मदिरा तस्करीको डरलाग्दो रुप:रोक्न खोज्दा तस्करले किचेर मारे प्रहरी !

मदिरा तस्करीको डरलाग्दो रुप:रोक्न खोज्दा तस्करले किचेर मारे प्रहरी !


‘हमर बेटीसब आब केकरा पापा कहतै हौ दैब (मेरी छोरीहरु अब कसलाई पापा भन्छिन्, भगवान् ) । पापा पैसा चाहिँ कहिते देरी एटिएम देनही छि निकाइल लिय न (पापा पैसा चाहियो भन्दा एटिएम दिएकै छु निकालिहाल्नु न) । मदिरा तस्करलाई रोक्न खोज्दा श्रीमान्को हत्याको खबरले मुर्छा परेर प्रादेशिक अस्पताल लहानको आक्सिमक कक्षमा उपचाररत्त सिरहाको नरहा गाउँपालिका–४ ललभितियाकी संगीतादेवी यादव होस् खुलेपछि बर्बराउँछिन्। 

’हमर बेटी सबके पापा लाईब दियौ(मेरी छोरीहरु सुजाता र सुस्मिताकी पापा (लक्ष्मण यादव) लाई ल्याइदिनू भन्दै चिच्याउँछिन्, एक छिनपछि मूर्छा परिहाल्छिन्।

आफन्तले पिलाएको पानीको सहारामा उनको प्राण त अडिएको छ तर अझै पूर्ण होसमा आउन सकेकी छैनन्। बेलाबेला होस खुल्नेबित्तिकै उनी आब हमर बेटी सब केकरा पापा कहतै हौ  (अब मेरी छोरीहरु कसलाई पापा भन्छिन् ?) भन्दै भक्कानिन्छिन् र मुर्छा परिहाल्छिन् ।

चोहर्वा –सिरहा राजमार्ग अन्तर्गत हनुमान चोकदेखि १ किलोमिटर पश्चिम भर्खरै खेतबाट काटेर ल्याइएको धानको भण्डार पछाडीको उनको घर शोकमग्न छ।  

मदिरा तस्करलाई रोक्दा किचेर हत्यापछि लक्ष्मणको दुई छोरीहरु सुजाता र सुस्मितासहित परिवारका सदस्य बिलापमा छन्।लक्ष्मणकै भरमा परिवार अडिएको थियो। 

सुजाता कक्षा ११र सुस्मिता कक्षा १२ मा काठमाडौंमा पढ्दै छिन्। छोरीहरुलाई उच्च शिक्षा पढाएर असल व्यक्ति बनाउने लक्ष्मणको सपना थियो। पापाको प्यारी छोरीहरु उनको सपना पूरा गर्न दिलोज्यानले मिहिनेत गरिरहेका थिए। उनको परिवार खुसी थियो।सबै ठिकठाक चलिरहेको थियो। तर, आइतबार बिहानको घटनाले यो परिवारमा बज्रपात भयो। क्षणभरमै सारा सपना उजाडियो।

सारा खुसी रोदनमा परिणत भयो। लक्ष्मणको हत्यापछि उनका दुई प्रिय छोरीहरुको आँखु रोकिएको छैन्।पापाको मृत्युको खबर आफन्तले त लुकाए तर अचानक प्लेनबाट आउन भन्दा उनीहरुले अनिष्ट अन्दाज गरिहालीन्।घर फर्केदेखि उनीहरुको आँशु रोकिएको छैन्। उनीहरु पापा पापा भन्दै चिच्याउँछिन् र मुर्छा परिहाल्छिन्।

संगीता भक्कानिँदै भन्छिन्,‘ करिब १३ कठ्ठाको धान काटेर शुक्रबार मात्र लक्ष्मण ड्युटी सम्हाल्न बडहरी पुगेका थिए।’ शनिबार साँझ ५ बजे संगीतासँग गरेको कुराकानी नै अन्तिम भयो। ‘यहाँबाटजाने बेलामा सशस्त्रका इन्सपेक्टरसाब अब फर्केर कहिल्यै नआउने’ भनेको लक्ष्मणले संगीतासँग साझा गरेका थिए। हाकिमहरुका कारण यहाँ धेरै तनाब छ भनेको सम्झिदै संगीता भक्कानिन्छिन्,‘बैमनमा सब हमर राजाके जान ले लेलकै(बैमानहरु मेरो श्रीमानको ज्यान लियो )।’ यहाँको हाकिमले धेरै तनाब दिन्छ भने बर्दिबास नै फर्किहाल्न भनेकि थिइन संगीता। तर, लक्ष्मणले ‘भर्खरै आएको छुँ, अहिले नै फर्कन मिल्दैन’ भन्दै केहि दिन बस्नु पर्ने बताएका थिए। उनी चिच्याउँदै भनिन्,‘ आब हमर राजा सब दिनके लेल छोइर क चैल गेलै(अब मेरो राजा कहिल्यै नफर्किने गरी गइहाल्नु भयो।’

