सम्पूर्ण प्रकृति माता अर्थात् आमा स्वरूपा हुन्। त्यसैले सम्पूर्ण सृष्टि आमा स्वरूपा प्रकृतिद्वारा भएको हो। आमालाई जगत् जननी भनिएको पनि यसै कारण होला। सृष्टिकालदेखि नै जीवन र जगत् आमाप्रति सर्वदा ऋणी रहँदै आएको छ।
आमाले जन्माउँछिन्, पाल्छिन् र जीवनको लयमा अग्रसर हुन सिकाउँछिन्। मानिस सामान्य रूपमा जन्मेको हुन्छ तर हुँदा हुँदा ऊ महामानवसम्म पनि बन्छ। आमाकै प्रेरणा पाएर मानिस अघि बढ्दै जान्छ अनि विश्वकै लागि प्रेरणास्रोत समेत बन्न पुग्छ।
मानव इतिहासका महानतम आमाहरू सबै धन्य छन्। धन्य छन् कौशल्या (श्रीरामकी माता), देवकी (श्रीकृष्णकी माता) र मायादेवी (बुद्धकी माता) अनि मेरी (जिजस क्राइस्टकी माता) आदि आमाहरू, जसले मानव चैतन्यदाता महामानवलाई जन्म दिए।
एउटा सुक्ति विश्व प्रसिद्ध मानिन्छ– ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् आमा र जन्मभूमि स्वर्ग भन्दा पनि महान् हुन्। जन्म दिने आमा जस्तै जन्मभूमि पनि महान् हुन् यी दुईको तुलना संसारका अरू केही कुरासँग पनि हुन सक्दैन।
मुलुक, देश वा राष्ट्र भनेका आमाका पर्यायवाची भावनात्मक शब्दहरू हुन्। आमा देश हुन्, देश आमा हुन्। आमाका सन्तति हौं हामी देशवासी। हामीले जन्म दिने आमाको सम्मान, मर्यादा र स्याहार–सम्भार त सकेको गरेका हौंला। तर कर्मभूमि ‘नेपाल आमा’प्रति हामी कति इमानदार भएर बाँचेका छौं ? आत्मालाई साक्षी राखेर आफैंलाई सोध्नुपर्ने समय आइसकेको छ।
सामान्यजनले मातृभूमि–कर्मभूमिप्रति माया गरेकै हुन्छ। उसले आआफ्नो ठाउँबाट मुलुकप्रतिको कर्तव्य पूरा गरिरहेको पनि हुन्छ। कतिपयले विशेष र आमजनताका लागि निःस्वार्थ भावले काम गरेर ठुलो सेवा पुर्याइरहेका हुन्छन्।
धन्य छन् ती सन्ततिहरू जसले ‘नेपाल आमा’ को गौरव, इज्जत, मर्यादा र स्वाभिमानलाई बचाउन आफ्नो जीवन अर्पण गरे। अनि धन्य छन् ती आमाहरू जसले इतिहासमा नेपाल राष्ट्रमाताको शिरलाई उज्यालो र उँचो बनाउन संघर्ष एवं समर्पणका सुनौला कर्मपथहरूमा हिँड्ने कर्मवीरहरूलाई जन्म दिए।
ती कर्मवीर, युगवीरहरूलाई जन्म दिने ‘राष्ट्रमाता’ नेपालको अनुहार किन मलीन छ आज? किन कान्तिहीन छ आज ? राष्ट्रमाताको मुहार हँसिलो पार्नेछौं, समृद्धिको उज्यालो फैलाएर रोग र भोकबाट राष्ट्रमातालाई मुक्त पार्नेछौं, सामाजिक–सांस्कृतिक रूपमा उनलाई सम्पन्न, सभ्य र संस्कारयुक्त बनाई संसारकै सुन्दर बनाउने छौं भन्ने विचारहरू धेरै बगाइए तर किन ‘राष्ट्रमाता’ को काया अझै उराठलाग्दो देखिइरहेछ?
