हाम्रो गाउँमा बिहान अलि ढिलो घाम झुल्कन्छ। यो जाडो फुल्ने हेमन्त यामको, बिताभरका दिनहरूमा, घाम झुलुक्कै उदाएर, मिलिक्कै अस्ताउँछन्। चिसोको कुरै नगरौं, चिसोबाट रोगी, बुढापाका, ससाना बालबालिकाहरूका लागि यो निखुर हिउँदको याम अत्यन्तै कष्टकर बन्ने हुन्छ। यो दुब्लो घाम नपुग्ने उत्तर मोहोडे सेपिलो पाटोका बन्जरहरूमा अल्सी तुसारोका धारिलो ठिहीले, बोटबिरुवाहरूको नयाँनयाँ मुनामञ्जरीहरूलाई मात्र चिथोर्ने, मार्ने होइन, ससाना जमिनमा घस्रनेदेखि उफ्रेर हिंड्ने कीरोफटयांग्रोहरू समेतलाई, बाँच्नका लागि हाम्रो ठाउँमा अत्यन्तै दुख पाउँछन्।
लेकमा आलु रोप्ने सिजनले झ्याप्प छोपिसकेको छ। बुढापाकाहरूले भन्ने गर्थे, घोगे चापले कोपिला च्याप्दा आलुको बिउ खेवारा राख्नु, लेकाली चराहरू उँधौली झर्दा अन्नबाली उठाउनु , गुराँस फुल्दा मकै छर्नु , कर्याङकुरुङ (भोट) उँभौली लाग्दा फर्सी काक्रो रोप्नु। उक्त भनाइअनुसार कोठेबारीका बुढो घोगे चापले नाङ्गै उभिएर च्याप्न थालेका चिचिलो कोपिलाहरूले आलु रोप्ने याम फुलाउन थालिसकेका छन्।
आज गेलिभञ्ज्याङ्बाट चारखोले लुगलुगाउने चिसो बोकेर हाम्रो गाउँमा लुसुलुसु सुलुत्त छिरेका छन्। जसको वेगले बिहान सेपिलो कान्लोमुनि तृण अबिजालो झारहरूका पातमा चुपचाप निदाएका अल्सी तुसारोका आँसु तृषित रत्नाउलो र घोरथाप्रेले पिएर, तिर्खा मेटाउँदै छन्। घरीघरी मलाई डाक्ने मचानमुनिका केराकाे पातसँग बुर्कुसी मार्ने निराकार सिरेटोले मेरो कान निमोठ्छन्,अनुहार सुम्सुमाउँछन् र ठिहिरिँदो बिहानीमा मुस्किलले बौरिरहेका, हरेक रुखका झ्याङ्गमा चढेर सुसेली लाउँछन्।
हामी जन्मनुअघि आमाको गर्भस्थलीभित्र कति हतारमा हुन्छौं जन्मिन, यो धर्ती हेर्न। जन्मेर चेतना खुल्दै धर्तीमा उभिएर टुकटुकु हिंड्न थालेपछि हतार भन्ने कुरा मृत्युका अन्तिम पलसम्म पनि हामीसँगै हुन्छ। त्यसैले हतार भनेको आमाको गर्भदेखि लिएर मृत्युपछि पनि हामी आफैंले लिएर जानेछौ र हामी सबैमा आआफ्नै विषयमा हतारको जोहो साँचेर बाँचिरहेका हुन्छौं।
यो जन्मसिद्ध अकाट्य प्रकृतिको नियम पालना गर्नै पर्यो। मसँग पनि हृदय अक्षुण्णता भित्री यस्तो इच्छाशक्ति र चाहना पालेको छु। यहाँ यस्तो संसार होस्, जहाँ प्रकृतिको राज्य चलोस्। प्रकृतिमा बाँधिएका कसिलो बन्धन कहिले नखुलियोस्, उक्त कुरा उलंघन नहोस् भन्नेखातिर पनि प्रकृति र समयको ख्याल राख्दै म आज हतारमा छु, एकाबिहानै पुच्छर कान्लोबारीमा झरेको छु।
