मन परिवर्तन भएपछि…


मनको आगो र त्यसको व्यवस्थापनबारे अघिल्लो आलेख तयार गरिरहँदा एउटा कुरा मनमा खेलिरहेको थियो । त्यसपछि लेखी बस्नै सकिनँ । एउटा कुरा नि, पहिले त्यही मानिस असाध्यै मनपर्छ । त्यही मानिस नै सबथोक भन्ने लाग्छ ।

त्यहि मानिसलाई दिनमा भेटिन्छ र रातमा सपनामा पनि देखिन्छ । उसैसँग जिउन र मर्न तयार भइन्छ । तर, त्यही मानिस कालान्तरमा मनपर्दैन वा मनपर्न छोड्छ ।

किन ? यही सवाल उठिरहेको थियो, मनमा ।

मनोविद्को भूमिकामा म पूर्वको एक जिल्ला पुगेको थिएँ, गत डिसेम्बरमा । त्यहाँ भेटिएकी एकजना अधबैंसे महिलाका केही कुरा यहाँ राख्न सान्दर्भिक ठानेको छु ।

अन्तरजातीय विवाह गरेकी चन्द्रकला (नाम परिवर्तन)ले दुई पटक आत्महत्या प्रयास गरिन् । उनलाई न बाँच्न सहज थियो, न त मर्न नै । सानै उमेरमा परिवार र समाजसँगको संघर्षमा उनी पटक-पटक असफल भएर नै उनले आत्महत्याको कोसिस गरेकी हुन् ।

मनोविद् कक्षमा आइपुगेकी चन्द्रकलाले आफूलाई मानसिक रोग लागेको थाहै पाएकी थिइनन् । पहिलोपटक मनोविद्सँग भेटेकी चन्द्रकलाले सुरुमा सिधै मेरो आँखामा हेर्न सकिनन् । निहुरिएर बसेकी चन्द्रकलालाई मैले केही सोध्न थालेँ, उनी कलेटी परेका ओठहरू चलाउन भन्दा टाउको हल्लाउन सजिलो मानिरहेकी थिइन् ।

कसैले आफ्नो कुरा अरुसँग भन्नका लागि त्यो व्यक्तिप्रति विश्वास र भरोसा चाहिन्छ । नत्र किन खोल्छन् त मनभित्रका कुराहरू । चन्द्रकला पनि त्यस्तै थिइन् । मैले चन्द्रकलालाई आफ्नो परिचय, पेशा र उनीजस्ता धेरै यस्तै समस्या भएकाहरूका बारेमा पनि सुनाएँ । अनि बल्ल चन्द्रकलाको निहुरिएको मुन्टो उठ्यो । कलेटी परेका ओठहरू बोल्न थाले । अनि, ती आँखाहरू मेरा आँखासँग कुरा गर्नथाले ।

कलिलो उमेरमै चन्द्रकला प्रेममा परिन् । उनले त्यस्तो व्यक्तिसँग प्रेम गरिन्, जसलाई उनको परिवार र समाजले सहजै स्वीकार्ने अवस्था थिएन । उनीहरू दुवैजना प्रेमलाई विवाहमा रुपान्तरण गर्ने निधोमा पुगे । उनीहरूले प्रेमबाहेक अरु केही सोचेनन् । जीवन जिउनका लागि आइपर्ने कठिनाइबारे उनीहरू अनभिज्ञ थिए । त्यसैले उनीहरूमाथि विविध पारिवारिक र सामाजिक जटिलता खडा भए । त्यसलाई उनीहरूले आफ्नो भाग्यसँग तुलना गर्दै एकपछि अर्को घट्नाबाट निराश हुँदै गए । तर, अब मनको कुरा भन्ने ठाउँ नै थिएन ।

महिलाका लागि मनभरीको व्यथा सुनाउने पहिलो ठाउँ त माइती नै हो । तर, चन्द्रकलाले विवाहको निर्णय लिएदेखि माइती टाढिइसकेका थिए । विवाहपछि उनका श्रीमानको पनि व्यवहार उस्तै रहेन । त्यति धेरै माया गर्ने, मर्ने र बाँच्ने कसम खाएका श्रीमान् विवाहपश्चात् सुरुमा झर्किन थाले ।

