि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल करिब २ घण्टासम्म ठप्प भएको थियो । बुधबार बिहान ११ बजेर ११ मिनेटमा दुर्घटना भएदेखि बन्द भएको विमानस्थलको उडान दिउँसो सवा १ बजेपछि मात्र पुनः उडान सञ्चालनमा आएको थियो । सो समय केहीबेर विभिन्न गन्तव्यबाट आएका विमान आकाशमा होल्ड गर्न बाध्य भएका थिए भने केही डाइभर्ट भएका थिए ।
सो विमान दुर्घटनामा सौर्य एयरलाइन्सकै व्यवस्थापन समूहका अधिकांश सदस्य परेका छन् । व्यवस्थापन समूहमा रहेका १० मध्ये चार जनाको मृत्यु भएको छ । सो एयरलाइन्सका चिफ अफ सेफ्टी सागरकुमार आचार्य, चिफ अफ क्वालिटी एसुरेन्स दिलीप बर्मा, सीएएमओ अश्विनकुमार निरौला, मर्मत व्यवस्थापक यज्ञप्रसाद पौड्याल र चिफ अफ अप्रेसन (क्याप्टेन) मनीषरत्न शाक्य दुर्घटनामा परेका हुन् । घाइते क्याप्टेन शाक्य मात्र बाँचेका छन् ।
सो दुर्घटनापछि प्रधानमन्त्री केपी शर्मा ओली विमान दुर्घटनाको अवस्था र उद्धार व्यवस्थापन’bout बुझ्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित दुर्घटनास्थल पुगेका थिए । दुर्घटनास्थलमा गृहमन्त्री रमेश लेखक, पर्यटनमन्त्री बद्री पाण्डेसहित उच्च अधिकारीहरू पनि विमानस्थल पुगेका थिए ।
विमानस्थल कार्यालयका अनुसार सो विमान दुर्घटनाको समय मौसम सफा नै थियो । अन्य कुनै पनि बाह्य कारणले विमानमा अवरोध आएको देखिएको छैन । यसले सो विमान दुर्घटना झन रहस्यमय बनेको विमानस्थल स्रोतले जनाएको छ । मर्मतका लागि उडेको विमानमा किन यति धेरै यात्रु चढाइयो भन्ने गम्भीर प्रश्न खडा भएको छ ।
अहिले त्रिभुवन विमानस्थल छेउछाउ विभिन्न निर्माण कार्य जारी छ । विमान बजारिएको स्थल ’round निर्माण सामग्रीहरू देखिन्छन् । जसका कारण विमान बजारिएर बस्तीसम्म पुग्न पाएन । सो विमानलाई ती निर्माण सामग्रीले समेत उछिट्टिनबाट रोकेको पाइएको छ ।
यसअघि यही विमानस्थल क्षेत्रमा भएका सीता एयर, टर्किस एयर, यूएस बंगला विमान दुर्घटना बुधबारको जस्तै किसिमले दुर्घटनामा परेका थिए । यसअघिका कमजोर छानबिन प्रतिवेदन र धेरैपटक दोहोरिएका यस्ता घटनाक्रमले यी दुर्घटनामा उठेका प्रश्नको समाधान हुन नपाउँदै बुधबार फेरि अर्को भयानक दुर्घटना दोहोरिएको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका एक कर्मचारीले भने, ‘अब निर्मम हुनुपर्ने दिन आइसक्यो, आजसम्मका सबै दुर्घटनाको समीक्षा गरौं, अझै सबै निकाय नसच्चिने हो भने अवस्था भयावह हुन्छ ।’
प्राधिकरणका अनुसार यो सौर्य एयरको विमान दुर्घटना नेपाली आकाशमा १०८औं दुर्घटना हो । यस्तो दुर्घटनामा अहिलेसम्म ९ सय ५९ जनाले ज्यान गुमाइसकेका छन् । सौर्यको यो विमान आन्तरिक उडानको ५४औं विमान दुर्घटना हो ।
