मताधिकार प्रयोग गर्न उत्साहित छन् जेनजी मतदाता, चाहन्छन् – ‘स्वदेशमै रोजगारी र सुशासन’



प्रकाशित मिति : ६ फाल्गुन २०८२, बुधबार

मताधिकार प्रयोग गर्न उत्साहित छन् जेनजी मतदाता, चाहन्छन् – ‘स्वदेशमै रोजगारी र सुशासन’

वैदेशिक राजगारीका लागि विभिन्न मुलुक जानेक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली युवा । तस्बिर: सिबी अधिकारी/रासस

नेपालमा गत भदौ २३ गते भएको जेनजी आन्दोलन र २४ गतेको विध्वंसपछि घोषित प्रतिनिधिसभा निर्वाचन जति नजिकिँदै छ, त्यति नै माहोल तातिएको छ। यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा दल र उम्मेदवारहरूको चुनावी प्रचारप्रसार मात्र नभई नयाँ मतदाताको चासो पनि बढेको छ। भ्रष्टाचार अन्त्य र सुशासनको माग गर्दै जेनजी युवाहरूको बलमा भएको आन्दोलन र त्यसपछिको घटनाक्रमले निम्त्याएको परिस्थितिमाझ हुन लागेको प्रतिनिधिसभा निर्वाचनबाट नयाँ जनप्रतिनिधि छान्न नयाँ मतदाता उत्साहित छन्।

काठमाडौंको मदन भण्डारी मेमोरियल कलेजमा पत्रकारिता र सामाजिक कार्य अध्ययन गरिरहेका विवेक पङ्गेनी पहिलो पटक निर्वाचनमा मतदान गर्दैछन्। रुपन्देहीको तिलोत्तमा नगरपालिका–७ घर भई काठमाडौंमा अध्ययनरत उनी मतदानको एक हप्ताअघि नै घर जाने तयारी गरिरहेका छन्। उमेरले २० वर्ष पुगेका उनी रुपन्देही क्षेत्र नं. १ का मतदाता हुन्। आफूले पहिलो पटक मतदान गर्ने अवसर पाउँदा उनी उत्साहित छन्।

‘अहिलेको निर्वाचन सामान्य निर्वाचन होइन। यो एउटा विशाल क्रान्तिपछिको निर्वाचन हो,’ पङ्गेनी भन्छन्, ‘मतदान गर्न असाध्यै उत्साहित छु। त्यसको कुनै सीमा नै छैन।’ पङ्गेनी सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमहरूबाट निर्वाचन र उम्मेदवारहरूबारे आफू अपडेट भइरहेको बताउँछन्।

उनी बौद्धिक, पढेलेखेका र जनताको मर्म बुझ्ने व्यक्तिहरू आगामी निर्वाचनबाट अनुमोदित भई संसद् प्रवेश गरून् भन्ने चाहन्छन्। उनी मुलुकमा सुशासन, भ्रष्टाचारको अन्त्य र युवाहरूले रोजगारीको लागि विदेश जानुपर्ने बाध्यताको अन्त्य हुनुपर्ने मागसहित जेनजी आन्दोलन भएको बताउँदै तीन दशकदेखि नेपाली नागरिकहरूले भोग्नुपरेको दुःख, पीडा र राज्यको दमन अब सहन नपरोस् भन्ने चाहन्छन्।

‘हाम्रो इच्छा भनेकै बौद्धिक, पढेलेखेका र जनताको मर्म बुझ्ने नेताहरू नागरिकबाट अनुमोदित भएर संसद् छिरून् भन्ने हो। तीन दशकदेखि जुन पीडा, दुःख र राज्यको दमन सहनुपर्यो, त्यो अब सहन नपरोस्। हाम्रो चाहना यही हो,’ उनी भन्छन्। आफू वैकल्पिक दलहरूको पक्षमा रहेको र पुराना दलहरूको सिन्डिकेट तोडिनुपर्ने उनी बताउँछन्।

काभ्रेको बनेपा नगरपालिका–२ का २१ वर्षीय आशिक घिमिरे आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा पहिलो पटक मतदान गर्दैछन्। भक्तपुरको बागेश्वरी कलेजमा स्नातक तेस्रो वर्षमा अध्ययनरत उनी काभ्रे क्षेत्र नं. २ का मतदाता हुन्। हालै मतदाता परिचयपत्र बनाएका उनी आफूले पहिलो पटक मताधिकार प्रयोग गर्न पाउँदा उत्साहित बनेका हुन्। उनी आगामी निर्वाचनबाट युवा पुस्ताका प्रतिनिधिहरू संसद् प्रवेश गरून् र नयाँ बन्ने सरकारमा स्थान पाओन् भन्ने चाहन्छन्।