हामीले वर्तमान बाँच्दै गरेको समय अत्यन्तै निठुर छ, जीवनको अमूल्य भविष्य बोकेर क्षेप्यास्त्रको गतिमा दौडन्छ। कहाँ पुगेर खस्न सक्छ। हामीलाई थाहापत्तो हुँदैन। बाँधेर राख्न न सक्छौ अथवा फकाइफुलाइ थुनछेक गर्न नै सक्छौं, समयको चालक दमीमा हिंड्न जानेनौ भने अपाङ्गो र गतिलाई चिन्न सकिएन भने निश्चय पनि अन्धोपन हुन्छौं।
आज यस्तो समयको चाल, गतिलाई जबर्जस्त अँठ्याएर गाईवस्तुलाई घाँसपानीको मेलोमेसो मिलाएर इलाम जानुपर्नेछ। पुनः फर्केर आज नै आइपुग्नु पनि छ। मलाई आज एकदमै हतार छ। यो मेरो आजको हतारले कवि तथा वर्तमान कुलपति भूपाल राईज्यूको गहन कविताको के अंश सम्झिरहेको छु।
‘मेरी यारी मलाई एकदमै हतार छ, जुलुस जस्तो जिन्दगी हाँकेर, हेर तिम्रो चौरासी लाख जुनीमा उपस्थित छु। तर मलाई माफ गर म तिम्रो प्रेमको आरामदायी कावजमा बसेर कुनै पूर्वजन्मको भविष्यवाणी पर्खिरहन सक्दिनँ मलाई अपसोस छ किनभने मलाई एकदमै हतार छ।’
प्रस्तुत कविताका पात्र ‘यारी’ सँग चाहेर पनि समयको घण्टा बजेपछि कवि आफैं छुट्नुपर्ने हुन्छ र कविले अर्कै जिन्दगीको रेलगाडी चढ्नुपर्ने हुन्छ। जतिसुकै हतारो गरे पनि समय हामीबाट कतिखेर फुत्किएर चिप्लिन्छ, मुठ्ठीमा अँठ्याएर आफ्नो काबुमा राख्न समयलाई सक्दैनौं।
यो विराट प्रकृतिको नियमलाई कसैको इच्छाशक्तिले बाँधेर राख्न पनि सक्दैनौं। हामी हाम्रो भविष्य सुन्दर निर्माण गर्नका निमित्त, समयलाई साँच्न र अधीनमा राख्न जतिसुकै खोजे पनि आज र भोलि भन्दै औंला भाँच्दा हाम्रो जीवनको दूर क्षितिजलाई छिचोल्दै आयु बोकेका समय चिप्लिएर हाम्रो अघिअघि बढ्दो रहेछ र हतारहतारमा कुनै एकदिन हामीलाई समयले हाम्रो इहलिला उठाएपछि, यो धर्तीको माटोमा मिलेर जानुपर्ने हुन्छ।
केही हप्ता अगाडि मात्र सिलौटीमा सेताम्मे हिउँ परेर तीन रातसम्म बास बसेर गएको थियो। हिउँ परेको बेला सिलौटीले खुम्बु महालङ्गगुर हिमशृङ्खलामा पर्ने चोयु हिमालको झझल्को मेट्न सकिन्छ। अत्यन्तै मनमहोक चोमु, ८२०१ मिटर उचाइमा रहेका सोलुखुम्बु जिल्लामा अवस्थित छ।
उक्त चोमुलाई चिनाउनु हुने मेरो प्रिय मित्र सोनम शेर्पाजीको पनि सिलौटीमा हिउँ पर्दा मलाई टट्कालो याद आउँछ। पुसमाघमा कहिलेकाही पाहुना जस्तो झुक्याएर आउने हिउँले केही दिनअघि मात्र स्नान गरेका थियो सिलौटीले। आज बिहान बिहानै मेरो आँखा चिप्लिएर त्यहीँ सफेद सिलौटीको डाँडामा नुतन बिहानीका कलिला घामका झुल्कोसँगै टुप्लुक्क डुल्न पुगेको छ। रहरलाग्दो क्षितिजको काखमा लमतन्न निदाएका सिलौटीबाट मेरो आँखा अन्त जान पटक्कै मानेका छैन।
