मध्यपूर्वमा रहेका आफ्ना नागरिकलाई तुरुन्तै देश छोड्न अमेरिकाको चेतावनी



प्रकाशित मिति : १८ फाल्गुन २०८२, सोमबार

मध्यपूर्वमा रहेका आफ्ना नागरिकलाई तुरुन्तै देश छोड्न अमेरिकाको चेतावनी

अमेरिकाले मध्यपूर्वमा रहेका आफ्ना नागरिकहरूलाई तुरुन्तै देश छोड्न चेतावनी दिएको छ। अमेरिकी विदेश मन्त्रालयले मध्यपूर्वका विभिन्न देशहरूमा रहेका आफ्ना नागरिकलाई “गम्भीर सुरक्षा जोखिम” का कारण ती देशहरू तत्काल छाड्न आग्रह गरेको हो।

बढ्दो क्षेत्रीय तनावका बीच अमेरिकाले आफ्ना नागरिकका लागि यस्तो ‘ट्राभल एड्भाइजरी’ जारी गरेको छ। विदेश मन्त्रालयले विशेष सतर्कता अपनाउन आग्रह गर्दै त्यहाँस्थित दूतावासहरूलाई समेत सुरक्षा व्यवस्था कडा बनाउन निर्देशन दिएको छ।

स्रोतहरूका अनुसार साउदी अरेबियाको राजधानी रियादस्थित अमेरिकी दूतावासमा दुईवटा शंकास्पद इरानी ड्रोनले आक्रमण गरेका छन्। प्रारम्भिक विवरणअनुसार उक्त घटनामा कुनै मानवीय क्षति भने भएको छैन।

त्यसैगरी, इजरायली सेनाले लेबनानको राजधानी बेरुतमा हिज्बुल्लाहका कमान्ड सेन्टर र हतियार भण्डारण स्थलहरूलाई लक्षित गरी आक्रमण गरिरहेको जनाएको छ। हिज्बुल्लाहले इजरायलको एक सैन्य आधारमा मिसाइल र ड्रोन प्रहार गरेपछि इजरायलले यो जवाफी कारबाही गरेको हो। उक्त आक्रमणलाई हिज्बुल्लाहले इरानका सर्वोच्च नेताको हत्याको “बदला” का रूपमा वर्णन गरेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमणको “ठूलो लहर अझै आउन बाँकी रहेको” बताएका छन्। यसले क्षेत्रीय तनाव थप चर्कने संकेत गरेको छ। मध्यपूर्व क्षेत्रमा बढ्दो सैन्य गतिविधि र प्रतिशोधात्मक कारबाहीका कारण अवस्था थप अस्थिर बन्दै गएको छ। अन्तर्राष्ट्रिय समुदायले भने सबै पक्षलाई संयमता अपनाउन र कूटनीतिक समाधान खोज्न आग्रह गरिरहेका छन्।





Source link

Leave a Comment