मकवानपुर । सवारी र राजमार्गहरु जीवनका आधार हुन्, राजमार्ग जोड्ने पुलहरु, जीवन यात्राका पनि पुल हुन् । पछिल्लो समय कतै प्राकृतिक त कतै मानवीय कारण राजमार्ग र पुलहरुमा क्षति हुँदा मानवीय तथा भौतिक क्षति पनि बढ्दो छ ।
त्रिभुवन राजपथ अन्तरगत मकवानपुरको हेटौंडा–भैसे सडक खण्डमा पर्ने चौकिटोलको सडक भासिएपछि अहिले मर्मत गरिदै छ । साँघुरो सडक मर्मत हुँदै गर्दा र डाइभर्सन गर्ने विकल्प समेत हुँदा सवारी सञ्चालनमा कठिनायी भएको छ ।
२०८२ बैशाख २९ पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको चोरमारामा रहेको गिरुबारी खोलाको पुल भाँचिएपछि अहिले राजमार्ग डाइभर्सन गरिएको छ । राजमार्गको भारवहन क्षमताभन्दा बढी वजनका सवारी गड्दा पुल भाँचिएको हो । घटनापछि डाइभर्सन निर्माण नहुञ्जेल झण्डै ५६ घण्टा पूर्व–पश्चिम राजमार्ग नै अवरुद्ध भएको थियो । यसअघि २०७९ साल असारमा पनि ओभरलोड कै कारण यो पुलको बीच भाग चर्किएको थियो।
सोही दिन २०८२ वैशाख २९ मै इलामको फिक्कल–नयाँ बजार सडक खण्डमा पर्ने मयुँ खोलाको पुल भाँचिएपछि अहिले पनि यातायात सञ्चालनमा समस्या भएको छ ।
२०८१ पुस २६, पूर्वी नवलपरासीमा रहेका विनयी खोलाको दुम्कीबासमा पुल भाँचियो । पुल भाँचिएपछि पूर्व–पश्चिम राजमार्ग सवारी सञ्चालनमा समस्या भएको छ ।
२०७६ साउन २९ मा अरुणखोला पुल, मध्यविन्दु नगरपालिका–११ (पूर्वी नवलपरासी) सडकखण्डको अरुणखोलामा पुल भासिएको थियो । लोकाहा खोलाको पुल, देवचुली नगरपालिका–१३ (पूर्वी नवलपरासी) २०७३ मङ्सिर २५ मा ना. ६ ख ३०१७ नम्बरको ट्रकको ठक्करबाट यो पुल भाँचिएको थियो।
यी घटना केही उदाहरण मात्रै हुन् ।
नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, पुल महाशाखा, सडक विभाग पुल महाशाखाका उपमहानिर्देशक ललिजन खनालका अनुसार पुलहरु भाँचिनुको कारणहरु विभिन्न भएपनि अत्यधिक भारवहन पहिलो कारण हो । सामान्यतः एक सय टन भार क्षमता भएका गाडीमा एक सय पचास टनसम्म बोकेर ल्याउने गरिएका उनले बताए ।
हाल नेपालको राजमार्गमा सञ्चालनमा रहेका अधिकांश पुलहरू करिब ५० वर्ष पुराना छन् । जुन तत्कालीन समयको सवारी चाप तथा भार क्षमता अनुसार निर्माण गरिएका हुन्। अहिले दैनिक हजारौँ सवारीसाधन र क्षमताभन्दा बढी भार बोकेका मालवाहक गाडीहरू गुड्दा यी पुराना पुलहरूले भार थेग्न नसकेका अवस्थामा पुगेकाले समस्या भएको नेपाल यातायात राष्ट्रिय महासंघका केन्द्रीय सदस्य गोकर्ण पराजुली बताउँछन् ।
नयाँ निर्माण भएका पुलबाहेक पूर्व–पश्चिम राजमार्ग निर्माणको समयमा बनेका पुलको भारवहन क्षमता अहिलेको आवश्यकताभन्दा कम छ । यस्ता पुलहरु तथा राजमार्गको क्षमता सुरक्षाको लागि नेपाल सरकारले नियम कानूनको पूर्ण पालनामा कडाइ गर्दै नयाँ बन्ने संरचनाको क्षमता उच्च राख्नुपर्ने केन्द्रीय सदस्य पराजुलीले बताए ।

किन भाँचिन्छन् पुलहरु ?
