News Summary
Generated by OK AI. Editorially reviewed.
- मधेश प्रदेशका ३२ निर्वाचन क्षेत्रमा मधेशवादी दलका कुनै पनि उम्मेदवारले जित हासिल गर्न सकेका छैनन्।
- मधेशवादी दलहरूले समानुपातिकमा पनि थ्रेसहोल्ड कटाउन नसक्दा प्रतिनिधि सभामा मधेशवादी दलको प्रतिनिधित्व शून्यमा झरेको छ।
- जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत दुवैले आफ्नो निर्वाचन क्षेत्रबाट हार व्यहोरेका छन्।
२५ फागुन, काठमाडौं । मधेश प्रदेशका ३२ मध्ये कुनै पनि क्षेत्रमा मधेशवादी दलका उम्मेदवार विजयी हुन सकेनन् । यसपटक जनता समाजवादी पार्टी (जसपा) नेपालले ९४, जनमत पार्टीले ६१ र राष्ट्रिय मुक्ति पार्टीले ३३ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको थियो ।
प्रत्यक्षमा एउटै सिट जित जित्न नसकेको मधेशवादी दलहरूले समानुपातिकमा पनि ‘थ्रेसहोल्ड’ कटाउन सकेनन् । जसले गर्दा अबको प्रतिनिधि सभा मधेशवादी दल विहीन हुने पक्का भएको छ ।
पछिल्लो ३४ वर्षमा पहिलो पटक मधेशवादी दलको प्रतिनिधित्व शून्यमा झरेको हो । २०४८ सालमा नेपाल सद्भावना पार्टी (नेसपा)ले ६ सिट जितेर राष्ट्रिय दल बनेको थियो । यो नै मधेशवादी दलको औपचारिक संसद प्रवेश थियो । त्यस यताका हरेक निर्वाचनमा मधेशवादी दलहरूले प्रतिनिधित्व टुटेको थिएन ।
२०५ सदस्यीय प्रतिनिधि सभामा मधेशवादी दलले २०५१ मा ३ र २०५६ मा ५ स्थानमा जितेको थियो । २०६४ मा नेकपा (माओवादी)को पक्षमा जनलहर आएको बेला पनि ६०१ मध्ये ८३ सिट मधेशवादी दलले जितेको थियो । त्यतिबेला मधेशी जनअधिकार फोरम (मजफो) ले ५२, तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) ले २२ र सद्भावना पार्टीले ६ सिट जितेको थियो ।
२०७० मा प्रत्यक्षमै तमलोपाका ४, विजय गच्छदार नेतृत्वको मजफो (लोकतान्त्रिक)का ४, मजफो नेपालका २, सद्भावना पार्टीका १ र तराई मधेश सद्भावना पार्टी (तमसपा)का १ सांसद् थिए । ०७४ मा प्रत्यक्षमा राष्ट्रिय जनता पार्टी (राजपा)ले १७ र मजफोले १६ सिट जितेको थियो ।
त्यस्तै, २०७९ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले ४ र जनता समाजवादी पार्टी (जसपा) ७ सिट जितेको थियो ।
नेपाल सद्भावना पार्टी (नेसपा)का संस्थापक अध्यक्ष गजेन्द्रनारायण सिंहले २०४८ मा सप्तरी–२ बाट जितेर मधेशवादी दललाई संसद्मा पुर्याएका थिए ।
सिंह मात्र होइन यो क्षेत्रले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतलाई जिताएर पठाईसकेको छ ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र २०७९ को निर्वाचनमा पराजित भएको क्षेत्र सप्तरी–२ छाडेर यसपटक सप्तरी–३ बाट उठे । निर्वाचन क्षेत्र परिवर्तन गरेर उम्मेदवारी दिए पनि उनको पराजय यात्रा मात्र रोकिएन, प्राप्त मत पनि घट्यो ।
क्षेत्र परिवर्तन गर्दा दोस्रो स्थानमा आएका यादवले १५ हजार २३२ मत पाए । त्यतिबेला सप्तरी–२ बाट उठ्दा उनले १६ हजार ९७२ पाएका थिए ।
सम्भवतः यादव २०७९ मा दोब्बर मतले आफूलाई पराजित गरेका जनमत पार्टीका अध्यक्ष राउतसँग पुनः प्रतिस्पर्धा गर्न चाहँदैनथे । भलै, सप्तरी–२ बाटै उठेका राउतले पनि जित दोहोर्याउन सकेनन् ।
