भर्जिनियाबाट बेपत्ता नेपाली नर्सका श्रीमानलाई आज अदालतमा पेश, धरौटीमा रिहा गर्न अस्वीकार



प्रकाशित मिति : भाद्र १०, २०८१ सोमबार

भर्जिनियाबाट बेपत्ता नेपाली नर्सका श्रीमानलाई आज अदालतमा पेश, धरौटीमा रिहा गर्न अस्वीकार

भर्जिनियाबाट बेपत्ता नेपाली नर्स ममता काफ्लेका श्रीमान नरेश दत्त भाट (भट्ट) लाई  अदालतले धरौटीमा रिहा गर्न अस्वीकार गरेको छ । धरौटीमा रिहा गर्ने नगर्ने फैसला गर्न आजविहान उनलाई अदालतमा पेश गरिएको थियो ।

न्यायाधीशले नरेश भट्ट भाग्नसक्ने जोखिममा रहेको र समुदायका लागि खतरा भएको विश्वास गर्दै धरौटीमा रिहा गर्न अस्वीकार गरेका हुन् । नरेशका वकिलले ममता फेला नपरेकाले यस मुद्दामा धरौटीविना राख्नुपर्ने कुनै सम्भावित कारण नभएको भन्दै तर्क गर्न खोजेपनि अदालतले धरौटीमा रिहा गर्न अस्वीकार गरेको हो ।

सोमबार विहान साढे ८ बजे प्रिन्स विलियम जुभेनाइल एण्ड डोमेस्टिक रिलेशन डिस्ट्रिक्ट कोर्टको कोर्टरुम ६ मा उक्त सुनुवाई भएको थियो । उक्त सुनुवाईमा पनि नरेशलाई भौतिक रुपमा नै उपस्थीत गराइएको थियो ।  अर्को सुनुवाई अक्टोबर २४ का लागि तय गरिएको छ ।

यस अघि नरेशलाई पहिलोपटक शुक्रबार अदालतमा पेश गरिएको थियो ।  प्रिन्स विलियम काउन्टीका अभियोजकले शुक्रबार भएको सुनुवाईमा यो मुद्दामा थप विवरणहरु दिएका थिए । नरेशले आफ्नो टेस्ला बेचेको, सुटकेसहरू प्याक गरेको र आफ्नी श्रीमती बेपत्ता भएपछि आफ्नो घर बेच्ने बारे अरूसँग कुरा गरेको विवरणहरु अदालतमा पेश गरिएको थियो । उनले भाग्ने प्रयास गरिरहेको अधिकारीहरुले विश्वास गरेका छन् ।

नरेशलाई आफ्नी श्रीमती बेपत्ता सम्बन्धमा शव लुकाएको अभियोग लगाउनु अघि जम्मा गरिएका प्रमाणका नयाँ विवरणहरू प्रस्तुत गर्दै अभियोजकले घरमा रगतका टाटा फेला पारेको बताएका छन् । तर यो ममता काफ्लेसँग सम्बन्धित भए नभएको भने अझै पुष्टी भएको छैन । नरेशले जुलाई ३० मा तीनवटा चक्कु र सरसफाइका सामग्री फरक–फरक स्थानबाट खरिद गरेको समेत खुलेको छ । अनुसन्धानकर्ताहरुले अझै २ वटा चक्कुहरु फेला पारेका छैनन् । सरसफाईका सामाग्रीहरु अपराध स्थल सफा गर्न प्रयोग गरेको हुनसक्ने अधिकारीहरूले आशंका गरेका छन् ।

नरेशले आफू अपराधमा संलग्न भए नभएकोबारे केहीपनि स्वीकार वा अस्वीकार गरेका छैनन् । शुक्रबार अदालतमा नरेशले बोलेको शब्द केबल आफू अंग्रेजीमा धेरै धाराप्रवाह नभएको भन्नेमात्र थियो । अदालतले नियुक्त गरेको दोभाषेले अनुवाद उपलब्ध गराएका थिए । नरेशमाथि थप अभियोगहरु लाग्ने सम्भावना रहेको अभियोजकले बताएका छन् । ममताकोबारेमा नरेशले धेरै असंगत वयानहरु दिएको अभियोजकको भनाई छ ।  अभियोजकहरुका अनुशार श्रीमती बेपत्ता हुँदा उनी बेरोजगार थिए ।