हालसम्मको घटनाहरु हेर्दा पुलहरु भाँचिएका र सडकहरु भासिएका पहिलो कारण हुन् अत्यधिक भारको असर । क्षमताभन्दा बढी भारले पुल तथा राजमार्गहरुमा असर पर्ने गरेको नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, पुल महाशाखा, सडक विभाग पुल महाशाखाका उपमहानिर्देशक खनालको भनाइ छ ।
सडकको डिजाइन गर्दा निर्धारण गरिएको भार क्षमताभन्दा धेरै वजन बोकेका ट्रक, ट्रिपरलगायतका सवारी साधनहरू पुलमाथिबाट गुडेपछि पुलको संरचनामा अत्यधिक भार पर्छ । एक पटकमा एक वटामात्रै भारयुक्त गाडी÷ट्रकहरु वारपार गर्न भनिएको सवारीहरु प्रतिक्षा गर्दैनन्, एकै पटक ४ वटासम्म सवारीहरु वारपार गर्छन् । जसको वजन पुलले धान्नै सक्दैन ।
नेपालको भौगोलिक धरातल पनि अर्को कारण हो । पाहाडी राजधार्गहरुमा जमिनको संरचनाको कारण राजमार्गहरु भासिने गरेका छन् । यसरी राजमार्ग भासिने र पुलहरु भाँचिने अर्को कारण हो अनुगमनको कमी । भार क्षमता जाँच गर्ने संयन्त्रको प्रभावकारी अनुगमन नहुँदा चालकहरूले क्षमताभन्दा बढी भार बोक्ने गर्छन्। नेपालको विभिन्न स्थानमा गरी सरकारी तहबाट २ वटा र निजी स्तरबाट ११ वटा गरी धर्मकाँटाहरु हाल सञ्चालनमा छन् ।
तर ति धर्मकाँटाहरुमा भारयुक्त सवारीको नियन्त्रण छैन । “नाम मात्रैका धर्मकाँटाहरु छन्, तिनैले धर्म धानेका छैनन” यातायात व्यवसायी हरि राउत भन्छन् “धर्मकाँटासँग ट्राफिक प्रशासनको जिम्मेवारीमाथि पनि प्रश्न उठ्ने गरेको छ ।”
यसैगरी पुलहरु भाँचिने अर्को कारण हो पुराना पुलहरूको डिजाइन । पुराना पुलहरू (जस्तै नेपालका पूर्व–पश्चिम राजमार्गमा बनेका अधिकांश पुलहरू तत्कालीन समयको सवारी चाप र भार क्षमतालाई ध्यानमा राखेर डिजाइन गरिएका थिए। हालको सवारी चाप र मालवाहक गाडीहरूको भार अत्यधिक बोक्दा ती पुलहरूले भार थेग्न सक्दैनन्।

दशकौं पुराना पुलहरूमा प्रयोग भएका निर्माण सामग्री फलाम, कंक्रिटको आयु सकिएको हुन सक्छ वा ती सामग्रीहरू अहिलेको तुलनामा कम गुणस्तरका हुन सक्ने आँकलन पनि व्यवसायीहरुले गर्न थालेका छन् ।
कतिपय पुलहरु बन्दाबन्दै भाँचिएका उदाहरण पनि छन् । जस्तै बागमती प्रदेशको रामेछाप जिल्लाको मन्थली नगरपालिका ६ र ७ जोड्ने तामाकोशी नदी माथिको ठेडिखोला पुल २६ वैशाख २०८२ मा भाँचिएको छ। निर्माणको अन्तिम चरणमा रहेको ५४ मिटर लामो अन्तिम स्पानको ढलान सकिएको केही दिनमै भाँचिएको हो । २०८२ असार मसान्तसम्म पुलबाट सवारी आवागमन खुलाइने तयारी निर्माण गरिदै थियो । यस घटनामा न्यून गुणस्तरको निर्माण सामग्री आशंका गरिएको छ । निर्माण प्रक्रियामा गुणस्तरहीन सामग्रीको प्रयोग वा निर्माण मापदण्डको पालना नगर्दा पुलको जग, बिम वा अन्य संरचना कमजोर बन्न सक्छ ।
मर्मत सम्भारको कमी अर्को कारण कारण हो । नियमित निरीक्षणको अभाव तथा भएका सानातिना सानातिना क्षतिहरू पहिचान गर्ने, नियमित निरीक्षण गरेर भएका क्षतिहरू ठूला समस्यामा परिणत हुन नदिने परिपाटीको विकास छैन । सरकारी तवरबाट यस्ता त्रुटी सच्याउनु पर्ने नारायणी यातायात व्यवसायी कम्पनी प्रा.लि हेटौंडाका कानून सल्लाहकार मुकुन्द अधिकारी बताउँछन्।
“समयमै मर्मत गर्ने परिपाटी नै छैन, पुलमा आएका सामान्य चिरिएका भाग, खिया लागेका फलामका संरचना वा कमजोर भएका जोडहरूलाई समयमै मर्मत नगर्दा समग्र संरचना कमजोर बन्दै जान्छ” उनले भने । भूकम्प जस्ता शक्तिशाली भूकम्पले पुलको जग र माथिल्लो संरचनामा क्षति पु¥याउन सक्छ, बाढी पहिरोहरुका कारण पनि पुललाई कमजोर बनाउँछ ।
व्यवसायीहरुको के भूमिका ?
