मुलुक संघीयतामा गएपछि स्थानीय तहमा अहिले दोस्रो कार्यकाल चलिरहेको छ। स्थानीय सरकारको प्रमुख र उपप्रमुख मध्ये एक पदमा र प्रत्येक वडामा दुई महिला हुनै पर्ने संवैधानिक व्यवस्था लागु भएको पनि यो दोस्रो कार्यकाल हो। पहिलो कार्यकाल मुलुकभर नै नियमावली बनाउन र कामबारे बुझ्दैमा बितेको चर्चा पनि व्यापक थियो। तर दोस्रो कार्यकालपछिको यो अवधिमा भने केही स्थानीय तहले आफूलाई अब्बल सावित गरिसकेका छन् केही औसतमा छन् अनि केही भने अझै सिक्ने प्रक्रियामै छन्।
पहिलो कार्यकालमा विशेष गरेर महिला प्रमुख र उपप्रमुख भएका स्थानीय तह श्रीमानले चलाएको आरोप र चर्चा व्यापक थियो। विशेष गरेर मधेश प्रदेशका विभिन्न स्थानीय तहमा यो आरोप खेप्ने महिला जनप्रतिनिधिहरू बढी नै थिए। तर त्यही समयमा पनि राम्रा काम गर्ने महिला प्रतिनिधि नभएका होइनन्। पहिलो कार्यकालमा राम्रो काम गरेकाले दोस्रो कार्यकालमा पनि मेयरको चुनाव जितेकी रौतहटको मौलापुरकी रिना साह एक उदाहरण हुन्। त्यस्तै पर्साकी ममता महतो थारू पनि दोस्रो कार्यकाल उपमेयर बनेकी व्यक्ति हुन्।
महिला प्रमुख र उपप्रमुख भएकाले नगरमा महिला विकासका मुद्दा प्राथमिकतामा परेको देखिन्छ। बजेट अन्यत्रभन्दा महिला मैत्री देखिन्छन्। स्थानीयवासीले पनि राम्रो काम गरेको भनेर उनीहरूको प्रशंसा गरेको पाइन्छ।
यहाँ मधेशका विभिन्न स्थानीय तहमा अब्बल काम गर्ने चार महिला जनप्रतिनिधिको चर्चा गर्ने प्रयास गरेका छौं।
रीना २२ वर्षदेखि राजनीतिमा सक्रिय छिन्। जनताका बीचमा रहेर अनेक समस्याको समाधान गर्न सक्ने र समाजलाई सही दिशा दिन सक्ने मान्छे नै नेता हो भन्ने उनलाई राम्रैसँग हेक्का छ। आफूले दुई कार्यकालमा त्यही काम गर्ने कोसिस गरेको उनको दाबी छ।
चुनाव जितेर पालिका चलाएको सात वर्षमा आफ्नो नगरमा उनले देखेको सबैभन्दा ठूलो परिवर्तन हो, हर क्षेत्रमा महिलाको बाक्लो उपस्थिति। आफूले महिलाका मुद्दामा दिएको प्राथमिकताका कारण पनि उनीहरूलाई घरको चौघेरामात्र सीमित नभएर हरेक ठाउँमा उपस्थिति जनाउन सजिलो भएको रिनाको दाबी छ।
सात वर्ष अघिसम्म गाउँमा ५० प्रतिशतभन्दा बढी महिलाहरुले चुल्हो प्रयोग गर्थे। धुवाँका कारण महिलाहरूलाई विभिन्न रोग लाग्थ्यो। उपचारमा महिलाको पहुँच कम थियो। आफू निर्वाचित भएपछि रिना सबैभन्दा पहिला भन्सालाई धुवाँमुक्त बनाउने अभियानमा जुटिन्।घरघरमा ग्यास चुलो बाल्न प्रेरित गरिन्। उनी नेतृत्वको पालिकाले गोबरग्यास बनाउन आर्थिक सहयोग गर्ने र एलपी ग्यास किन्न अनुदान दिनेगरी अभियान सुरु गर्यो।
