‘बुद्धम् शरणम् गच्छामि’

‘बुद्धम् शरणम् गच्छामि’


आज विश्वभरि २५६८औं बुद्ध जयन्ती विभिन्न सत्सङ्ग, ध्यान र शरणागतिको माध्यमद्वारा मनाइँदै छ। सिद्धार्थ गौतमलाई शान्तिको प्रतीकको रूपमा भाव र श्रद्धाका साथ प्रार्थना, मनन् र चिन्तन गरेर अन्त:स्करणको शुद्धि गरी परम आनन्द, परम शान्तिको अनुभूति गर्न सकिन्छ। वैदिक सनातन धर्ममा गौतम बुद्धलाई भगवान् विष्णुको अवतारका रूपमा मानी पूजा, अर्चना आदि गरेर यो पर्वलाई उत्सवका साथ मनाउने गरिन्छ।

अहिलेको समयमा हेर्ने हो भने कोही राजकुमार या राजकुमार सरहको सेवा–सुविधामा हुर्केको व्यक्तिले शान्तिको खोजीको लागि भनेर घर, सम्पत्ति, परिवार त्यागेको व्यावहारिक रूपमा देख्‍न पाइँदैन। एकादुई त्यही बुद्धत्वको खोजीमा निक्लेका व्यक्तिले मात्र सर्वस्व त्यागेर साधना गरेको इतिहास छ।

त्याग्नु पनि त्यति सरल छैन। सिद्धार्थ गौतमले परम शान्तिलाई प्राप्त गर्ने भनेर दरबार त्याग्नुभयो। उहाँले खोजेको चिज मिल्छ भन्ने कुनै निश्चित थिएन। आफ्नो शरीरलाई दाउमा लगाउनुभयो। खाना नखाई शरीरलाई कष्ट दिएर, एकान्तमा बसी ध्यान गरेर आफ्नो शरीरलाई तपाउनुभयो। तर उहाँले खोजेको चिज मिलेन। फेरि पछि संयममा रहेर मध्यम मार्ग अपनाएर साधना गरेपछि वैशाख शुक्लपूर्णिमाको दिन परम ज्योतिको अनुभूति गर्नुभयो।

आजकै दिन सिद्धार्थ गौतमको अर्को जन्म भयो। पहिला समाज छोडेर एकान्तमा जानुभयो। पछि परम सत्यको अनुभूतिपश्चात् त्यही समाजमा रहेर शान्तिको दूत बनेर परम ज्ञानको प्रचारमा लाग्नुभयो र उहाँ बुद्ध बन्नुभयो। त्यसकारण गौतम बुद्धको स्मरण गरेर विश्व कल्याण हेतु यो पर्व मनाउने गरिन्छ।

गौतम बुद्धले सिकाउनुभएको विपश्यना ध्यान विधि एकदम अद्भुत, व्यावहारिक एवं वैज्ञानिक छ। ‘वि-पश्य’ विशिष्ट दिव्य चक्षुद्वारा हेर्नुलाई संस्कृतमा विपश्यना भनिन्छ।

आशुतोष शर्मा

मैले आजभन्दा ७/८ वर्ष अगाडि काठमाडौं बूढानीलकण्ठस्थित धम्म शृङ्गमा गएर विपश्यना साधना गरेको थिएँ। त्यहाँ १० दिनसम्म जुन विपश्यना साधना गरें त्यो अद्भुत छ। पहिला श्वास-प्रश्वासमा केन्द्रित हुने। त्यसपछि शरीररूपी ब्रह्माण्डको यात्रा गर्ने। अनि आज्ञा चक्रमा स्थिर रहने।

सुरुमा विपश्यना साधनामा जाँदाखेरि त्यहाँ धेरै कष्टहरू झेल्नुपर्ने हुन्छ। हुनत ती नियमहरू कष्टदायी होइनन्। तर, भौतिक सेवा–सुविधालाई सत्य मानेर गएको अवस्थामा सुरुमा कष्टदायी प्रतीत मात्र हुने हुन्। एउटै आसनमा त्यो पनि बिहान ४ बजेदेखि बेलुकी ९ बजेसम्म। त्यो पनि कायिक, वाचिक, मानसिक रूपमा मौन व्रत।

सामान्य रूपमा मौन व्रत भन्ने बित्तिकै मुखले नबोल्ने भन्ने बुझिन्छ। तर, त्यहाँ कायिक- न शरीरले संकेत गर्न पाइने, वाचिक- न मुखले केही बोल्न पाइने, मानसिक- न मनले पनि केही सोच्न पाइने। शरीर र वाणीलाई नियन्त्रण गर्न त सकिन्छ। तर, मनमा विचारै नआउने हुनलाई एकदम गाह्रो छ। यही मनका विचारहरूलाई कम गराएर आज्ञा चक्रमा स्थिर रहने अभ्यास हो विपश्यना।