यस्ता अनेक प्रश्नहरूको कारण खोज्न ठुलो अन्वेषण गरिरहनै पर्दैन। यसको कारण हो राष्ट्रमाताको सेवा गर्छौं भन्नेहरू अधिकांश आफ्नै मात्र सेवामा लागे, मुखमा राम राम बगलीमा छुरा बोकेर राष्ट्रमाताको नाम लिँदै आफ्नै मात्र दुनो सोझ्याउन थाले। सत्ता स्वार्थ, आर्थिक स्वार्थ र दलगत स्वार्थको हुङ्कारका अगाडि राष्ट्रमाताका हृदयको मधुरो पुकार त्यसै कता बिलायो बिलायो।
राष्ट्रमाताको हित र कल्याणका लागि सपथ खाएर घुम्ने कुर्सीनेर पुगेका उनका सेवकहरू त्यस निर्जीव आरामदायी वस्तुमा बसिसकेपछि राष्ट्रमाताको अनुहार त बिर्सन्छन् नै, आफ्नै अतीतको भुइँ बिर्सेर भुइँफुट्टारूपी आडम्बरी चरित्रमा रूपान्तरण हुन थाल्छन्। अनि उनीहरूको सपथ देखाउने दाँत मात्र बन्न पुग्छ। उनीहरू विपथगामी बन्छन्।
राष्ट्रमाता केवल स्वार्थी सन्ततिद्वारा सिर्जित भ्रष्टाचारका अनेक काण्डहरूको दलदलमा फसेर कहालिइरहेकी छन्। संघीय लोकतान्त्रिक गणतन्त्र नेपालरूपी ‘राष्ट्रमाता’लाई त्यस दलदलबाट सकुशल उद्धार गरेर दर्शनीय र सुकिली बनाउन कागजमा लेखिएको शपथ खाएर कुर्सीमा बस्न पुगेकाहरूले राष्ट्रमाताको भुइँको माटो हातमा उठाएर आफूलाई पूर्ण इमानदार र कर्तव्यनिष्ठ सन्तति हुने प्रण गर्नुपर्छ।
उनीहरूले भुइँको माटोलाई कुर्सी अगाडिको टेबुलमा देखिने गरी राखिरहनुपर्छ ताकि उनीहरूको मन, वचन र कर्ममा त्यही माटो निरन्तर आँँखा अनि स्मरणमा आइरहन सकोस्। त्यसको आरम्भ सिंहदरबारभित्रैबाट हुनुपर्छ।
राष्ट्रमाताको वन्दना, अर्चना गरी स्रष्टाहरूद्वारा हजारौं सिर्जना गरिँदै आएका छन्। यस्ता सिर्जनाले कम्तीमा पनि हाम्रो हृदयलाई जर्जर खडेरीग्रस्त बन्नबाट जोगाउँछन् र केहीबेर मात्रै भए पनि ‘राष्ट्रमाता’को हृदयलाई छुन प्रेरित गर्छन्।
महाकवि देवकोटाले राष्ट्रमातालाई हृदयको केन्द्रमा सजाएर असंख्य सिर्जना गरेका छन्। ‘के नेपाल सानो छ’ निबन्धमा उनीभित्र राष्ट्रभक्तिको सगरमाथा भौगोलिक रूपमा उभिएको सगरमाथाभन्दा धेरै अग्लो देखिन्छ, ‘सानो, शान्त, सुगन्धी, अनुपम-बस्! मेरा निमित्त त्यही हो नेपाल।
यहाँ वाग्नर कोदली खनिरहेछन्, सेक्सपियर हलो जोत्ता हुन्। टिसियन र टर्नर भेडा चराउँदा हुन्, सोक्रेटिज गुफामा घोत्लिइरहेका होलान्, कालिदास आषाढको पन्ध्रमा धाराप्रवाह गीत गाइरहेका होलान्, मकहाँ साडोले दाउराका भारी बोकेर ल्याउँछन्, मेरो वनमा हेलेन केलरहरू गीत गाउँछन्, यहाँ कति साहित्य छ जो लेखिएकै छैन, न लेखिनेछ…।’ (लक्ष्मी निबन्ध संग्रह, २०७६, पृ. ७६)
कति सुन्दर चित्रण गरेका छन् देवकोटाले राष्ट्रमाताको ! लेखेर लेखी नसकिने, भेटेर भेटी नसकिने अनि खोजेर खोजी नसकिने ज्ञान, सुन्दरता अनि रहस्यहरूको अन्तहीन क्षितिज हो ‘नेपाल, सुन्दर, शान्त, विशाल’।
