बुढाहाङ सेवामा वढाङमी नाचको रन्को

बुढाहाङ सेवामा वढाङमी नाचको रन्को


अरुणै कोशी, तमोरै कोशी बग्दछ सलल,

हा है बग्दछ सलल।

दिसदिस (देशदेश)को माइती, चारथुम चेली,

बेल फोरी बियाँ, भेटघाट इहाँ (यहाँ),

निधारको छेरी (आँखीभौँ) सम्झिँदै खेरी,

वढाङ्मी मेला, पूर्णेझैँ झलल।

यो वढाङ्मी (पापनी) नाचमा गाइन्ने मौलिक गीत हो। धनकुटाको खाल्सा क्षेत्र (हाल शहिदभूमि गाउँपालिका) मा बसोबास गर्ने किरात राई जातिले मनाउने वढाङ्मी पर्वमा नाचिने (पापनी) नाचमा यस्ता गीत गाइन्छ।

यतिबेला धनकुटाको खाल्सा क्षेत्र वढाङ्मीमय भएको छ। घुरघरमा कुलपूजा गर्ने र नाचगान गर्ने कार्यले खाल्सा क्षेत्रका बासिन्दा व्यस्त छन्। यो क्षेत्रका बासिन्दाको प्रमुख पर्व भएकाले पर्वमय भएको सहिदभूमि गाउँपालिकाका अध्यक्ष मनोज राई बताउँछन्।

तान्त्रिक राजा बुढाहाङको सेवामा मनाइने वढाङमी पर्व र नाचिने नाच गीतको लय र ढोल झ्याम्टाको तालमा लहरै उभिएर गोलाकार रूपमा नाचिन्छ। यो कुनै लिखित नभएर पुर्खादेखि नै मुखाग्र गाउँदै आइएको गीत हो। यो एकल वा जोडी भएर पुरुष–महिला सबैले गाउँछन्। गायकी सुन्दा उनीहरूलाई आँशुकवि भन्दा फरक पर्दैन। हरेक गीतमा स्थायी र अन्तरा हुन्छन्, जसलाई घन्टौँसम्म गाएर नाचिन्छ।

के हो वढाङ्मी?

राईहरूको भाषा र संस्कृतिमा थर र गाउँपिच्छे विविधता र फरकपन पाइन्छ। यही विविधता र फरकपन धनकुटाको खाल्सा क्षेत्र (छिन्ताङ, आखिसल्ला र खोकु गाविस) हाल शहिदभूमि गाउँपालिकाका राई जातिको संस्कृति पनि फरक छ। उनीहरूको सांस्कृतिक धरोहरको रूपमा रहेको छ, वढाङ्मी पर्व र नाच रहेको छ।

कात्तिक पूर्णिमापछिको पहिलो मङ्गलबार साविक छिन्ताङ गाविस–४ (हाल शहिदभूमि गाउँपालिका–३) स्थित साकेन्वा थानमा पूजा गरेपछि वढाङ्मीको औपचारिक सुरुआत हुन्छ। यसपछि स्थानीय राईहरूले घरघरमा कुलपूजा गर्न थाल्छन्। कुलपूजामा फूल–अक्षता, पानसुपारीसँगै अण्डा, कुखुरा, परेवा र बङ्गुरको बलि दिइन्छ।

पूजापछि टोलको मुख्य घरमा लहरै उभिएर गीतको लयसँगै ढोल–झ्याम्टाको तालमा कुम जोडेर वढाङमी नाच नाचिन्छ। यसपालि मङ्सिर ४ गतेदेखि शुरु भएको यो पर्व र नाच  छिन्ताङ र आँखीसल्लामा मङ्सिर ९ गते र खोकुमा मङ्सिर १० गते सकिनेछ।

