यो साता काठमाडौं सिनेमा र साहित्यमय रह्यो भन्दा हुन्छ । एकातिर मीनबहादुर भाम निर्देशित एवं बर्लिन फिल्म फेस्टिभलमा सर्वोच्च पुरस्कारका लागि प्रतिस्पर्धामा छनोट भएको नेपाली फिल्म ‘शाम्बाला’को काठमाडौं प्रिमियर चर्चित रह्यो भने अर्कोतिर कलिङ साहित्य महोत्सव आयोजना गरियो । ‘शाम्बाला’ प्रिमियरमा बलिउडका चर्चित निर्देशक अनुराग कश्यप र कलाकार नवाजुद्दिन सिद्दिकी सहभागी भए भने साहित्य महोत्सवमा उदय प्रकाश र सौरभ द्विवेदी जस्ता हिन्दी जगतका चर्चित लेखक-पत्रकार सहभागी भए ।
उदय प्रकाशको लघु उपन्यास ‘मोहनदास’ र कथासंग्रह ‘नेलकटर’को नेपाली अनुवाद फाइनप्रिन्टबाट पहिले नै आइसकेको छ भने हालै उनको ‘पिली छतरीवाली लडकी’ पनि ‘पहेंलो छाता’ नाममा मीनराज बसन्तको अनुवादमा आएको छ ।
केही वर्ष पहिले भारतीय जनता पार्टीको सरकारले अल्पसंख्यकहरूप्रति अहिष्णुता अख्तियार गरेको भन्दै त्यसको विरोधमा सरकारले दिएका पदवी र पुरस्कार फिर्ता गर्नेमा उदय प्रकाश अग्रणी थिए । यसका साथै उदय प्रकाश सञ्चार र प्रविधिले साहित्यलाई के-कसरी प्रभाव पार्ला भन्ने विषयमा पनि चिन्तन-मनन गरिरहन्छन् । उनी धेरै भाषामा अनूदित हुने भारतीय लेखकमा पनि पर्छन् । यिनै विषयको सेरोफेरोमा रहेर उदय प्रकाशसँग गरिएको छोटो कुराकानी यहाँ प्रस्तुत गरिएको छ :
राजेन्द्र यादव एउटा शब्द प्रयोग गर्नुहुन्थ्यो- ‘प्रिन्टेड ट्रयास ।’ अर्थात्- छापिएको रद्दी । जो छापिन्छ तर त्यसको साहित्यिक मूल्य हुँदैन । उहाँले त्यसो भन्नुको कारण छ । जतिबेला भारत र यो क्षेत्रमा मुद्रण प्रविधि सहज भयो, धेरै मानिसले पत्रपत्रिका र पुस्तकको प्रकाशन गर्न थाले । राजेन्द्र यादव कविता र साहित्य लेख्नुका साथै साहित्यिक पत्रिका ‘हंस’ चलाउनुहुन्थ्यो । हामी पनि त्यससँग जोडिएका छौं । मेरा कतिपय कथाहरू ‘हंस’ मा प्रकाशित भएका पनि छन् । उहाँ त्यो पत्रिकालाई विस्तार गर्न चाहनुहुन्थ्यो । तर, त्यसमा भइरहेको असफलताको आक्रोशमा उहाँले ‘प्रिन्टेड ट्रयास’ को कुरा गर्नुहुन्थ्यो । अहिले आएर हेर्दा उहाँका पनि केही सीमाहरू थिए भन्ने लाग्छ ।
एकथरी मानिसहरूले भन्ने गरे जस्तो नयाँ प्रविधि र नयाँ माध्यमहरूको विकासका कारण साहित्यलाई खतरा पैदा भएको छ भन्नेचाहिं मलाई लाग्दैन । मलाई लाग्छ, बदलिंदो समयमा पनि लिटरेचर उस्तै रहनेछ
