मधेसमा बढ्दैछन् चोरी लुटपाटदेखि जघन्य हत्याका घटना

मधेसमा बढ्दैछन् चोरी लुटपाटदेखि जघन्य हत्याका घटना


१५ असार, जनकपुरधाम । बाराको कलैयास्थित रामराजा मोहनविक्रम साह बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको गोली प्रहार गरेर जेठ ३२ गते हत्या भयो । साँझ सवा पाँच बजेतिर पुख्र्यौली घर आदर्शको तवाल गाउँपालिका-२ खजुरियाबाट मोटरसाइकलमा कलैया फर्किने क्रममा बतरा गाउँ नजिक अज्ञात समूहले गोली प्रहार गरेको थियो ।

दुई वटा मोटरसाइकलमा आएका चार जनाले बाटो छेकेर पिँठ्यूमा गोली प्रहार गरी भागेका थिए । गम्भीर घाइते कुशवाहाको उपचारका क्रममा वीरगञ्जस्थित ब्योधा अस्पताल साँझ ७ः१५ तिर मृत्यु भएको भयो ।

एकसातापछि बारा प्रहरीले घटनामा संलग्न रहेको आरोपमा सातजनालाई पक्राउ गरी ११ असारमा सार्वजनिक गरेको छ ।

बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेका अनुसार पक्राउ पर्नेहरुमा आदर्शकोतवाल २ खजुरियाका अवधलाल प्रसाद कुशवाहा, चांदसी प्रसाद कुशवाहा, चुल्हाई भन्ने श्रवण कुमार साह, राधेश कुमार पटेल, विनोद राउत कुर्मी, कलैया उपमहानगरपालिका १० मटिअर्वाका आम्रपाली भन्ने ब्रहमदेव राम, करैयामाई गाउँपालिका पिपराका मोतिलाल चौधरी छन् ।

उनीहरुको साथबाट साथबाट तीनवटा मोटरसाइकल, ६ राउण्ड गोली र बिभिन्न मोवाईल, ल्यापटप र नेपाली तथा भारतीय सिमकार्डहरु बरामद भएको छ ।

जग्गा विवादको कारणले कुशवाहाको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धान छ । ‘घटनाको प्रमुख कारण मृतक कुशवाहा र पक्राउ परेका प्रतिवादीहरुबीच जग्गा विवाद देखिएको छ । यसअघि पनि विवाद भएको देखिन्छ । खोजी गर्दै छौं’ डिएसपी न्यौपाने भन्छन् । पक्राउ परेकाहरुमाथि ज्यान तथा हातहतियार खरखजाना मुद्दामा कारबाही प्रक्रिया अघि बढाएको छ ।

****

१७ वैशाखको बिहान सप्तरीको सप्तकोशी नगरपालिका १ फत्तेपुर स्थित नेपाल बैंक लिमिटेड शाखा कार्यालयका सुरक्षा गार्ड पर्शुराम फुँयालको हत्या भयो । बिहान ६ बजे रक्ताम्य अवस्थामा मृत फेला परेका थिए, फुँयाल ।

सप्तरीका प्रहरी प्रवक्ता डिएसपी ढुंडीराज न्यौपानेका अनुसार सिसीटिभी फुटेजबाट बैंक लुट्ने लुटेराको समूहले बिहानै ३ः१८ बजेतिर उनको घाँटीमा खुकुरी प्रहार गरी हत्या भएको थियो । फुँयाल सप्तकोशी नगरपालिका २ का स्थायी बासिन्दा थिए ।

लुटेराले बैंक लुट्ने उद्देश्यले नै सुरक्षागार्ड फुँयालको हत्या भएको प्रहरीको निष्कर्ष छ । हत्यामा संलग्न आरोपमा सप्तकोशी नगरपालिका ५ का चन्द्रबहादुर सुवेदीलाई प्रहरीले सार्वजनिक गरेको थियो ।

उनलाई चितवनको लोथरबाट पक्राउ गरेर सप्तरी ल्याइएको छ । आरोपित व्यक्ति अवकाशप्राप्त सशस्त्र प्रहरी हुन् । मृतक सुरक्षा गार्ड भने पूर्व सैनिक थिए । सुवेदीमाथि ज्यान मुद्दा दायर भएको छ । जिल्ला अदालत सप्तरीको आदेशमा उनी थुनामा छन् ।

