बिहान १० बज्नै लाग्दा विद्यार्थी बोकेर गुटुटु.. विद्यालयको गेटभित्र बस पस्छ। बसबाट उसैगरी शिशु कक्षादेखि १२ सम्म पढ्ने विद्यार्थीहरू झर्छन्।
झट्ट हेर्दा लाग्न सक्छ–कुनै निजी बोर्डिङ स्कुलको दृश्य हो। तर, यो अनुमानले धोका खान्छ। सत्यतामा यो एक सरकारी विद्यालयको दृश्य हो। त्यो पनि सिन्धुपाल्चोकको एक गाउँको विद्यालय हो।
सुनकोसी गाउँपालिका–६ स्थित महेन्द्रोदय माध्यमिक विद्यालयको दृश्यबारे यो चर्चा गरिएको हो। एक सरकारी विद्यालय भए पनि यहाँका अधिकांश विद्यार्थीले यसै गरी बस चढेर आउजाउ गर्न पाएका छन्। जुन केही वर्ष अघिसम्म घण्टौँ पैदल यात्रा गर्नुपर्ने बाध्यता उनीहरूसँग थियो।
नानीबाबुले बस चढ्न पाएयता अभिभावकलाई पनि सन्तोष भएको छ। छोराछोरी ससाना हुँदा विद्यालयसम्म डोर्याउँदै ल्याउनु–पुर्याउनुपर्ने अवस्थाबाट छुटकारा पाएका छन्। अभिभावकको त्यो समय बचत भएको छ।
‘बस सञ्चालन गरेपछि विद्यार्थी र अभिभावक सबै खुसी छन्,’ विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद दंगाल भन्छन्,‘बसमा आउजाउ हुन थालेपछि समयमै विद्यार्थी पुग्छन्। न कक्षा छुट्छ न प्रार्थना।’
अभिभावक त दङ्ग भएको प्रधानाध्यापक दंगालले सुनाए। ‘इसिडीदेखि दुई तीन कक्षासम्म पढ्ने विद्यार्थीहरूलाई अभिभावकले डोराएर ल्याउनुपर्ने हुन्थ्यो। बिहान पुर्याउन आउने, बेलुका लैजान आउनुपर्ने, अहिले त हाई सुख छ उहाँहरूलाई पनि,’ उनले भने।
स्कुल गाडी भने सामाजिक विकास मन्त्रालयले सहयोग गरेको हो। गाडीको व्यवस्थापन भने विद्यालयले नै सञ्चालन गरिरहेको छ। अहिले एउटा मात्र गाडी भएको र थप अर्को पनि भए विद्यार्थीहरूलाई ल्याउन अझै सहज हुने उनले बताए।
यो विद्यालयले बस मात्र चलाएको छैन, भौतिक संरचना पनि उत्तिकै अब्बल बनाएको छ। जसले कुनै निजी विद्यालयलाई मात दिन्छ। भौतिक संरचना सँगसँगै विद्यार्थीहरूलाई खेलकुद र अतिरिक्त क्रियाकलापका लागि रमाउने प्रशस्त ठाउँ छन्।

विद्यालय परिसरमै ‘चिल्ड्रेन पार्क’ जहाँ इसिडीदेखि तीन कक्षासम्मका बालबालिका रमाउँछन्। ठुला विद्यार्थीका लागि भलिबल कोर्ट छ। ब्याडमिन्टन कोर्ट निर्माणाधीन रहेको प्रअ दंगालले सुनाए।
निजी विद्यालयजस्तै शैक्षिक आकर्षण कायम गर्न विद्यालयले अंग्रेजी माध्यममा पठनपाठन पनि चलाइरहेको छ। हाल कक्षा ८ सम्म अंग्रेजी माध्यममा अध्यापन भइरहेको प्रअ दंगालले जानकारी दिए।
यस्तै प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङ कोर्स पनि पठनपाठन भइरहेको छ। प्राविधिक धारतर्फका विद्यार्थीहरूले १२ कक्षासम्मै अंग्रेजी माध्यमबाटै पढ्न पाएका छन्। साधारणतर्फ पनि कक्षा १२ सम्म नै अंग्रेजी माध्यम चलाउने तयारी विद्यालयको छ।
विद्यार्थीको शैक्षिक स्तर सुधार गर्न विद्यालयले शिशु कक्षाबाटै प्रयास गरिरहेको प्रअ दंगाल बताउँछन्। जसका लागि शिशु कक्षामा तीन वटा समूह बनाइएको छ। ‘साढे दुई वर्षदेखिका बालबालिका शिशु कक्षामा आउँछन्। उमेरअनुसार सबैको सिकाइ क्रियाकलाप सँगै गराउन व्यवहारिक हुन्न,’ उनले भने, ‘त्यसैले उमेर समूह अनुसार तीन वटा समूहमा राख्ने निर्णय गरेका हौँ।’

