अफिसको ब्रेक घण्टीमा लक्ष्मी दिदीले पकाउनुभएको एक थाल भात खाएपछि आज मेरो मनमा एक्कासी केही प्रश्नहरू आए। हुनत मैले यस कार्यालयमा काम गर्न थालेको करीब एक वर्ष हुन लाग्यो र जीवनमा भात खान सुरु गरेको करीब ३३ वर्ष। आज नौलो परिकार चाखेको पनि होइन न त आज मलाई त्यस्तो कुनै सपना नै आएको हो। थाहा छैन किन यति लामो समयदेखि खाँदै आएको तर कहिल्यै अमन नजागेको भात खाँदा आज मलाई यस्तो अनुभव भयो। आजको एक थाल भातले मलाई भावुक बनायो।
खाद्य बाली सम्बन्धी समाचार तथा लेखहरूमा धान हाम्रो प्रमुख बाली हो भनेर उल्लेख नगरिएका प्रकाशनहरू विरलै होलान्। नेपालमा खपत हुने अनाजहरूमा धानको योगदान ६७ प्रतिशत छ। करीब ८० प्रतिशतभन्दा बढी नेपालीले दैनिक भात तथा अन्य चामलजन्य परिकारहरूको उपभोग गर्छन्। औसतमा प्रति वर्ष नेपालीहरूले करिब १३८ किलोग्राम चामल उपभोग गर्छन्। यसबाट अनुमान लगाउन सकिन्छ¸ मधुमेह रोगबाट ग्रसित भएकाहरू बाहेक अधिकांश नेपालीले दिनमा दुई छाक टम्म पेटभरी भात खान रुचाउँछन्।
बदलिंदो समय र उपभोक्ताका रुचिले पनि थप परिवर्तनहरू ल्याएका छन्। हिजो नेपालका कुनाकाप्चादेखि शहर–बजारमा भात खान रुचाउने राम¸ हरि¸ सीता र गीताहरूको जमातले अहिले युरोप¸ अमेरिका¸ अष्ट्रेलिया र अफ्रिकन देशहरूमा समेत चामलको माग बढाइदिएका छन्। विश्वव्यापीकरणको प्रतिबिम्ब नेपाली शहर–बजारमा पनि उत्तिकै प्रबल छ। विदेशी होटल र परिकारहरूमा पनि चामलको उपस्थिति उस्तै बढेको देखिन्छ। दुई छाक भात खाएर होस् वा भात खान आनाकानी गर्ने शहरिया छोराछोरीहरू समेत चामलकै विदेशी परिकार खान होटल धाइरहेका छन्। तपाईंले जापानिज र कोरियन रेस्टुरेन्टहरू गएर सुसी¸ तोकबुक्की र गिमबाब खानुभएको भए कुरा बुझिसक्नुभयो होला। यी सबै भात र चमलकै परिकारहरू हुन्। बजार उपभोक्ताको माग अनुसार चलायमान हुन्छ भनेर मैले पढेकै एक दशक हुनलाग्यो।
नेपाललाई प्रति वर्ष लगभग ७० लाख मेट्रिक टन धान आवश्यक पर्छ जसमध्ये करीब ५५ लाख मेट्रिक टन धान स्वदेशमै उत्पादन भइरहेको छ। कुल उत्पादनबाट अपुग करीब १५-२० मेट्रिक टन धान हामी वर्षेनि आयात गरेरै भए पनि उपभोग गर्छौं
मुखमा लगाइने फेसप्याक र फेसमास्कदेखि मुखभित्र आहारका रूपमा उपभोग हुने थुप्रै खाद्यवस्तुमा चामल र धान छ। धान–चामल मानव जीवनमा कहाँ–कहाँ छ भनेर लेख्न थालेमा त्यो आफैं अर्को लेख हुनेछ। म जन्मनुपूर्व धान थियो¸ म आमाको गर्भमा हुँदा पाएको पोषण र जन्मेपछि खाएको दूधमा समेत भातको सुगन्ध थियो। मेरो छैटी र न्वारानदेखिका पूजाआजा तथा काजक्रियाहरूमा धान थियो¸ मेरो पास्नीको पहिलो गाँसमा धान थियो र आज पनि उत्तिकै महत्त्वका साथ मैले खाएका गाँसमा र सासमा धान नै छ।
धानलाई प्रमुख बाली भनिरहँदा यस क्षेत्रको विकास र प्रवर्धन गर्न नेपालमा सरकारी तथा गैरसरकारी निकायबाट प्रयास नभएका होइनन्। मेरा प्रश्नहरूले के ती प्रयासहरू समय सान्दर्भिक र पर्याप्त छन् भनी सोध्दै छन्। के धान नेपालको प्रमुख खाद्यान्न बाली मात्रै हो त ? के धानलाई प्रमुखताको उपाधि मात्र दिएर स्वत: नेपालमा धान र धानमा आधारित खेती प्रणाली र कृषकहरूको जीविकोपार्जनमा सुधार आउँदै जाने हो ? एक छिन लामो सास फेरें अनि मनै मन उत्तर दिएँ¸ पक्कै पनि होइन।
आफ्नै उत्पादनले पुग्छ त ?