****

२६ चैत मध्याहन्न १२ बजेतिर जनकपुरधामको विश्वकर्माचोक स्थित व्यस्त सडकमा छुरा प्रहार गरी २० वर्षीय प्रिन्स महासेठको हत्या भयो । महोत्तरीको एकडाडा गाउँपालिका ३ भटुलिया घर भई हाल जनकपुमा बस्दै आएका पिन्सलाई उनकै साथी रोशन झाले डेराबाट बोलाएर लगेका थिए ।

दिउँसो १२ बजेतिर व्यस्त सडकमा उनलाई एक युवकले फिल्मी शैलीमा लखेटेर छातीमा छुरा घोपे । घटनास्थल नजिकैबाट तत्कालै प्रहरीले छुरा प्रहार गर्ने स्थानीय गणेश साहका छोरा वर्ष २४ वर्षीय अर्जुन कुमार साहलाई पक्राउ गर्यो । अर्जुन लागूऔषध सेवनकर्ता हुन् ।

धनुषा प्रहरीका अनुसार अर्जुन त्यसअघि पनि विभिन्न अपराधिक घटनामा संलग्न छन् । उनी पुर्पक्षका लागि जेल बसेर केही महिना अघि मात्र छुटेका थिए । प्रिन्सलाई छुरा प्रहार गरी हत्या गररेका उनीमा कुनै पश्चाताप नदेखिएको प्रहरी बताउछ ।

प्रिन्सका बुबाको चारवर्षअघि कोरोना संक्रमणले निधन भएको थियो । त्यसपछि आमा सुमित्राले जनकपुरको जिरोमाइलमा फलफूल बेचेर घर चलाइरहेकी छन् । दुई छोरा र दुई छोरीकी आमा सुमित्रा घरको १५ लाख ऋण पूर्णले थिचिएकी छन् । जिम्मेबारी सम्हाल्न छोरा प्रिन्स दुबई जाने तयारीमा थिए । आश लाग्दा छोरा मारिएपछि उनी गहिरो चिन्तामा छिन् । आरोपितले जेलबाट बाहिरिए सबैलाई सिध्याइदिने धम्की दिएपछि परिवार झन् त्रसित छ ।

‘उसले मेरो छोरा मारेकोमा अलि पनि ग्लानी छैन । बाहिर आए अर्को छोरासहित सबैलाई मारिदिन्छु । हामी असुरक्षित महसुस गरिरहेका छौं’ आमा सुमित्रा सुनाउँछिन् । अर्जुन जिल्ला अदालत धनुषाको आदेशमा पुर्पक्षका लागि जेल चलान भइसकेका छन् ।

****

गत जेठ ३१ गते साँझ ६ बजेतिर महोत्तरीको गौशाला नगरपालिका-११ स्थित मरहा खोलामा स्थानीय भरतपुर बस्ने ३० वर्षीय विनय कुमार महतोमाथि गोली प्रहार भयो । मोटरसाइकलमा गौशाला बजार जान लागेका बेला घाँटीमा लगाएको सुनको सिक्री लुट्न मोटरसाइकलमा आएका हतियारधारीले प्रयास गरेका थिए ।

मधेसमा बढ्दैछन् चोरी लुटपाटदेखि जघन्य हत्याका घटना
महोत्तरीमा गोली प्रहार गरेको आरोपमा पक्राउ परेकाहरू ।

त्यस क्रममा हतियारधारीसित विनयको घम्साघम्सी भएको थियो । अन्तमा हतियारधारीले पाँचपटक पेस्तोल चलाएका थिए । एक गोली कम्मरमा लागेर विनय घाइते भए । सिक्री लुटेर लुटेरा भागेका थिए ।

महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल जयसवारका अनुसार घटनास्थलमा पाँच राउण्ड गोली लुटेराले चलाएका थिए । जस मध्ये एक गोली विनयको कम्मरमा लागेको थियो । दुईवटा खोका र नचलेको गोली घटनास्थलमा फेला परेको थियो । उपचार पश्चात विनय समान्य अवस्थामा फर्केका छन् ।