पछि गालीमा उत्रिए, त्यसपछि त उनलाई शारीरिक यातना नै दिन थाले । चन्द्रकलाले श्रीमानलाई पनि आफ्ना कुरा भन्न सक्ने अवस्था बनेन । पीडा, चिन्ता थपिँदो थियो । उनले आफू बाँच्नुको अर्थ देख्न छोडिन् । उनले पटक-पटक आत्महत्याको प्रयास गरिन् ।

मनोविद् कोठा नं. २०४ मा बोलिरहेकी चन्द्रकलालाई एकतमासले मैले हेरिरहेको थिएँ । उनको अवस्था बुझ्ने प्रयास गरिरहेको थिएँ । भदौरे भेलसरी उनका आँखाबाट आँसु बगिरहेका थिए । उनी रुँदा आफू गम्भीर भइदिन्थेँ । फेरि, कतिबेला उनी विवाह अघिका रमाइला पल सम्झिँदै, आफ्ना श्रीमाने त्यतिबेला गरेको माया र सम्मानलाई सम्झिँदै अनुहार उज्यालो बनाएर मुसुमुसु हाँस्दै पनि थिइन । उनी हाँस्दा सँगै हाँसिदिन्थेँ । उनले भनेका कुराहरूमा आफूलाई पनि सोही अनुसार बगाइरहेको थिएँ ।

मिस भनेर सम्बोधन गरिरहेकी चन्द्रकलाले कुराकानीकै क्रममा उनले मलाई मिसबाट दिदी भन्न थालिन् । मैले भने उनलाई ‘चन्द्रकलाजी’को सम्बोधनलाई निरन्तरता दिइरहेँ । जुन परामर्शकर्ताको धर्म पनि हो । अब उनी झन् खुल्न थालिन् । यस्तो लाग्दै थियो कि हातले बत्ती पार्दा कपासको डल्लो फुरुरु निस्कँदै कपास विलय भएजस्तो उनको मनभित्रका जेलिएका पीडापूर्ण भोगाइहरू बिना रोकतोक निस्किरहेका थिए । लाग्थ्यो, कपासको डल्लो अब बत्ती बनेर उज्यालो हुनेवाला थियो।

चन्द्रकलाको मुहार निकै फरक भइसकेको थियो, केही उज्यालो । उनी चन्द्रकला हुन् । साहित्यकारको चर्चित बिम्ब चन्द्रमा जस्ती उज्याली, हिराजस्ती हुनुपर्ने चन्द्रकला किन यस्ती भइन् ? किनकी चन्द्रकलाले परिवार र समाजसँग विद्रोह त गरिन् तर विद्रोह गरिरहँदा त्यसका परिधि र जटिलताबारे अनभिज्ञ भइन् । त्यसैले उनीमाथि परेका अनेक प्रहारलाई उनले झेल्न सकिनन् । अन्ततः मानसिक स्वास्थ्य समस्यामा परिन् ।

चन्द्रकलाको उमेर पनि विवाहयोग्य भइसकेको थिएन । ‘बिहेवारी बीस वर्ष पारी’ भन्नुको तात्पर्यबारे बुझिनन्, प्रेमले उनको अन्तर्दृष्टि गुमाइदियो । वर्ष २० ले सोच्ने क्षमता, असल-खराबको विशेषता छुट्याउन सक्ने अवस्था, शारिरीक परिपक्वता गराइसक्छ । त्यसपछिको विवाह अन्तरजातीय नै भए पनि लड्न सक्ने अवस्था बनिसक्छ । तर, चन्द्रकलाको न उमेर त्यस्तो थियो, न त पारिवारिक परिवेश नै । त्यसैले उनी मानसिक स्वास्थ्य समस्यामा परिन् ।