नेपाल राष्ट्रमाताको वन्दना गरेर राष्ट्रकवि माधव घिमिरे झन् कहिल्यै नथाक्ने स्रष्टा हुन्। ‘नेपाली हामी रहौंला कहाँ नेपालै नरहे’, ‘गाउँछ गीत नेपाली’ लगायत उनका असंख्य गीत/कविताहरू नेपाली जनमनमा सधैं ताजा छन्। उनले २००८ सालतिरै लेखेको ‘नेपाल ठुलो भए’ शीर्षक कवितामा वर्तमानसम्मकै नेपालको नियति अनुभूत गर्न सकिन्छ,
‘यस्ता पर्वत देशको विकटमा उस्तै छ बाटो भने
बस्ता बात नयाँ गरेर, दुनियाँ उस्तै छ लाटो भने
भोको पेट र अर्धनग्न तनको उस्तै छ धोको भने
वास्ता छैन मलाई -मन्त्रिपदमा आसीन कोको बने।’ (चैत वैशाख, २०६०, पृ. २१)
राष्ट्रमाताको यथार्थ झन्डै उस्तै छ। ठुल्ठुला बात मारेर आफूलाई ठुला मान्छे भनाइ माग्ने नेताहरूको प्रवृत्ति उस्तै छ। आम जनताको ठुलो हिस्सा अझै गरिबीको दुश्चक्रबाट उठ्न सकेको छैन। पेट भर्न र आङ ढाक्न सहज नभएकै कारण लाखौं नेपाली विदेशी भूमिमा पसिना बगाउन बाध्य छन्।
राष्ट्रमाताको यस्तो खिन्न अनुहारमा खुसीको उज्यालो कहिले पोतिएला? उसबेलादेखि यसबेलासम्म सत्ताको भर्याङ चढेर राष्ट्रमाताप्रति बेइमानी र जालझेल गर्नेहरूको लर्को कति लामो होला! मुलुक उठाउनुभन्दा आफै मात्र उठ्न चाहने राज्यव्यवस्थाको नेतृत्व तहको प्रवृत्ति समग्रमा उस्तै नै छ।
राष्ट्रमाता नेपालको अर्चना नगर्ने स्रष्टा सायदै होलान्। वास्तवमा लेखक-स्रष्टाहरूले नै राष्ट्रमाताको हृदयको पुकारलाई सबैभन्दा बढी उद्बोधन गरेका देखिन्छन्। शिखर साधक गोपाल योञ्जनका शब्दमा मिसिएको स्वर र संगीतले राष्ट्रमाता नेपालको छाती गर्वले सिरिङ्ग हुन्छ भनी मातृभक्त नेपालीको शिर र स्वाभिमान ब्युँझन्छ-
‘धेरै छ गर्नु स्वदेशको सेवा नेपाली बन्नलाई
शिर ठाडो पारी नेपाली भन्ने म नै हुँ भन्नलाई
होइन भने नेपाली नभन, वीरको छोरा
नातिमा नगन…
नेपाली हुन पूर्व जनमको कमाइले पुग्दैन
पुर्खाको पौरख श्रम र आशिष मात्रैले पुग्दैन…।’
विगतमा हाम्रा वीर पुर्खाहरूले नेपाल माताको रचना गरे। हामी त्यसमा गर्व गर्छौं। तर हामी सन्ततिले पुर्खाको यश र गौरवलाई जोगाइराख्न धेरै गर्न बाँकी छ। वीर पुर्खाका सन्तति हौं भनेर शिर उठाएर बाँच्न राष्ट्रमाताको शिर पनि उठाउनुपर्छ, हृदयमा नेपाललाई बोक्न नचाहने, विदेशीको स्वार्थलाई टेवा पुर्याउनेले नेपाली पोसाक लाएर हिँड्ने गरे पनि ऊ नेपाली हुन सक्दैन भन्ने अमर सन्देश गीतले प्रदान गरेको छ-
‘नेपाली हुन पवित्र आत्मा नेपाली चाहिन्छ
पराया मुटु दौराको फेरले छोपेर पुग्दैन…’
वास्तविक नेपाली हुन आत्मादेखि नै नेपाली हुनुपर्छ, आत्मामा नेपाल बाँच्नुपर्छ। यस्तै र अरू भिन्न भावका साथ राष्ट्रमातामा अर्चित सांगीतिक सिर्जनाहरू असंख्य छन्। कयौंले रचना, कयौंले स्वर र कयौंले संगीत सिर्जनाका माध्यमबाट राष्ट्रमाताको जयगान गरेका छन्। माता र राष्ट्रमाताको जति वन्दना गरे पनि कमै हुन्छ।
