बीपी र पुष्पलालले हेरिरहेका छन् कि ? : RajdhaniDaily.com


राजधानी दैनिकसँग आबद्ध भएको एक वर्ष पूरा भयो । राजधानीसँग जोडिएको केही पछिदेखि नै एउटा अग्रलेखमार्फत पाठकसमक्ष प्रत्येक शनिबार प्रस्तुत भइरहेको थिएँ । गत साता त्यो निरन्तरताको क्रमभंग हुनपुग्यो । विशेष सामाजिक व्यस्तताका कारण त्यसो हुन पुगेको हो । समस्त पाठकहरूसमक्ष क्षमायाचना गर्न चाहन्छु । विशेष परिस्थितिमा बाहेक पाठकसामु प्रस्तुत हुने प्रयास गर्नेछु ।

भोलि ६ साउन समकालीन नेपाली राजनीतिका शिखर पुरुष विश्वेश्वरप्रसाद कोइरालाको स्मृति दिवस हो भने पर्सि ७ साउन वाम राजनीतिका शिखर व्यक्तित्व पुष्पलाल श्रेष्ठको स्मृति दिवस हो । नेपाली कांग्रेस बीपी कोइरालाको पार्टी हो । कांग्रेसले बीपीलाई औपचारिक मात्र भए पनि आफ्नो आदर्श मानेको छ भने आफूलाई कम्युनिस्ट भन्नेहरू प्रायः सबैले पुष्पलाललाई त्यसै रूपमा प्रस्तुत गर्छन् । अहिले नेपालको सबैभन्दा ठूलो कम्युनिस्ट भनिने पार्टी र नेपाली कांग्रेसको गठजोड सरकार छ । सम्भवतः यी दुई नेताहरूको स्मृति दिवस अलि बढी तामझामका साथ मनाइन्छ होला । तर, यी स्मृति दिवस समारोहहरूमा साँच्चिकै बीपी हुनुको अर्थ र पुष्पलाल हुनुको मतलव स्मरण गरिन्छ वा कर्मकाण्ड मात्र दोहरिने हो आजै ठोकुवा गर्न गाह्रो छ ।

२०१५ सालको आमनिर्वाचनको प्रचारप्रसारको दौर चलिरहेको थियो । त्यसबेला अधिकांश पहाडी इलाकामा यातायातका साधन भनेको हदै भए घोडा हुन्थ्यो । अन्यथा गन्तव्यमा पुग्न उकालोओरालो पैदल यात्राको विकल्प थिएन ।

बीपी पनि त्यस्तै एक स्थानमा चुनाव प्रचारका लागि पुग्नुभएको रहेछ । संयोगवस बीपी पुग्नुभएको भोलिपल्ट त्यस स्थानको नदी किनारमा मेला लाग्ने रहेछ । हजारौं तीर्थालुहरू पवित्र स्नानका लागि नदीमा आउँदै थिए । स्थानीय उम्मेदवारले बीपीलाई भनेछन्, ‘सान्दाजु ! भोलि बिहान तपाईं पनि त्यहाँ पुगेर स्नान गरिदिनुभयो भने राम्रो सन्देश जान्छ, जानुहुन्छ कि ?’ बीपीलाई नदीमा स्नान गर्न कुनै अप्ठ्यारो लागेन र उहाँले सहजै हुन्छ भनिदिनुभयो ।

भोलिपल्ट बिहानै नदीकिनार जानुअघि ती स्थानीय उम्मेदवारले बीपीलाई भनेछन्, ‘सान्दाजु ! तपाईं धर्म नमान्ने भन्ने हल्ला छ, जनै पनि लगाउनुभएको छैन, बिनाजनै हजारौंको भीडसामु नुहाइदिनुभो भने त तपाईं नास्तिक हो भन्ने हल्ला पुष्टि हुनपुग्छ, चुनावलाई नराम्ररी असर गर्छ ।’ यति भनेर उनले बीपीलाई आफूले ल्याएको जनै दिँदै लगाइदिन अनुरोध गरेछन् । बीपीले पनि के सोचेर हो लगाइदिनुभएछ । उहाँहरू नदीकिनार पुग्नुभयो ।

बीपी र पुष्पलाललाई साँच्चिकै आदर्श मान्ने अनुयायीहरू त कति छन् होला र खोइ ? यदि छन् भने केन्द्रमा छँदै छैनन् ! कतै किनारातिर परिधिबाहिर छन् ! आज बीपी र पुष्पलालको स्मृति दिवस मनाउने दुई थरी मानिस भेटिन्छन्