धम्म शृङ्गमा पुग्दा बित्तिकै अन्त:स्करण शुद्ध र निर्मल हुने प्रक्रिया नचाहे पनि स्वत: रूपमा सुरु भइसकेको हुन्छ। जहाँ वाणी, शरीर र मन शान्त हुन्छ त्यहाँ आँखा नचिम्ले पनि ध्यान भइरहेको हुन्छ। ध्यानको अर्थ आँखा चिम्लनु मात्र होइन।

भनिन्छ नि ‘ध्यान दिएर पढ। ध्यान दिएर सुन। ध्यान दिएर काम गर।’ कुनै एक चिजमा एकाग्र हुनुलाई ध्यान भनिन्छ। अध्यात्ममा पनि यही फर्मूला लागू हुन्छ। ध्यान दिएर आज्ञा चक्रमा स्थिर रहनु।

मान्छेको मनमा २४ घण्टामा ६० हजार विचारहरू उब्जन्छन्। ती विचारहरूलाई भाग गर्ने हो भने १ मिनेटमा ४२ वटा विचारहरू आउँदा रहेछन्। विपश्यनामा सुरुका ४ दिन जुन श्वास-प्रश्वासमा ध्यान गराइन्छ त्यो विधि विचारहरूलाई कम गर्ने अद्भुत वैज्ञानिक साधन विधि हो। जति श्वासलाई फोकस गर्दै गइन्छ त्यति विचारहरू कम हुँदै जान्छन्। आँखा बन्द गर्दैमा विचारहरू कम हुँदैनन्। झन् बढ्न सुरु गर्छन्। तर श्वासमा केन्द्रित हुँदै जाने हो भने विचारहरू स्वत: कम हुन थाल्छन्। फेरि बीच–बीचमा मन भाग्न सक्छ। त्यसलाई पुन: नियन्त्रण गरेर श्वासमा केन्द्रित हुन बारम्बार अभ्यास गरिन्छ।

जब मैले भगवद्गीताको ११औं अध्यायको साधना गर्छु, पूरै अध्यायभरी विपश्यना साधना देख्छु। अर्जुनको प्रश्नपछि श्रीकृष्णले प्रत्येक श्लोकमा पश्य पश्य … भन्नुहुन्छ। विशिष्ट चक्षुद्वारा बारम्बार हेर, हेर … मात्र भन्नुहुन्छ। त्यसपछि अर्जुनको यात्रा जुन विपश्यनामा ४ दिनपछि शरीररूपी ब्रह्माण्डको यात्रा गराइन्छ अर्जुनले पनि पूरै ११ अध्यायभरी त्यही यात्रा गर्छन्। बुद्धको विपश्यना र कृष्णको गीतामा शब्द र रूप मात्र फरक छन्, स्वरूप र ज्ञान एउटै हो।

देहावसानको धेरै समयपछि गौतम बुद्धको वास्तविक ज्ञान लुप्त हुने क्रममा थियो। बाहिरी भेषभुषाको आधारमा सम्प्रदायहरू बन्न सुरु भइसकेका थिए। विस्तारै पूरै समाज मोक्ष प्राप्त गर्ने भन्दै भिक्षु बन्न थालेको थियो। महिलाहरूलाई भिक्षु बन्ने अनुमति थिएन। पुरुषहरू सबै भिक्षु बन्ने लर्को थियो। समाजमा सबै पुरुषहरू भिक्षु बन्न थालेपछि सृष्टिको नियम नै असन्तुलित हुन थालेको थियो।

आदि जगद्गुरु शंकराचार्यले पुन: भगवद्गीताको माध्यमद्वारा ज्ञानलाई जागृत गर्नुभयो। ‘भेष परिवर्तन गर्दैमा, परिवारलाई त्यागेर भिक्षु बन्दैमा मोक्ष प्राप्त गर्न सकिंदैन।’ मोक्ष यानि कि निर्वाण शान्ति प्राप्त गर्न कर्मयोग भन्दा उत्तम, सरल र सहज मार्ग अर्को कुनै पनि छैन भनेर पुन: समाजमा सन्तुलन कायम राख्‍न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो।