दश हजार मत कटाउन नसकेका राउत यसपटक तेस्रो स्थानमा खुम्चिए । अघिल्लो निर्वाचनमा उनले ३५ हजार भन्दाबढी मत पाएका थिए ।
सप्तरी–२ ले २०७४ सालमा भने यादवलाई २१ हजार भन्दा बढी मत दिएर जिताएको थियो ।
२०४८ र २०५१ सालमा सप्तरी–२ बाट निर्वाचित भएपछि गजेन्द्रनारायण सिंहले मधेशी समुदायका समस्यालाई केन्द्रमा राखेर काम गरे । राणा विरोधी आन्दोलनबाट राजनीतिक यात्रा शुरु गरेका गजेन्द्रनारायणले लामो समय कांग्रेस राजनीति गरे ।
२०४३ सालमा राष्ट्रिय पञ्चायत सदस्य भएका उनले २०४७ सालमा नेपाल सद्भावना पार्टी स्थापना गरे । त्यसपछि मधेशी समुदायको न्यायोचित प्रतिनिधित्व, नागरिकता, समावेशीता, संघीयता जस्ता मुद्दालाई प्रखर रुपमा उठाए । २०५८ मा निधन भएका गजेन्द्रनारायण आजपर्यन्त मधेश राजनीतिका मसिहाका रुपमा परिचित छन् ।
गजेन्द्रनारायणले स्थापना गरेको नेसपा अहिले छिन्नभिन्न भइसकेको छ । मधेशवादी दलका नेताहरूप्रति मतदाताको यतिविधि विकर्षण किन भयो त ?
यसको चर्चा नेसपाबाटै गरौं । निर्वाचन आयोगमा सिंहले स्थापना गरेकै जस्तो सुनिने एउटा पार्टी दर्ता छ, नेपाल सद्भावना पार्टी । चुनाव चिह्न पनि गजेन्द्रनारायणकै पालाको छ, पञ्जाछाप ।
यो पार्टीका अध्यक्ष अनिलकुमार झा पनि गजेन्द्रनारायणकै चेला हुन् । अनिल आफूलाई गजेन्द्रनारायणकै अनुयायी भन्न पछि पर्दैनन् ।
२१ फागुनको निर्वाचनमा अनिलले नेपाली कांग्रेसबाट उम्मेदवारी दिएर लज्जास्पद हार व्योहोरे । टिकट पाउने शर्तमा उम्मेदवारी दर्ताकै दिनमा उनी कांग्रेसमा लागेका थिए ।
शक्तिमा पुग्नकै लागि पार्टी र चुनाव चिह्न छाडेका अनिल दोस्रो स्थानमा पनि आउन सकेनन् । निर्वाचित उम्मेदवारले २९ हजार पाउँदा उनको गाछीमा ८ हजार मत पर्यो ।
‘अनिल झाहरूले यसरी एक थान सांसद् बन्नकै लागि पार्टी, चुनाव चिह्न र मधेशी जनताको मुद्दालाई तिलाञ्जली दिइरहने अनि जनताले मधेशवादी भन्दै जिताईरहनु पर्ने ?,’ मधेश राजनीति बुझेका एक विश्लेषक भन्छन्, ‘मधेशी दलको सिट नआएकोमा होइन आएको भए चाहिँ अचम्म हुन्थ्यो ।’
हुन पनि मतदाता कतिसम्म अनुग्रहित छन् भन्ने त अनिल झाले छोडिसकेको पञ्जाछापमा पनि समानुपातिकमा मत खसेको छ ।
गजेन्द्रनारायणकै अनुयायी भन्न रुचाउने राजेन्द्र महतो र उनको पार्टीलाई गठबन्धनले पनि जोगाउन सकेन । उनले अशोक राई नेतृत्वको जसपा र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीसँग तालमेल गरेर एकल चिह्न चकिया (जाँतो)बाट चुनाव लडेका थिए ।
तर चकिया न समानुपातिकमा चल्यो न प्रत्यक्षमा । सर्लाही–२ बाट उठेका महतो ५ हजार ९९२ मत ल्याएर चौथो स्थानमा खुम्चिए । महतो २०५६ सालामा गजेन्द्रनारायणको नेसपाबाट सांसद बनेका थिए ।
अब अर्को दृष्टात हेरौं, २०७९ मा सप्तरी–२ मा पराजित भएपछि जसपा नेपालका अध्यक्ष उपेन्द्रले उपनिर्वाचनबाट भए पनि सांसद बनेर छाड्ने उपाय खोजे ।