नेपाललाई प्रति वर्ष लगभग ७० लाख मेट्रिक टन धान आवश्यक पर्छ जसमध्ये करीब ५५ लाख मेट्रिक टन धान स्वदेशमै उत्पादन भइरहेको छ। कुल उत्पादनबाट अपुग करीब १५-२० मेट्रिक टन धान हामी वर्षेनि आयात गरेरै भए पनि उपभोग गर्छौं। मैले कार्यालयमा उपभोग गरिरहेको चामलको बोरा हेर्ने मन लाग्यो र भान्सातर्फ दौडिएँ। मेरो शंका सही थियो¸ मैले पनि आयातित चामलको भात खाइरहेको रहेछु¸ फरक्क काममा फर्किएँ।
मानो रोपी मुरी फलाउन सक्ने हाम्रा युवा जनशक्ति वैदेशिक रोजगारीका लागि पङ्क्तिहरूमा लाम लागिरहेका छन् र रेमिट्यान्सको प्रयोग पनि आयवर्धक क्षेत्रमा भन्दा सुख–सुविधा र उपभोगका साधनहरूमा बढी खर्च भइरहेको छ। पहाडबाट तराईका उर्वर भूभागमा भएको बसाइँसराइ होस् वा बढ्दो जनसंख्याको चाप नेपालको धान उत्पादनले आन्तरिक उपभोग धान्न नसक्दा आयात बढ्दै गएको हो र परनिर्भरता पनि। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार, आर्थिक वर्ष २०७८/७९ मा नेपालमा १४ लाख ७७ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमा त्यस वर्ष ५१ लाख ३१ हजार मेट्रिक टन धान उत्पादन भएको तथ्याङ्क छ। आ.व. २०७९/८० मा नेपालमा उत्पादनमा केही वृद्धि भई ५५ लाख मेट्रिक टनको हाराहारीमा धान उत्पादन भएको थियो। तपाईंले पनि अनुमान लगाइसक्नुभयो होला यो उत्पादन अपुग छ।
नेपालले हालै २१औं धान दिवस मनाएको छ। २१ वटा धानका दमदार नाराहरूले खेतका आलीहरूमा वैज्ञानिकहरूका पदचिह्नहरू रोपिएका छन् र नेतृत्वका देशै जुरुक्क उचाल्ने मीठा भाकाहरूले गराहरूमा सिंचाइका ताल बाँधिएका छन्। खेतबारीमा रोपाईं सकेर होला¸ गमला र कौसी समेत भरिभराउ छन्। ठट्टा गरेको हुँ! फेरि हौसिएर खेत बारीमा हेर्न हतारहतार जानुहोला र भने जस्तै नदेखेर आत्तिनुहोला। विश्वासका साथ नियाल्नुभयो भने फलिरहेका रंगीचंगी सिमेन्टेड स्तम्भहरूभित्र पनि लहलहाउँदा बासमती तथा लङ्गग्रेन चामलका बोरा फलिरहेका देख्नुहुनेछ¸ केवल नजर ठीक हुनुपर्नेछ।