दोस्रो काम हो, महिलालाई स्वरोजगार बनाउने कार्यक्रम लागु गर्नु। यो कार्यक्रम अन्तर्गत प्रत्येक वर्ष करिब १ हजार महिलाहरूलाई कुनै न कुनै वस्तु उत्पादन गर्ने र तिनको बिक्री वितरण गर्ने तालिम दियो। सकेसम्म स्थानीय बजारमा खपत हुने सामग्री बनाए जस्तै मैनबत्ती, सर्फ, अगरबत्ती लगायतका बनाउन तालिम दिन्छन्।
त्यति मात्र होइन महिलालाई लक्षित गरेर आयआर्जन हुने खालका बाख्रा, विउबिजन वितरण जस्ता कृषिकार्यक्रम पनि लागु गरिन्।
उनी नेतृत्वको स्थानीय सरकारले महिला तथा बालबालिकालाई पोषणयुक्त खाना, सेनेटरी प्याड, राहत वितरण पनि गर्यो। महिला हिंसा, छुवाछुत, बालविवाह जस्ता सामाजिक कुरितिविरूद्धका अभियान पनि सञ्चालन गरेर समाज परिवर्तनको जग बसायो।
आफ्नो पालिकामा महिला मेयरले चुनाव जिते यता महिलाका लागि धेरै काम भएको मौलापुरकी स्थानीय महिला गंगा देवीले बताइन्।
‘पुरुष मेयर भएको भए महिलाका सुख दुख कहाँ बुझ्थे र? महिला भएकाले महिलाका लागि धेरै काम गर्नुभएको छ,’ उनले भनिन्, ‘पहिला त राजनीतिमा महिलाको भोटको हाल्ने दिन मात्र काम हुन्छ जस्तो लाग्थ्यो। तर फरक रहेछ। महिनावारी हुँदा हामीले कस्तो कपडा प्रयोग गर्ने देखि सुत्केरी हुँदा के खानेसम्मको काम राजनीतिले गर्नुपर्ने रहेछ। चुलो बाल्ने देखि पैसा कमाउनेसम्मका कामबारे राजनितिले सोच्नुपर्ने रहेछ भन्ने थाहा भएको महिला मेयर भएरै हो।’
अर्की महिला प्रमिला देवीले महिलाहरूले सरकार चलाउन सक्ने रहेछौँ अनि हाम्रो कुरा पनि सरकारले सुन्ने रहेछ भन्ने थाहा भएको बताइन्। ‘हामी पनि यो पालिकाको जनता भएको महसुस भएको छ। यस्तो त पहिले कहिले भएको थिएन। हामी महिला पनि केही गर्न सक्छौँ,’ उनले भनिन्, ‘गाउँठाउँमै काम गरेर आर्थिक आम्दानी समेत गर्न सक्छौँ भन्ने कुरा सपना जस्तै लाग्थ्यो तर सबै सम्भव भएको छ।’
उनका अनुसार घरबाट बाहिर निस्केर गर्नुपर्ने काममा अचेल धेरै महिलाहरू नै देखिन्छन्।
गाउँघरका विकास निर्माणका काममा होस वा स्वरोजगारी गर्न, सिप सिक्ने तालिम लिन होस् या राजनीति गर्न अहिने महिला घरको चौघेर नाघेर निस्किन थालेका छन्,’ रिनाले भनिन्, ‘गाउँटोलमा कुनै काममा होस, कार्यक्रम भेला जुनसुकै ठाउँमा महिलाहरु धेरै देखिन्छन्। अग्रपङ्तिमा उनीहरूनै हुन्छन्। आजभन्दा १० वर्षअघि सम्मपनि महिला बोल्नु त परै जाओस् बाहिर निस्किन धेरै सोच्नुपर्थ्यो। मधेशमा यो ठूलो उपलब्धि हो नि।’
पहिला पहिला छोरालाई पढाउन सहर बजार पढाउने तर छोरीलाई नजिकैको विद्यालय पनि नपठाउने प्रवृत्ति धेरै थियो। कतिपय अभिभावकले असुरक्षाको कारण पनि छोरीलाई स्कुल पठाउन्नथे।
