‘भीडतन्त्र’ लोकतन्त्रको अभ्यास कि भावनाको उन्माद ?



यतिबेला देश चुनावी रापतापमा छ। २३ र २४ भदौको जेन-जी प्रदर्शनपछि देश प्रतिनिधिसभाको अर्ली इलेक्सनको सँघारमा पुगेको छ। अघिल्ला निर्वाचनहरूमा मैदानमा मात्र देखिने चुनावी सर्गर्मी अहिले सामाजिक सञ्जालमा पनि उत्तिकै तातेको छ।

मैदानमा हुने सभा, जुलुस, शक्ति प्रदर्शन, नाराबाजी र सामाजिक सञ्जालमा देखिने समर्थन र विरोध, प्रश्न र जिज्ञासा—यी सबै लोकतान्त्रिक अभ्यासका रूप हुन्। लोकतन्त्र विचार, नीति, उत्तरदायित्व, जवाफदेहिता र संस्थागत प्रक्रियामा आधारित प्रणाली हो। तर चुनावी प्रचार-प्रसारका नाममा भइरहेका पछिल्ला परिदृश्यलाई नजिकबाट नियाल्दा प्रश्न उठ्छ- के हामी सचेत लोकतन्त्रको अभ्यास गर्दै छौँ ? या ‘भीडतन्त्र’को आत्मरतिमा रमाइरहेका छौँ ? जब राजनीतिक प्रभावको मापन विचारभन्दा भीडको आकार र सामाजिक सञ्जालको ‘ट्रेन्ड’बाट हुन थाल्छ, तब त्यो अभ्यास भीडतर्फ मोडिन्छ। जसलाई विवेक र चेतनाले नियन्त्रण गर्दैन, त्यसलाई उन्मादले प्रश्रय दिन्छ।

पछिल्ला केही वर्षमा नेपालमा विभिन्न राजनीतिक शक्ति, स्वतन्त्र उम्मेदवार र परम्परागत दलहरूले आ-आफ्नो शक्ति प्रदर्शनलाई प्राथमिकता दिएको देखिन्छ। ठूलो जनसमूह उपस्थित गराउनु, सामाजिक सञ्जालमा लाखौँ फलोअर्स देखाउनु, सडकमा नाराबाजीसहित समर्थन वा प्रदर्शन गर्नुलाई राजनीतिक सन्देश दिने माध्यमका रूपमा लिइएको छ ।

अहिले भीडतन्त्रको नेतृत्व काठमाडौं महानगरपालिकाका पूर्वमेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र शाहले गरेका छन्। कालो चस्मा र कालो पहिरनबाट रहस्यमयी व्यक्तित्व निर्माण गरेका शाह यतिबेला बाक्लो भीडसहित देश दौडाहामा छन्। उनको पछि लाग्ने भीडबाट अन्य राजनीतिक दलका उम्मेदवारलाई देशैभरि असुरक्षा र पराजयको डर प‍ैदा भएको छ।राजनीतिक दलका उम्मेदवार मात्र होइन, पूर्वराजा ज्ञानेन्द्र शाहसमेत भीडको मनोविज्ञानबाट टाढा बस्न सकेका छैनन्। झापाबाट काठमाडौं फर्किँदा विमानस्थलदेखि निवाससम्म उतारिएको भीडले चुनावको मुखमा गरिएको शक्ति प्रदर्शनका रुपमा हेरिएको छ।यो पछिल्लो ‘ट्रेन्ड’ले राजनीतिक प्रतिस्पर्धामा विचारको गहिराइभन्दा भावनात्मक उन्मादतर्फ धकेल्ने संकेत गर्छन्। भीडले तत्कालीन ऊर्जा त दिन सक्ला, तर दीर्घकालीन समाधान र नीतिगत स्पष्टता दिन सक्दैन ।

‘भीडतन्त्र’मा तर्क, तथ्य र नीतिगत बहसभन्दा भावनात्मक आवेग, नारा र संख्यात्मक प्रदर्शनले प्रभाव पार्ने गर्छ। भीडमा व्यक्तिको भौतिक उपस्थिति भए पनि विवेक शिथिल हुने सामाजिक मनोविज्ञान काम गर्छ। पछिल्लो जेन-जी प्रदर्शनमा देखिएको बल प्रयोग र त्यसपछिक विध्वंसले पनि यही मनोविज्ञानलाई पुष्टि गर्छ। ठूलो समूहमा व्यक्ति आफ्नोभन्दा समूहको पहिचानलाई आत्मसात गर्छ। यो सधैं नकारात्मक हुन्छ भन्ने होइन।सामाजिक विभेद र अन्यायविरुद्ध उर्लिएको भीडले इतिहासमा सकारात्मक परिवर्तन पनि ल्याएको छ। तर यही शक्ति गलत सूचना, भ्रम र उग्र भावनाले निर्देशित भए विनाशकारी बन्ने सम्भावना पनि उत्तिकै रहन्छ।