म बेलाबेला सोच्छु, अनुवाद नभएको भए मेरा किताबको के हाल हुन्थ्यो होला ? हिन्दीमा मात्रै छापिएर त म कहाँसम्म पुग्न सक्थें ? त्यो अवस्थामा मेरा किताब कहाँ जान्थे होलान् ? हिन्दीमा छापिने हाम्रा पुस्तकको संख्या खासै ठूलो हुँदैनथ्यो । कुनै पनि पत्रिकाले हामीसँग कथा माग्दैनथे । त्यसैले म भन्ने गर्छु, म जहाँ पुगेको छु, मेरा अनुवादकहरूले नै मलाई पुर्याएका हुन् । अनुवादक मेरा भगवान् हुन् । अनुवादकले म जस्ता लेखकले लेखेका किताबलाई ‘प्रिन्टेड ट्रयास’ बन्नबाट पनि बचाएका छन् । त्यसैले म अनुवादलाई ‘रेस्क्यु अपरेसन’ भन्ने गर्छु । अहिले त अनुवाद व्यापक र व्यवस्थित पनि भएको छ । धेरै देशले अनुवाद विभाग बनाएका छन् । हालै मैले बेल्जियममा त्यस्तो विभाग भेटेको थिएँ । विश्वविद्यालयहरूले पनि यसमा ध्यान दिएका छन् ।
भारतमा हिन्दी भाषीको संख्या ठूलो भए पनि हिन्दी साहित्यको बजार साह्रै ठूलो छैन । पहिले निकै ठूलो भएर यो अहिले घटेको भने होइन । फेरि किताबको बजार र लिटरेचरको बजार एउटै कुरा होइन । हामीले कुनै भाषामा छापिएका सबै किताबलाई ‘लिटरेचर’ चाहिं मान्नुहुँदैन । लिटरेचर फरक कुरा हो । बजार हुन्थेन भने मलाई नयाँ उपन्यास लेख्नका लागि प्रकाशकले एड्भान्स दिने थिएनन् । म केही समयदेखि ‘चिना बाबा’ नामको उपन्यास लेख्दैछु । यसका लागि मलाई भारतको एउटा प्रकाशन गृहले एक लाख भारु एड्भान्स दिएको छ । तर, मैले एक शब्द पनि लेख्न सकिनँ । पैसा वा बजार भए मात्रै लेख्न सकिने हुन्थ्यो भने त त्यति पैसा पाएपछि मैले उहिल्यै सकिसक्नुपर्ने नि त ! त्यसैले मैले भनेको लिटरेचर भनेको अलग चिज हो ।
हालै जापानको सबभन्दा प्रतिष्ठित साहित्य पुरस्कार पाउने लेखकले आफूले एआईको मद्दतले उपन्यास लेखेको कन्फेस गरेकी छन् । (रेई कुदान नामक यी लेखिकाको ‘टोकियो सिम्प्याथी टावर’ नामक उपन्यासले प्रतिष्ठित अकुतागावा पुरस्कार प्राप्त गरेको थियो । जापान टाइम्स का अनुसार उनले यो पुरस्कार ग्रहण समारोहमा उपन्यासको केही भाग च्याट जीपीटी प्रयोग गरेर लेखेको बताएकी थिइन् ।) तर, म यसरी लेख्न सक्दिनँ । मेरो लेखाइ पुरानै तरिकाको छ । मैले त मेरो हरेक पात्र र घटनालाई आफैंले लेख्नुपर्छ । म मैले लेखेको कुरासँग भावनात्मक रूपमा जोडिएर लेख्छु । त्यसैकारण होला मैले ‘चिना बाबा’लाई पूरा गर्न सकिरहेको छैन । चिना बाबा एउटा पात्र हो । त्यो चीनबाट आएको पात्र हो । ऊ कुन बाटो आयो ? हुनसक्छ तिब्बत हुँदै नेपालकै बाटो गएको होला । ल्हासा अथवा सिक्किमको बाटो आएको पनि हुनसक्छ ।