घटनामा संलग्न मध्ये एकजना केही दिन पश्चात हतियारसहित पक्राउ परेका छन् भने एकजना अझै फरार छन् । तिव्ररुपमा खोजी गरिरहेको डिएसपी जयसवार बताउँछन् । उनका अनुसार गोली चलाउनेहरु पेशेवर लुटेरा हुन् ।

****

यी चारघटना उदाहरण मात्र हुन् । मधेश प्रदेशमा सृंखलाबद्ध रुपमा जघन्य अपराधका घटनाहरु हुने क्रम बढेको छ । बढ्दो अपराधको कारण मान्छे असुरक्षित महसुस गर्न थालेका छन् । चोरी लुटपाटका घटनाहरु रोकिएका छैनन् ।

दिनप्रतिदिन लागूऔषध ओसारपसारको क्रम बढ्दै छ । लागूऔषध सेवनकर्ता पनि बढ्दै छन् । तिनीहरुले मसिना बिबादमा पनि हत्या नै गर्नेसम्मको अपराध मौलाएको छ । वर्षेनी मधेश प्रदेशमा हत्या जस्तो जघन्य अपराध तथा लुटपाटको ग्राफ बढ्दो छ ।

अपराधको डरलाग्दो ग्राफ

नेपाल प्रहरीकै तथ्यांक अनुसार मधेश प्रदेशमा चालु आर्थिक वर्षको जेठ मसान्तसम्म १०२ जनाको हत्या भएको छ । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले उपलब्ध गराएको तथ्यांक अनुसार ५१ जना पुरुष, ३९ जना महिला, ७ जना बालिक र ५ जना बालक छन् ।

चालु आर्थिक वर्षमा सबभन्दा बढी सिरहा र सप्तरीमा १६-१६ जनाको हत्या भएको छ । सबभन्दा कम महोत्तरी र सर्लाहीमा ८-८ जनाको हत्या भएको हो । सिरहामा त वैशाख महिनामा मात्रै ५ जनाको हत्या भएको तथ्यांक छ ।

यस्तै धनुषामा १५ जना, रौतहटमा १४ जना, बारामा १३ जना, पर्सामा १२ जनाको हत्या भएको छ । यसअघि गत आर्थिक वर्ष २०७९।०८० मा मधेश प्रदेशमा ११५ जनाको हत्या भएको थियो भने आ.व. २०७८।०७९ मा १०४ जनाको हत्या भएको प्रहरीको तथ्यांकमा उल्लेख छ ।

हत्याका प्रायः घटना जग्गाजमिन र आर्थिक लेनदेनको बिबादले आवेशमा आएर बढी भएको मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एसपी सुवासचन्द्र बोहरा बताउँछन् ।

‘जग्गा जमिन आपसी लेनदेनको बिबाद हुने र त्यस क्रममा आवेगमा आएर हत्या हुने घटना बढी छ । पूर्वयोजना भएको देखिदैन’ उनी भन्छन् ‘रिसिईबीको कारणले पनि हत्या हुन्छन् । मधेशमा हुने हत्याको घटनाहरु आकस्मिक प्रकृतिका छन् ।’

अपराध बढ्नुमा अर्को कारण भारतसँगको खुल्ला सीमा पनि हो । मधेशमा जनचेतना अभावले हत्या घटना बढ्ने गरेको प्रहरीको बुझाइ छ । ‘मान्छेमा ज्ञान छ भने मैले आक्रमण गर्नु हुन्न है । यसको कारण मैले यो भोग्नु पर्छ भन्ने हुन्छ । यो चेतनाले घटना त्यो तहसम्म पुग्दैन’ प्रवक्ता बोहरा भन्छन् ।

अपराध बढ्नुमा सम्भावित अपराधको विषयमा प्रहरीले सूचना नपाउनु प्रहरी अधिकारीहरुकै तर्क छ । मधेशमा खुल्ला सीमाको कारण सुरक्षा चुनौती छ । तर खुल्ला सीमाकै लाभ उठाउन मधेशमा प्रायः आउने प्रहरी अधिकृतको प्राथमिकता पर्नुले अपराधिक गतिविधिले स्पेश पाएको एक प्रहरी अधिकारी बताउँछन् ।