मताधिकार प्रयोग गर्न उत्साहित छन् जेनजी मतदाता, चाहन्छन् – ‘स्वदेशमै रोजगारी र सुशासन’
प्रतिनिधिसभा सदस्य निर्वाचन– २०८२ का लागि विभिन्न जिल्लामा पठाउन तयारी गरिँदै मतदान सामग्रीहरू । तस्बिरः प्रदीपराज वन्त/रासस

‘युवामा जोस हुन्छ, जाँगर हुन्छ, ऊर्जा हुन्छ। वर्षौँदेखि उही पुराना र धेरै पटक परीक्षण भएका नेताहरूले नै स्थान पाउँदा देश आज यस्तो अवस्थामा पुगेको छ। न रोजगारी पाउँछौँ, न त गुणस्तरीय शिक्षा नै। अब देशलाई माथि उठाउन युवा पुस्ताले नेतृत्व गर्नुपर्छ,’ घिमिरे भन्छन्।

काठमाडौंमा बसेर अध्ययनसँगै जागिर गर्दै आएकी रुपन्देहीको देवदह नगरपालिका–५ की ललिता घिमिरे दोस्रो पटक मतदानमा सहभागी हुँदैछिन्। २०७९ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा मताधिकार प्रयोग गरिसकेकी उनी पुनः मतदान गर्न उत्साहित बनेकी छिन्। ‘विषम परिस्थितिपछि हुन लागेको निर्वाचनमा मतदान गरी नयाँ प्रतिनिधि छान्न पाउने अवसर पाउँदा उत्साहित छु,’ उनी भन्छिन्।

उमेरले २५ वर्षकी उनी काम गर्न सक्ने क्षमता र दक्षता भएको नयाँ पुस्ताले अवसर पाओस् भन्ने चाहन्छिन्। उनी थप्छिन्, ‘पार्टी जुनसुकै होस्, काम गर्न सक्ने क्षमता र दक्षता भएको नयाँ पुस्ताले अवसर पाओस् भन्ने चाहन्छु।’

पाल्पाको रामपुर नगरपालिकाका पङ्कज भण्डारी पनि पहिलो पटक निर्वाचनमा मतदान गर्दैछन्। २३ वर्षीय भण्डारी अनुभवी र विगतमा सत्ताको भोक चलन नगरेको अनुहारलाई प्रतिनिधि छान्ने बताउँछन्। जेनजी आन्दोलनको मुख्य मुद्दा भ्रष्टाचार नियन्त्रण, सुशासन र युवाहरूलाई स्वदेशमै रोजगारी सिर्जना भएको बताउँदै आगामी निर्वाचनबाट योग्य र सक्षम व्यक्तिहरूले संसद् छिर्ने अवसर पाउनुपर्ने उनी बताउँछन्।

‘जेनजी आन्दोलनको मुख्य मुद्दा भ्रष्टाचार नियन्त्रण, सुशासन र युवाहरूलाई स्वदेशमै रोजगारीको सिर्जना हो,’ भण्डारी भन्छन्, ‘परिवर्तन भएको अनुहार फेर्नु मात्र होइन, दल नै परिवर्तन गर्नुपर्छ भन्ने मान्यता म राख्दिनँ। अनुभवी र सत्ताको भोक चलन नगरेको अनुहारले यो पाली संसद् छिर्ने अवसर पाउनुपर्छ।’ आगामी निर्वाचनपछि बन्ने नयाँ सरकारले युवाहरूलाई स्वदेशमै बस्ने वातावरण सिर्जना गर्नुपर्ने उनी जिकिर गर्छन्।

‘स्वदेशमा रोजगारीको सिर्जना नहुँदा अहिले दैनिक हजारौं युवाहरूले देश छाड्नुपर्ने अवस्था छ। यसलाई रोक्नुपर्छ। सरकारी निकायहरूमा दलीय पहुँच र घुसबिना काम हुँदैन, यो अवस्थाको जरैदेखि अन्त्य हुनुपर्छ,’ उनी भन्छन्।

