मदन भण्डारी स्मृति विशेष: कम्युनिस्ट बतासमा हुरी चलाएका मदन भण्डारी


बिसौं शताब्दीको सुरुवातसँगै विश्व एउटा नयाँ बाटोमा मोडिँदै थियो। शासकीय पद्धति अनि राजनीतिक सिद्धान्तले बाटो समाउन नपाउँदै विभाजित विश्वसामु कैयौं दोबाटा थिए। अलमल थिए अनि अन्योलले भरिएका थिए। एकातिर बर्लिनको पर्खालसँगै साम्यवादका किल्लाहरू ढल्दै थिए अनि साम्राज्यवादको विस्तार हुँदै थियो। बर्लिनको पर्खाल ढलेसँगै विश्व कम्युनिस्ट युगको विघटन सुरुवात भइरहेको थियो।

विश्वमै कम्युनिस्टका वाद र सिद्धान्तहरू धर्मराइरहँदा हिमाली भूखण्डको एउटा सानो टुक्रा नेपालमा भने त्यसको एउटा बतास चल्न थाल्यो। मदन भण्डारी एउटा त्यस्तो नाम हो, जो त्यो सुस्ताएको बतासमा हुरी बनेर आयो। नेपालमा बहुदलीय प्रजातन्त्रको जगमा एउटा अजर अनि अमर नाम हो– मदन भण्डारी।

आज मदन भण्डारीले यो धर्ती छोडेको दिन हो। एउटा अजर अनि अमर नेताबारे कल्पनाहरू जति सलबलाउँछन्, तिनका बारेमा केही शब्दमा सारा जीवन लेख्नु एउटा जोखिमपूर्ण काम हो। तथापि एक राजनीतिककर्मीका रूपमा उनलाई सदास्मरण गर्नु र नेपाली राजनीतिक आन्दोलनमा उनको भूमिकालाई सर्वथा सजीव र जिउँदो राख्नु पनि हामी सबैको दायित्व हो। अझ आजको नयाँ पुस्तालाई त्यो ‘मदन’ युगबारे जान्न उत्तिकै आवश्यक पनि छ।

नेपालको पहाडको ताप्लेजुङमा जन्मिएका मदन ब्राह्मण परिवारका हुनुहुन्थ्यो। पारिवारिक शिक्षाकै कारण कलिलो उमेरमा चण्डी पाठलाई कण्ठस्थ पारेर चर्चामा आउनुभएका मदन नेपालको राजनीतिमा एक अग्लो अनि सदा सग्गो र सङ्लो शिखर बनेर रहे। छोटो जीवन नै सही, राजनीतिक, सामाजिक र व्यक्तिगत जीवन बेदाग हुनु पनि आफैंमा महान् हो। २००९ सालमा उनी जन्मिँदा भर्खरै नेपालमा प्रजातन्त्र टुसाएको थियो। उनको बाल्यकालमै प्रजातन्त्रको कलिलो घाँटी तत्कालीन राजा महेन्द्रले निमोठिदिए।

नेपालमा जन्मिँदै टुक्रा टुक्रा भएका कम्युनिस्टलाई उनले आफ्नो जीवनकालमै एउटा नयाँ धार र दिशा दिए। जसको जगमा नेपालमा वामपन्थी राजनीति अहिलेसम्म सक्रिय नै छ।

त्यति मात्रै होइन, सुरुवातमा नेपाली राजनीतिभित्र बिथोलिएका उग्रपन्थहरूलाई एउटा मझधारमा ल्याएर राजनीतिको मूलबाटोमा ल्याउन पनि मदनकै देन रह्यो। नेपालमा कम्युनिस्टका पिता भनेर पुष्पलाललाई चिनिन्छ तर त्यसमा सिद्धान्त, प्राण र गति भर्ने काम भने मदन भण्डारीले नै गरे।

किताबका कोरा ज्ञान अनि सिद्धान्तको जडतामा मात्रै कम्युनिस्ट राजनीतिको परम्परागत अभ्यास गरिरहेको नेपालको सिङ्गो कम्युनिस्ट धारलाई उनले एउटा नयाँ र आधुनिक शिराबाट लैजान प्रेरित गरे। त्यो भनेको कम्युनिस्टले पनि ‘प्रजातान्त्रिक’ अभ्यासमार्फत आफ्नो लक्ष्य र सिद्धान्तलाई भेटाउन सक्छन् भन्ने सन्देश नै हो।