बिहानीका बालक घामले सिलौटीलाई सर्वाङ्गीण पखालिदिएको छ। कोमल, सेवती फक्राएझै उज्यालो फक्राएर मुसुमुसु मुस्कुराएका देख्छु। सिलौटीलाई मात्र होइन, उजाड र निदाउरो अनुहार सधैं साचिराख्ने चाम्लिङ्गे र कवि बैरागी काइँलाले, नुनको भारी बिसाएर थकाइ मारेको एकसल्ले डाँडाका पाखापखेरीहरूमा पनि घाम सुटुक्क ओर्लेर कुनाकन्दरासम्म पुगिसकेका छन्। हेमन्तले झोक्राएको बोटविरुवाले पनि मेरो अघिल्तिर मोहनीलाग्दो सररसरर चञ्चले समीरको मधुर स्पर्शद्वारा सुस्तरी पातपात जोडेर सुसेलीमा कमर मड्काई,नयाँ वसन्त खोजिरहेछ।
हामीले पढ्दै पनि आएका छौ अमेजनको घना जङ्गल बीचको कयौं भूभागमा हजारौं वर्षदेखि सूर्यको किरण परेको छैन अरे, उक्त जङ्गलमा आकाशबाट पानी पर्दा जमिनसम्म आइपुग्न करिब दस मिनेट लाग्छ भन्नेछ। यस्ता ठाउँहरूमा, यस्ता रुखहरू पनि अस्तित्वमा छ।
‘वकिङ्ग पाङ्गड्री’ जुन रुख हिंड्न सक्छ, दिनमा तीन सेन्टी मिटर। वर्षमा बीस मिटर सर्न सक्छ। जुन रुख पाउने स्थानमा सूर्यको किरण पाउन मुस्किल पर्छ। यो रुख सूर्यको किरण भएका स्थानतिर क्रमशः अघि सर्दछ भनेर मैले पढेकाे थिएँ। आज यो चिसो समीरको स्पर्शद्वारा काइना च्यापेर हल्ली बस्ने यी बुङ्गचे ददिलो र झ्याम्टे गगुनको बोटहरूलाई हेर्दैछु। पात र हाँगोहरूले खासखुस साउती मारिरहेको। अनि म तिनै ‘वकिङ्ग पाङ्गड्री’ हिन्ने रुखको कल्पना गर्छु।
यी उल्लासित थरीथरीका रुखबिरुवाहरूले पनि आगमन हुँदै गरेका पारि पाखाभित्तामा पोखिएका टन्टलापुर न्यानो घामको रङ्ग देखेर, सायद हिन्न डुल्न खोजेका होलान्, अथवा रमाएका पनि हुन सक्छन्। सम्झौ हामीले पनि बाँच्नुपर्ने आयुका डोरी, यसरी नै आशाका घामले बाट्छौ।
आखिरमा संसारी विछोडका चिसो आँसुले खोलेर बिदा दिन्छौं। निमेषमा समयको घाम झुल्केर निमेशभरमा छोटो जीवनलाई मेटाएर अस्ताउँछन्। र हाम्रो संचित गर्दा गर्दैको आयुलाई खोसेर लानेछ तर हामीले यस्तो चिप्लिरहेको हाम्रो जिन्दगीको समय र आयु बोकेका घामको चाल बुझ्न कठिन हुन्छ।
जब बुझ्दछौ, त्यो दिन समयले गोधूलिमा धकेलिदिएर, यो दुइ दिनको पाहुना जिन्दगी डुबिजानेछ। यस्तो समयको घननाद आवाजलाई भौतिक रूपमा सुन्न, देख्न र सुमसुम्याइनु पनि कदापि हामीले सक्दैनौं। आत्माबोध गरेर हृदयले सुन्याे भने निश्चयै पनि अत्यन्तै हृदयविदारक धुनहरूमा जीवन बजिरहेका व्याकुलित सुस्केराहरू सुन्न मात्र सक्नेछौ।