उनी पुगे कहाँ भने, जहाँ बुद्धले निर्वाण प्राप्त गरेका थिए, जहाँबाट बुद्धको महाप्रस्थान भएको थियो । त्यहाँको स्तूपमा एउटा रूख थियो । चिना बाबा त्यही रूखमा गएर बस्न थाले । उनी मंगोलियन थिए, रंग पहेंलो थियो । लेखिरहेकाले यसबारे अरू धेरै त मैले बताउन मिल्दैन तर ती डराएका भने थिए । हुनसक्छ १९४९-५० को चीन-जापान युद्ध वा अरू कुनै युद्धमा १२-१४ वर्षको उमेरमा सैनिकका रूपमा सहभागी भएका थिए । त्यतिबेला सानै उमेरमा सेनामा भर्ती गर्ने गरिन्थ्यो । उनीसँगै युद्धमा गएका सबै साथी मरे । त्यो त्रासदी देखेर डरले उनी भागेका थिए । जान त उनी आफ्नो घरतिरै गइरहेका थिए तर दिशा भुलेका कारण भारत आइपुगेका थिए । र, अहिले उनी त्यहाँ रूखमा चढेर बसेका छन् । मेरो उपन्यासको मुख्य थिम नै यही हो कि संसारमा चारैतिर युद्ध छ, त्यसको त्रासदी यसरी फैलिएको छ कि मानिसहरू त्रस्त छन् । त्यसैले हरेक मानिस रूख चढेर बस्न चाहन्छन् । अब यस्तो रूख चढेर बस्ने मान्छेको उपन्यास त प्रविधिले लेख्न सक्दैन ? एआईबाट त म यस्तो उपन्यास लेख्न सक्दिनँ ।
अहिले युक्रेनमा टोल्सटोय रूसी भएको भन्दै उनलाई बाइकट गर्नुपर्छ भनेर अभियान चलाइएको छ । बंगलादेशमा पनि टैगोर विरुद्ध त्यस्तै दुर्भावना फैलिएको देखियो । उनीहरू टैगोरले लेखेको गीत गाउँछन्, बंगलादेशको राष्ट्रिय गान टैगोरले लेखेका हुन् तर आन्दोलनमा उनको पनि सालिक भत्काइयो
तर, फेरि एकथरी मानिसहरूले भन्ने गरे जस्तो नयाँ प्रविधि र नयाँ माध्यमहरूको विकासका कारण साहित्यलाई खतरा पैदा भएको छ भन्ने चाहिं मलाई लाग्दैन । मलाई लाग्छ, बदलिंदो समयमा पनि लिटरेचर उस्तै रहनेछ । साहित्य नयाँ र पुरानो भन्ने हुँदैन । मानिसहरूलाई फेरि पनि सबभन्दा बढी प्रभाव पार्ने तपाईं वरपरको वातावरण, मानिसहरूप्रति भइरहेका व्यवहार, युद्ध र राजनीतिले नै हो ।
तपाईंलाई म एन बोयरको उदाहरण दिन्छु । उनी ‘न्यूयोर्क टाइम्स’ की पोएट्री एडिटर थिइन् । २०२३ मा उनले त्यसबाट राजीनामा दिएर एउटा किताब निकालिन्- ‘गार्मेन्ट्स एगेन्स्ट वुमेन’ । यो कविता होइन, स-साना निबन्धको किताब हो । जब इजरायल र हमासबीच युद्ध सुरु भयो उनले त्यही युद्धका कारण न्यूयोर्क टाइम्सबाट राजीनामा गरिन् (इन्टरनेटमा उपलब्ध सूचनाका अनुसार उनले गाजामा इजरायलले गरेको