आफू मेयर भएपछि छोराछोरीबिचको भेदभावको यो खाडल हटाउनुपर्छ भन्ने आफूलाई लागेको रिना बताउँछिन्। त्यसका लागि नगरपालिकाले तीन वटा माध्यामिक विद्यालय सञ्चालनमा ल्याएको रिनाको भनाइ छ। छोरीलाई विद्यालयमा आकर्षित गर्न साईकल तथा ल्यापटप वितरण समेत गरेको रिना बताउँछिन्। त्यस्तै महिनावारीको बेला स्कुल जान समस्या हुन्छ भनेर प्याड वितरण गर्ने गरिएको छ। पेट दुख्ने वा रिगंटा लाग्ने समस्या आए आराम गर्न भनेर आरामकक्षको समेत व्यवस्था स्कुलमा छ।
‘हामीले चलाएका अभियानपछि अहिले छोरीहरूलाई स्कुल पठाउने चलन बढेको छ। आफ्नै पालिकामा राम्रो विद्यालय भएपछि छोरीहरू मात्र होइन सहर पठाउने छोराहरूलाई समेत यहीँ पढाउन थालेका छन्। बाहिरका जिल्लामा भौतारिनु भन्दा आफ्नै पालिकामा आधुनिक शिक्षा लिन पाएका छन्। यो काम म आएपछि गर्न पाएकोमा मलाई गौरव लाग्छ।’
सबैका लागि शिक्षा कार्यक्रम अन्तगर्त र खागरी विभिन्न कारणले बिचमै बिद्यालय शिक्षा छोडेका बालबबालिका किशोर किशोरीलाई पुनस् विद्यालयमा फर्काउन विशेष कक्षा संचालन गरिएको रिनाले बताइन्। यो काम गर्न बजेट नै छुट्याएको उनको भनाइ छ।
रौतहटको पनि अति दुर्गम भनेर चिनिने मौलापुरमा अहिले हरेक टोलमा सडक संरचना विस्तार भएको छ।
गाउँलाई ढल, नाला, बाटो , विजुलि , घर,पार्क लगायतका क्षेत्रमा व्यवस्थित गर्ने उद्देश्यले मधेश प्रदेशमै पहिलोपटक ल्यान्ड पुलिङ र एकीकृत दलित बस्ती अवधारणा ल्याएको पनि दाबी गरिन्।

पर्साको पटेर्वासुगौलिक गाउँपालिकाकी उपप्रमुख, ममता महतो थारु पनि दोश्रो कार्यकालमा आफ्नो जिम्मेवारी निर्वाह गरिरहेकी छन्।
सात वर्ष अघिसम्म गाउँलेले इनार र चापाकलको पानी तानेर प्रयोग गर्थे। महिलाहरू खोला वा इनारमा नुहाउन जाँदा धेरै हिसाबले असुरक्षित पनि भएका थिए। ममता उपप्रमुख भएपछि घरघरमा धारा बनाउन पहल गरिन्। ‘अहिले घरघरमा धारा हुन्छ, महिलालाई धेरै हिसाबले सहज भएको छ,’ उनले भनिन्।
महिलाहरूलाई नै लक्षित गरेर सामुहिक खेती गर्ने नीति स्थानीय तहले बनायो। ‘सामुहिक खेती गरेर महिलाहरूले आयआर्जन थालेका छन्,’ उनले भनिन्, ‘महिलाहरूमा सामाजिक कामहरू सामुहिक रूपले गर्ने गरेका छन्।‘
अचेल उपप्रमुख नेतृत्वको न्यायिक समितिमा घरेलु हिंसाका उजुरी बढेका छन्। उजुरी बढ्नुलाई ममताले राम्रो संकेत मान्छिन्। आफूहरूले महिलामाथि हिंसा गर्न पाईंदैन भनेर गाउँपालिकाले जनचेतना मुलक अभियान चलाएका कारण महिलाहरू सचेत भएको र उजुरीको संख्या बढेको उनको भनाइ छ।
‘पटेर्वासुगौलीको न्यायिक समितिले अहिलेसम्म १९ हजार विवाद समाधान गरेको छ। दोस्रो कार्यकालमा मात्रै पाँच हजारभन्दा बढी उजुरी सुनुवाइ भएको छ,’ उनले भनिन्, ‘यसरी उजुरी बढ्नु भनेको त हामीप्रतिको विश्वास हो नि।’