 यस नाच र पर्वको शुरुआतको विषयमा स्थानीयबासीमा एउटा गजबको किंबदन्ती रहेको छ। किंबदन्ती अनुसार परापूर्वकालमा खाल्सा क्षेत्रमा बुढाहाङ नाममा शक्तिशाली तान्त्रिक राजाले शासन गर्थे। ती राजा बुढाहाङका छ छोरी थिए। उमेर पुगेपछि उनीहरूले मनोरञ्जनका लागि बुवासँग अनुमति मागे। बुढाहाङले उनीहरूलाई छ दिन छुट्टी दिए। छुट्टी पाएपछि उनीहरू आँखिसल्लाको टप्पु भन्ने ठाउँमा वनभोज खान गए, विभिन्न जीवजन्तु र चराचुरुङ्गीको नक्कल गरी रमाए।

 उनीहरूको नाचलाई फेरि स्थानीयले देखे र नक्कल गरे। बुढाहाङका छोरीहरूको यही नाच अपभ्रंश भई ‘वढाङ्मी’ हुन पुगेको बुढापाकाको भनाइ छ। अहिले पनि बुढाहाङका छोरीहरूले वनभोज खाएको र नाचगान गरेको स्थानलाई आँखिसल्लामा संरक्षण गरेर राखिएको सहिदभूमि गाउँपालिकाका अध्यक्ष राईले बताए।

वढाङ्मी नाच उत्पत्तिको किंवदन्ती रोचक छ। जनश्रुति अनुसार परापूर्वकालमा त्यस क्षेत्रका राईहरूका पुर्खा बुढाहाङ भन्ने राजाको पालादेखि यो पर्व शुरु भएको हो। बुढाहाङ यति शक्तिशाली थिए कि, उनले समयलाई आफ्नो वशमा पारी रातलाई दिन र दिनलाई रात बनाउन सक्थे। उनलाई मार्न धनकुटाको बेलहराबाट सिकारीहरू आएका थिए। यो थाहा पाएर उनी दिनलाई रात बनाएर अलापिए। त्यसैले उनी अझै पनि जिउँदै रहेको विश्वास गरिन्छ।

वढाङ्मी गीतका गायक खनप्रसाद राई २४ घन्टासम्म निरन्तर यो गीत गाइने र नाचिने बताउँछन्। खनप्रसाद स्वयंसँग लगातार १५ घन्टासम्म गीत गाएको अनुभव छ। उनी भन्छन्, ‘गीत गाउने जोडी र नाच्ने समूह हुँदा दिनरात बितेको पत्तो हुँदैन।’

विस्तारै पाइला सार्दै नाचिने भएकाले थकाइ नलाग्ने र धेरै समयसम्म नाच्न सकिने स्थानीयवासीको अनुभव छ। यसमा चेली र माइती पनि एउटै लहरमा उभिएर नाच्छन्। खनप्रसादका अनुसार वढाङ्मी सामाजिक सद्भावको पर्व र नाच हो । यस नाचगानमा पारिवारिक सुखदुःख, रसरङका कुरा र देवीदेवताको गुनागानलाई समेटिन्छ।

यो नाच विवाह, भोज र अन्य खुसियालीमा पनि नाचिन्छ। यसलाई स्थानीय स्तरमा पापनी लहरे–नाच भनिन्छ। तर, वढाङ्मीको बेला र बिहेमा गाउने गीत भने फरक हुन्छ। वढाङ्मीका बेला बुढाहाङ राजाको गुनगान, देवीदेवताको चर्चा गरिन्छ भने अन्य बेला रसरङको चर्चा हुने गरेको खनप्रसादले बताए।

स्थानीयको कुलपूजालाई ‘माङ्ला’ भनिन्छ। स्थानीय छिन्ताङ भाषामा ‘माङ्’को अर्थ देवता र ‘ला’को अर्थ चढाउनु हो। अर्थात उत्पादित बाली देवतालाई चढाउनु। आँखीसल्लाका ७८ वर्षीय गोविन्द राईका अनुसार खाल्सा क्षेत्रका राईहरूको चुलो (राई जातिका प्रत्येक घरभित्र तीनवटा चुलो, जसमा कुलपूजा गरिन्छ) सँगै स्थानीय देवीहरूको थानमा पूजा हुने हुने गरेको छ।