अमानवीय आक्रमणको बचाउ गरेको भन्दै न्यूयोर्क टाइम्सबाट राजीनामा गरेकी हुन्) । उनलाई युद्धले बेचैन बनायो । अर्कातिर रूस र युक्रेनको पनि युद्ध चलिरहेको छ । तर, जब उनले त्यो बेचैनीमा किताब लेखिन् यसलाई बोर्खेजपछिको यस किसिमको सुन्दर गद्य कसैले लेखेको छैन भनिएको छ । उनले यति मिहिन तरिकाले लेखेकी छन्, पाठकलाई बेग्लै स्वाद आउँछ ।
मैले तपाईंलाई म ‘चिना बाबा’ पूरा गर्नलाई पोखरा आएर बस्न चाहन्छु भनेर भन्दै आएको छु नि, त्यसैगरी उनी एउटा ठाउँमा गएर लेख्नका लागि गेस्ट हाउसमा बसेकी छन् । त्यो चिसो ठाउँ हो तर कोठामा सेन्टर हिटिङ छैन । कोठा तातेको छैन । उनकी सानी छोरी साथमा छन् । चिसोले उनीहरूलाई गाह्रो भइसक्यो । उनले त्यो कोठा तताउनका लागि पानी तताउनका लागि केके गर्छिन् भन्ने खालका विवरणहरू यति थोरै शब्दमा यति सुन्दर तरिकाले लेखेकी छन् । भन्नुको मतलब यस्ता कुरा कुनै एआईले लेख्न सक्दैन । तपाईं यो किताब खोजेर पढ्नुहोला ।
अर्को उदाहरण छ सलमान रुस्दीको पछिल्लो किताब ‘नाइफ’ को । यो किताब पनि कुनै च्याट जीपीटीबाट लेख्न सकिंदैन किनभने त्यो लेखिएकै त्यसरी छ । तपाईंले पढ्नुभएकै होला, यो किताब त्यो मानिसले लेखेको छ, जसले चक्कु आक्रमणमा एउटा आँखा गुमाइसकेको छ, जो हालै आईसीयूबाट निस्केको हो र जो संसारको सबभन्दा सुरक्षित शरणमा बसिरहेको छ । रोचक कुरा त के छ भने जुन दिन, न्यूयोर्क शहरमा सलमान रुस्दीमाथि आक्रमण भयो त्यो कार्यक्रम उनकै बारेमा आयोजना गरिएको थियो । त्यहाँ प्रवेश गर्ने सबैको सुरक्षा जाँच गरिएको छ । रुस्दीले लेखेका छन्-सबभन्दा पहिले उनलाई १० हजार डलरको चेक दिइन्छ । उनले त्यो चेक आफ्नो बायाँ पकेटमा राख्छन् । त्यसपछि उनी कालो लुगा लगाएको एउटा दुब्लो पातलो केटो उफ्रिंदै आफूतिर आइरहेको देख्छन् । उनी सोच्छन् मेरो कुनै फ्यान होला । तर, आएर उसले चक्कुले अन्धाधुन्द आक्रमण गर्न थाल्छ ।
उसले सबभन्दा पहिला उनको दाहिने आँखामा चक्कु हान्छ । २७ सेकेन्डभित्र उसले कैयौं प्रहार गर्छ । रुस्दी भुईंमा लड्छन् । त्यसपछि उनलाई सबै कुरा डुबिरहे जस्तो लाग्छ । उनी अन्तिम केही कुरा बताउन चाहन्छन्- ‘मेरो दाहिने गोजीमा मेरो कारको चाबी छ । त्यससँगै मेरो फ्ल्याटको पनि चाबी छ । यो मेरी श्रीमतीलाई दिनु ।’ त्यसपछि भन्छन्- ‘मेरो बायाँ गोजीमा चेक छ, हेर्नु त कतै त्यसमा त छुरीले प्वाल पारेन ?’