कुनै समय अन्य देशमा राहतको रूपमा चामल पठाउने नेपाल¸ विभिन्न स्थानमा कार्यालय खोलेर धान–चामल निर्यात समेत गरेको नेपाल आज वार्षिक रूपमा करीब ४० अर्ब बराबरको धान–चामल आयात गर्दैछ भनेर समाचार पढ्दा मन निराश हुन्छ। नेपालमा एकातिर मोटा चामलबाट मसिनो र मसिनोबाट बासमती चामलको उपभोग गर्नेको जमात बढ्दो छ भने अर्कोतिर खेतीयोग्य उर्वर भूमिमा पिलर फल्ने क्रम जारी छ। बढ्दो खाद्य असुरक्षाका चुनौतीहरू बीच भात खाने जमातको वृद्धि नेपाल र अन्य एशियाली मुलुकहरूमा मात्र नभई धान खेती नहुने मुलुकमा समेत बढिरहेको छ। यस्तो अवस्थामा एकल प्रयासबाट सहजै पार पाउन कठिन देखिन्छ। विश्वव्यापी रूपमा बढिरहेको खाद्य सुरक्षाको समस्याबाट नेपाल अछूत रहन सक्दैन। त्यसैले समयमै नेपालले पनि यस समस्याको गम्भीरतालाई बुझी ठोस कदम चालेर समस्यासँग जुध्न सक्ने क्षमता विकास गर्दै जानुपर्ने हुन्छ। अर्थात् आयातबाट आत्मनिर्भरतातर्फ र आत्मनिर्भरताबाट निर्याततर्फको बाटो हुँदै समृद्धितर्फ लम्किन जरूरी छ। यस्तो किसिमको सहयात्रामा मैले हाल काम गर्दै गरेको ईरी (इन्टरनेशनल राइस रिसर्च इन्स्टिट्युट) को थप भूमिका के हुन सक्छ होला भनी मनमा प्रश्न जाग्यो।
ईरी धानमा आधारित खेती प्रणाली विकास र सुधारका निम्ती निरन्तर अनुसन्धान गर्ने एक अगुवा अन्तर्राष्ट्रिय अनुसन्धानकर्ता संस्था हो। ईरीले प्राविधिक सहयोगसँगै धानमा जातीय सदृढीकरणका निम्ति नेपाललाई सुधारिएका जर्मप्लाज्म उपलब्ध गराउँदै आएको छ। फिलिपिन्सस्थित ईरी हेडक्वाटरमा रहेको जीन बैंकमा विश्वभरिबाट धानका करीब १ लाख ३० हजार विभिन्न जातका बीउ अध्ययन अनुसन्धानका लागि संरक्षण गरी राखिएका छन् र त्यसमा नेपालबाट समेत पठाइएका ३ हजार धानका जातहरू आनुवंशिक सामग्रीका रूपमा सम्मिलित र संरक्षित छन्।
ओहो आज भातको भावनामै डुबेर समयले नेटो काटेको पत्तो पाइएनछ। मेरो देश पनि एक दिन धान-चामलमा आत्मनिर्भर हुनेछ¸ कुनै दिन हामी फेरि धान निर्यात गर्नेछौं¸ विश्व खाद्य तथा पोषण सुरक्षा साँच्चिकै सुनिश्चित गर्न सकिनेछ भन्ने जस्ता अनेकौं विचारहरू मनमा खेलाउँदै घरतिर लागियो
सन् १९६६ मा ईरीले निकालेको प्रथम धानको जात आईआरले भोकमरी विरुद्ध लड्न गरेको योगदान र हरित क्रान्तिको इतिहास सर्वविदितै छ। ईरीले नेपालको धान क्षेत्रको विकासका लागि हालसम्म गरेको योगदानहरू उच्च भए तापनि केही समययता नेपालमा सक्रियता कम भएको महसुस हुन थालेको छ अर्थात् ईरीको वास्तविक क्षमताको फाइदा नेपालले लिन सकिरहेको छैन। मैले यत्तिको भनिरहेको छैन¸ धान क्षेत्रमा नवीनतम प्रविधिको विकास र समय अनुसार विकासका सफल मोडलहरू मार्फत कैयौं देश ईरीसँगको सहकार्यमा धान आयात गर्ने मुलुकबाट धानमा आत्मनिर्भर र निर्यात गर्ने भएका उदाहरण छन्।