प्रादेशिक अस्पताल लहानमा आमाछोरीहरुको रोदन सुनेर यहाँ जम्मा भएका सबैको आँखा रसाएको थियो। संगीता र छोरीहरु होस् खुलेपछि आँखा खोल्दै पापालाई खोज्थीइन्। फेरि चिच्याएर मूर्छा पर्थिइन्।  

उनीहरुको चिच्याहटले अस्पताल परिसरमा रहेका सबैका आँखामा आँसु देखिन्थ्यो। दुईछोरीहरु सुजाता र सुस्मिताको निश्चल आँखाले पापा (बाबु) खोजिरहेको थियो।

यसरी भयो घटना

आइतबार विहान करिब २ बजे बरियारपट्टी गाउँपालिका–१ छोटकी टोली कचनारीबाट मदिराले भरिएको स्कार्पियो जीप तीव्र गतिमा पारी झलोन जाँदै थियो।मदिराले भरिएको जिप आउँदै छ भने सूचना पछ्याउँदै सशस्त्र प्रहरी नायव निरिक्षक लक्ष्मण यादवको टोली गौडा थापेर बसेका थिए। गाउँ प्रवेश गरेको मदिराले भरिएको उक्त जीपलाई भारत तर्फ जानबाट सशस्त्र प्रहरी नायव निरिक्षक यादवले रोक्न खोजे।

तीव्र गतिको सो जीप यादवलाई किचेर सीमा पार भयो। रगतले लतपत यादवलाई बिहान ३ बजेतिर रामकुमार सारडा उमा प्रसादा मुरारका प्रादेशिक अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए। यादव सशस्त्र प्रहरी बेस क्याम्प बडहरीमा कार्यरत्त थिए।

उनलाई मदिराले भरिएको स्कार्पियो जिपले नेपाल–भारत सीमाभन्दा पाँच सय मिटर उत्तर जानकी नागरको बस्ती नजिकै किचेर भागेको थियो।

नेपालबाट जिपमा ठूलो परिमाणमा मदिरा आइरहेको सूचना पाएपछि यादव सशस्त्र र नेपाल प्रहरीका गरी ८ जनाको टोलीसहित ड्युटीमा खटिएका थिए।यो घटनापछि वारिपारि खलबलि मचेको छ। झलोन र जानकी नगरका स्थानीय डराएका छन्। ‘मदिराले भरिएको जीप यहीबाट झलोनतर्फ गएको थियो’ जानकीनगरका एक स्थानीयले भने,‘सशस्त्र प्रहरीका सईलाई किचेर भागेकाहरु पारी गाउँमा लुकेकाहुनसक्छन्।’

कचनारी पहिलादेखि नै मदिरा तस्करको अखडाको रुपमा चिनिएको छ। बरियारपट्टी गाउँपालिका अन्तर्गत हुलाकी राजमार्गमा संचालित मदिराका गोदामबाट मदिराले भरिएको जिप रात परेपछि पारि तस्करी गर्ने धन्दा यहाँको लागि नौलो होइन। यस गाउँका केही मानिस यही धन्दामा लागेका छन्। 

बाँकी डराएर चुपचाप बसेका छन्। शसस्त्र प्रहरीका सईलाई किचेर मार्नेसम्मको आट भएका मदिरा तस्करका खिलाफ हामी बोल्ने हिम्मत गर्न सक्छौं जानकीनगरका एक जेष्ठ नागरिकले भने, ‘सशस्त्र र नेपाल प्रहरीका ठूला हाकिमलाई नमिलाएम्म यो धन्दा चल्नै सक्दैन। हामी बोल्यो भने ज्यानको जोखिम छ उनले भने, ‘हामी मात्र होइन्,‘मदिराको खेप रोक्ने सानो दर्जाका प्रहरी अधिकारीलाई समेत सिध्याइदिन सक्ने तस्करी कति बलियो होला !’ यो घटनाले हामी मात्र होइन वारिपारिका अधिकांश मानिस तस्करको डरले थरथर काप्छन्।’

जानकीनगर नाका मदिरा तस्करीको मुख्य केन्द्र बनेकोले यहाँका मानिस बढ्ता जोखिममा छन्। भारतको बिहार सरकारले मदिरा निषेध गरेदेखि तस्करले नेपालबाट मदिरा सीमावर्ती भारतीय गाउँसहरमा पुर्‍याउँदै आएका छन्। नेपालका सुरक्षाकर्मीसँगको सेटिङमा नेपाली बजारबाट मदिरा सीमावर्ती बजारमा भण्डारण गर्ने र अनुकुल समयमा सीमा पारी भारतीय सहर पुर्‍याउने धन्दा पछिलो समय मधेस प्रदेशको आठ वटै जिल्लाको सीमा नाकामा मौलाएको छ।