त्यो बेलादेखि माले, एमाले वा अरू कम्युनिस्ट पार्टीदेखि १० वर्षसम्म ‘जङ्गल युद्ध’ गरेर फर्किआएको नेकपा (माओवादी) घुमिरहेको संसदीय राजनीतिक अभ्यास पनि हो। दलीय राजनीतिक व्यवस्था, लोकतान्त्रिक शासन व्यवस्था र संसदीय अभ्यासमा संसारकै उत्कृष्ट अभ्यास हो। जहाँ प्रजातन्त्रको एउटा सुन्दर परिभाषा घुलेको हुन्छ।

सिद्धान्तका खोक्रा आदर्शबाट पनि देशमा परिवर्तन हुँदैन र चाहेको लक्ष्य अनि गन्तव्य भेटिँदैन भन्ने दीक्षा दिएर उनले नेपाली कम्युनिस्ट आन्दोलनलाई प्रजातान्त्रिक बाटोमा हिँडाउन सके। यसरी हेर्ने हो भने मदन भण्डारीले आफूले बाँचेको जीवनमा एउटा कम्युनिस्ट आन्दोलनलाई मात्रै होइन, बरु सिङ्गो देशको राजनीतिलाई बिर्सिनसक्नु गुण लगाएका छन्।

छिमेकी देश मात्रै होइनन्, त्यो युगमा विश्वभरि चलिरहेको कतिपय क्रान्ति र आन्दोलनका बाछिटाहरूमा जन्मिएका नेपाली कम्युनिस्ट पार्टी र तिनका आन्दोलन पनि त्यही ‘विश्वव्यापी’ कम्युनिस्ट घोषणापत्रका अक्षर अनि शब्दहरूमा मात्रै सीमित थिए।

सिद्धान्त, नीति र लक्ष्यमा कोरिएका तिनै कोरा सिद्धान्तका आधारमा कम्युनिस्टको परम्परा धानेको आन्दोलनलाई मदनहरूले एउटा नयाँ र आधुनिक विचार दिए, जसले नेपाली राजनीतिक माटोमा कम्युनिस्ट आन्दोलनको बाटो नै मोडिदियो।

‘जनताको बहुदलीय जनवाद’ मदनकै एउटा गर्भसिद्धान्त थियो, जसका आडमा नेपाली कम्युनिस्ट पार्टीहरूले आफूलाई फुल्न फलाउन सके। एउटा राजनीतिक पार्टीमा हुने ध्रुवीकरण र विचारको लडाइँ स्वाभाविक मात्रै होइन, त्यो एउटा चरित्र नै हो। त्यसको सिकार मदनहरू पनि हुनुपर्‍यो। ‘जनताको बहुदलीय जनवाद’लाई चुनौती दिन उनकै ‘सहयोद्धा’हरूले ल्याएको ‘नौलो जनवाद’ त्यही चरित्रको उपज थियो। यद्यपि त्यस्ता तमाम चुनौतीलाई सामना गर्ने ल्याकत भएकै कारण मदन साँच्चिकै आजसम्म ‘मदन’ भएर बाँचिरहेका छन्।

कम्युनिस्ट आन्दोलनको गर्भबाटै छुट्टिएका, अलग भएका र मूलबाटोबाट तितरबितर भएका कम्युनिस्टका टुक्राहरूलाई एक गराउन मदनले उत्तिकै योगदान गरे। यसबाट नेपालको राजनीतिमा एउटा बलियो ध्रुव निर्माण भयो। एकातिर कम्युनिस्ट अनि अर्कातिर समाजवादको लडाइँ लडिरहेको ‘प्रजातान्त्रिक’ पार्टी नेपाली कांग्रेस।

नेपाली राजनीति र यहाँका राजनीतिक पार्टीहरूको एउटा साझा विशेषता के हो भने जब देश, जनता र सार्वभौम अधिकारमाथि नियोजित षड्यन्त्र हुन्छ वा प्रजातन्त्रको घाँटी निमोठ्ने हरेक कदमविरुद्ध सबै पार्टी एउटै मोर्चामा गोलबद्ध हुन्छन्। राणा अनि राजाविरुद्धका लडाइँ र त्यसको सफलता त्यही विशेषताको उपज हो, जसले आमनागरिकको स्वतन्त्रता अनि सार्वभौमिकतामाथि किमार्थ सम्झौता हुन दिएन र कहिल्यै दिइने छैन।