धानमा बंगलादेशको क्रान्ति : एक उदाहरण
हाम्रो छिमेकी मुलुक बंगलादेशको उदाहरण दिन मन लाग्यो। बंगलादेशको सफलताको यात्रा नेपालका लागि समेत अनुकरणीय र प्रेरणादायी हुनुसक्दछ। वार्षिक जनसंख्या वृद्धिदर १.१२ प्रतिशत र जनसंख्या करीब १७० मिलियन भएको बंगलादेशले सन् २००८ बाट धान उत्पादनमा आत्मनिर्भरता हासिल गरेको थियो र हाल विश्वमा (कुटानी गरेको) धान उत्पादन गर्ने मुलुकहरूमा तेस्रो स्थानमा आउँछ। नेपालको तुलनामा बंगलादेशको जनसंख्या ५.५ गुणाले बढी छ तर क्षेत्रफलमा बंगलादेश नेपालभन्दा १२ हजार ७९ वर्ग किलोमिटरले मात्र ठूलो छ। नेपालमा करीब २८ प्रतिशत जमिन कृषियोग्य छ र करीब २१ प्रतिशत भूभागमा मात्र खेती भइरहेको छ। हामीकहाँ करीब ३ मिलियन हेक्टर खेती गरिएको जमिनको आधा भूभाग अर्थात् करीब १.५ मिलियन हेक्टरमा धान खेती हुन्छ र मुख्यतया बर्खे र चैते गरी दुई सिजनमा मात्र। बंगलादेशमा वर्षमा तीन पटकसम्म धान खेती हुन्छ (बर्खे¸ हिउँदे वा बोरो र चैते) र उनीहरूको करीब ७७ प्रतिशत भूभाग कृषियोग्य छ र करीब ८० मिलियन हेक्टरमा ३ बालीसम्म धान खेती गर्छन्। बंगलादेशका लागि सफलताको यात्रा सरल भने थिएन र नेपालका लागि पनि त्यतिकै चुनौतीपूर्ण हुनेछ।
बंगलादेशले कृषि गार्हस्थ्य उत्पादनमा सन् १९९१ यताका दुई दशकमा ५.७ प्रतिशत र सन् २०११ देखि २०२१ सम्ममा ८.९ प्रतिशत वृद्धि सुनिश्चित गरेको हो। सोही अवधिमा प्रतिव्यक्ति आय ३१० अमेरिकन डलर (१९९१ मा) बाट २५७० अमेरिकन डलर (२०२१) पुगेको हो र गरीबी प्रतिशत ५६.६ प्रतिशतबाट २०.५ प्रतिशत घट्यो। औसत १.७ टन प्रति हेक्टरको उत्पादकत्वबाट ५ टन पुग्न बंगलादेशलाई करीब ६० वर्ष समय लाग्यो र सो अवधिमा जनसंख्या २.५ गुणा बढ्यो र उत्पादकत्व तीन गुणाले बढ्यो। बंगलादेशले यस्तो किसिमको सकारात्मक सूचकांकहरू प्राप्त गर्नुमा बंगलादेश सरकारको सक्रियता¸ कृषि क्षेत्रलाई प्राथमिकता¸ अधिकतम लगानी र प्रविधि विकास¸ विस्तार र ईरीसँगको सहकार्यलाई प्रमुख कारण मान्न सकिन्छ।
नेपालमै माग कसरी पूरा गर्ने ?
