काठमाडौं । नेपालमा मनसुन सुरु भएको एक महिनाको अन्तरालमा मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु र ४१ जना बेपत्ता भएका छन् ।
यस वर्षको मनसुनको पहिलो ४० दिनमा १४ वटा घर पूर्ण क्षति भएका छन् । दुईवटा विद्यालयमा क्षति पुगेको छ भने दुईवटा काठेपुल र दुईवटा पक्कीपुल भत्काएको छ । १५ किलोमिटर पक्की सडकमा क्षति पुगेको छ ।
तीन महिनामा विपद्बाट १२ सय परिवार प्रभावित, ९० को मृत्यु
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गत १ वैशाखदेखि २५ असारसम्मको अवधिमा भने विपद् घटनाबाट १ हजार २ सय ५ परिवार प्रभावित भएका छन् ।
१ वैशाखदेखि २५ असारसम्ममा बाढी मात्रै १ सय १४ वटा आएका छन् । पहिरो मात्रै १ सय ५५ ठाउँमा गएको छ । ८४ ठाउँमा भारी वर्षा भएको छ । चट्याङबाट मात्रै तीन महिनामा २३ जनाको मृत्यु भइसकेको छ । यस अवधिमा १ सय ९८ वटा ठाउँमा चट्याङ परेको रेकर्ड रहेको छ ।
३ महिनामा ९० को मृत्यु
यस अवधिमा आगलागीका घटना ८ सय ९०, वनडढेलो १ सय ५८, हावाहुरी २ सय ६१, सर्पदंश २२, जनावर आक्रमण ९८ र लेक लागेका ३४ वटा विपद् घटना भएका छन् ।
प्राधिकरणका अनुसार यीमध्ये आगलागीबाट १३, हावाहुरीबाट ८, सर्पदंशबाट २, जनावर आक्रमणबाट ११ र लेक लागेर ११ जनाको मृत्यु भएको छ । यो तथ्यांकअनुसार तीन महिनामा विपद्बाट मात्रै ९० जनाको मृत्यु भइसकेको छ ।
बढी वर्षा हुने
यस वर्ष मनसुन सरदरभन्दा १५ दिनअघि १५ जेठ (२८ मे)मा नेपाल प्रवेश गरेको थियो । नेपाल प्रवेश गरेको २३ दिनपछि मात्र मनसुन देशभर फैलन पुगेको थियो ।
जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा सरदरभन्दा बढी पानी पर्ने र दिउँसोभन्दा रातमा पानी बढी पर्ने तथा गर्मीमा तापक्रम पनि औसतभन्दा बढी नै रहने पूर्वानुमान गरेको छ । विपद्का घटनामा छिटो र प्रभावकारी प्रतिकार्यका लागि प्राधिकरणका कार्यकारी प्रमुखको संयोजकत्वमा ‘मनसुन प्रतिकार्य कमान्ड पोस्ट’ गठन गरिएको छ । समितिले राजमार्गहरूमा आउनसक्ने सम्भावित अवरोध हटाउन आवश्यक हेभी इक्वीपमेन्ट २४सै घण्टा तयारी अवस्थामा राख्ने, मनसुन अवधिभर बाढी, पहिरो, भारी वर्षा, पानीको उच्च बहावका कारण सडक र राजमार्गको यात्रामा हुने जोखिमलाई ध्यान दिँदै आवश्यकताअनुसार सवारीसाधन सञ्चालनमा रोक लगाउन ७७ वटै जिल्ला सुरक्षा समितिलाई निर्देशन दिइसकेको बताइएको छ ।
नेपालमा विगत १० वर्षको अवधिमा मनसुनजन्य विपद्का घटना तीव्र रूपमा बढेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांकअनुसार २०७२ सालदेखि २०८१ चैतसम्म मनसुनजन्य विपद्का घटनामा परी २ हजार ३ सय १७ जनाले ज्यान गुमाएका छन् ।
यस अवधिमा मनसुनसँग सम्बन्धित बाढी, डुबान, भूक्षय, भारी वर्षा, चट्याङ र आकस्मिक बाढीका कारण ८ हजार ४ सय १८ विपद्का घटना भएका छन् । ती घटनाबाट ५६ हजार ७ सय ५ परिवार प्रभावित भएका छन् । यसैगरी, ३६ हजार ४ सय ७९ घर, १ सय ९५ पुल र १ हजार ३ सय ४६ गोठमा क्षति पुगेको छ ।
२०८१ सालको मनसुनजन्य विपद्को घटनाबाट कुल ४ सय ९५ जनाले ज्यान गुमाएका थिए । गत वर्ष पहिरोमा परी ३ सय ४४, बाढीका कारण ९१, भारी वर्षाका कारण आठ र चट्याङका कारण ५२ जनाले ज्यान गुमाएको प्राधिकरणको तथ्यांक रहेको छ ।
मौसम विज्ञान विभागले यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरिसकेको छ । यस मनसुन ऋतुमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना छ । कर्णाली प्रदेशको पूर्वी भू–भाग, लुम्बिनीको उत्तरी भू–भाग र गण्डकीका अधिकांश भू–भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत छ । सुदूरपश्चिम प्रदेशको दक्षिणी भू–भाग, लुम्बिनीको पश्चिमी भू–भाग, गण्डकीको उत्तर–पूर्वी भू–भाग, बाग्मती र कोशी प्रदेशको उत्तरी भू–भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको छ ।
यसैगरी, मधेश प्रदेशका पूर्वी तथा दक्षिणी भू–भागमा सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ ।
२० लाख मानिस प्रभावित हुने