करिब ४१ वर्षको जीवनकालमा मदनले जति राजनीति गरे, सायद कुनै नेताले बाँचेको पूरा जीवनकालभरिको राजनीतिक योगदानभन्दा कम्ती छैन त्यो। एउटा जिन्दगी बाँच्नुभएका मदन त्यो एउटा विशिष्ट कालखण्डको राजनीतिमा जबर्जस्त नाम लेखाएका भण्डारी नेपालको आधुनिक कम्युनिस्ट राजनीतिका एक सिद्धान्तकार पनि हुन्, जसले छोटो समयमा कोरेको एउटा राजनीतिक रेखामा अहिले नेपालका कम्युनिस्ट पार्टीहरू चलिरहेका छन्। राणासँगको लामो लडाइँपछि फेरि नेपाली जनताले राजासँग लड्नुपर्‍यो। ‘शिशु’ प्रजातन्त्रको घाँटी न्याकेका तत्कालीन राजा (दरबार) सँगको लडाइँका ३० वर्षमा केही वर्ष यस्ता पनि रहे, जहाँ बिपी, मदन, गणेशमान, किसुनजीजस्ता नेताको योगदान सधैं अवर्णित रह्यो।

२०४६ सालको जनआन्दोलनपछि राजनीतिको सार्वजनिक जीवनमा मदन लगभग तीन वर्ष मात्रै बाँच्न पाए। विद्यार्थी जीवनको राजनीति थियो, पञ्चायती शासनको समय थियो। सारा नेपालीको ‘स्वतन्त्रता’ निमोठिएका ती वर्षहरूमा मौलाएको ‘भूमिगत’ राजनीतिमै मदनको किशोरावय बित्यो।

काठमाडौंको सहिद मञ्चमा पहिलो पटक हजारौं अनुहारका अघि झुल्किएका मदन भण्डारीको सार्वजनिक जीवन त्यहींबाटै सुरु भयो। त्यो २०४७ सालको कात्तिकमा थियो। जतिबेला मदनले दरबारलाई लल्कार्दै ‘श्रीपेच फुकालेर राजनीतिको मैदान’मा ओर्लिन खुला चुनौती दिएका थिए। मदनलाई सम्झिनेहरूले अहिले पनि उनको त्यो भाषण बिर्सन सक्दैनन्।

एकातिर राजाको शासन थियो, अर्कातिर नेपाली कांग्रेस अनि कम्युनिस्ट पार्टीहरूले सुरु गरेको ‘क्रान्ति’। राजा, पञ्चायत र बहुदलको बाटोमा जसरी नेपाली समाज विभाजित थियो, त्यसै गरी राजनीतिक मैदानमा कांग्रेस र कम्युनिस्टको जुधाइ पनि उस्तै थियो, जसले कुनै न कुनै रूपमा फाइदा भने दरबारलाई नै पुर्‍याइरहेको थियो।

कम्युनिस्टका कैयौं टुक्रा लडाइँको त्यो मोर्चामा एक त थियो तर विभाजनका रेखाहरू कहिल्यै मेटिन पाएनन्। मदनको राजनीतिक बाटो पनि त्यस्ता कैयौं बाटोमा नअलमलिएको होइन, तथापि उनले आफूले आफूलाई मात्रै होइन, देशको कम्युनिस्ट आन्दोलनलाई एउटा अग्रगति र प्रस्ट दिशा देखाइदिए।

तिसबर्षे पञ्चायतविरुद्ध २०४६ सालको अन्तिम बेला कांग्रेस–कम्युनिस्ट लडाइँको मोर्चामा गोलबद्ध हुने त्यसैको परिणाम थियो। यसर्थ सिद्धान्त र विश्व कम्युनिस्ट क्रान्तिको इतिहास अनि त्यसको अभ्यास परम्परा अलि परबाट विश्लेषण गर्ने हो भने नेपालको राजनीतिक आन्दोलनमा मदनले कम्युनिस्ट आन्दोलनलाई प्रजातान्त्रिक अभ्यासमा डोर्‍याउन पनि योगदान गरेका छन्। यसलाई हामीले भुल्नु हुँदैन। जनआन्दोलनपछि भएको पहिलो आमनिर्वाचन– २०४८ मा काठमाडौंबाट मदन पनि चुनाव लडे।