एक अनुसन्धानका अनुसार सन् २०३५ मा नेपालमा धान उत्पादनको माग करीब दुई गुणाले बढी १०.२६ मिलियन टन पुग्नेछ भनी प्रक्षेपण गरिएको छ र सो अवस्थामा खाद्य सुरक्षा सुनिश्चित गर्न धानको हालको उत्पादनमा करीब ८३ प्रतिशतले वृद्धि भएको हुनुपर्नेछ। यो लक्ष्य हाल वार्षिक रूपमा ४० अर्ब बराबरको धान–चामल आयात गरिरहेको नेपालका लागि सामान्य भने होइन र नेपालीहरूका लागि निद्रा नलाग्ने विषय हुनसक्दछ। यो कुरा विश्लेषण गरिरहँदा मन भारी भएको महसुस भयो।
नेपालका लागि पनि कम समयमै धानमा अपेक्षित उपलब्धि प्राप्त गर्ने हो भने ईरीसँगको सहकार्य र समन्वय एक प्रबल बाटो हुनसक्दछ। ईरीको वास्तविक क्षमताको फाइदा लिन नेपाल सरकारले कृषिलाई प्राथमिकता दिनुसँगै यस क्षेत्रको समष्टिगत विकासका लागि पर्याप्त स्रोत–साधन छुट्याउन जरूरी हुन्छ। कृषि अनुसन्धान र प्रसारसँगै प्राविधिक जनशक्तिको क्षमता विकास¸ कृषि पूर्वाधारहरूको विकास¸ विस्तार र प्रविधिमा कृषकहरूको सरल पहुँच सुनिश्चित गर्न सक्नुपर्छ।
कृषि पेशालाई लाभदायी र सम्मानजनक बनाउन अत्यावश्यक पूर्वाधारहरू जस्तै उन्नत बीउ¸ मल¸ सिंचाइ¸ विषादी¸ औजार¸ प्रविधि र बजारको पहुँच सुनिश्चित गर्न जरूरी हुन्छ जसमा ईरीले नवीनतम प्रविधि हस्तान्तरणमा सघाउन सक्दछ। ईरीले स्पिड ब्रिडिङ विधिबाट नयाँ जातहरू उन्मोचन गर्ने समय करीब आधा छोट्याइदिएको छ¸ जिन ईडिटिङ प्रविधिको प्रयोगले जातीय गुण सुधार गर्दै धानका कैयौं संख्यामा उच्च उत्पादन दिने¸ सुख्खा तथा खडेरी र बाढी अनि डुबान सहने¸ रोग–कीरा अवरोधी¸ पौष्टिक तथा बजार र माग केन्द्रित जातहरू तयार पारेको छ।
बजारको माग अनुसार सुगर रोग लागेका व्यक्तिहरूले समेत खान मिल्ने धेरै कम मात्रामा ग्लाईसिमिक इन्डेक्स भएका धानका जातहरू तथा उच्च मात्रामा प्रोटिन तथा अन्य खनिज तत्त्व (जस्तै जिङ्क) भएका धानका जातहरू ईरीले विकास गरिसकेको छ र यसबाट नेपालले समेत लाभ लिन सक्छ।
नेपालमा खाद्य सुरक्षा सुनिश्चित गर्नमा खाद्यान्न बालीको प्रमुख भूमिका छ जसमा पनि धान बालीको योगदान अधिक छ। पोषण सुरक्षा विनाको खाद्य सुरक्षा अपुरो हुने हुँदा हाल उच्च उत्पादन दिन सक्ने धानका जातहरूसँगै जलवायु मैत्री तथा उच्च मात्रामा प्रोटिन र अन्य खनिज खाद्य तत्त्व सम्मिलित धानका जातहरू नेपाली किसान र उपभोक्तामाझ ल्याउनु अहिलेको माग र आवश्यकता देखिन्छ।
ओहो आज भातको भावनामै डुबेर समयले नेटो काटेको पत्तो पाइएनछ। मेरो देश पनि एक दिन धान-चामलमा आत्मनिर्भर हुनेछ¸ कुनै दिन हामी फेरि धान निर्यात गर्नेछौं¸ विश्व खाद्य तथा पोषण सुरक्षा साँच्चिकै सुनिश्चित गर्न सकिनेछ भन्ने जस्ता अनेकौं विचारहरू मनमा खेलाउँदै घरतिर लागियो।
(लेखक ईरी नेपालमा अनुसन्धानकर्ताका रूपमा कार्यरत छन्।)