त्यसका लागि उनले आफूले सजिलै चुनाव जित्न सक्ने बारा–२ लाई खाली गर्न चाहे । त्यहाँबाट निर्वाचित रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति बनाएर पठाए । आपत्ति रामसहायप्रसाद उपराष्ट्रपति बनेकोमा होइन ।
प्रश्न उपेन्द्रको निर्णय र नियतको हो । नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)सँग गठबन्धन गरेका उनले महिलालाई मुलुकको उपराष्ट्रपति बन्ने अवसर गुमाए । जुन संविधानको मर्म र भावना विपरीत हो ।
त्यतिमात्र होइन, जनताले मतपत्रमा लगाएको स्वस्तिक छापको मसी नसुक्दै सांसद् बन्न जस्तोसुकै हर्कत गर्नु कुनै पनि दृष्टिले नैतिक राजनीति थिएन ।
मधेशवादी दलहरूले निर्वाचनका लागि व्यापक तयारी नगरेका होइनन् । उनले यसपटक महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी (जप्रपा) र वृषेशचन्द्र लाल अध्यक्ष रहेको तमलोपालाई पार्टी एकीकरण गरेका थिए ।
अघिल्लो पटक एक्ला–एक्लै लड्दा पनि जसपा नेपाल र लोसपाका उम्मेदवारहरूले चुनाव जितेका थिए । दुई पार्टीबाट १६ सांसद् निर्वाचित भएका थिए ।
तात्कालीन लोसपाका अध्यक्ष ठाकुरले ८३ वर्षमा पनि राष्ट्रिय सभा सदस्य नबनी छाडेनन् । गत पुसमा उम्मेदवारी दर्ता गर्न ठाकुरलाई कार्यकर्ताले दायाँबायाँ समातेर जनकपुरस्थित निर्वाचन कार्यालयमा पुर्याएको दृश्य साँच्चै हेर्न लायक थियो । ठाकुर कार्यकर्ताको साहराबिना सिधा उभिन समेत नसकेको भिडिओ सार्वजनिक भएको थियो ।
ठाकुरलाई आफू मात्र सांसद बनेर धित मरेनछ क्यारे ! छोरी मिनाक्षी ठाकुरलाई महोत्तरी–३ बाट उम्मेदवार बनाए । पाँचौं स्थानमा आएकी उनले जमानत जोगाउन सकिनन् । यो क्षेत्रबाट निर्वाचित उम्मेदवारले ३२ हजार पाउँदा मिनाक्षीले चार हजार कटाउन सकिनन् ।
२०७० सालमा हारेर पनि सांसद् बनेको थिए, ठाकुर । त्यतिबेला सर्लाही–६ बाट उठ्दा उनी तेस्रोस्थानमा आए । त्यसलगत्तै मन्त्रिपरिषद्बाट मनोनित भएर संविधानसभामा प्रवेश गरे । ६०१ सदस्यीय संविधानसभामा २६ जना मन्त्रिपरिषद्बाट मनोनयन गर्ने प्रावधान थियो ।
आफ्नै सम्धिनीलाई सांसद् बनाएकोमा पनि ठाकुरको आलोचना भयो । उनले सम्धी उमाकान्त झालाई महामन्त्री र सम्धिनी इन्दिरा झालाई सांसद बनाएका थिए ।
आफन्तलाई काखी च्याप्ने ठाकुर एक्ला नेता भने होइनन् ।
नातावाद र कृपवादको विरोध गर्छु भनेर राजनीतिमा आएका सीके राउतले सप्तरी–१ मा आफ्नै सहोदर दाजु जयकान्त राउतलाई उठाए । यसअघि जयकान्तलाई सीकेले राष्ट्रिय योजना आयोगको सदस्य बनाएका थिए । गत बैशाखमा केन्द्रीय समितिलाई जानकारी समेत नदिएर जयकान्तलाई रातारात पार्टीको राष्ट्रिय परिषद् अध्यक्ष बनाएको भन्दै पार्टीमा चर्को विरोध भएको थियो ।
आफ्नै श्रीमतीलाई सांसद् बनाएको भन्दै राजकिशोर यादव, अनिल झा, राजेन्द्र महतो, शरतसिंह भण्डारी, अशोक राई, रेशम चौधरीहरूको आलोचना भयो । उपेन्द्र यादवले २०७९ को निर्वाचनमा अमरेन्द्र यादवलाई विराटनगरको उपमेयरमा उठाएका थिए ।
नेपोवेवी ह्यासट्यास भाइरल हुने जमानामा मधेशमा छाताले किन जोगाएन ? हर्न किन बजेन ? चकिया किन घुमेन ? भन्न प्रश्न आफैं प्रश्नको घेरामा छैन र ?