प्राधिकरणले यस वर्ष मनसुनजन्य विपद्का कारण करिब २० लाख मानिस प्रभावित हुने आँकलन गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार गरेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२ ले यस्तो आँकलन गरेको हो ।
रसुवागढी बाढीमा १० को मृत्यु, १९ बेपत्ता
मंगलबार रसुवागढीमा आएको बाढीबाट १० जनाको मृत्यु भएको छ । अझै १९ जना बेपत्ता रहेका छन् । विपद् प्राधिकरणका अनुसार बाढीले २४ वटा ट्रक बगाएको छ । ३५ वटा इलेक्ट्रिक गाडी र ६ वटा सिनो ट्रक बगाएको छ ।
यसैगरी, सो बाढीका कारण दुईवटा पुल बगेका छन् भने १६ किलोमिटर सडक बगाएको छ । बाढीले तीनवटा जलविद्युत् आयोजनामा पनि क्षति पुगेको छ । साथै, रसुवागढीस्थित ड्राइपोर्टमा पनि क्षति पुगेको छ । रसुवा बाढीबाट सातवटा चौपायाको पनि मृत्यु भएको छ ।
रसुवागढी नाका सञ्चालन गर्न चीनसँग समन्वय गरिने
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले बेपत्ता स्वदेशी र विदेशी व्यक्तिको खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।
परिषद्का अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको परिषद्को १८औं बैठकले नेपाल–चीन जोड्ने मितेरी पुल बगाई आवागमन बन्द भएकाले पुल र सडक पुनर्निर्माण गरी रसुवागढी नाका सञ्चालन गर्न परराष्ट्र मन्त्रालयमार्फत मित्रराष्ट्र चीनसँग समन्वय गर्ने निर्णय पनि गरेको छ ।
बैठकले सडक पूर्वाधार, भन्सार, अध्यागमन, जलविद्युत् आयोजनाका पूर्वाधारको शीघ्र मर्मत गरी सञ्चालनको व्यवस्था मिलाउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको छ । साथै, व्यवसायीका कन्टेनर, सवारीसाधन र अन्य सामग्रीको क्षतिको बिमालगायतका अन्य प्रक्रियामा सहजीकरणको व्यवस्था मिलाउने बैठकले निर्णय गरेको छ ।
परिषद्ले विपद्का कारण पहिचान गर्न आवश्यक अध्ययनका लागि मित्रराष्ट्र चीनको सरोकारवाला निकायसँग समन्वयको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय पनि गरेको छ ।
प्रधानमन्त्री ओलीले चीनसँगको मुख्य नाका अबरुद्ध भएकाले वैकल्पिक नाकाहरूको सञ्चालनका लागि आवश्यक तयारी गर्न निर्देशन दिएका थिए ।
परिषद्ले मृतक र बेपत्ताका परिवारलाई प्रचलित कानुनअनुसार तत्काल राहत उपलब्ध गराउने व्यवस्था गृह मन्त्रालयले मिलाउने र घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने निर्णय गरेको छ ।
रसुवागढीबाट ११ महिनामा ८२ अर्बको व्यापार
चीनसँग व्यापार हुने प्रमुख नाकाका रूपमा रहेको रसुवागढीबाट मात्रै ११ महिनामा ८२ अर्ब रुपैयाँको कारोबार भएको थियो । रसुवागढीको पुल बगाएसँगै र सुक्खा बन्दरगाहमा क्षति पु¥याएसँगै तातोपानी नाका एक मात्र विकल्पका रूपमा रहन गएको छ । तातोपानीमा पनि गत वर्षको बाढीले क्षति पु¥याएका कारण ठाउँठाउँमा राजमार्ग अवरुद्ध अवस्थामा रहेको छ ।
यस नाकाबाट चालू आर्थिक वर्षको जेठसम्ममा ८० अर्ब ९१ करोड ४८ लाख रुपैयाँको सामान आयात भएको छ भने १ अर्ब ९६ करोड १४ लाख रुपैयाँको निर्यात भएको छ । रसुवागढीमा सन् १९६४ मा बनेको मितेरी पुल २०७२ सालको भूकम्पमा क्षतिग्रस्त भएपछि अर्काे पुल निर्माण गरिएको थियो ।
रसुवागढी नाकाले मुलुकको कुल व्यापारको ५ प्रतिशत हिस्सा ओगट्ने गर्छ ।
प्राधिकरणका चारवटा आयोजनामा क्षति
मंगलबारको बाढीले रसुवागढी जलविद्युत् आयोजनाको हेडवर्क पूर्ण रूपमा क्षति भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
यसैगरी, चिलिमे जलविद्युत् आयोजनाको टेलरेसबाट पानी छिरेको छ भने त्रिशूली–३ए जलविद्युत् आयोजनाको ड्याम साइडका दुईवटा गेटमा क्षति पुगेको छ ।
यसैगरी, त्रिशूली ३बी हब सबस्टेसनमा खोलाले धार परिवर्तन गरी सबस्टेसनभित्र बाढी छिरेको र हालसम्म १३२ केभीको बेलगायतका संरचनामा क्षति पु¥याएको छ ।
त्रिशूली करिडोरको रसुवागढी, त्रिशूली ३ए, देविघाट, त्रिशूलीलगायत निजी क्षेत्रको अपर मैलुङ टाडी जलविद्युत् आयोजना गरी लगभग २ सय ५० मेगावाट विद्युत् प्रणालीबाट विच्छेद भएको थियो ।
(Visited 4 times, 1 visits today)
