भरतपुर भ्रमण वर्ष २०२४ लाई सफल बनाउन अन्तर्राष्ट्रिय समन्वय उपसमिति



प्रकाशित मिति : भाद्र १७, २०८१ सोमबार

भरतपुर भ्रमण वर्ष २०२४ लाई सफल बनाउन अन्तर्राष्ट्रिय समन्वय उपसमिति

चितवनको भरतपुर महानगरपालिकाले भरतपुर भ्रमण वर्ष २०२४ मनाइरहेको बेला भ्रमण वर्ष सफल बनाउन अन्तर्राष्ट्रिय समन्वय उपसमिति समेत बनाएको छ । नगर प्रमुख रेनु दाहालले उपसमितिमा विभिन्न देशमा रहेका नेपालीहरुलाई मनोनयन गरेको जनाइएको छ । अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने, पर्यटकको संख्या र बसाई अवधि वृद्धि गर्ने तथा दीगो पर्यटन विकासका लागि विदेशमा रहेका नेपालीहरुलाई पनि अन्तर्राष्ट्रिय समन्वय उपसमितिमा राखिएको हो ।

महानगरले सामाजिक तथा आर्थिक परिवर्तन गर्ने उद्देश्यले बृहत अभियान स्वरुप भरतपुर भ्रमण वर्ष २०२४ मनाइरहेको सन्दर्र्भमा निजी क्षेत्रसँगको सहकार्यमा पनि अभियान सञ्चालन भइरहेको नगर प्रमुख दाहालले उल्लेख गरेकी छिन् । सोही अनुरुप विभिन्न उपसमिति गठन गरि प्रचारप्रसार गरिनुका साथै अन्य मूलुकमा बस्ने नेपालीहरुलाई पनि समट्दै अभियान संचालन भइरहेको छ ।

आफूलाई पनि उपसमिति सदस्यमा मनोनयन गरेकोमा खुशी व्यक्त गर्दै भरतपुर भ्रमण वर्षका लागि योगदान दिन आफू उत्साहित रहेको नेपाल पत्रकार महासंघ युरोप शाखा र नेपाल प्रेस युनियन युरोप शाखाको कार्यसमिति सदस्य समेत रहेका पोर्चुगल निवासी युरोपाटीका सम्पादक पुस्तक रेग्मीले बताएका छन् ।  विभिन्न मिडियामा आबद्ध भइ पत्रकारितामा क्रियाशील रहँदै आएका रेग्मीले युरोपमा रहेका प्रवासी नेपालीको अवस्था, नेपालीका सामाजिक गतिविधि, समसामयिक घटना तथा प्रवासमा नेपालीले भोग्नुपरेका समस्यालगायतका विषयमा कलम चलाउँदै आएका छन् ।

भरतपुर भ्रमण वर्ष २०२४ लाई सफल बनाउन अन्तर्राष्ट्रिय समन्वय उपसमिति
अन्तर्राष्ट्रिय समन्वय उपसमितिका एक सदस्य पुस्तक रेग्मी

घोषणापछि विभिन्न कारणले मिति सर्दै आएको भरतपुर भ्रमण वर्ष २०२४ शुक्रबार १ मार्चबाट सुरु भएको थियो । भरतपुर महानगरपालिकाको आयोजनामा ‘घुमौँ भरतपुर’ भन्ने नारासहित सुरु भएको भ्रमण वर्ष २०२४ को नारायणी नदी–किनारमा तत्कालिन प्रधानमन्त्रीसहित चार पूर्वप्रधानमन्त्री र एक अन्तरिम मन्त्रिपरिषद्का अध्यक्षले संयुक्त रूपमा उद्घाटन गरेका थिए । तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली, माधवकुमार नेपाल, झलनाथ खनाल र अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले ‘घुमौँ भरतपुर’ लेखिएको ब्यानरसहितको बलुन उडाएर भ्रमण वर्षको उद्घाटन गरेका थिए ।

भ्रमण वर्षको अवधिमा दुई लाख विदेशीसहित पाँच लाख पर्यटक भित्र्याउने उद्देश्य रहेको महानगरपालिका प्रमुख रेनु दाहालको भनाई छ । भ्रमण वर्षले महानगरका गन्तव्यहरूको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रर्वद्धन गर्ने, पर्यटकको संख्या र बसाइको अवधि वृद्धि गर्दै दिगो पर्यटन विकासबाट समग्र चितवनलाई नै टेवा दिने उनको अपेक्षा छ ।

यसअघि ०८० साललाई भ्रमण वर्षका रूपमा मनाउने घोषणा गरेको महानगरले त्यतिवेला मुख्य राजमार्ग निर्माणाधीन अवस्थामै रहेकाले सार्नुपरेको बताएको थियो । २०२४ को जनवरीमा पनि यही कारण देखाउँदै अन्तिम समयमा भ्रमण वर्षको कार्यक्रम रद्द गरिएको थियो ।





Source link

Leave a Comment