आज मैले चिप्लो समयलाई जबर्जस्त अठ्याउन कोशिश गरिरहेको छु। हतारहतार, कोठेबारीतर्फ जार्दैछु। बुढो निभारोमा चुल्ठे बाँसले तामा च्यापेर अडेसा लाएका भालु बाँसको घास काट्नलाई। तर यहाँ मैले आश्चर्यभूत केही देख्दैछु। बास र निभारोका एका अर्काका अँगालोलाई कसिलो भावनाका सहचर्यले, भीरमाथिको भलायोका रुखबाट तन्किएर हामफालेका बल्ढाङ्ग्रोका लहरोले समाती फनफनी बेरेर कसिलो बाँधिदिएका। ससाना बतासको झोक्काहरूले खोल्न सकिरहेका छैन, जतिसुकै ठेलेर खोल्न चाहेर पनि झन्झन् कसिलो एकात्म अंगालोमा बेरिन्छन्। एकनास चण्डीनाचको उँभौली सिलीको भाका टिपी कुमजोडेर बास र निभारोले ढल्कीढल्की यताउता हुइहा हुइहा,नाचिदिन्छन्
मैले यो वृक्षहरुको असीम सामीप्य देखेर, एक महान दार्शनिक सुकरातको भनाइको याद आउछ। ‘प्राकृतिक कानुनलाई पहिलो र मानव निर्मित कानुनलाई दोस्रो’ स्थानमा राख्नुभएको जो भनाइले मेरो आत्मगत ज्ञानको चक्षु खोलिन्छ।
हुन पनि यो पृथ्वीमा रुखबिरुवाहरु त्यतिबेला देखिछन् ,जतिबेलादेखि धर्तीमा मानव जीवनको सुरु भयो, यदि धर्तीमा बोटबिरुवा थिएन भने हामी प्राणीको बाच्ने सम्भव थिएन, बोटबिरुवाहरुले गर्दा नै हाम्रो जीवन सम्भव भएको हो।
हामीले घना अमेजन जंगलको नाम सुन्नेबित्तिकै त्यहाँका खतरनाक र भयानक जीवजन्तुहरूको आत्मा हामीमा झलक आउँछन्। जहाँ २५ ५ भूभागमा मात्र मानिसहरू पुग्न सफल भएका छन् भन्छ। बाँकी भाग कस्तो छ कसैलाई पत्तो छैन। जहाँ हावापानी प्रदूषणरहित वातावरण छ। यसप्रकारको छ कि पृथ्वीको हजारौं वर्ष पहिलाको जस्तै छ। जसलाई धर्तीको फोक्सो भनेर पनि अमेजनलाइ चिन्न सकिन्छ।
यति मात्र होइन अथाह प्रकृतिको सौर्न्दर्यले भरिएका उक्त जंगलले पृथ्वीको जलवायु परिवर्तनलाइ समेत कम गर्ने महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्। यस जंगलबीच लाखौं प्रजातिका रुखबुट्यानहरू होस् अथवा वन्यजन्तु र पंक्षीहरू, कहिल्यै आपसी झगडा गरेका सुन्न र देख्न पाएका छैनौं, सौहार्दपूर्ण आपसी भावनामा मिलेर बस्छन्।
म मनमनै सोच्दैछु हामी पृथ्वी लोककै प्राणीमा बुद्धिमान चलाख मानिसहरू के रुखबिरुवा र पशुपंक्षीहरू जति पनि चेतनाविहीन बाचिरहेका छौ? आपसी, देशदेश, धर्म, राजनीति र विचारमा किन फाटो आउँछ? मिलिरहेका देख्नसुन्न सकेका छैनौं अनुमान गर्नुस् तपाईंहरू, मानिसमा हामीहामीबीचको खाडल कत्रो होलान्?