नेपालमाताको अस्तित्व खडा गर्न एवं जोगाउन आफूलाई समर्पित गर्ने वीरवीराङ्गनाहरू विगतमा कयौं भए। नेपालको भौगोलिक एकीकरण र राष्ट्रिय एकताका सूत्रधार पृथ्वीनारायण शाहले उतिखेरै घुस खाने र दिने दुवै थरीलाई मुलुकका शत्रु घोषित गरेका थिए।
विडम्बना, उनैले निर्माण गरेको मुलुकको सेवा गर्ने औपचारिक जिम्मेवारी लिएर राजनीतिक र प्रशासनिक क्षेत्रमा संलग्न हुँदै आएका अधिकांश व्यक्तिहरू नै कुनै न कुनै प्रकारको भ्रष्टाचारमा संलग्न छन्। अपवादबाहेक कुनै त्यस्तो निकाय छैन, जहाँ आर्थिक र अन्य अनेक थरी भ्रष्टाचारको दुर्गन्धले नछोएको होस्।
नेपालको आधुनिक राजनीतिक इतिहासका शिखर पुरुष बिपी कोइरालाले राष्ट्रमाता नेपालप्रति इमानदार भएर काम गर्न सहिदलाई सम्झिनुपर्ने बताएका थिए, ‘तिमीलाई कर्तव्यको द्विविधा भए सहिदलाई सम्झ, त्यसले तिमीलाई उच्चतामा पुग्ने प्रेरणा दिनेछ।’ (सन् १९८२ वाराणसी)
सहिदले छोडेका आदर्श र विचारलाई वर्तमान राष्ट्रिय राजनीतिमा कतिले सम्झेर हिँडेका होलान् ? नेपाल लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि नेतृत्व वर्गले अनेकौं पटक सहिदको घोषणा गर्दै आएको छ, बर्सेनिजसो सहिदको संख्या थप्दै आएको पनि देखिन्छ। तर निरंकुशतन्त्रका विरुद्ध संघर्षमा होमिएर प्राणाहुति दिने सहिदको आत्मालाई साक्षी राखेर राष्ट्रमाताको सेवा गर्ने चिन्तनबाट व्यवहारतः नेतृत्व वर्ग टाढिँदै गएको अनुभूत हुन्छ। प्रमुख दलहरूको लक्ष्य सत्ताको सर्वोच्च धुरी चढ्नु मात्र देखिँदै आएको छ।
बिपी, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, पुष्पलाल, मनमोहन अधिकारी, मदन भण्डारीलगायत राजनेताका राजनीतिक आदर्श एवं मार्गदर्शनहरू सत्ताप्राप्तिको बलिवेदीमा स्वयं धुलिसात् पारिँदै आएका छन्। अब पार्टी कार्यालयहरूमा उनीहरूका तस्बिरहरू मात्र बाँकी छन्।
राजनीतिमा निष्ठा, इमानदारी र सैद्धान्तिक आदर्शबाट प्रमुख दलहरू कोसौं टाढा पुगिसकेका छन्। कहाँ हराए ती महान् राजनेताहरूका विचार, त्याग र समर्पणका कहानीहरू जसभित्र राष्ट्रमाता नेपालको छातीबाट निस्केका वाणीहरू अनि उनका आशा र विश्वासहरू घोलिएका थिए?
हामीले टेकेको भुइँ राष्ट्रमाता नेपालको हो। राष्ट्रमाता नेपाललाई सामान्य नेपालीले सामान्य कर्महरूबाटै अर्चना गर्ने हो, जुन कुनै न कुनै रूपमा अर्चित भएकै पनि छ। बृहत् जनस्तरमा राष्ट्र कल्याणका कर्महरू गर्ने सत्पात्रहरू यहाँ हुँदै नभएका पनि होइनन्।
विगतदेखि वर्तमानसम्म त्यस्तै कर्महरूमा समर्पित हुने सन्ततिहरूले राष्ट्रमाताको हृदयको पवित्रतालाई दुष्टात्माहरूको कोपभाजनबाट जोगाएर शिथिल हुन दिएका छैनन्।
विशेषगरी स्वास्थ्य, शिक्षा, मानवीय उद्धार, सांस्कृतिक सम्वर्धन, बौद्धिक निगरानीलगायत अन्य कयौं क्षेत्रमा निःस्वार्थ भावनाका साथ कर्तव्य पूरा गरेर राष्ट्रलाई अलिकति माथि उठाउन लागिपर्ने सन्ततिहरू कयौं छन्।