पीडाहरू मनभरी गुम्स्याएर राख्दा पीडाको भकारी बन्छ । भकारी भरिएपछि त पोखिन्छ । पोखिने भनेको डिप्रेसन, एन्जाइटी अनि आत्महत्या नै हो । यो अवस्थासम्म नपुग्ने बनाउन मोटिभेसनल क्रियाकलापहरू विद्यालय, परिवार, समाजमा निरन्तर चलाइरहनुपर्छ । आशा, विश्वास र भरोसा आफैँभित्र खोज्न सक्ने व्यक्ति बनाउनुपर्दछ ।

मानसिक समस्यामा परेका चन्द्रकला जस्तालाई बोल्ने र सुनिदिने अवस्था बन्नुपर्छ । जसका लागि स्थानीय तहका वडातहमा कार्यरत सबै कर्मचारी, जनप्रतिनिधि, सामुदायिक कार्यकर्ता लगायत सबैलाई मनोसामाजिक समस्या पहिचान गर्न र सहजीकरण गर्ने कला सिकाउनुपर्छ ।

यो त थियो चन्द्रकलाको कथा । मेरो चासो थियो, मानिस किन मनपर्न छोड्छ । उनका श्रीमानले विवाहअघि जस्तै माया, भरोसा दिएको भए चन्द्रकलाको अवस्था त्यस्तो हुँदैनथ्यो । श्रीमानको मात्रै पनि साथ पाएकी भए चन्द्रकला चट्टानजस्तै बलियो हुन्थिन् । तर, त्यसो हुन सकेन ।

सबैसँग सबैथोक हुँदैन । सबै मानिस पूर्ण हुँदैनन्, मानिसमा केही न केही कमी हुन्छ । अपरिवर्तनीय कुरालाई पनि परिवर्तन गर्न खोजेर मानिसमा पूर्णताको खोजी गर्दा भइरहेको सम्बन्ध बिग्रन पुग्छ । जोसँग जे छ, त्यसैलाई आत्मसात गर्नुपर्छ । कोही केटामान्छेमा वा केटीमान्छेमा जे देखेर सुरुमा आकर्षित भइन्छ वा मनपर्छ त्यही कुरालाई जीवनभर अंगाल्न सक्ने हो भने त्यो सम्बन्ध सँधै उही र उस्तै रहन्छ ।

बाल्यकालमा पनि चाउचाउ मनपर्ने, किशोरअवस्थामा पनि मनपर्ने, युवा अवस्थामा पनि त्यही चाउचाउ मनपर्छ नि त । चाउचाउ चाहिँ जहिले पनि मनपराइरहने अनि मानिस चाहिँ किन मन नपर्ने ? कोकाकोला पनि सँधै मनपर्ने तर मानिस चाहिं किन सँधै मन नपर्ने ?

बाल्यकालमा त चाउचाउ र कोकाकोला खाँदा त्यसले पार्ने हानीबारे जानकारी हुँदैन तर असरबारे बुझ्ने भइसकेपछि पनि त्यही चिज किन मनपरिरहन्छ ? किनकी ती सामाग्रीहरू तयार गर्दा प्रयोग हुने कुनै निश्चित तत्वलाई त्यो कम्पनीले निरन्तरता दिइरहेको हुन्छ । हामीलाई त्यही तत्व मनपरेको हो ।

प्रेमी वा प्रेमिकाको अनुहार, जिउडाल, मुस्कान, आँखा वा जे मनपरेर सुरुमा आकर्षित भएको हुन्छ । त्यही कुराबाट जीवनभर आकर्षण कायम राख्नसक्नु नै मनमाथिको विजय हो । त्यही काम गर्न नसक्दा वा त्यो मनपराइएको विषयको महत्वलाई बिर्सिँदा सम्बन्धमा दरार उत्पन्न हुँदैजान्छन् । अनि मनपर्ने मानिस मन पर्न छोड्दै जान्छ ।

अर्को कुरा के पनि हो भने, प्रत्येक चिजको भ्याल्यू हुन्छ । संसारमा त्यस्तो कुनै चिज हुँदैन, जसको अस्थित्व नहोस् । त्यसको महत्व र मूल्य अनुरुप त्यसले आफ्नो आकार र आयतन माग गर्दछ । त्यसैलाई घेरा भनिन्छ । जब कसैको स्पेसमाथि प्रहार हुन्छ वा आक्रमण हुन्छ अनि त्यसले प्रतिकार त गर्छ नै ।