समय आफ्नो अधीनमा राख्न कसैले सक्दैनौं भन्नेमा हामीले अगाडि नै स्विकारिसकेका छौ। र थाहै हुँदैन हामीबाट समय चिप्लेर गएको। सम्भव भए सम्म हतारहतारले गाईवस्तुको घाँसपात मिलाएर घर आएको छु। खाना खाए लगत्तै म इलामको यात्रामा निस्किएको छु।
घरको केही पर, हिउँदमा स्वच्छ पानी बग्ने खोल्सो ‘पाङदु खोल्सी’ पारि किनारको चप्लेटी ढुङ्गामा उभिएर वरिपरि हेरिरहेकाे छु। यहाँ हामी केटाकेटी छँदा साथीहरूसँग मसिना भुल्के दहहरुमा पौडी खेलिन्थ्यो, गडेरी र टिकटिके पाहा समात्थ्यो। कहिलेकाही उँधौली याममा मनपाहा समेत भेटिने यो पाङ्गदु खोल्सीलाई आज विगतका भन्दा बिलकुलै फरक देखिरहेको छु।
मलाई थाहा हुँदा खोल्सोको वारिपारि विभिन्न प्रजातिका रुखबिरुवा थियो। झिगनी, केसरी, कपासी, चुत्रो, एसेलु जस्ताले घना जंगल देखिन्थे। कनासे, दार्मेकाडा, मजिटो, लुडुम र कुकुमभेडी जस्ता लहराहरू रुखलाई समातेर बेरिदै झाँगिएर प्रत्येक रुखमा झुन्डिएर लहरिरहन्थे, रहरलाग्दो फुल्थे।
कुकुमगेडीका फलहरू लोथर्के र न्याउली चरीले खान्थे खुब रमाउँथे। चुत्रो र केसरीका फूलहरूमा पुतली, मौरी र भमराले राज गर्थे। भुँइमुन्टे दार्मे काँडोको झ्याङ्गभित्र बर्सेनि ताभेढुकुरले गुँड लाएर बचेरा हुर्काउँथे। रातभरि हावाहुण्डरी चलेर आकाश खुलेसँगै अल्गो कपासीको रुखमा बसेर ‘वसन्त चरी’ टेकबिरेले विरह पोख्थे, यिनै चैत्र र बैशाखमा सत्धुल, चिचिङ्गकोटे, र चाचर जस्ता चलाखी चरीहरूले बिहानको पाचौं निशान्तको प्रहरमा उठेर वसन्त ऋतुका गीत गाउँथे मौसमका सिटी फुक्थे, उँधौलीमा बेसी झरेका चराहरू उँभौली याम सुरु भएपछि, यहीँ बास बसेर साउती मार्दै लेकतिर फर्कन्थे। घोप्टे ओडारे ढुंगाको काफहरूमा कल्चुडो र पाङ्ग्री चरीले गुड लाउँथ्यो। तर आज यिनै मनमोहक स्थानलाई मानिसहरूले ढालफाँड र बर्खाका भेलपहिरोबाट नराम्ररी भुत्ल्याएका, उजाडलाग्दो यो दृश्य देखेर मेरो मन असाध्य रोएको छ।
आज मैले यहाँ एउटा खोलिचरो मात्र देखिरहेको छु। यो चरी प्राय: खोलाखोल्सीमा मात्र देख्न पाइन्छ। हुन पनि यो एकैछिन मन नअडिने वैरागलाग्दो खुल्ला नागीयुँ भूमिमा कसरी बस्लान् होला चराहरू? के खाएर बाँच्लान्? आखिर स्वच्छन्द र स्वतन्त्र आकाशमा उड्ने उन्मुक्ति चराहरू कसैको बन्धनमा बस्न सक्दैन। खेल्नबस्न साहस नभएमा उन्मुक्त भएर उडेर जान्छन्। यी चराहरूलाई हामीले मात्र होइन प्रकृतिले पनि छेक्न र रोक्न सक्ने छैन।
हामीले आफ्नो इच्छा पूरा गर्दा तिनीहरूको स्वतन्त्रता गुम्ने हो कि भन्ने अनिवार्य बुझ्नुपर्छ। तर हाम्रो समाज यसरी चलेको देखिन्न। स्वतन्त्रता कसैले हस्तक्षेप गर्नु हुँदैन कुनै पनि पृथ्वी जगतमा प्राणी स्वतन्त्र हुन पाउँछ। नत्र आफ्नो सोचविचार विकास वृद्धि गर्ने अवसर गुम्छ। साँगुरो बन्छ। यहाँ एकको बन्धनमा अर्को बाँधिएको छ आनन्दको अनुभूति गर्न सकिएको छैन। स्वतन्त्रताप्रति सबै सचेत हुनुपर्छ र मानव स्वतन्त्रता चराहरूबाट सिक्नुपर्ने देखिन्छ।