आँखै अगाडि मदिराको तस्करी धन्दा हेर्दाहेर्दै आजित भैसकेको बडहरी नाकामा भेटिएका अमिरी यादव बताउँछन् । उनीभन्छन्, ‘मदिरा तस्करीको धन्दा फस्टाएसँगै यस भेगका नागरिक आफुलाई असुरक्षित अनुभूती गर्न थालेका छन्।  

मृतक लक्ष्मणका सालो रन्जित यादव बिलौना गर्दै थिए,‘दिदी र भान्जीहरुलाई अब कसरी सम्हाल्ने होला ?’ ठूलाबडाको धन्दाको चपेटमा भिनाजुको ज्यान गएको उनको भनाई छ ।

यादव परिवारको माग छ ‘हाम्रो परिवारको सहारा खोस्नेलाई हदैसम्मको सजाय होस्। ‘लालाबालाको पिता खोस्नेमाथि राज्य कठोर सजाय सुनाओस्, उनले भक्किनिँदै भने।’

मदिरा तस्करले गत वर्ष सीमापारि पनि मारेका थिए प्रहरी

गत वर्ष मदिराले भरिएको स्कार्पियो जिपलाई रोक्न खोज्दा भारतीय सहर जोगिया नजिक भारतीय सशस्त्र सीमा बलका हेड कन्सटेबल देवराज शर्मालाई किचेर मारेका थिए ।

सिरहा नगरपालिका–२१ लगडिगोठबाट मदिराले भरिएको स्कार्पियो जीप तीव्र गतिमा पारी जोगिया हुँदै जयनगरतर्फ जाँदै थियो । भारतको मधुवनी जिल्ला दलनीया प्रहरी चौकी अन्तर्गत जोगिया गाउँ प्रवेश गरेको मदिराले भरिएको उक्त जीपलाई भारतीय सशस्त्र सीमा बलका हेड कन्सटेबल देवराज शर्माले रोक्न खोज्दा तीव्र गतिको सो जीप शर्मालाई किचेर घिसार्दै भाग्यो।

रगतले लतपत शर्मालाई उपचारका लागि जयनगर अस्प्ताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए। शर्मा मधुबनी जिल्लाको राजनगर राज कम्प्लेक्समा रहेको १८ औं बाहिणी मुख्यालय राजनगर अन्तर्गत आराहा बिओपीमा हेड कन्सटेबल पद्मा कार्यरत्त थिए।

मदिरा तस्करको भूस्वर्ग

भारतीय शहर जयनगर अन्तर्गतका प्रहरी र सशस्त्र सीमा बलले मदिरा र मदिरासहित मानिस पक्राउ गरेको घटना यस क्षेत्रका मानिसका लागि समान्य खबर भैसकेको छ। कारण मदिरासहित धेरै मानिस पक्राउ परेका छन्। धेरै अझै थुनामा सजाय भोग्दै छन्। तर, मदिराको तस्करी अझै रोकिएको छैन् । अझ् संगठित र व्यापक बन्दै गएको छ ।

मदिरा तस्करले गाडीले किचेर भारतीय सशस्त्र प्रहरी र नेपाली सशस्त्र प्रहरीलाई मारेको घटनाले वारिपारिका स्थानीयलाई डराइदिएको छ।

सिरहाको ठाढी, अभयनगर, बरियारपट्टी, नरगी, कुसण्डी, जानकारीनगर,  माडर, लगडिगोठ, बुधौरा, ठाढी, अभयनगर, कुसण्डी, झाझपट्टी, लगायतकानाका मदिरा तस्करका लागि भूःस्वर्ग हो। यी नाका पछिल्लो समय मदिरा तस्करीको मुख्य केन्द्र बनेको छ। वारीका सुरक्षाकर्मीसँगको सेटिङमा नेपाली बजारबाट मदिरा सीमावर्ती बजारमा भण्डारण गरेर अनुकूल समयमा सीमा पारी भारतीय शहर पुर्‍याउन वारिपारिका तस्करको संगठित सञ्जाल छ।

दिउँसै सिरहाको माडर, कुसण्डी, अभयनगर, जानकीनगर, बरियारपट्टी बजारमा मदिराको सकली कार्टुन (मदिरा उद्योगबाट सिल भएर आएको) फ्याँकेर मदिराका बोतल अर्को कार्टुनमा प्याक गरी बोरामा प्याक गरिन्छ। पारी ड्यूटीमा रहेका एसएसवीहरू ओझेल परेपछि धमाधम मदिराको कार्टुनले भरिएका बोरा पारी पुर्‍याइन्छ।