जेनजी पुस्ता भन्नाले सन् १९९७ देखि सन् २०१२ को बीचमा जन्मेका व्यक्तिहरूलाई बुझिन्छ। १४ देखि २९ वर्ष उमेरका जेनजी पुस्तालाई डिजिटल नेटिभको रूपमा पनि चिनिन्छ। जेनजी पुस्ता जेनेरेसन अल्फाभन्दा अगाडिका हुन् भने उनीहरू मिलेनियल्सलाई पछ्याउँछन्। जेनजी पुस्ताहरू धेरैजसो स्मार्टफोन र सामाजिक सञ्जालसँग हुर्केका छन्।

राष्ट्रिय युवा नीति–२०७२ अनुसार नेपालमा १६ देखि ४० वर्ष उमेर समूहलाई मात्रै युवा भनिन्थ्यो। तर, गत भदौमा केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले पारित गरेको राष्ट्रिय युवा नीति २०८२ अनुसार १८ देखि ३५ वर्ष उमेर समूहकालाई मात्रै युवा भनिने उल्लेख गरिएको छ।

राष्ट्रिय जनगणना–२०६८ अनुसार नेपालमा १६–४० वर्ष उमेर समूहका युवाको सङ्ख्या कूल जनसङ्ख्याको ४० दशमलव ३५ प्रतिशत रहेको थियो। राष्ट्रिय जनगणना, २०७८ अनुसार यो बढेर ४२ दशमलव ५६ प्रतिशत पुगेको छ। त्यस्तै, १५–५९ वर्ष उमेर समूहको सङ्ख्या कूल जनसङ्ख्याको ६१.९६ प्रतिशत र १५–६४ उमेर समूहको सक्रिय जनसङ्ख्या ६५ प्रतिशतको हाराहारीमा रहेको छ। नेपालमा युवा उमेर समूहभित्र पनि १८–२४ वर्ष उमेरका अधिक छन्।

नेपालमा मतदानको लागि १८ वर्ष पूरा हुनुपर्छ। निर्वाचन आयोग नेपालका अनुसार आगामी प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्न योग्य (फागुन २० गतेसम्म १८ वर्ष पुगेका) एक करोड ८९ लाख तीन हजार ६ सय ८९ मतदाता छन्। जसमा पुरुष ९६ लाख ६३ हजार ३ सय ५८, महिला ९२ लाख ४० हजार एक सय ३१ र अन्य २०० जना छन्। जसमा १८ देखि ४० वर्ष उमेर समूहका मतदाता मात्रै ५२ प्रतिशत रहेको निर्वाचन आयोगले जनाएको छ।

मताधिकार प्रयोग गर्न उत्साहित छन् जेनजी मतदाता, चाहन्छन् – ‘स्वदेशमै रोजगारी र सुशासन’
प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका निर्वाचन प्रहरीहरुलाई सुरक्षासम्बन्धी निर्देशन दिँदै जाजरकोटका प्रमुख जिल्ला अधिकारी राजु पौडेल । तस्बिरः हेमन्त केसी/रासस

२०७९ मा भएको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता थिए। जसमा पुरुष ९१ लाख ४० हजार ८०६, महिला ८८ लाख ४७ हजार ५७९ र अन्य एक सय ८५ थिए। यो पटकको निर्वाचनमा मतदाताको सङ्ख्या उल्लेखनीय रूपमा बढेको हो।

गत निर्वाचनको तुलनामा यस पटक मतदाताको सङ्ख्या ९ लाख १५ हजार ११९ ले वृद्धि भएको हो। जसमा पुरुष मतदाता ५ लाख २२ हजार ५५२, महिला मतदाता ३ लाख ९२ हजार ५५२ र अन्य मतदाता १५ ले वृद्धि भएको छ।

निर्वाचन आयोगका अनुसार आगामी निर्वाचनका लागि मतदान स्थलको सङ्ख्या पनि बढाइएको छ। गत २०७९ सालको निर्वाचनको तुलनामा यो पटक ७५ मतदान स्थल र आठ सय ८५ मतदान केन्द्र थप गरिएको हो। देशभर १० हजार ९६७ मतदान स्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको छ, जहाँबाट मतदाताहरूले नयाँ प्रतिनिधि छान्न आफ्नो मताधिकार प्रयोग गर्न पाउँछन्।





Source link

Leave a Comment