विगत बिर्सेर आगतलाई सिर्जनशीलता बनाइ उन्मुक्त बन्ने अधिकार हस्तक्षेप नहोस् सिर्जनशीलताको कदर होस्। प्राकृतिक आनन्द लिन चराहरू सक्षम छन्। चराहरूले जीवनयात्रालाई स्वतन्त्र र उन्मुक्त जिउने दृष्टि चराहरूदेखि हामीले सिक्नुपर्ने जरुरी हुन्छ। यिनै कुराहरूसँग मेरो मन खेलाउँदै हिडिरहेकाे छु।
मेची राजमार्गको तीव्र निर्माण कार्य सुरु भए यता, राँके बजारको कैलोमैलो र काँचो माटो बोक्ने हिटी खोल्सोको भेलले झारेका वारिपारि किनारमा चाउचाउ र बिस्कुटका खोलसँग बग्रेठोका थुप्राहरू मात्र पसारिएका पाङ्गदु खोल्सोको बासको फट्के (साँघु) नागिसकेको छु।
म चढ्दैछु खुई मार्ने उकालो, गैरीटार फेरोका दम्स्याइलो बाटो छिचोल्दै हस्याङफस्याङ टुप्लुक्क राँके बजार पुगेर यताउता, पल्याकपुलुक इलाम जाने गाडी हेर्दैछु। तुरुन्तै इलाम लाग्ने गाडी नदेखिएपछि प्रतीक्षाको आँखा मेरो एक्कासि चिप्लिएर उत्तर दिशाको गुम्बाडाँडा पुग्यो। यो चिसो सिरेटो भञ्ज्याङकाे पर्खाइमा मिनेटपछि घण्टाहरू खप्टियो। एकतमास आशाको धागो छिन्न खोज्दा एउटा मनले मलाई दक्षिण दिशा रवि सडकतर्फ मोडाएर लगेको छ। नभन्दै फुर्कोवाला कोणधारी देशी सल्लाहरूको काप फोरेर छिचोल्दै गेरु कलरका ट्याक्सी हुटभरि पोकोपन्तुरा बोकेर चोकतर्फ आउँदैछन्। मेरो छेवैमा आएर रोकिदा,सेतो ट्याक्सीलाई बुङ्बुङती धुलोले पुरेका रहेछन्। गेरु कलर देखेकाे पो रहेछु। मनमनै सोचे मेरो दृष्टिभ्रम महाभारा डाँडाको हिउँदे धुलोले पारेछ।
हुन पनि दसैंको छेकमा झरी गाग्रो घोप्टाएझैं अतिवृष्टि चौबीस घण्टासम्म परेको थियो। किसान दाजुभाइले दुख गरेर फलाएका, पाकेका अन्नबाली थन्कोमन्कोमा समेत समस्या दिएको थियो, त्यो समय यता उच्च क्षेत्रका सिलौटी, पौवाभञ्ज्याङ, सुकेपोखरी देउमाइ पोखरी लगायत पाटेनागी, जस्ता क्षेत्रमा मनग्ये हिउँ परे पनि अलिमुनिका भूभागहरूमा धुलौटो माटो बाटोका विष मार्ने झरी मात्र छिटाएको थियो।
दिनहुँ जसो आकाश, घुमधुमती बादलले अनुहार छोपेर रुन चाहे पनि एकै थोपा वाञ्छाका अश्रुजल पोख्न नसकेको हो आकाशले। बरु तुवाँलोले राज चलायो, हेमन्तको यामभरि दिनहरू कुनै दिन हाँसेर गएन। जलवायु परिवर्तनका कारणले होला हाम्रो बाल्यकालमा जस्तो बाक्लो तुसाराे जम्दैन अचेल, आकलझुकल सेपिलो ठाउँहरूमा, शीत परे पनि, चिचिलो बतासको एकै झोक्काले मिलिक्कै टिप्छन्। यहाँका बजारबासीहरूले पनि रहर फुलाउनु रोपेका आँगनका एक कुना र मठहरूमा प्यासी केही फूल देखिरहेकाे छु, यी फूलहरूले कसरी बचाएर राख्न सकेका होलान्? हुस्सु र चिसोसिरेटोका निमोठाई सहेर। कापकापमा च्यापेर बचाएर राख्न सके होलान्, मसिना चिचिलो मुनाआँकुराहरुलाई? मलाई गम्भीर आभास भैरहेको, छ बिनापानीको यो भयावह,चातक परिवेशसँग।