हिजो राजाविरुद्ध एउटै मोर्चामा बसेर सँगसँगै अगुवाइ गरेका नेपाली कांग्रेसका तत्कालीन सभापति कृष्णप्रसाद भट्टराईलाई पराजित गरेर मदन प्रतिनिधि सभासम्म पनि पुगे। हामी सबै मिली लडेर ल्याएको प्रजातन्त्रको सबैभन्दा सुन्दर अभ्यास नै यही हो। मदनले बदल्न खोजेको ‘कम्युनिस्टको कोरा बाटो’ पनि त्यही नै थियो, जहाँ अहिले देशका सबै राजनीतिक दल त्यही बाटोमा प्रतिस्पर्धा गरिरहेकै छन्।

निषेधको राजनीतिलाई शास्त्रका पानाबाट अलि पर अलग गरेर माटो सुहाउँदो राजनीतिको त्यही बिरुवा अहिले नेपाली माटोमा मौलाइरहेको छ। ‘राजा पनि रहन सक्छन्’ भन्ने मदनको त्यही ‘मिलाप’ मिसिएको राजनीतिक बाटोले प्रजातन्त्रका लागि लडिएका लडाइँहरू सफल अवतरण भए। राजा फाल्न निस्किएका कम्युनिस्टहरूलाई उनले ‘राजा पनि रहन सक्छन्’ भन्ने मान्यतामा एकछत्र गर्न सके। सर्त थियो, ‘जनता र प्रजातन्त्रलाई सर्वशक्तिमान बनाउने हो भने प्रजातन्त्रको घाँटी अँठ्याउने सपना नदेख्ने हो भने।’

राजनीतिमा आफूलाई समर्पण गरेको कुन नेताले कति वर्ष जीवन बाँच्यो भन्नुभन्दा पनि उसले बाँचुन्जेल राष्ट्र अनि जनताका लागि के कति योगदान दिन सक्यो भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। मदनले जीवनको लामो बाटो हिँड्न पाएनन्। तथापि बाँचेको ४० वर्षे यात्राका तमाम मोडमा उनले राष्ट्र अनि जनताका लागि धेरै त्यस्ता योगदान छोडेर गएका छन्, जसका कारण आज देशमा प्रजातन्त्रले बाँच्न पाएको छ।

२०४६ सालमा भएको नेकपा (माले) को चौथो महाधिवेशनबाट महासचिव भएका मदन भण्डारी त्यसपछि लगभग चार वर्षजति सार्वजनिक राजनीतिक जीवन बाँचे। २०५० जेठ ३ गते पार्टीकै कामको सिलसिलामा यात्रारत उनको ‘दासढुङ्गा’ दुर्घटनामा मृत्यु भयो। ‘मारिएको’ हो या ‘मृत्यु’ भएको? रहस्यको यो पेटारो अहिलेसम्म खुल्न सकेको छैन। मदनपछि नेपालको राजनीतिमा धेरै कम्युनिस्ट सरकार आए अनि गए, धेरै प्रधानमन्त्री भए। राष्ट्रपति पनि भए तर रहस्यको त्यो पेटारो फुटाउने आँट र हिम्मत कसैले पनि गरेनन्। यसलाई राज्यले एउटा ऐतिहासिक घटनाका रूपमा अपनत्व लिनैपर्छ, किनकि मदनजस्ता नेताहरू मात्रै पार्टीका नभएर सिङ्गो राज्यका पनि हुन्।

यसरी नेपालको राजनीतिक इतिहासमा पानाभरि अटाइनसक्ने गरी उनले राजनीतिक विचार र योगदान छोडेर गए। जति जीवन बाँचे, जति छोटो समय बाँचे, त्योभन्दा पनि अग्लो आदर्श अनि व्यक्तित्वमा बाँचे। जति पाइला नापे, त्यसमा उनले राष्ट्र र प्रजातन्त्रकै पदचाप छाडे। जुन समय बाँचे, साँच्चिकै समयको त्यो चक्रलाई निकै चोटिलो चुनौती दिएर अनि नयाँ पुस्तालाई युगीन राजनीतिक सिद्धान्त दिएर बाँचे। त्यसैले पनि नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हुनुहुन्छ– मदन भण्डारी।

प्रकाशित: ३ जेष्ठ २०८२ ०७:१५ शनिबार





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School