प्रकाशित मिति : भाद्र १८, २०८१ मंगलबार
बाँकेको नरैनापुर गाउँपालिका–३ कालाफाँटास्थित गेगली गाउँ निवासी ३८ वर्षीया उषा पासी यही भदौ १० मा बिरामी पर्नुभयो ।
घरमै निको होला भन्दाभन्दै दुई दिनपछि उहाँको निधन भयो । श्यामलाल पासीको घरमा देखिएको झाडापखाला, ज्वरो र टाउको दुख्ने समस्या त्यत्तिमै रोकिएन ।
यस्तै लक्षणबाट सङ्क्रमित हुनुभएकी ६५ वर्षीया शान्ति पासीको भदौ १४ मा निधन भयो । यसको दुई दिनपछि भदौ १६ मा १२ महिनाकी नन्दनी पासीको पनि निधन भएपछि यतिबेला श्यामलाल विक्षिप्त हुन पुग्नुभएको छ ।
पाँच दिनको अवधिमा बुहारी उषा, भाउजु शान्ति र नातिनी नन्दनीको निधन भएपछि उहाँ अहिले घरको बाहिरै टोलाएर बस्ने गर्नुहुन्छ ।
सोच्दै नसोचेको दुःख व्यहोर्नुपर्यो, घरमै ठिक होला भन्दाभन्दै भएन, अचानक पीडामाथि पीडा थपिएको छ उहाँले भन्नुभयो, स्वास्थ्य सस्थामा लैजान पनि नपाउँदै घरमै तीनजनाको निधन भयो ।
श्यामलालको एकैघरका तीन सदस्यसहित गेगली गाउँकै १० वर्षीय युसुफ शेखको पनि भदौ १२ गते मृत्यु भएपछि गेगली गाउँवासी शोक र भयमा छन् ।
गाउँका अन्य नागरिकमा सङ्क्रमण फैलिन नदिन नरैनापुर गाउँपालिका स्वास्थ्य शाखाले सोमबार बिहानैदेखि गाउँमा स्वास्थ्य शिविर सञ्चालन गरेपछि त्रास हट्दै गएको स्थानीय जाहिद अलि शेखले बताउनुभयो ।
स्वास्थ्य शिविरमा श्यामलालले पनि स्वास्थ्य जाँच गर्नुभयो । स्वास्थ्य अवस्था सामान्य रहेकाले स्वास्थ्यकर्मीले जीवनजल र पानी शुद्धीकरणका लागि पियुस उपलब्ध गराएको उहाँले बताउनुभयो ।
अचानक झाडापखाला, पेट दुख्ने र ज्वरो आउने समस्या देखिनासाथ घरमा उपचार गर्दागर्दै परिवारका तीन सदस्यको मृत्यु भएपछि श्यामलालले बुढेसकालमा ठूलो दुःख व्यहोर्नुपरेको छ ।
श्यामलालको एकै घरको तीनजनासहित गेगली गाउँमा एक हप्ताको बीचमा चारजनाको मृत्यु भएपछि सोमबार बिहानदेखि नरैनापुर गाउँपालिका स्वास्थ्य शाखाबाट खटिएको स्वास्थ्य टोलीले स्थानीय मन्दिर प्राङ्गणमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको थियो ।
३ सय ६५ नागरिकको स्वास्थ्य जाँच गर्दा अहिले गाउँका तीनजनामा मात्रै झाडापखालाको समस्या देखिएकाले अवस्था सामान्य रहेको कालाफाँटा स्वास्थ्यचौकीका प्रमुख मोहम्मद तैयब राइनले जानकारी दिनुभयो ।
भारतीय सीमासँग जोडिएको गेगली गाउँमा झाडापखालाबाट भदौ १२ गते स्थानीय ३८ वर्षीया उषा पासी र १२ वर्षीय युसुप शेखको निधन भएको थियो ।
भदौकै १४ गते ६५ वर्षीया शान्ति पासी र १६ गते आइतबार १२ महिनाकी बालिका नन्दनी पासीको मृत्यु भएको नरैनापुर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नगेन्द्रकुमार साहले बताउनुभयो ।
उहाँले मृत्यु भएकामध्ये उषा, नन्दनी र शान्तिमा विषाक्त खानाको असरका कारण झाडापखालाको आशङ्का गरिएको बताउनुभयो ।
युसुपमा ज्वरो आउने समस्या देखिएकाले झाडापखालाबाटै मृत्यु भएको भन्न सकिने अवस्था नरहेको स्वास्थ्य शाखा प्रमुख साहको भनाइ छ ।
झाडापखाला फैलिएको सूचना आएपछि गाउँपालिका स्वास्थ्य शाखाले सोमबार बिहानैदेखि गेगली गाउँमा खुला स्वास्थ्य शिविर सञ्चालन गरेको थियो ।
शिविरमा जाँचका लागि आएका ३ तीन सय ६५ नागरिकलाई स्वास्थ्य अवस्थाअनुसार जीवनजललगायत औषधि वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।
स्थानीय ताज मोहम्मद खानले अझै पनि गाउँका मानिस बेलैमा उपचार गर्न स्वास्थ्य संस्था नगई घरेलु विधि अपनाउँदा अकालमै ज्यान जाने अवस्था रहेको बताउनुभयो ।