ती प्रहरी अधिकारी बुझाइमा धरातल बुझेका घुमुवा प्रहरीलाई नयाँ हाकिम आउने बितिकै परिवर्तन गर्नुले पनि अपराध बढेको छ ।

सदनसम्म छलफल

मधेशमा बढ्दो अपराधको विषय प्रतिनिधिसभामा उठ्न थालेको छ । गत असार २ गते नेकपा एमालेका सांसद अच्युतप्रसाद मैनालीले मधेशका विभिन्न जिल्लाहरूमा दिनदहाडै हत्याका श्रृंखलाहरू बढ्दै गएकोमा सरकारको ध्यानाकर्षण गराएका थिए ।

अपराधिक घटना बढ्नुमा खुल्ला सीमा रहेको उनको भनाइ थियो ‘सुटर भारतबाट नेपालमा आउने, खुला सीमा, हातहतियारहरूको ओसारपसारले गर्दा मधेश खासगरी सीमा क्षेत्रका बासिन्दा असुरक्षित र त्रसित भएका छन ।’

सांसद मैनालीको भनाइमा मधेशमा एक दशकअघि जुन राजनीतिक आवरणमा हत्या र हिंसाका श्रृंखला भएको थियो, त्यसरी नै पुनः बढ्ने अवस्थामा रहेको छ । उनले प्रतिनिधिसभामा भनेका थिए, ‘यसको अविलम्व नियन्त्रण, अपराधीलाई कानूनको दायरामा ल्याउनको लागि र सीमा पारीको प्रशासनसँग पनि समन्वय गरेर प्रशासनले सक्रियता अपनाओस् ।’

जनचेतना आवश्यक

पछिल्लो समय मधेशमा हत्या जस्ता अपराधिक घटन मौलाउनुमा खुल्ला सीमा, जनचेतना अभाव, आपसी रिसईवी लगायतका कारण रहेको सुरक्षाविद्को विश्लेषण छ । नेपाल प्रहरीका पूर्व एआइजी विजय कायस्थ मधेशमा अपराध बढ्नुमा खुल्ला सीमालाई पहिलो कारण मान्छन् । उनको विश्लेषणमा जनचेतना अभाव, सूचनामा प्रहरीको पहुँच, जेलबाट छुटेका अपराधी चरित्रका व्यक्तिमाथि निगरानी नहुनु हो ।

‘अपराधमा बन्दुक गोली जस्ता हतियारको प्रयोग बढ्नुमा खुल्ला सीमा नै कारण हो । आपसी रिसईबी त छँदै छ । जनचेतना अभाव पनि कारण हो’ कायस्थ भन्छन् ‘कारागारबाट छुटेका अपराधी चरित्रको व्यक्तिमाथि निगरानी हुँदैन । तिनीहरुले पनि अपराध गरिरहेका हुन्छन् । जेल प्रशासन र प्रहरीबीच समन्वयको अभाव छ ।’

अपराध न्यूनिकरणको गर्न जनता जागरुक हुनुपर्ने र काहीकतै शंकास्पद गतिविधि देखे तत्कालै प्रहरीलाई खबर गरि हाल्नुपर्ने उनको सुझाव छ ।

‘आम नागरिक सजग नभएसम्म घटना न्यूनिकरण गर्न समस्या हुन्छ । आम नागरिकको सहयोगमा अरु कैयौ घटनामाथि छानबिन भएको छ । जनता र प्रहरीविचको सहकार्य जारी हुनुपर्छ’ उनी भन्छन् ।

सूचनाको पहुँचमा राज्यको उचित लगानी, ठाउँठाउँमा सिसीटिभी क्यामेरा जडान, प्रहरीको सेवासुविधा थप गर्न उनी सुझाउँछन् । उनी भन्छन्, ‘घटना न्यूनीकरणको लागि सूचना आउनु पर्‍यो । तर कसैले फोकटमा आफ्नो ज्यान जोखिममा राखेर किन सूचना दिन्छन् । त्यसमा राज्यको लगानी हुनुपर्छ ।’





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School