क्यानडामा बनेको सीआरजे–२०० विमान विश्वमा सबैभन्दा सुरक्षित जहाजमध्ये एक मानिन्छ । यस सिरिजका विमान संसारभर १ हजार १ सयवटा मात्र निर्माण भएका छन् । जसमध्ये मुस्किलले एक दर्जन विमान मात्र दुर्घटनामा परेका छन् ।
एकै परिवारका ३ जनाको मृत्यु
सौर्य एयरलाइन्सको विमान दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । सौर्य एयरलाइन्सका प्राविधिक कर्मचारी मनुराज शर्मा उनकी श्रीमती प्रिजा खतिवडा र सानो छोरा अधिराज शर्मा तीन जनाकै मृत्यु भएको हो । प्रिजा ऊर्जा मन्त्रालयमा कम्प्युटर अपरेटरका रूपमा कार्यरत थिइन् ।
सौर्य एयरका प्राविधिक मनुराज पोखरा जाने भएपछि श्रीमती प्रिजालाई अफिसबाट र छोरा अधिराजलाई विद्यालयबाट बोलाएर घुम्न पोखरा लग्दै थिए । प्रिजा नेपाल पत्रकार महासंघ सप्तरीका पूर्वअध्यक्ष प्रकाश खतिवडाकी छोरी हुन् ।
५ सदस्यीय दुर्घटना आयोग गठन, राष्ट्रिय झन्डा आधा झुकाइने
बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले सौर्य एयरलाइन्सको विमान दुर्घटनाको छानबिन गर्न दुर्घटना जाँच आयोग गठन गरेको छ । आगामी ४५ दिनमा दुर्घटनाको कारण र आगामी दिनमा दुर्घटना हुन नदिनका लागि गर्नुपर्ने कार्य सुझावसहित प्रतिवेदन बुझाउने समय तोकेर नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिसचन्द्रलाल सुमनको संयोजकत्वमा ५ सदस्यीय दुर्घटना आयोग गठन गरिएको हो ।
सो समितिमा नेपाल वायुसेवा निगमका क्याप्टेन दिपुराज जुहारचन, पुल्चोक इन्जिनियरिङ क्याम्पसका सदस्य डा. सुदीप भट्टराई, श्रीएयरलाइन्सका सदस्य सञ्जय अधिकारी र नेपाल नागरिक उड्डयन प्राधिकरणका ट्राफिक कन्ट्रोल अफिसर मुकेश डंगोल रहेका छन् ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी दिनमा हवाई दुर्घटना हुन नदिनका लागि वायुसेवा कम्पनीले उडान भर्नुपूर्व विमानको उचित जाँच गर्ने र त्यसको प्राधिकरणले सघन अनुगमन गर्ने निर्णय गरेको छ । यसैगरी, मन्त्रिपरिषद्को बैठकले सौर्य एयरको विमान दुर्घटनाबाट १८ जनाको ज्यान गएको शोकमा बिहीबार (आज) राष्ट्रिय झन्डा आधा झुकाउने निर्णयसमेत गरेको छ ।
विमान दुर्घटनामा ज्यान गुमाउने यात्रुको विवरण
एस कटुवाल – सहचालक
अमितमान महर्जन
सागर आचार्य
दिलीप बर्मा
मनुराज शर्मा
अश्विनकुमार निरौला
सुदीपलाल जोशी
सर्वेश मरासिनी
श्याम बिन्दुकार
नवराज आले
राजाराम आचार्य
प्रिजा खतिवडा (मनुकी श्रीमती)
अधिराज शर्मा (मनुका छोरा)
उद्धव पुरी
यज्ञप्रसाद पौड्याल
सन्तोष महतो
पुण्यरत्न शाही
आरिफ रेडा – यमनका नागरिक
मनीषरत्न शाक्य – क्याप्टेन (विमान चालक) जीवित (हाल केएमसी अस्पतालमा उपचाररत)
(Visited 164 times, 1 visits today)