सिरहाको सीमावर्ती क्षेत्रबाट भारततर्फ खुलेआम मदिरा तस्करी हुँदै आए पनि चेकजाँचका लागि सीमा क्षेत्रमा उपस्थित सशस्त्र प्रहरी देखेर पनि नदेखेझैं गर्दै आएका छन् । सीमावर्ती बजारमा सुरक्षाकर्मी उपस्थिती नजिकै मदिराका बोतल नयाँ कार्टुनमा प्याक गरेर बोरामा भरिररहेको दृश्य यहाँका लागि समान्य हो।

मदिरा तस्करी बढेपछि अहिले सिरहाको सीमावर्ती क्षेत्रमा मदिराका पसल थपिँदै गएका छन् भने कारोबारमा समेत बढेको पाइएको छ। कतिपय मदिरा पसलेहरूले नै तस्करहरू राख्ने गरेको जानकीनगरका स्थानीयहरू बताउँछन्।

यता सीमा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरीले भने सीमामा मदिरा कुनै प्रकारको मदिरा तस्करी नभएको दाबी गर्छन्। सशस्त्र प्रहरीको सिरहा स्थित गणपति(एसपी) नरेश भण्डारीले मदिरा तस्करी नभएको दाबी गरे । उनले ठूला हाकिमको मिलेमतोमा भैरहेको मदिरा तस्करीको मारमा रोक्न खोज्ने तल्लो अधिकृतहरु पर्ने गरेको ठाडै अस्विर गरे । तर, आइतबार विहान कचनारी हुँदै पारि गएको मदिरा बोकेको जिपले सशस्त्र प्रहरी नायव निरिक्षकलाई किचेर मारेको घटनापछि उनी मदिरा तस्करीको घटना स्वीकार्न बाध्य भएका छन्।

मदिराले भरिएर पारि जाँदै गरेको जिपलाई रोक्न खोज्दा सशस्त्र प्रहरी नायव निरिक्षक मारिएको घटना भने संयोग मात्रै भएको उनको भनाई छ । मदिराले भरिएको जिप सेतो रंगको स्कार्पियो भएको खुलेको छ । जिप पारि पुगिसकेकोले समकक्षी भारतीय प्रहरीसँगको समन्वयमा खोजीतलास भैरहेको उनले बताए ।

सशस्त्रका पाँच जना प्रहरीसहित ड्युटीमा खटिएका प्रहरी नायव निरिक्षक यादवलाई किचेर भाग्ने गाडि नियन्त्रणमा लिन कुनै प्रयास भएको देखिदैन । पाँचै जना छरिएर रहेकोले दोषी सवारी र चालक नियन्त्रणमा लिन नसकिएको एसपी भण्डारीको स्पोष्टोक्ति छ ।

मदिरा तस्करहरूलाई नेपाली सुरक्षाकर्मीभन्दा भारतीय प्रहरी र सशस्त्र सीमा सुरक्षा बलसँग मात्र त्रास छ। त्यसैले सीमावारी बसेर मदिरा तस्करहरू पारिका एसएसवी कतिबेला खाली हुने हो मौकाको तलासमा हुन्छन्। नेपाल प्रहरीका प्रमुख आइजिपी र सशस्त्र प्रहरीका प्रमुख आइजिपी मुख्यतः मधेसका सीमानाकाबाट हुने तस्करी नियन्त्रणमा शून्य सहनशिलता अपनाउन बोल्दै आएका छन् । तर, व्यवहारमा कुनै प्रभावकारी कदम अहिलेसम्म चालिएको पाइदैन ।

आइतबार विहान सशस्त्र प्रहरी मारिएको स्थान छोटकी टोली कचनारीबाट भारतीय बजार झलोन ५ सय मिटर दक्षिण छ । हुलाकी राजमार्गको जानकीनगर मुस्किलले दुई किलोमिटर उत्तर पर्छ । सशस्त्र प्रहरीको बेस क्याम्प बडहरीको दूरी पनि एक किलोमिटर छ ।

मदिरा तस्करीको डरलाग्दो रुप:रोक्न खोज्दा तस्करले किचेर मारे प्रहरी !
मदिरा तस्करीको डरलाग्दो रुप:रोक्न खोज्दा तस्करले किचेर मारे प्रहरी !
मदिरा तस्करीको डरलाग्दो रुप:रोक्न खोज्दा तस्करले किचेर मारे प्रहरी !
मदिरा तस्करीको डरलाग्दो रुप:रोक्न खोज्दा तस्करले किचेर मारे प्रहरी !

फोटोःमदिरा तस्करबाट श्रीमान मारिएपछि बिलौना गर्दै सशस्त्र प्रहरी नायव निरिक्ष लक्ष्मण यादवको श्रीमती संगीता, सम्हाल्दै आफन्त । तस्विरःमिथिलेश यादव/नागरिक

प्रकाशित: १७ मंसिर २०८१ १२:२१ सोमबार





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School