बजारको अनुहार मिलिक्कै धमिलिन्दै गयो, जवानी चारखोले बतासले, अटेसमटेस घिसारेर ल्याएका, गोन्जागोल हुस्सुका ताँतीले चटक देखाइरहेका छन्। यो दृश्य देखेर मेरो आफ्नो शब्दमा रहेको, सुनिता थेगिम बहिनीले स्वर दिएकी गीतलाई सम्झन्छु, ‘बादलुको छायामुनि शीतको फूल फुल्थ्यो, ‘चारखोले हुस्सु चल्दा बजार बस्ती छोप्थ्यो’, ‘वालापनको याद सधैं राँके बजारको’ अजम्बरी नाता बस्यो जनमजनम को’।
जुन गीतले जे भन्न खोजेको थिए, हो ठिक्क इस्टोरी मिलेको पाइन्छ। जे लेखेको थिए, यो मौसमले राम्रोसँग आज चिनेको छ, देखाइएको छ। बिहान मात्र सूर्यको लालिमाले पखालिएका, हँसिला पाखापखेरी र उज्यालो बजार बस्तीहरूलाई, एक्कासि हुस्सुले एकरङ्गी खरानी घोप्टाएर छोपेको छ। क्षणमा राँकेको सुन्दर रूप सोहोरिएर कुचुक्क चोकमा खुम्चिएर कुरूप बनाइदिएका छन्। चन्चले बतासले राखिछोडेका,अल्सी हुस्सुका लावालस्कर चुपचाप निदाउन थालेका छन्। अब सिरेटोका सिङ जुरोले उधिन सुरु गर्यो, यहाँका मानिसहरूलाई। आच्छुआच्छु भन्ने यात्रुहरू सलबलिए लगत्तै इलाम जाने गेरुकलरमा देखिने ट्याक्सी चालकले स्टार्ट गर्यो। म पनि यसै गाडीमा चढेको छु।
इलामको चोकबजारमा, ट्याक्सीबाट ओर्ले लगत्तै म इलाम पुस्तक पसलमा पुगेको छु। साहुजीबाट मैले गत हप्ता, अडर गरेका केही थान पुस्तक, साहुजीबाट गन्ती भयो र हामी हिसाबकिताब रुजु गर्दै थियौ, राँकेराँके भन्दै जोडले चिच्याउने सहचालक झुन्डिएको ट्याक्सी, स्टेण्डबाट फुत्त हानिएर माल्दाइ मिष्टान्न भणडार अगाडि घ्याच्च रोकिएको छ। म पुस्तकको झोलालाई काँधमा बोकेर, लामोलामो पाइलामा फड्को मारेर पुनः राँके आउने ट्याक्सीमा तुरुन्तै चडेको छु। सायद यो पहिलोचोटि हुनुपर्छ इलाम बजारमा एकै घुड्की पानीसम्म नपिइ म फर्केको।
राँकेबजार भखरै ट्याक्सीबाट ओर्लेकोछु, ट्याक्सी भित्रको न्यानोले मेरो तातिएको जीउ, राँकेको चिसोमा एकासी ट्याक्सीको झ्याल खोलेर बाहिर झट्ट निस्कदा, तातो फलाम चिसोपानीमा डुबाएजस्तै परर परर करेन्ट लागेकोछ मेरो न्यानो आङमा।
आज यो माघ महिनाको छोटो दिनमा साँझ बासबस्न कति चाडै धर्ती ओर्लिसकेका रहेछन्। आफ्नो बिरानो मान्छेलाई सम्म ठिमाउन सकिन्थ्यो। रोडको बायातर्फ म जादैछु ढुल्मुल ढुल्मुलदेखिने लिम्बुनी बुढी आमा र सानी केटी सायद नातिनी र बोजु चिलिङ्देन अथवा हेलाङ गाउँतीरका हुनुपर्छ, थुम्सेमा कागती दुई केजी जति बेच्नलाई, सडकको एउटा कुनोमा अभिलाषाको राँको बालेर।
यो साँझसम्म पनि पर्खिनैरहेका छन् देखिरहेको छु विचरी बुढी आमाको पातलो मजेत्रो र सानी नातिनीको सटको फेरो राँकेभञ्ज्याङकाे चन्चले चिसो बतासले निरन्तर तानिरहेको।अनुमान गर्नुस् तपाईंहरू, बुढी आमाको एकसरो फाटेको आङको लुगा र कपाल छोप्ने पातलो मजेत्रो, नातिनीको जालिदार सट र फरकले कति छोप्दै होलान यो राँकेका निखुर हिउँद मासको जाडोलाई। कल्पना गर्दा पनि जीउमा हाम्रो हात्तीबारको काडो उम्रन्छ,यो देखेर म अत्यन्तै भावुक बने, मनमनै कुरा रच्दै छु, यो दुइ किलो कागती मैले किनिदिए बाटो लाग्छन् बोजु र नातिनी। तत्पर मैले कागतीको दाम दिए, तुरुन्तै उहाँहरू उठेर बाटो लाग्नुभयो। आफू मेरो मिसन पूरा भएकोमा निक्कै फुर्तीसाथ ओरालो आफ्नो निवासतर्फ झर्दैछु।