त्यसै त धार्मिक मेला, त्यसमाथि बीपी आउँछन् भन्ने हल्ला फिँजिसकेको रहेछ । हजारौंको भीड लागेको रहेछ । बीपीले नुहाउन थाल्नुभएछ र अनायासै ठूलो भीडले आफूलाई नियालिरहेको देखेपश्चात् उहाँलाई लागेछ, ‘म कहिल्यै जनै नलगाउने मानिस, आज जनै लगाएर देखाउँदै छु, मैले जनतालाई झुक्याउने काम गर्दै छु, यो ठीक होइन ।’

यस्तो सोचेर तत्काल हजारौंको भीडसामु जनै चुँडालेर ङ्खयाँकिदिनुभएछ । वास्तवमा जनता अचम्मित भएका थिए र उहाँका उम्मेदवार र कार्यकर्ता त हतप्रभ नै बने । उनीहरूलाई लाग्यो, यी धर्मभीरू जनताले मरिगए कांग्रेसलाई भोट दिन्नन् ! तर निर्वाचन परिणाम त गजबकै भयो । त्यहाँका उम्मेदवारले अत्यधिक मतले चुनाव जिते !

त्यसै चुनावको समयमा टिकट बाँड्ने समयमा प्रत्येक निर्वाचन क्षेत्रमा जातभात र सम्प्रदायको बाहुल्यता र सन्तुलनको कुरा उठ्ने नै भयो । स्वाभाविक पनि थियो । बीपीले कतिपय अत्यधिक मधेसी बहुल क्षेत्रमा ठेट पहाडियालाई टिकट दिनुभयो र चुनाव जिताउनु पनि भयो । २०३७ सालको जनमत संग्रहको परिणामलाई अधिकांश नेता कार्यकर्ताले मानेका थिएनन् । तर, बीपीले त्यो अप्रत्याशित परिणामलाई पनि जनताको म्यान्डेट भनेर स्वीकारिदिनुभयो ।

जनमत संग्रह घोषणा हुनुअघि कुनै शक्तिराष्ट्रका प्रतिनिधिले उहाँलाई आएर भनेछन्, ‘तपाईं विद्रोहको घोषणा गर्नुस्, नभए हामीले गर्ने कामको विरोधचाहिँ नगरिदिनोस्, बाँकी हामी गर्छौं, तपाईंलाई तत्काल राष्ट्रपति बनाइदिन्छौं, राजा ङ्खयाँकिन्छन् ।’ बीपीले त्यसो गर्नुमा राष्ट्रहित देख्नुभएन । तत्काल दरबारलाई त्यस कुराको जानकारी दिनुभयो । जनमत संग्रहको घोषणा यही पृष्ठभूमिमा भएको हो ।

बीपीका ’boutमा यति पुराना कुराहरू किन उप्काइँदै छ भन्ने प्रश्न आउला । बीपी स्मृति दिवसमा बीपी हुनुको अर्थ के हो भन्ने बुझ्ने प्रयासस्वरूप यी घटनाहरूको उल्लेख गरिएको हो । माथिका कथाहरूबाट सबभन्दा पहिला त बीपी जनता झुक्याउन वा जनतालाई झूठो बोल्न चाहनुहुँदैनथ्यो भन्ने स्पष्ट बुझिन्छ । दोस्रो, उहाँ नदीको धारविपरीत पौडिने क्षमता राख्ने व्यक्ति हुनुहुन्थ्यो भन्ने स्पष्ट हुन्छ । तेस्रो कुरोचाहिँ लोकतान्त्रिक मूल्यप्रतिको उहाँको अविचलित निष्ठा हो । चौथो र सबैभन्दा महत्वपूर्णचाहिँ उहाँको राजनीतिको केन्द्रबिन्दु व्यक्तिगत वा दलगत हित नभई स्पष्ट रूपमा राष्ट्रहित थियो भन्ने बुझिन्छ ।

