प्रकाशित मिति : माघ १६, २०८१ बुधबार
भारत उत्तर प्रदेशको प्रयागराजमा जारी कुम्भ मेलामा भागदौड हुँदा कम्तिमा ३० जनाको मृत्यु भएको छ । दजनौं घाइते भएका छन ।
प्रशासनले आधिकारीक रुपमा मृत्युको संख्यालाई पुष्टि नगरेको बीबीसीले जनाएको छ । कुम्भ मेलामा बुधबार राति भागदौड मच्चिएको थियो ।
श्रद्धालुहरू ब्रह्म मुहूर्तको प्रतीक्षा गर्दै घाटमा सुतिरहेका वेला अन्य श्रद्धालुहरु पुगेपछि भागदौड मच्चिएको बताइएको छ । त्यहाँ पुगेका श्रद्धालुहरुले सुतिरहेका अन्य श्रद्धालुहरुलाई नदेखेपछि घटना भएको बताइएको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले प्रयागराज महाकुम्भमा भएको दुर्घटना अत्यन्त दुखद भएको बताएका छन । स्थानीय प्रशासन पीडितहरूको उद्धार र राहतमा जुटेको छ । मुख्यमन्त्री योगी आदित्यनाथले स्थिति नियन्त्रणमा रहेको बताएका छन ।
अमृत स्नानको समयमा प्रयागराजमा ८ देखि १० करोड श्रद्धालुहरूको उपस्थिति रहने प्रशासनले अनुमान गरेको छ । स्थानीय प्रशासनले घाटमा नसुत्न र नुहाएपछि फर्कन श्रद्धालुहरुलाई अपिल गरेको थियो ।
श्रद्धालुहरूको सुरक्षा र सुविधाका लागि प्रहरीका युनिटहरु सकृय रहेका छन । श्रद्धालुहरूलाई कुनै पनि घाटमा स्नान गर्न सकिने बताइएको थियो ।
संगम घाटमा भीड नबढाउनका लागि अन्य घाटहरूको पनि महत्त्व समान रहेको भन्दै धार्मिक गुरूहरूले बारम्बार अपील गरेका छन्। १३ जनवरीबाट सुरु भएको कुंभ मेलामा छ वटा अमृत स्नान हुनेछन् ।