विद्यालयले अपेक्षाकृत शैक्षिक स्तर कायम गरिरहेको पनि प्रअ दंगालको दाबी छ। उनका अनुसार गत वर्षको माध्यमिक शिक्षा परीक्षामा प्राविधिक धारतर्फ शतप्रतिशत नै नतिजा आएको थियो। ‘साधारणतर्फ भने ५५ प्रतिशत नतिजा आएको थियो। प्राविधिक धारतर्फ नतिजा जिल्लामा हाम्रो नै उत्कृष्ट हो,’ उनले भने।
२०७२ देखि सिभिल इन्जिनियरिङ
०७२ सालदेखि सिभिल इन्जिनियरिङ पठनपाठन भइरहेको प्रअ दंगालले बताए। हाल कक्षा ९, १०, ११ र १२ मा यो कोर्स पढाइ भइरहेको छ।
सिभिल इन्जिनियरिङ कोर्स पढ्न जिल्लाभरिकै विद्यार्थी अहिले महेन्द्रोदय आउँछन्। टाढाबाट आउने विद्यार्थीका लागि विद्यालयले आवासीय व्यवस्था गरेको छ।
सिभिल इन्जिनियरिङको पठनपाठन पनि विद्यालयले निःशुल्क गरिरहेको प्रअ दंगालले बताए। उनले भने, ‘तर परीक्षा शुल्क भनेर एउटा परीक्षाको एक हजार भने लिने गरिएको छ। होस्टेलको आवासीय र खानपान सेवा शुल्क भने लाग्छ।’
प्राविधिक धारतर्फको कक्षा सञ्चालनमा सैद्धान्तिक कोर्स सँगसँगै प्रयोगात्मक कक्षालाई प्राथमिकताका साथ सञ्चालन गरिरहेको उनले बताए। विद्यालयले दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्य राखेको उनले सुनाए।

विद्यार्थी तान्न सकस
हाल चार सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन्। राम्रै तवरले विद्यालय चलाउँदा पनि सामुदायिक विद्यालयमा विद्यार्थी ल्याउन गाह्रो देखिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेसम पाख्रिनको अनुभव छ।

‘समाजमा गाउँमा पढ्नुपर्छ–पढाउनुपर्छ भन्ने सोच नै मरेको छ। झन् सरकारी विद्यालय भन्दा नाक खुम्च्याउने प्रवृत्ति छ,’ उनी भन्छन्,‘सहरको शिक्षा र बोर्डिङ स्कुल फेसन जस्तो भयो। त्यो एक प्रकारको चुनौती छ।’ अभिभावकमा सामुदायिक विद्यालयमा राम्रो पढाइ हुन्छ भन्ने विश्वास नै जगाउन समस्या भइरहेको उनले सुनाए।
यही भएर निजी विद्यालयको झल्को दिने गरी बस सञ्चालन गरिएको र अंग्रेजी माध्यमबाट पठनपाठन थालिएको उनले सुनाए। ‘हाम्रो ध्यान कसरी हुन्छ शैक्षिक गुणस्तर कायम गर्ने र समाजलाई विश्वासमा लिनेतर्फ केन्द्रित छ,’ अध्यक्ष पाख्रिनले भने,‘त्यसका लागि निजी विद्यालयभन्दा राम्रो विद्यालय कसरी बनाउन भन्नेमा सिङ्गो विद्यालय परिवार लागेका छौँ।’
सुनकोसी गाउँपालिका–६ का वडाध्यक्ष चक्रबहादुर बस्नेत विद्यालयको प्रगतिसँग सन्तुष्ट छन्। उनले नमुना विद्यालयका लागि चाहिने भौतिक पूर्वाधारदेखिका काममा सघाउ पुर्याइरहेको बताए। त्यसका लागि गाउँपालिकादेखि प्रदेश र संघ सरकारका निकायसम्म ध्यानाकर्षण गराउने काम भइरहेको बताउँछन्।

‘शिक्षाको गुणस्तर कायम गराउनेतर्फ नै विद्यालय परिवार र हाम्रो ध्यान छ,’ वडाध्यक्ष बस्नेतले भने, ‘बालबालिकालाई कसरी पढाउँदा उपलब्धिमूलक नतिजा आउँछ, त्यसका लागि के गर्नुपर्छ ? हामीले हाम्रो तर्फबाट गर्ने प्रयास गरिरहेका छौँ।’
५० लाखको अक्षय कोष
विद्यालयले हालसम्म गरेको कामको स्रोत व्यवस्थापन समुदायकै प्रयासमा सम्भव भएको विव्यस अध्यक्ष पाख्रिन बताउँछन्। ‘विद्यालयको आफ्नै ५० लाखको अक्षयकोष र एक लाख बराबरको छात्रवृत्ति अक्षयकोष छ,’ उनले भने, ‘यो यहीको समुदायबाट जम्मा भएको रकम हो।’ अक्षयकोषको व्याज रकमले निजी स्रोतका शिक्षक व्यवस्थापन देखि अतिरिक्त क्रियाकलापमा खर्च भ्याइरहेको छ। थप सहयोग गाउँपालिका र अन्य सहयोगी निकायबाट जुटाउने गरेको उनले सुनाए।

अक्षयकोष भने विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष रामशरण कार्कीले सुरु गरेका हुन्। वि.स २०६९/७० सालमा कार्की विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुँदा आफैले ५ लाख रुपैयाको अक्षयकोषको स्थपना गरी थालनी गरेका थिए। त्यसपछि अन्य सामाजिक व्यक्तिहरुले रकम थप्दै जाँदा अक्षयकोषको रकम अहिले ५० लाख पुगेको छ। कार्कीले आफू विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुँदा शिक्षाको गुणस्तरमा सुधार ल्याउन भन्दै सो रकमको अक्षयकोष स्थापना गरेका थिए। कार्की अहिले विद्यालयको प्रधान संरक्षक छन्। अहिले पनि उनी विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नका लागि काम गर्दै आइरहेका छन्।
त्योसँगै विद्यालयमा अहिले एक लाख बराबरको छात्रवृत्ति कोष पनि रहेको छ। सो कोषको रकम सञ्चालन गर्नका लागि विद्यालयमा एउटा समिति गठन गरिएको र सोही समितिले छात्रवृत्तिको कामहरू गरिरहेको छ।
प्रकाशित: १७ फाल्गुन २०८१ १९:३७ शनिबार