मधेश प्रदेशभरी सबभन्दा प्रभावकारी न्यायिक समिति बनाएको भन्दै उनलाई हालै ‘सि लिड्स’ आईकनबाट सम्मान पनि गरिएको छ।
गृहणी महिलाहरूलाई आर्थिकरूपमा सबल बनाउन उनले विभिन्न उपाय लगाइन्।
थारू संस्कृतिमा रहेको कुसघाँसबाट ढकीया बनाउने काम धेरैजसो महिलालाई सहजै आउँछ। यसलाई बजारिकरण गर्नुपर्छ भनेर ममताले गाउँपालिकामा कुरा राखिन्। उनको प्रस्ताव पास भयो। अहिले विदेशमा समेत ढकीया बिक्रि हुने गरेको उनले बताइन्।
‘यसबाहेक पनि स्वरोजगार हुन महिलालाई सहज होस भनेर कृषि , व्युटिसियन , प्राविधिक बन्ने तालिम दिएका छौँ,’ उनले भनिन्।
पर्साको पटेर्वासुगौलीका शिवबालक चौधरी भन्छन्, ‘हाम्रो उपाध्यक्षले दोश्रो कार्यकाल कुशलतापुर्वक निर्वाह गरिरहनुभएको छ। यो धेरै खुशीको कुरा हो। ममताजी अध्यक्षभन्दा कम हुनुहुन्न भन्ने हामीलाई लागेको छ,’ उनले भने, ‘राम्रो काम गर्नुभएको छ। हामी जनताको जीवन उकास्न कोसिस गरिरहनुहुन्छ।’

रौतहटको फतुवा वजयपुर नगरपालिकाकी उपप्रमुख अमवेया खातुन अहिले कार्यबहाक प्रमुख बनेकी छिन्। मेयर गोपाल राय यादव भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएपछि उपमेयरले नै मेयरको पनि काम गर्नुपरिरहेको छ। दोहोरो जिम्मेवारीमा रहेर उनले गरिरहेको कामप्रति सेवाग्राही पनि खुसी छिन्। स्थानीय दिनेशकुमार यादवले आफ्नो पालिकाको नेतृत्व महिलाको हातमा पुगेको भएर आफू ढुक्कै भएको बताइन्।
‘महिलाहरू आफ्नो जिम्मेवारी पूरा गर्न गम्भीर हुन्छन्। हाम्रो नगरमा पनि सुधार भइरहेको छ। यो उपमेयरले आफ्नो काँधमा आएको जिम्मेवारी राम्ररी निभाएकाले हो,’ उनले भनिन्।
मधेशमा सबैभन्दा ठूलो र महत्वपूर्ण कार्य भनेको महिला जनचेतना, सशक्तिकरण र शिक्षामा जोड दिनु नै हो। मैले पनि महिला विकासलाई प्राथमिकतामा राखेर काम गरेको खातुनको दाबी छ।

सप्तरीको अगनीसाईर कृष्णसबरम गाउँपालिकाकी उपप्रमुख कल्पना कुमारी चौधरीले केही महिना पहिले संघीय सरकारबाट आफ्नो नेतृत्वमा ल्याएको सर्शत तर्फको बजेटबाट विकास निर्माणको काम गर्न खोज्दा गाउँका अधिकाशं व्यक्ति उनीविरूद्ध लागे। विरोध कार्यक्रम र डेलिगेसन गर्नेहरूलाई बोलाएर उनले वार्ता गरिन्।
‘मैले गर्न खोजेको कामबारे सबैलाई बताएँ। कसरी त्यो कामले गाउँलेको हित हुन्छ भन्ने बारे बुझाएँ। त्यसपछि उनीहरूले आन्दोलन छोडे,’ उनले भनिन्, ‘हामीले काम गरेर देखायौँ।’
स्थानीय गोपाल महतोले कुनै बेला महिलाले केही गर्न सक्दैनन् भन्ने सोचाइ व्याप्त भएपनि आफ्नो नगरमा महिलाले गरेर देखाएको बताए।
(माधुरी महतो पर्सामा सक्रिय पत्रकार हुन्)
प्रकाशित: २० फाल्गुन २०८१ १३:३३ मंगलबार