नेपालमा पनि यदि राजनीतिक प्रतिस्पर्धा विचार, कार्यक्रम र परिणाममा केन्द्रित भएन भने भीडतन्त्रको क्षणिक उत्साहले लोकतन्त्रलाई संस्थागत गर्नुको सट्टा झनै कमजोर बनाउने खतरा रहन्छ

यसै सन्दर्भमा बङ्गलादेशको पछिल्लो निर्वाचन परिणाम उल्लेखनीय छ। २०२४ मा जेने–जी नेतृत्वमा भएको व्यापक सडक आन्दोलन, लामो समयदेखि सत्तामा रहेको नेतृत्वविरुद्ध चर्किएको असन्तोष र सामाजिक सञ्जालमा देखिएको तीव्र राजनीतिक सक्रियताले त्यहाँ पूर्ण रूपमा नयाँ राजनीतिक शक्ति उदाउने अपेक्षा गरिएको थियो। आन्दोलनले देशको राजनीतिक वातावरण बदलिदिएको थियो, पुरानो संरचनामाथि प्रश्न उठाएको थियो र वैकल्पिक शक्तिहरूलाई सडक र डिजिटल माध्यममा असाधारण लोकप्रियता दिलाएको थियो। तर हालै सम्पन्न संसदीय निर्वाचनको परिणामले फरक सन्देश दिएको छ। करिब दुई तिहाइ बहुमतसहित बङ्गलादेश नेशनलिस्ट पार्टी (बिएनपी) ले स्पष्ट अग्रता लिएको छ र लामो समयदेखि निर्वासनमा रहेका उक्त पार्टीका नेता तारिक रहमानको नेतृत्वमा सरकार बन्ने निश्चित भएको छ। आन्दोलनको समयमा सडक र सामाजिक सञ्जालमा चर्चित रहेका युवा नेतृत्वका नयाँ राजनीतिक समूहहरू भने सीमित सिटमै खुम्चिएका छन्।

यस परिणामले एउटा गम्भीर सन्देश दिन्छ—सडकको भीड, नाराको उर्जा र डिजिटल लोकप्रियता सधैं मतदाताको अन्तिम निर्णयमा रूपान्तरित हुँदैन। आन्दोलनले जनदबाब सिर्जना गर्न सक्छ, राजनीतिक चेतना जगाउन सक्छ, तर मतपेटिकामा पुग्दा मतदाता भावनाभन्दा स्थायित्व, अनुभव र संस्थागत निरन्तरतर्फ झुक्न सक्छन्। भीडले बनाएको वातावरण र निर्वाचन परिणामबीच दूरी रहन सक्छ। यही दूरी नबुझ्दा राजनीति भावनात्मक उन्मादतर्फ बढी र नीतिगत बहसतर्फ कम केन्द्रित हुन थाल्छ।

नेपालमा पनि यस्तै प्रवृत्ति देखिन थालेको छ। सामाजिक सञ्जालमा भाइरल हुनु, भीड तान्नु वा भावनात्मक भाषणमार्फत समुदायलाई प्रभावित गर्नु राजनीतिक रणनीतिको केन्द्रमा देखिन्छ। भीडले तथ्यभन्दा भ्रम र अफवाहलाई छिटो फैलाउँछ। गलत सूचना र दुष्प्रचार भीडको माध्यमबाट तीव्र रूपमा फैलिन सक्छ। भावनात्मक ध्रुवीकरणले समाजमा असहिष्णुता र विभाजन बढाउन सक्छ। नीति र कार्यक्रमको बहस ओझेलमा परेपछि चुनावपछि बन्ने सरकार र त्यसले दिने ‘डेलिभरी’ कमजोर हुने जोखिम रहन्छ।