उनको यो किताबको अन्तर्यमा यही कुरा छ कि-संसारमा जेजति हिंसा छ त्यसको समुच्च अभिव्यक्ति एउटा चक्कु हो । चक्कुको धार र चुच्चोमा हिंसा आएर थिग्रिन्छ । रुस्दीको एउटा आँखा गुम्यो । मेरो भन्नुको तात्पर्य के हो भने-यो कुरालाई भोग्ने व्यक्ति आफैंले नलेखी अन्य कुनै तरिकाले कसरी व्यक्त गर्न सकिन्छ ? यसका लागि त म्यानुअल राइटिङ नै चाहिन्छ, हातले नै लेख्नुपर्छ । र, हरेक संकट वा खराब परिस्थितिबाट राम्रो साहित्य लेख्नका लागि पनि मानिस नै चाहिन्छ, त्यसलाई अनुभूत गरेर, छोएर लेख्नलाई मान्छेको हात चाहिन्छ ।
स-साना शहरबाट जति पनि ‘सत्यका प्रहरी’ टाइपका पत्रिका निस्किन्छन् तिनले म त्यो शहरमा पुग्दा ‘अवार्ड वापसीका सरगना फिर से शहरे मे’ भन्ने शीर्षकमा मेरो फोटो सहित समाचार प्रकाशित गर्थे
यसका साथै पाठकको संख्या घटिरहेको कुरा पनि आउने गरेको छ । मानिसहरूले भन्छन्- सिनेमा, सोसल मिडिया र टेक्नोलोजीले गर्दा साहित्यका पाठक घटिरहेका छन् । मानिसको ध्यान अरू अरूतिर भड्किइरहेको छ, मान्छेले किताब पढ्न छोडे । मलाई त्यस्तो पनि लाग्दैन । मलाई लाग्छ, सबै माध्यमका आ-आफ्ना पाठक र अडियन्स छन् । सबैका टार्गेट अडियन्स फरक छन् । र, मैले पहिले पनि भनेको छु-हामी एउटै मात्र समाजमा होइन, बहुसमाजमा बाँचिरहेका छौं । यो समाजको एउटा मात्रै परिचय छैन । साहित्य पढ्नेले सिनेमा पनि हेर्छ, राजनीतिमा पनि चासो राख्छ । यसैले मानिसको सोचाइलाई यी सबै समाजले प्रभाव पनि पारिरहेको हुन्छ ।
म तपाईंलाई हालैको युक्रेनको एउटा उदाहरण दिन्छु । टोल्सटोयलाई साहित्यको कुन पाठक र विद्यार्थीले श्रद्धा गर्दैन ? सबैले मान्छन् । तपाईंलाई थाहा छ कि छैन, अहिले युक्रेनमा टोल्सटोय रूसी भएको भन्दै उनलाई बाइकट गर्नुपर्छ भनेर अभियान चलाइएको छ । बंगलादेशमा पनि टैगोर विरुद्ध त्यस्तै दुर्भावना फैलिएको देखियो । उनीहरू टैगोरले लेखेको गीत गाउँछन्, बंगलादेशको राष्ट्रिय गान टैगोरले लेखेका हुन् तर हालैको आन्दोलनमा उनको पनि सालिक भत्काइयो ।
त्यसैले राजनीति वा समाजमा केही तल-माथि हुँदा खतरामा को पर्दोरहेछ-टोल्सटोय, टैगोर, रुस्दी । म तपाईंलाई एकदमै इमानदार भएर भन्दैछु । मुक्तिबोधले भने जस्तो लेखन भनेको केवल चेतना र बुद्धिको मात्रै काम होइन, यो भनेको सबभन्दा गहिरो मानवीय गतिविधि हो । तपाईंको सम्पूर्ण शरीर लेखनमा संलग्न भएको हुन्छ, तपाईंले आफ्नो लेखनमा आफूलाई लुकाउनुभएको हुन्छ । तर, कस्तो हुन्छ भने जहाँ-जहाँ धार्मिक वा कम्युनिस्ट अतिवादी सत्ता हाबी हुन्छ वा कुनै पनि किसिमको अधिनायकवाद हावी हुन्छ त्यसको मारमा सबभन्दा पहिला विचारक, सुफी, सन्तहरू पर्ने गरेका छन् । तपाईं इतिहास पल्टाएर हेर्नुस् ।
