भीआईपीले देखे मेयर, देखेनन् मिटरब्याज पीडित


News Summary

Generated by OK AI. Editorially reviewed.

  • माइतीघर मण्डलामा तीन दिनदेखि मिटरब्याज पीडित, स्थानीय सरकार प्रमुख र अन्य समूहले फरकफरक माग राख्दै धर्ना दिएका छन्।
  • मेयर तिर्थराज भट्टराईले संघीय सरकारलाई स्थानीय स्रोत प्रयोग र प्रदूषण नियन्त्रणका लागि कानुन बनाउन आग्रह गर्दै आमरण अनशनको चेतावनी दिए।
  • रास्वपा सांसद गणेश पराजुली माइतीघरमा क्यामेरालाई साक्षी राखेर मेयरसँग गफ गरे। तर अरूको मुद्दामा चासो दिएनन्।

स्थान : माइतीघर मण्डला

समयावधि : तीन दिन

उद्देश्य : राज्यसामू आफ्नो आवाज सुनाउनु

माइतीघरको काखमा एकातिर मिटरब्याज पीडित छन् भने अर्कातिर स्थानीय सरकार प्रमुख । तीन दिनदेखि यी दुवै समूह आ–आफ्नो माग लिएर आन्दोलित छन् । त्यही लहरोमा सँगसँगै छन्, अन्य दुई समूह । यसरी फरकफरक माग राख्दै माइतीघर मण्डलामा विभिन्न समूह धर्नारत छन् ।

बानेश्वरबाट जाँदा माइतीघरको मुखैमा भेटिन्छन्, खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई । त्यसपछि भुइँमा पलेटी कसेर बसिरहेका भेटिन्छन्, सिरहाका श्याम विश्वकर्मा र सिताकुमारी मण्डल । यी दुईलाई कटेर गएपछि ‘म गायिका बुन उप्रेतीलाई न्याय चाहियो…’ भन्दै बसेको अर्का टोली छन् । र, अन्तिममा छ ‘नेपाल पिछडावर्ग महासंघ’को धर्ना ।

माइतीघरमा नेपाल पिछडावर्ग महासंघ’को धर्ना ।

यसरी फरक-फरक मुद्दा बोकेर माइतीघरमा विभिन्न समूह आन्दोलनमा देखिए । तर, पछिल्लो समय सुनसान देखिन थालिसकेको माइतीघरमा अहिले भिडभाड छ । कारण, भोक हड्ताल गरिरहेका मेयर तिर्थराज भट्टराईको ‘शक्ति’ ले भीआईपीलाई माइतीघरसम्म तानेको छ । मिडिया पनि झुम्मिएका छन् ।

यी सबै गतिविधि देखेर आश्चर्यचकित छन्, छेउमै रहेका सिरहाका श्याम विश्वकर्मा र सिताकुमारी । ‘त्यहाँ (मेयर भट्टराई) अस्तिदेखि नेतादेखि थुप्रै मान्छे आउँछन् । यहीँ बसेको हामीलाई कसैले वास्ता गर्दैन । प्रहरी–प्रशासन, केही मिडियाबाहेक अरूले सोधिखोजी गरेन । जबकि हामी दुवैजना (मेयरको टोली र हामी) तीन दिनदेखि नै यहाँ छौँ । हामी गरिबको कसले सुन्ने…,’ विश्वकर्मा भावुक सुनिए ।

भीआईपीले देखे मेयर, देखेनन् मिटरब्याज पीडित
मिटरब्याज पीडितलाई कारबाहीको माग गर्दै काठमाडौंको माइतीघरमा धर्नामा बसेका सिरहाका श्याम विश्वकर्मा र सिताकुमारी।

रिपोर्टिङको सिलसिलामा मंगलबार दिउँसो माइतीघर मण्डला पुग्दा पनि यस्तै दृश्य देखियो । मेयर भट्टराईकोमा कार्यकर्ताको भिडभाड थियो । दिक्तेल रूपाकोटकै वडा नम्बर १० का रञ्जित राई र वडा नम्बर १३ का स्थानीय रूपककिरण राई गफिँदै थिए । आफ्नो साथ–समर्थन रहेको बताउँदै मेयरलाई ढाडस दिँदै थिए ।

यहीबीचमा एकाएक भिड बढ्छ । कारण, रास्वपा सांसद गणेश पराजुली दलबलसहित माइतीघर आएका थिए । उनका पछिपछि एकाएक मिडियाको भिड लाग्यो । क्यामेरालाई साक्षी राखेर मेयरसँग करिब आधा घण्टाभन्दा धेरै उनले गफ गरे ।