इतिहासले पनि यही पाठ सिकाउँछ। फ्रान्सेली क्रान्तिपछि “रेन अफ टेरर” को समयमा भीडको उन्मादले कानुनी प्रक्रिया र विवेकलाई कमजोर बनाएको थियो। जर्मनीमा सन् १९३० को दशकमा जनसमूहको उग्र राष्ट्रवाद र भावनात्मक भाषणले लोकतान्त्रिक संरचनालाई कमजोर बनाउँदै अधिनायकवादलाई बल दिएको थियो। आधुनिक युगमा सामाजिक सञ्जालमार्फत फैलिएको गलत सूचनाले कतिपय देशहरूमा चुनावी परिणाम र जनमतलाई प्रभावित गर्ने प्रयास भएको उदाहरणहरू छन्। यी सबै घटनाले देखाउँछन्—भीडको ऊर्जा परिवर्तनकारी हुन सक्छ, तर विवेक र संयमताले मार्गनिर्देशन नगरे विनाशकारी पनि बन्न सक्छ।

नेपालको सन्दर्भमा बेरोजगारी, युवाहरूको निराशा, राजनीतिक असन्तोष र विकासप्रतिको अपेक्षाबीच भीडतन्त्रको जमीन तयार भएको देखिन्छ। जब नागरिकले संस्थागत प्रक्रियामा विश्वास गुमाउन थाल्छन्, तब उनीहरू करिस्म्याटिक व्यक्तित्व, आक्रोशपूर्ण भाषण वा तात्कालिक समाधानका वाचातर्फ आकर्षित हुन सक्छन्। यस्तो अवस्थामा नेता पनि नीतिगत गहिराइभन्दा भावनात्मक अपीलतर्फ झुक्छन्। भीडले ताली बजाउँछ, नारा लगाउँछ, तर पाँच वर्षसम्म शासन चलाउने क्षमता नीति, दक्षता र उत्तरदायित्वले निर्धारण गर्छ।

जनसहभागिता लोकतन्त्रको आत्मा हो। समस्या तब उत्पन्न हुन्छ, जब सहभागिता अन्ध समर्थनमा रूपान्तरित हुन्छ। सचेत नागरिक भीडको हिस्सा हुन सक्छ, तर उसले प्रश्न पनि गर्छ, प्रमाण माग्छ र कार्यक्रमको मूल्याङ्कन गर्छ। भीडतन्त्रबाट लोकतन्त्रतर्फको यात्रा मतदाता शिक्षा र नागरिक चेतनाको परिपक्वतामा निर्भर हुन्छ।

आजको चुनौती भनेको भीडलाई विवेक र संयमतामा रूपान्तरण गर्नु हो। नागरिक चेतना अभिवृद्धि गर्नु, तथ्यपरक सूचना प्रवाह सुनिश्चित गर्नु, मिडिया साक्षरता र तथ्य-जाँच संस्कार विकास गर्नु र राजनीतिक दललाई नीतिगत बहसमा बाध्य बनाउनु आवश्यक छ। भीडले जति छिटो देवत्वकरण गर्छ, त्यति नै छिटो दानव पनि बनाउन सक्छ। त्यसैले सामाजिक सञ्जाल भ्रमको खेती गर्ने प्लेटफर्म नभई सही सूचना प्रवाह गर्ने, नयाँ विचार आदान-प्रदान गर्ने र विश्वव्यापी अवसर जोड्ने माध्यम बन्नुपर्छ।

देशको भविष्य भीडको आकारले होइन, मतदाताको विवेकले निर्धारण गर्नुपर्छ। बङ्गलादेशको अनुभवले देखाएझैँ डिजिटल लोकप्रियता र सडकको समर्थन सधैँ निर्वाचन परिणामसँग मेल नखान सक्छ। नेपालमा पनि यदि राजनीतिक प्रतिस्पर्धा विचार, कार्यक्रम र परिणाममा केन्द्रित भएन भने भीडतन्त्रको क्षणिक उत्साहले लोकतन्त्रलाई संस्थागत गर्नुको सट्टा झनै कमजोर बनाउने खतरा रहन्छ। उन्नत लोकतन्त्रको पक्षमा उठेको आवाजलाई भावनाभन्दा विवेक, अफवाहभन्दा तथ्य र नाराभन्दा नीति रोज्ने संस्कारमा रूपान्तरित गर्नु आजको आवश्यकता हो। नत्र फुटाएर राज गर्न पल्केका देशी–विदेशी शक्तिले लोकतन्त्रलाई बलियो हुन दिने छैनन्।





Source link

Leave a Comment