म पनि भारतमा ‘अवार्ड वापसी’ गर्ने एउटा ‘अपराधी’का रूपमा सूचीकृत मानिस हुँ । त्यसपछि तपाईं सोच्नुहोला स्थिति कस्तो थियो होला । स-साना शहरबाट जति पनि ‘सत्यका प्रहरी’ टाइपका पत्रिका निस्किन्छन् तिनले म त्यो शहरमा पुग्दा ‘अवार्ड वापसीका सरगना फिर से शहरे मे’ भन्ने शीर्षकमा मेरो फोटो सहित समाचार प्रकाशित गर्थे । (गौरी लंकेश लगायत पत्रकार, लेखकहरूको हत्या भएपछि भारतीय जनता पार्टीको सरकारले लेखक एवं अल्पसंख्यकहरू विरुद्ध असहिष्णुता देखाएको र उनीहरूलाई सुरक्षा दिन नसकेको भनेर झन्डै पाँच दर्जन लेखक कलाकारले आफूहरूले पाएका पदक, पुरस्कार भारत सरकारलाई फिर्ता गरेका थिए । उदय प्रकाशले मोहनदास का लागि पाएको साहित्य एकेडेमी पुरस्कार फिर्ता गरेर यसको सुरुवात गरेका थिए ।) यसले तपाईंलाई कस्तो महसुस हुन्छ ? ममाथि खतरा छ भन्ने हुँदैन ? मलाई मर्निङ वाक्मा निस्किंदा कसैले मारिदिने हो कि भनेर डर लाग्थ्यो । अहिले अवस्था बदलियो, अहिले त हामी त्यो सम्झेर हाँस्न सक्छौं तर त्यसबेला साँच्चिकै डर थियो ।
यस्ता विविध घटना र प्रकरणहरूले गर्दा पनि मैले ‘चिना बाबा’ पूरा गर्न सकिनँ । लेखकलाई चाहिन्छ एकान्त । काफ्काले भनेका छन् नि- ‘लाइक अ डेड म्यान ।’ तर, एउटा पारिवारिक मानिसका लागि त्यस किसिमको एकान्त साँच्चिकै मुश्किल हुन्छ । म त पारिवारिक मानिस हुँ । मेरो परिवार, छोरा नाति छन् । यी सबै कुराबाट समय मिलाउँदा समय यत्तिकै जाँदो रहेछ । मेरो ढाडको समस्याले पनि धेरै लेख्न दिइरहेको छैन ।
किताबको बजारको सन्दर्भमा चाहिं म एउटा अर्को कुरा पनि थप गर्न चाहन्छु । बजार भनेको जहिले पनि बढाउन सकिने कुरा हो । बजारको विस्तार पनि र संकुचन पनि हुन्छ । कुनै पनि स्थानको, कुनै पनि भाषाको किताबलाई अहिलेको समयमा धेरै भन्दा धेरै भाषामा अनुवाद गरेर धेरै स्थानमा पुर्याउन सकिन्छ । यसले किताबको बजार विस्तारमा ठूलो काम गर्छ । तर, त्यसका लागि हामीलाई ठूला र जिम्मेवार प्रकाशकहरूको आवश्यकता पर्छ । यसरी पाठकको कमीलाई पनि कम गर्न सकिन्छ । तर, यो चर्चा पाएका लेखकका लागि मात्र हुन सक्छ । सबै लेखकले यो मौका नपाउन सक्छन् ।
मैले भन्ने पनि गरेको छु, साहित्य अनुवाद गर्ने धेरैजसो अनुवादक पेशागत अनुवादक होइनन् । मेरा त अधिकांश पेशागत अनुवादक होइनन् । उनीहरू प्रायःले मेरो लेखन पढेर, त्यसलाई मन परेर आफ्नै सुरले अनुवाद गर्ने गरेका छन् । म आफ्ना अनुवादकहरूबारे ‘माई ट्रान्सलेटर्स’ भनेर किताबै लेख्दैछु ।
प्रस्तुति : यज्ञश