खासगरी छिन्ताङ जाल्पादेवी मन्दिर, पञ्चकन्या, ढुकुरसिं थानी, देउलिंगे, टप्पुदेवी, ज्वालादेवी लगायत स्थानमा पूजा गरिन्छ। यी देवी र थानलाई स्थानीय राई र अन्य जातिले पनि आफ्नो कुलदेवताकै रूपमा मान्ने गरेका छन्।

कुलपूजा र नयाँ बाली

शहिदभूमि गाउँपालिका–३ का पूर्व वडाध्यक्ष योगेन्द्र राईका अनुसार नयाँ बाली भित्रिएको खुसीयालीमा छ दिनसम्म मनाएर वढाङ्मी पर्वको बिदाइ गरिन्छ। नयाँबाली पाकेपछि कुलदेवतालाई चढाएर मात्र आफूले खानु किरात राई जातिको परम्परा हो। त्यसैले वढाङ्मीमा अर्को वर्ष पनि खेती राम्रो होस्, रक्षा–क्षमा गर्नु भनी आशीर्वाद माग्ने चलन छ।

नाचगान शुरु गर्नुअघि बुढाहाङको नाममा एकजोडी परेवाले क्षमापूजा गरिन्छ। नाचगान गर्दा कुनै झगडा र दुःख नहोस् भनेर क्षमा पूजा गरिन्छ। जुन घरको आँगन वा टोलमा नाचिन्छ, त्यो घर वा टोलले नाङ्लोमाथि दियो, कलश, फलफूल, चिन्दोमा रक्सी, डबका जाँड राखेर आशिकभारा (आशिष माग्ने) गरिन्छ। नाचगान गर्ने सबैको शिर उठाउने र नाचगान गर्ने घर वा टोलको नाम चर्चा गर्न पञ्चभलाद्मी राखेर आशिषभारा गरेपछि यो पर्व पूरा हुन्छ।

उन्मुक्त छोरीचेली

यो पर्वमा छ दिनको मेला र छ दिनको बारण (बार्ने) भन्ने चलन छ। पर्वका अवसरमा बुढाहाङ राजाले आफ्ना सहयोगी र राज्यका नागरिकलाई समेत छुट्टी दिएका थिए। त्यसैले खनजोत गर्न नहुने भनेर बार्ने चलन रह्यो। यो चलन अहिले पनि छ।

वढाङ्मी मनाउनकै लागि घरको सबै कामलाई रोकिन्छ। कसैले हलो जोत्दैनन्, कोदालो खन्दैनन्। यो पर्वमा विशेषतः छोरीचेलीलाई छुट दिइन्छ। यो दिन छोरीचेलीलाई काम नलगाउने र उनीहरूले कुनै गल्ती गरे पनि गाली गर्न नहुने मान्यता छ।

गाली गरे बुढाहाङ र देवीदेवता रिसाउने, घरमा दुःखबिरामी पर्ने बुढापाकाको विश्वास छ। त्यसैले चेलीहरू यी छ दिन विशेष स्वतन्त्र हुन्छन्। आफ्ना दौतरीसँग हाँसखेल र नाचगान गर्न स्वतन्त्र छन्।

अहिले नारी हक–अधिकार र स्वतन्त्रताको आन्दोलन र बहस चलिरहेको छ। तर, धनकुटाको खाल्सा क्षेत्रका राई जातिका महिलामा सदियौंदेखि स्वतन्त्रताको अभ्यास छ। शहिदभूमि गाउँपालिकाका अध्यक्ष राई भन्छन्, ‘देवीदेवताको नाममा भएको यो परम्पराले आजका महिलालाई पनि स्वतन्त्रताको पैरवी गरेको छ।’

धामीझाँक्रीको मन्दुम

राई जातिले तीनचुलोमा कुलपूजा गर्दा होस् वा देवीदेवताको थानमा पूजा गर्दा होस्, धामीझाँक्रीले मुन्दुम फलाक्छन्। यस क्षेत्रका धामीझाँक्रीहरू (छाम्बाक, ङाङशुभा, तालुकसुङपा) ले देवीदेवतासँग मुन्दुम गाउँदै वरदान मागिन्छ।