औंलामा मात्र गन्न सकिने भए पनि केही जनप्रतिनिधिहरू पनि भेट्टाइन्छन्। ती सबैप्रति राष्ट्रमाता नेपाल कृतज्ञ छिन्। तिनै हुन् राष्ट्रमाताका सच्चा पुजारीहरू। त्यसो त असल नियतका साथ सरकारी वा गैरसरकारी क्षेत्रमा कर्तव्य निर्वाह गर्ने इमानदार सन्ततिहरू पनि छन्। उल्लिखित सबैले कुनै न कुनै प्रकारले पु¥याएको सेवा कर्मबाट नै राष्ट्रमाताको आँत प्राणान्त हुने गरी सुक्न पाएको भने छैन।
म आफ्नै जन्मदात्री आमासामु छु। ९१ वर्षीया आमाको वृद्धानुहार आफ्नो द्वेषरहित, करुणामयी हृदयको प्रतिबिम्ब भएर हाँसिरहेको छ। आमा हामी छोराछोरी र नातिनातिनीहरूलाई अर्तीउपदेश र आशीर्वाद दिइरहनु हुन्छ। हामी आमारूपी तीर्थकै सन्निकट छौं। सनातन परम्परा र सांस्कृृतिक पर्वको प्रतीक मातातीर्थ औंसी वा मातृपूजनको सन्दर्भमा आमालाई विशेष सांस्कृतिक अभिनन्दन गरिन्छ।
आमाको अर्चना वा सम्मान सधैं नै हृदयबाट हुने हो। आमाको आरोग्य वा सुस्वास्थ्यको कामना सधैं भई नै रहन्छ। सबै आमाहरू छोराछोरी र अरू सन्ततिहरूद्वारा गरिने सेवा र सम्मानका सर्वोच्च हकदार हुन्। सबै आमाहरू तीर्थ हुन्। हाम्री आमा केही न केही गीत गुनगुनाइरहनुहुन्छ। रेडियो पनि सुनिरहनुहुन्छ। रेडियोमा बजेको राष्ट्रिय गीतको एक पंक्ति बेलाबेलामा आमा सम्झिरहनु हुन्छ– ‘नेपालीलाई नेपालको बिछट्टै माया छ।’
मुलुकले सम्झिनुपर्ने दिगंवत आमाहरू धेरै छन्। २००७ सालको जनक्रान्तिमा कयौं वीराङ्गनाहरूले जहानियाँतन्त्रविरुद्ध क्रान्ति मोर्चाहरूमा सकृय सहभागी भएर योगदान दिए।
दिव्या कोइराला, इन्दिरा आचार्य, नोना कोइराला, सुशीलादेवी चालिसे, मंगलादेवी सिंह, सहाना प्रधान, साधना प्रधान, द्वारिकादेवी ठकुरानीलगायत कयौं नारीहरूले अनेक चुनौतीहरूको सामना गरी संघर्षमा भाग लिएको इतिहास छ।
यस्तै २०४६ साल वा २०६२-६३ को जनआन्दोलनमा कयौं वीराङ्गनाहरूले सहादत प्राप्त गरे। आधुनिक नेपालको इतिहासका अनेक कालखण्डहरूमा संघर्ष र समर्पणका सुनौला अध्यायहरू निर्माण गर्ने आमाहरू असंख्य छन्। सबै स्तुत्य छन्, श्रद्धेय र मुलुककै लागि स्मरणीय छन्।
सबै नेपालीकी साझा आमा नेपाल हुन्। राष्ट्रमाता नेपाल हुन्। राष्ट्रमाताको शिरलाई उज्यालो पार्ने कर्तव्य हामी सन्ततिहरू सबैको हो। मुलुकलाई नेतृत्व गर्ने, नियमन गर्ने र समुन्नतिको मार्गमा डोर्याउने काम राजनीतिक नेतृत्वको हो। नेतृत्वमा दूरदृष्टि, विवेक, इमानदारी, निष्ठा र राष्ट्रिय संकल्प भएमा नै ऊबाट राष्ट्रमाताप्रतिको कर्तव्य क्रमशः पूरा हुँदै जान सक्छ।
यसर्थ दलीय र सत्तार्सर्वोच्चताको नभई राष्ट्रमाताको सर्वोच्चताको सपना बोकेर सोही अनुसार जिम्मेवारी वहन गर्ने राजनीतिक नेतृत्वलाई नै भावी पिँढीद्वारा लेखिने इतिहासमा सम्मानित अध्याय सुरक्षित रहने छ। सबै नेपालीकी साझा महातीर्थ ‘राष्ट्रमाता नेपाल’ हुन्।
प्रकाशित: ५ जेष्ठ २०८१ ०८:२३ शनिबार