अदालती कागजातमा ३० जुलाई २०२४ वा त्यसको आसपासमा आरोपी नरेशले आफ्नी श्रीमती ममताको हत्या गरेको र घटना उनकै निवासमा भएको उल्लेख छ । अनुसन्धानको क्रममा उनको मृत्युसँग मिल्दोजुल्दो डिजिटल र फोरेन्सिक प्रमाणहरूको पर्याप्त मात्रा बरामद भएको रिपोर्टमा जनाइएको छ । त्यस्तै शव घरभित्रै रहेको र घरबाट बाहिर घिसारेर निकालिएको प्रमाण भेटिएको पनि अदालती कागजातमा उल्लेख गरिएको छ ।

भर्जिनियाबाट बेपत्ता नेपाली नर्सका श्रीमानलाई आज अदालतमा पेश, धरौटीमा रिहा गर्न अस्वीकार
बेपत्ता नर्स ममता काफ्ले

उनीविरुद्ध शव लुकाएको सम्बन्धमा छैठौं श्रेणीको अपराधको अभियोग लगाइएको छ । भर्जिनियामा यो अभियोगमा कम्तीमा १ बर्षदेखि ५ बर्षसम्म जेल सजाय हुनसक्ने प्रावधान रहेको छ ।

भर्जिनियाबाट बेपत्ता नेपाली नर्सका श्रीमानलाई आज अदालतमा पेश, धरौटीमा रिहा गर्न अस्वीकार

प्रहरीले बिहीबार बिहान नरेशलाई पक्राउ गरेपछि विना धरौटी हिराशतमा राखिएको छ । घरमा रातभर खानतलासीपछि बिहीबार विहान नरेशलाई ममता बेपत्तासँग सम्बन्धित भएको ठहर गर्दै पक्राउ गरिएको थियो । अधिकारीहरूले नरेशलाई बिहान पौने ११ बजेतिर हत्कडी लगाएर घरबाट बाहिर निकालेका थिए ।

ममताकी एकबर्षकी छोरीलाई डिपार्टमेन्ट अफ सोसल सर्भिसको हेरचाहमा राखिएको छ । छोरीलाई कम्बलले लपेटेर घरबाहिर निकालिएको थियो । बच्चा सुरक्षित भएको र डिपार्टमेन्ट अफ सोसल सर्भिस तथा प्रहरीद्वारा अनुमोदित उपयुक्त हेरचाहकर्ताद्वारा हेरचाह गरिएको प्रहरीको भनाई छ ।

अहिलेसम्म ममताको अवस्था अज्ञात छ। प्रहरीले ममता जीवित रहेको कुनै संकेत नरहेको बताएको छ । मनाससबाट जुलाई ३१ देखि बेपत्ता ममता काफ्लेको बारेमा बुझ्न अगस्ट २ मा प्रहरी अधिकारीहरू उनका घरमा पुगेर उनका श्रीमान नरेशसँग कुरा गर्दा उनले त्यतिबेला उनी हराएको रूपमा रिपोर्ट गर्न चाहेका थिएनन् । अगस्ट ५ मा मात्र नरेशले प्रहरीलाई सम्पर्क गरी ममता काफ्ले हराएको जानकारी दिएका थिए ।

यसैबीच ममता काफ्लेकी आमाको अमेरिकाको भिसा स्वीकृत भएको ममताका साथीहरुले बताएका छन् । भिसाका लागि अमेरिकी दूतावास काठहमाडौंमा इमर्जेन्सी अप्वाइन्टमेन्ट लिइएको थियो । ममताकी आमा अब कहिले अमेरिका आउने भन्नेबारे भने केही बताइएको छैन ।





Source link

Leave a Comment