शहिदभूमि गाउँ गाउँपालिका–३ का भक्तविर राई (छाम्बाक) ले मेलामा आएर साकेन्वा र पञ्चकन्या डाँडामा रहेको देवीदेवताको अगाडि शक्ति माग्दै सेवापूजा (भक्तिपूजा) गरिरहेको बताउँछन्। यहाँका एक दर्जन धामीझाँक्रीले ढोलझ्याम्टा, खुँडा, तरबार बोकेर मुन्दुम गाउने चलन छ। किरात धर्म–संस्कृति अनुसार, मुन्दुम देवीदेवताले सिकाएको मानिन्छ।

आठपहरिया जातिको वढाङमी/वाडाङमेट

खाल्सा क्षेत्र (शहिदभूमि) का राई जातिको वढाङमी पर्वसँगै धनकुटा नगरपालिका क्षेत्रभित्रका थातथलोमा बस्ने आठपहरिया जातिको पनि वढाङ्मी पर्व मनाउँदै नाचगान गरिरहेका छन्।

आठपहरिया जातिको यो पर्व हिन्दूहरूको दशैं जस्तै महत्त्वपूर्व रहेको छ। यो पर्वमा पितृ पूजासँगै वर्षभरि देहान्त भएका आफन्तको बरखी बारेकाहरू दुःखबाट चोखिने, नयाँ घर बनाए छ भने चोख्याउने, पहिलो सन्तान छोरो जन्मिएको घरमा हर्षबढाइँ गर्ने चलन रहेको धनकुटा नगरपालिका–५ का अष्टबहादुर आठपहरियाले बताए। कात्तिकको भाइटिकाको दिन जमरा राख्ने र माड उठाउने (देवी आह्वान) गर्ने कामसँगै मङ्सिरको औंसीको दिनसम्म यो चाड मनाउने गरेका छन्।

चाड शुरु भएपछि गाउँटोलमा ढोल नाच्ने, बराह र मार्गाको मुन्धुम गाउने (स्तुतिगान) चलन छ। यस बीचमा मङ्सिर पूर्णमाको चार दिनअघि वर्षभरि आफन्तको देहान्त भएर बरखी बारेका परिवार र उनका आफन्तले सुनसरीको बराहक्षेत्र मन्दिरमा पैदाल हिडेर दर्शन गरी चोखिने चलन रहेको अष्टबहादुरले बताए।

परापूर्वकालमा तेह्रथुमको पञ्चकन्यामा विष्णु भगवानले बराह अवतार लिएको बेला कन्दमूल खोजीखाने क्रममा फाक्चामाराका लिम्बु जातिले घेराहाली काटेर घाइते बनाएका थिए।

घाइते भएका बराह धनकुटाको भगुवाखोला, भुल्के आहाले हुँदै सुनसरीको कोकाहा खोलामा आराम गरी बसेको किंबदन्ती छ। बराहलाई आठपहरिया जातिको इष्टदेवी मार्गा थानीको दाइको बराहलाई पुज्ने गरेका छन्। त्यसैले आठपहरिया जातिले मार्गालाई आमा र बराहलाई मामाको रूपमा पूजा गर्ने चलन छ।

सप्तकोशी नदीको किनारामा रहेको बराहक्षेत्र मन्दिरमा रहेको बराहको दर्शन गरी त्यहाँको पानी ल्याएर घर चोख्याउने र बराहलाई धनकुटा आउन निम्तो दिने परम्परा रहेको अष्टबहादुरले बताए।

वढाङ्मेट पर्वको अवसरमा माङकाटा (धामी) बाट जोखाना हेर्ने, शुभकार्यका लागि दियो बत्ती हेर्ने, ढोल झ्याम्टा बजाउँदै वढाङमी नाच्ने र मारुनी नाच्ने चलन छ।

प्रकाशित: ६ मंसिर २०८१ ११:४१ बिहीबार





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School