यो धर्तीमा कैयौं बुद्धहरू जन्मनुभएको छ। वैदिक सनातन धर्मावलम्बीहरूको मान्यता अनुसार भगवान् विष्णुको १० मध्ये अन्तिम दोस्रो ९औं अवतार हो ‘बुद्ध अवतार’। आध्यात्मिक दृष्टिकोणले हेर्दा भगवान् विष्णुका १० अवतारहरू व्यावहारिक एवं वैज्ञानिक छन्। मत्स्य अवतार जलमा रहने प्राणीदेखि लिएर अधर्मको नष्ट गर्ने र लोकको कल्याण गर्ने कल्की अवतारसम्मका सबै अवतारहरू एउटै मनुष्य जन्ममा सम्भव छन्।

मत्स्य अवतार जलमा रहने मतलब पूर्ण अज्ञानको अवस्था। कुर्म अवतार ज्ञान र अज्ञान दुवैको अवस्था। वराह अवतार पशु बुद्धिको अवस्था। नृसिंह अवतार पशु बुद्धि र मनुष्य बुद्धिको अवस्था। वामन अवतार मनुष्य बुद्धिको अवस्था। परशुराम अवतार गलत विचारहरू विरुद्ध युद्ध गर्ने अवस्था।

राम अवतार मर्यादित अवस्था। रामको अवस्थामा व्यक्तिले धर्म जाओस् वचन नजाओस् भन्ने अठोट लिन्छ। आफ्नो वचन मर्यादालाई कहिल्यै भुल्दैन। कृष्ण अवतार पूर्ण मनुष्य अवतार। मनुष्यको विचार कृष्ण अवतारसम्म आइपुग्यो भने ‘वचन गए जाओस् धर्म नजाओस्।’ यदि पूर्ण मनुष्य बन्नु छ भने स्वयंलाई कृष्ण अवतार गराउनै पर्छ।

जब मनुष्य पूर्ण मनुष्य बन्छ त्यसपछिको अवतार हो बुद्ध अवतार। ज्ञानको अवतार। बोधको अवतार। निर्वाण शान्तिको अवतार। त्यसपछिको अन्तिम हो कल्की अवतार। कल्की अवतारलाई गुगलमा खोज्ने हो भने हातमा तरवार लिएको सेतो घोडामा चढेको फोटो देख्‍न पाइन्छ। बुद्धत्व प्राप्त गरेपछि व्यक्तिको बुद्धि सात्विक बन्छ। निर्मल बन्छ। सेतो घोडा शुद्ध, निर्मल बुद्धिको प्रतीक हो। व्यक्तिलाई यात्रा गराउने बुद्धिले हो। हातमा तरवार लिएको हुन्छ।

साधक ध्यान मात्र गरेर बस्दैन आवश्यकता पर्‍यो भने समाजमा भएका विकृति, विसंगति, भ्रष्टाचार, अन्याय विरुद्ध उठ्छ र ज्ञानद्वारा अधर्मीको नष्ट गर्छ। कति अद्भुत छन्। एउटै मनुष्य शरीरमा अवतरित हुने यी १० अवतारहरू।

अहिलेको समयमा आइपुग्दासम्म समाजको परिवर्तन सँगसँगै मान्छेहरूको विचार पनि एकदम अपग्रेड हुँदै गइरहेको छ। मान्छेको सोचाइ संकुचितबाट व्यापकतातिर छ। अहिलेको नयाँ पुस्ता कर्मयोगद्वारा नै अध्यात्ममा लाग्न सकिन्छ भन्ने बुझेर उत्साहित एवं जिज्ञासु पनि छन्। संसारबाट भागेर होइन संसारमै रहेर कर्मयोगद्वारा मोक्ष प्राप्त गर्न सकिन्छ भन्ने कुरा प्राय:जसोको बुद्धिमा निश्चय भइसकेको छ।

बुद्धिले निश्चय गरेको कुरालाई प्राप्त गर्नु नै सफलता हो। मान्छेले के गर्ने भन्ने कुरा बुद्धिमा भर पर्छ। यो शरीररूपी गाडीको ड्राइभर बुद्धि नै हो। यो बुद्धि संसारसँग सम्बन्ध राख्दा सांसारिक व्यवहार जस्तै होस्।

आत्मिक ध्यानमा जाँदा निर्वाण शान्ति, परम शान्ति, अक्षय शान्ति प्राप्त होस्। र त्यही शान्ति सदा रहिरहोस्। गीतामा श्रीकृष्ण भन्नुहुन्छ: ‘बुद्धौ शरणम् अन्विच्छ’ अर्थात् बुद्धिको शरणमा जाउ तिमीले बुद्धत्व प्राप्त गर्नेछौं। जसले बुद्धिको अटल निश्चय परम शान्तिलाई प्राप्त गर्छ उसलाई बुद्ध भनिन्छ।

बुद्धम् शरणम् गच्छामि। हामी सबैको बुद्धि त्यही बुद्धको शरणमा लागोस्। बुद्ध जयन्तीको शुभकामना।



Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School