पुल भाँचिनुमा व्यवसायीहरूको भूमिकालाई विभिन्न कोणबाट हेर्न सकिन्छ। उनीहरूको प्रत्यक्ष वा अप्रत्यक्ष कार्यले पुलको दीर्घायु र सुरक्षामा असर पार्न सक्छन् ।
मालवाहक सवारी साधन (ट्रक, टिपर आदि) का सञ्चालक तथा व्यवसायीहरूले नाफाका लागि अनुमतिभन्दा बढी वजन बोकाएर ढुवानी गर्दा पुलको संरचनामा अत्यधिक भार पर्छ। यसले पुलको डिजाइन क्षमताभन्दा बढी भार बहन गर्नुपर्ने स्थिति आउँछ । यसप्रति सचेत बनेर सुरक्षामा लाग्नु यो व्यवसायीहरूको सबैभन्दा महत्वपूर्ण र प्रत्यक्ष भूमिका हो ।
ट्राफिक नियमको उल्लघंन र सजायको डरलाई बेवास्ता गर्दै हुने यस्तो कार्यले सार्वजनिक सम्पत्तिमा क्षति पु¥याउँछ । मानवीय दुर्घटनाको जोखिम पनि बढाउँछ ।
निर्माणका क्रममा गुणस्तरहीन सामग्रीको प्रयोग रोक्नु पर्छ । लागत घटाउनका लागि न्यून गुणस्तरको सामग्री प्रयोग गर्नु वा निर्माण मापदण्डको पालना नगर्नु पुल कमजोर बन्नुको प्रमुख कारण बन्न सक्छ। कमसल सिमेन्ट, फलाम वा अन्य निर्माण सामग्री प्रयोग गर्दा पुलको आयु घट्छ र भविष्यमा भाँचिने सम्भावना प्रबल हुन्छ । यसले पुलको संरचनात्मक अखण्डतामाथि नै प्रश्न चिह्न खडा गर्छ ।
पुलको मर्मत सम्भारको ठेक्का लिएका व्यवसायीहरूले समयमै र सही तरिकाले मर्मत कार्य नगरेमा पनि पुल कमजोर बन्छ । सामान्य मर्मतबाट टर्न सक्ने क्षतिलाई बेवास्ता गर्दा पछि ठूलो समस्या निम्तिन सक्छ। मर्मतका लागि विनियोजित बजेटको दुरुपयोग वा काममा ढिलासुस्तीले पुलको जीर्णोद्धारमा बाधा पुग्छ ।
ढुवानी व्यवसायीहरूले सडक विभाग वा सम्बन्धित निकायसँग पुलहरूको भार क्षमता र अवस्था’bout समन्वयको अभाव देखाउँदा पनि समस्या आउँछ । यद्यपि, अनुगमन गर्ने र नियमन गर्ने मुख्य जिम्मेवारी सरकारी निकायको भए पनि, व्यवसायीहरूले पनि इमान्दारितापूर्वक नियमको पालना गर्नुपर्छ। व्यवसायिक नैतिकताको प्रश्न उठ्ने ठाउँ राख्नु हुदैन ।
यी कार्यहरूमा व्यवसायीको नैतिकता र सामाजिक उत्तरदायित्वको प्रश्न जोडिएको हुन्छ। केवल नाफालाई मात्र प्राथमिकता दिँदा सार्वजनिक सुरक्षा र पूर्वाधारमा पर्ने नकारात्मक असरलाई बेवास्ता गरिन्छ । व्यवसायीहरूको भूमिका नाफामुखी सोच र व्यावसायिक नैतिकताबीचको सन्तुलनमा निर्भर गर्छ। नियमको पालना गर्ने, गुणस्तरीय काम गर्ने र सामाजिक उत्तरदायित्व बुझ्ने व्यवसायीहरूले पूर्वाधारको सुरक्षामा सकारात्मक योगदान पु¥याउँने पराजुली बताउँछन् ।

हामी सहकार्य, सहयोग गर्न तयार छौ, सरकार अघि बढोस्
गोकर्ण पराजुली, अध्यक्ष नारायणी यातायात व्यवसायि कम्पनी प्रालि