अँध्यारोमा ओरालोको बाटो हिड्न सजिलो हुन्न, छामछुम गर्दै चौरको बाटो धागोका डोराझै ढुलमुल देखिन्छ। एकएकपट्टि पुस्तक र कागतीको झोला झुन्डाएको छु। यी सुनसानमा मलाई घरीघरी साथ दिइरहेका छन्। नागीका असारे झ्याङमा एकतमासको ठोकिँदै बहने बतास र कतै पारिपट्टि निरन्तर भुक्ने कुकुरले, निरन्तर साथ छोडेका छैन।
सोच्दै ओरालो झरीरहेको छु, कि हामी मान्छेलाई आपत बिपत्तिमा हावा र पशुहरूले पनि यसरी साथ दिदा रहेछ, र साथ चाहिन्छ भन्ने। एकहोरो अँध्यारोमा हेरिरहँदा अँध्यारोले पनि आँखाका ज्योति टिप्दा रहेछ, दृस्ठि गुमेपछि एक्कासि चिप्लो नागीको दुवोमा चिप्लेर दुवै हातको झोला हातबाट उम्केउ, पुस्तकका झोला अन्तरकुन्तर छामछामछुमछुम गर्दागर्दै तुरुन्तै भेटाउन सफल भए, कागतीका खाली पोलेथिन मात्र छामेर पाए। कागतीको पोलेथिन फुटेर सबै नागीको ओरालो पाखोमा गुडेर कुन खाल्डो भरिएको अनुमान लाए।
भुइँलाई सुमसुमाएर भेट्ने कुरा पनि भएन होइन र? जसोतसो अँध्यारोले साथ दिएका छन् मलाई, रात परेपछि रुख बिरुवा र हावा पनि चुपचाप बास् बस्छ्न क्यारे। पाङ्गदु खोल्सीको फड्के साँगु तर्दै गर्दा अँध्यारोमा सुन्दैछु कहाँनेर ढुङ्गोको काफभित्री कुलुकुलु पानी बगिरहेको सानासाना घुरिलो आवाज मात्र मेरो कर्णविवरमा पस्छन्। जब बाटो सिधा तेर्छिएपछि छिटोछिटो पाइला तानेर निवास आइसकेको छु। सबै घरका सदस्यहरू, भान्सामा बस्न तयारी अवस्थामा रहेकाले म पनि आफ्नो झोला बिसाएर तत्पर खाना खान बसे।
आज म धेरै थाकिसकेकाे रहेछु,अर्कोतिर इलामबाट ल्याएका पुस्तकहरू पनि पढ्नु आतुर छु। सर्वप्रथम नेपाली साहित्यका एक नक्षत्र आइबि राईको लोकप्रिय कथा श्याम बदर्श दार्जीलिङबाट प्रकाशित (विपना कतिपय) कथासंग्रहमा समावेश गरिएका (आज रातभरि हुरी चल्यो) कथालाई दोस्रो पटक दोहोराउने मन छ। जुन कथामा कालेका बा र आमाले आफ्नो झुपडीलाई छाएका, मट्टीतेलका टिनको छानो रातभरिका हुरीले उडाइदेलान् भनेर डोरीमा गह्रौ जातो झुन्डाएर आफ्नो झुपडीलाई अत्यधिक संरक्षण गरेको छ, जुन कथाले भन्न खोजेका, जस्तोसुकै झुपडी आफ्नो घर किन नहोस्। त्यो झुपडी आफ्नो लागि दरबार हो,आफू हुर्केका ठाउँ स्वर्ग, सुन्दर संसार हो। यहीँ मेरो सुन्दर र शान्त, संसारभित्रको सानो कोठामा, उक्त पुस्तकका दृष्टिकोणको बिउ छरेर विचार र सपना फुलाउने कोठामा छु। जुन पुस्तक लिएर,जिन्दगीको झुपडी खोज्दै बिस्तारामा पल्टेर पढिरहेको छु।
प्रकाशित: ३० चैत्र २०८१ १२:२२ शनिबार