तर, त्यहीँ छेउका मिटरब्याज पीडितलाई भेट्ने फुर्सद उनलाई भएन । सायद मिटरब्याज पीडितलाई भेट्दा त्यति ‘क्लिक’ पाइन्न थियो, उनी आफ्नो बाटो लागे । जबकि, त्यसअघि क्यामेराअगाडि राखेर मेयर र सांसद पराजुलीले भनेका थिए, ‘सरकार जुन पार्टीको भएपनि नागरिकका पक्षमा काम गर्नुपर्‍यो ।’ तर, जसै भेटघाट सकियो, छेउमै रहेका भुइँमान्छेको अरू आन्दोलनमा आँखा गएनन् । कसैले वास्ता गरेनन् ।

मिटरब्याज पीडितले यो सबै टुलुटुलु हेरिरहे । यतिसम्म कि, सांसद पराजुली उनीहरूकै अगाडि आएर अन्तर्वार्ता दिन भ्याए । उनीहरूकै अगाडि उभिएर फोटोसेसन गरे । तर, फर्केर अरूका मुद्दामा चासो लिएनन् ।

कांग्रेसबाट अध्यक्ष जितेका मेयरलाई कांग्रेसकै खण्डन गराउन युट्युबरले पनि अनेक प्रयत्न गरे । राम्रै समय खर्चिए । तर, ‘बाठा’ मेयर किन चिप्लिन्थे । ‘आर्यघाट गएपनि यसमै रहन्छु । बरू यसभित्रको प्रवृत्ति सुधार्न पहल गर्ने हो, यसरी’ भनिहाले । सम्भवतः सांसद पराजुलीसँग आएका मिडियाका हुलको उद्देश्य पनि त्यत्ति थियो, नेता लागेसँगै उनीहरू पनि लागे ।

मिटरब्याज पीडितले यो सबै टुलुटुलु हेरिरहे । यतिसम्म कि, सांसद पराजुली उनीहरूकै अगाडि आएर अन्तर्वार्ता दिन भ्याए । उनीहरूकै अगाडि उभिएर फोटोसेसन गरे । तर, फर्केर अरूका मुद्दामा चासो लिएनन् ।

भीआईपीले देखे मेयर, देखेनन् मिटरब्याज पीडित
मिटरब्याज पीडितकै अगाडि अन्तर्वार्ता दिँदै रास्वपा सांसद गणेश पराजुली। उनले मेयरसँग गफ गरे पनि अरूका मुद्दामा चासै लिएनन् ।

‘हाम्रै अगाडि आएर फोटो खिच्छन्, के गर्छन्, तर केही सोध्दैनन् । हुन त हामी गरिबको सुनेर के फाइदा हुन्छ र ? कसले चिन्छ र हामीलाई यहाँ आउन ?,’ मिटरब्याज पीडित श्यामले भने ।

तीनदिनदेखि यस्तै दृश्यको साक्षी हुनुपर्दा झन मन चुँडिएको छ, श्याम विश्वकर्मा र सिताकुमारी मण्डलको । उता मिटरब्याज साहुले दिएको पीडा उस्तै छ । त्यही पीडा सुनुवाइ होस् र समाधान निस्कियोस् भने मेयर भट्टराई नजिकै बसेर उनीहरू तीनदिनदेखि धर्नामा छन् ।

श्याम विश्वकर्माका अनुसार उनले पाँच लाख ऋण लिएपनि अहिलेसम्म २१ लाख तिरिसकेका छन् । तर, पनि साहुले छोडेका छैनन् । साहुकारले ५०–६० लाख मागिरहेको छ, आफ्नो हडपेको जग्गा पनि फिर्ता गरेको छैन ।

‘हाम्रो पैसा पनि सकिन लाग्यो । यत्रा मान्छे हुन्छन् यहाँ, तर हाम्रो कोही छैन । गरिब छौँ नि त,’ सिताकुमारीले भनिन् ।

त्यस्तै, सिताकुमारीका अनुसार उनले पनि पाँच लाख ऋण लिएपनि अहिलेसम्म नौ लाख तिरिसकेकी छन् । तर, साहुकारले अझै १२ लाख मागिरहेको छ । जग्गा पनि आफ्नो नाममा राखेका छन् ।

मेयरको ‘शक्ति’ले माइतीघर तानिएका भीआईपीलाई उनीहरूका पीडा सुन्ने फुर्सद छैन । यी दुई साथी जे सोचेर काठमाडौं आए, त्यो पूरा भएको छैन । बरू ल्याएको पैसा सकिन लागिसक्यो । आफन्तकामा बस्न पनि असहज हुने अवस्था आइसकेको छ ।

‘हाम्रो पैसा पनि सकिन लाग्यो । यत्रा मान्छे हुन्छन् यहाँ, तर हाम्रो कोही छैन । गरिब छौँ नि त,’ सिताकुमारीले भनिन् ।

भीआईपीले देखे मेयर, देखेनन् मिटरब्याज पीडित
माइतीघरमा मिटरब्याज पीडित र पिछडावर्ग महासंघको धर्ना।

मेयर भट्टराईका अनुसार पनि उनलाई भेट्न विभिन्न दलका नेतादेखि उच्च पदस्थसम्म आएका छन् । माओवादी सांसद रामकुमार राई ‘पासाङ’ देखि पूर्वनिर्वाचन आयुक्त भोजराज पोखरेल लगायत आइसकेका छन् ।