केन्द्रीय सदस्य नेपाल यातायात राष्ट्रिय महासंघ।
“नारायणी यातायात व्यवसायी कम्पनी प्रा.लि. यातायात व्यवसायीहरूको एक अग्रणी छाता संस्थाको रूपमा यस क्षेत्रमा क्रियाशील छ। हालैका दिनहरूमा देशभर, विशेष गरी पूर्व–पश्चिम राजमार्गमा, क्षमताभन्दा बढी भार बोकेका सवारी साधनका कारण पुल भाँचिने र राजमार्ग नै भासिने घटनाहरू बढ्दै गएको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। यसले गर्दा सार्वजनिक यातायातमा ठूलो समस्या उत्पन्न भई यात्रु तथा मालवाहक सवारी साधनहरूले अनावश्यक झन्झट भोग्नुका साथै आर्थिक क्षति समेत भइरहेको छ।
विभिन्न जिल्लाहरुमा पुलहरु भाँचिएको घटनाहरु सार्वजनिक भएपछि हामीले सरकारका निकायहरुलाई ध्यानाकषर्ण पनि गरायौ । जसमा हामीले केही मागहरु राखेका छौ । हामीले सम्बन्धित निकाय, विशेषगरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौँ । हामीले अहिले पुल र धर्मकाँटाहरुको मात्रै सवाल उठाएका हौं, यातायात क्षेत्रमा समस्या त यावत छन् । विस्तारै हामी सरकारसँग सहकार्य र खबरदारी गर्दै अघि बढ्ने छौं ।
हामीले तत्काललाई निम्न सवालमा ध्यानाकर्षण गराएका हौ
पुलहरूको क्षमता वृद्धि र मर्मतसम्भार गरी देशभरका पुराना तथा जीर्ण पुलहरूको तत्काल प्राविधिक परीक्षण गरी आवश्यकता अनुसार मर्मत, स्तरोन्नती वा पुनर्निर्माण गरियोस्।
भारवहन क्षमताको कडाईका साथ पालना होस् । सवारी साधनको भारवहन क्षमताको नियमलाई कडाईका साथ लागू गरियोस् र क्षमताभन्दा बढी भार बोक्ने सवारी साधनहरूलाई दण्डित गर्ने व्यवस्था मिलाइयोस्।
हाल देशभर निजि क्षेत्रबाट ११ र सरकारद्वारा २ वटा गरि १३ वटा तौलपुल रहेपनी ती पुलहरूबाट भार बहन क्षमता नियन्त्रणमा प्रभावकारीता देखिएको छैन, यसमा कडाइ गरियोस् ।
नेपाल सरकारले पुर्णरुपमा ढुवानीमा मूल्य अभिवृद्धि कर लागू गरेपनी सो निर्णय कार्यान्वयनमा खासै प्रभावकारी देखिएको छैन, बिना भ्याटमा सामन ढुवानी हुने क्रम बढ्दै गएको छ, सो कानुन कडाइका साथ लागू गरियोस् नत्र खारेजी गरियोस् ।
सवारी चालक र व्यवसायीहरूमा भारवहन क्षमताको पालना सम्बन्धी जनचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गरियोस्।
हामी यस समस्याको तत्काल समाधानको लागि सरकारसँग सहकार्य गर्न पूर्ण रूपमा प्रतिबद्ध छौँ। भविष्यमा यस्ता दुर्घटनाहरूबाट हुने जनधनको क्षति र यातायात अवरोधलाई कम गर्न सबै पक्षको सहयोग र समन्वय अपरिहार्य छ ।
(Visited 9 times, 1 visits today)