सीताले लक्ष्मण रेखा ननाघेकी थिइन् वा नाघ्न बाध्य नपारिएको थियो भने त्यत्रो युद्ध हुन्थेन होला । आफ्नो स्पेस महसुस गर्दै अर्काको स्पेसको ख्याल गर्नेबित्तिकै सम्बन्धहरू दिगो र मजबुत हुन्छन् । विचार गर्नुपर्ने कुरा के छ भने, तपाईंले बेइमान भनेर चिनिसकेको मानिस कहिल्यै इमान्दार हुन सक्दैनन् । अनि, इमान्दारहरू कहिल्यै बेइमान हुँदैनन् । परिस्थितीले बेइमान जस्तो बनाइदिनसक्छ तर खासमा ऊ बेइमान हुँदैन ।

यस्तो बेलामा अब बुझ्नुपर्ने त्यो व्यक्ति होइन, उसले भोगको परिस्थिति हो । उसको परिस्थिति अनुकुल पार्न उसलाई सहयोग गर्नु बुद्धिमानी हो । दूध र पानीजस्तो हो, व्यक्ति र परिस्थिति । दूधमा मिसाइएको पानी झट्ट हेर्दा सेतै देखिन्छ तर त्यो परिस्थिति अर्थात् पानी छुट्याइदिने हो भने दूध त सेतै हुन्छ तर पानीले आफ्नो पहिचान देखाइहाल्छ ।

प्रेमी प्रेमिकाबीच सम्बन्ध नजिकिँदै गएपछि दुवैले दुवैलाई आफ्नो निजी सम्पत्तीजत्तिकै ठान्छन् । आफूलाई मनपरेको आँखालाई अरुले तारिफ गरिदियो भने जलन हुन्छ अनि त्यो तारिफ गर्नेप्रति रिसको भाव प्रकट हुन्छ । जुन कुरा उसको राम्रो छ, त्यसको तारिफ त अर्कोले पनि त गर्छ नि ।

निजी बगैँचामा फक्रिएको फूललाई बटुवाले हेर्न र त्यसको सुगन्ध महसुस गर्न सक्छ तर, टिप्न त सक्दैन । यो यथार्थतालाई बुझ्ने प्रयत्न गर्न सक्यो भने मात्रै सम्बन्ध असल र दीगो हुन्छ ।

एउटा घट्ना सम्झिएँ– प्रेमिका अत्यन्तै राम्री लागेर प्रेम भयो, विवाह भयो अनि विवाहपछि श्रीमानले आफ्नी श्रीमतीको सुन्दरतामाथि अरुको नजर नपरोस् भनेर इर्ष्या भावले उनै राम्री श्रीमतीको मुहारमा लगाउने क्रिममा एसिड राखिदएछन् । जुन कुरा राम्रो लागेर उनको प्रेमको सुरुवात भएको थियो, त्यो कुरालाई बँचाउन होइन, बरु त्यसको ध्वंश गर्नतिर लागेपछि त्यो प्रेम र सम्बन्ध कसरी दिगो र कालजयी बन्न सक्छ ?

मूल कुरा के हो भने, जीवनमा अनेक खालका उतार चढाव आउँछन् । तर, कोही व्यक्तिप्रति बनेको प्रारम्भिक दृष्टिकोणलाई निरन्तरता दिन सकिएन भने त्यो व्यक्तिप्रति मायाको बद्लामा घृणा जागृत हुन्छ ।

अवस्था, परिस्थिति र व्यवहार परिवर्तन हुन्छन् नै, यो प्राकृतिक नियम हो । तर, त्यही परिस्थिति, अवस्था र व्यवहार अनुरुप मानिसप्रतिको दृष्टिकोण पनि परिवर्तन गर्दै जाँदा अन्ततः त्यो व्यक्ति मन पर्दैन । सत्य यही हो, मनपर्छ भने मनपरेको कारण पहिचान गरी त्यसको संरक्षण गर्नु नै उचित सम्बन्ध निर्माणको सेतु हो ।

(लेखक सीता भण्डारी मनोविद् हुनुहुन्छ)





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School