कार्यकर्ताको जमघट पनि राम्रै भइरहेको छ । तर, ‘देशकै चिन्ता’ गरिरहेका यी कसैलाई मिटरब्याज पीडित वा अरू ‘सामान्य आन्दोलनकारी’लाई फर्केर हेर्ने फुर्सद देखिँदैन ।

अर्कोतर्फ, राजधानी काठमाडौं आएर भोक हड्तालमा बसिरहेका एउटा स्थानीय सरकार प्रमुखका दुःख पनि कमका भने छैनन् । बाँदर, नीलगाई लगायतबाट कृषिमा क्षति, सिसा–प्लास्टिक प्रदूषण र स्थानीय स्रोत उपयोगको नीतिगत सुधारका लागि आन्दोलन गरिरहेका छन् उनी ।

भीआईपीले देखे मेयर, देखेनन् मिटरब्याज पीडित
माइतीघर मण्डलामा खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईको सत्याग्रहमा भिडियो खिच्दै सञ्‍चारकर्मी।

स्थानीय कच्चा पदार्थ प्रयोग गर्न संघीय ऐन बाधक भएकोले पटकपटक लिखित तथा मौखिक अनुरोधलाई संघीय सरकारले बेवास्ता गरेको उनको आरोप छ । ‘स्थानीय स्रोत र सामग्री प्रयोग गर्न स्थानीय सरकार र प्रदेश सरकारले कानुन बनाउन नसक्ने अवस्था छ,’ उनले भने ।

तीन दिनदेखि माइतीघरमा रहेका मेयर भट्टराईले संघीय सरकारको उदासीनताविरुद्ध आक्रोश पोखे । यदि अब पनि राज्यले नसुन्ने हो भने आमरण अनशन बस्ने चेतावनी उनले दिए ।

‘हामीले एक वर्षदेखि संघीय सरकारलाई पत्राचार र भेटघाटमार्फत बाँस लगायतका स्थानीय स्रोतलाई भवन निर्माण कोडमा समावेश गर्न, बाँदर–नीलगाईबाट बाली जोगाउन र सिसा–प्लास्टिक प्रदूषण नियन्त्रण गर्न कानुन बनाउन माग गर्‍यौं’ भट्टराईले भने, ‘तर, सरकारले हामीलाई नजरअन्दाज गरेको छ । यो भुइँ मान्छेका मुद्दा हो । न्याय नपाएसम्म छोड्दैनौँ, बरू आर्यघाट पुगिन्छ अब… ।’

कांग्रेसकै मेयरलाई कांग्रेससहितको एमाले नेतृत्वको सरकारले किन सुनेन त ? मेयर भन्छन्, ‘सरकार कसको छ भन्ने कुरा गौँण हो । मेरो लागि यी मुद्दा ठूला हुन् ।’

भीआईपीले देखे मेयर, देखेनन् मिटरब्याज पीडित
माइतीघरमा सत्याग्रहमा बसेका बेला भेट्न आएका समर्थकसँग खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई।

यस्ता छन् मेयर भट्टराईका सात बुँदे माग

१. जलवायु परिवर्तनको असरलाई जोगाउन सरकारले ठोस कानुन बनाउँदै प्रदूषण धेरै गर्ने देशसँग क्षतिपूर्ति लिने ।

२. बाँस र अन्य कच्चा पदार्थ सरकारी कार्यालयमा प्रयोग गर्न बिल्डिङ कोड र ढाँचा तयार गरी कानुन निर्माण गरिदिने ।

३. प्लास्टिकजन्य फोहोर उत्पादन गरी प्रदूषण गर्ने उद्योगीसँग स्थानीय तहले अतिरिक्त १० प्रतिशत कर लिन पाउने कानुन बनाउनुपर्ने ।

४. जथाभावी प्रकृतिको दोहन गर्ने क्रसर, उद्योगलगायतलाई रोकी कानुन बनाएर कारबाही गर्नुपर्ने ।

५. पहिलो चरणमा वन र उद्योग मन्त्रालय र माताहतका सबै निकायले फर्निचर खरिद गर्दा बाँस, काठ, राडीपाखी, वातावरण र पर्यावरणमैत्री फर्निचर र भवन संरचना बनाउने नीतिगत निर्णय गरियोस् ।

६. विशेषतः काठमाडौंबाट खोटाङ जाँदा बाटोमा अलपत्र परेका पुल, सडक र संरचना अलपत्र पार्नेलाई कडा कानुनी कारबाही गरी तत्काल निर्माणको काम सुरु गरियोस् ।

७. पहाडी भूभागमा बाँदर तथा वन्यजन्तुको आतंकबाट बसाईंसराईको दर बढेको हुँदा तत्काल नीतिगत निर्णय गरी क्षतिपूर्ति तथा बाँदर व्यवस्थापन गरियोस् ।





Source link

Leave a Comment