अब थोरै भए पनि पुष्पलालका ’boutमा कुरा गरौं । पुष्पलाल आज प्रत्येक कम्युनिस्ट पार्टीका लागि जपिने नाम मात्र होइन, अन्य लोकतान्त्रिक विचार राख्नेले पनि आदरपूर्वक सम्झिने नाम हो । सत्ता र शक्तिको कुरा गर्ने हो भने पुष्पलाल कुनै पदमा कहिल्यै पुगेनन् । सांसदसम्म पनि भएनन् । पार्टीका रूपमा त्यसबेला नगण्य संख्याबल र समर्थक भएको पार्टीको महासचिवसम्म बनेका हुन् । राजा महेन्द्रको २०१७ सालको कदमपछि केशरजंगपथ अँगालेका भए उनी केशरजंगभन्दा धेरै माथि पुग्थे । तर, लोकतान्त्रिक मूल्यका लागि उनले राजाको विरोध गरे र आजीवन दुसाध्य कष्टका साथ निर्वासनको जीवन व्यतित गरे । उनको अन्तिम अवस्था त अवर्णनीय दुखदायी थियो । नयाँदिल्लीको कुनै अस्पतालमा जनरल वार्डमा उपचार गराउन बाध्य थिए उनी । सायद उनको अन्तिम संस्कारसमेत एक भारतीय समाजवादी नेताको मद्दतले भएको थियो ।

अब आजको यथार्थको कुरा गरौं । आज एउटा झिल्के चटकीमा अर्का लेखपढ गर्न जान्ने ‘विद्वान्’ले बीपीको छवि भेट्छन् । हिजोका दिनमा बीपीलाई फाँसी दिन माग गर्दै घाँटी सुकाउने मण्डले नायकहरू बीपीको प्रशस्ती गान गाउँछन् र बीपीलाई बिर्सिइएकामा दुःखमनाउ गर्छन् । बीपीको उत्तराधिकार बोकेको भनिने पार्टीको त कुरै गर्नुपरेन ! ‘त्यो झुस्स दाह्री भएको मानिस को ?’ भन्दै महाधिवेशन प्रतिनिधि बीपी स्मृति दिवस र राष्ट्रिय मेलमिलाप दिवस मनाउँछन् । पुष्पलालका उत्तराधिकारीहरूबीच नै अंश मुद्दा छ । हिजो पुष्पलाल गद्दार हो भन्नेदेखि लिएर ‘कुन बाटो ?’ र ‘मूल बाटो’को उग्र वादविवाद प्रतियोगिताका सहभागीहरूसम्म तथा १७ हजार काँचो वायुका कारक तत्वदेखि निहत्था धर्मप्रसाद ढकालका हत्यारा सबै पुष्पलालका पूजक बनेका छन् । एउटा तस्बिर त अनिवार्य नै भयो !

बीपी र पुष्पलाललाई साँच्चिकै आदर्श मान्ने अनुयायीहरू त कति छन् होला र खोइ ! यदि छन् भने केन्द्रमा छँदै छैनन् ! कतै किनारातिर परिधिबाहिर छन् ! आज बीपी र पुष्पलालको स्मृति दिवस मनाउने दुईथरी मानिस भेटिन्छन् । स्याम्पु वा बिकिनी बेच्न सुन्दरी मोडलको आकर्षक जिउडाल प्रदर्शन गरेझैं बीपी र पुष्पलाललाई मोडल बनाएर आफ्नो र आफ्नो पार्टीको छवि बेच्न उद्यत चतुर खेलाडीहरू प्रथम थरी हुन् ।

आफ्नो व्यक्तिगत हित, त्यसपछि उमेर फरक भएका कारण आफूभन्दा धेरै बाँच्ने आशा गरिएकी प्राणप्यारीको हित र अनि पिण्डपानी दाता आत्मजः पुत्रको हित ! राष्ट्रहितलाई केन्द्रमा राखेर त्यत्रो ठूलो लाभलाई तिलाञ्जली दिने बीपी कोइरालाको उत्तराधिकारीहरूको अनुहार हेरौं त ! लाखौं पर्ने घडी बाँध्दै सर्वहाराको कथावाचन गर्ने र अनुहारमा रगत पोतिएको हिंस्रक पशुको मुहार धारण गर्ने पुष्पलालका अनुयायी ! राज्यकोषबाट करोडौंको अनुदान लिएर बाँच्ने र त्यसैमा गर्व गर्ने पनि पुष्पलालका अनुयायी !

बीपी र पुष्पलालको स्मृति दिवस मनाउने दोस्रो थरी चाहिँ रमाइला पात्र छन् । यी राजनीतिक बजारका प्रत्यक्ष खेलाडी होइनन् । यिनका लागि बीपी र पुष्पलाल अत्यधिक बिकाउ मठ हुन् । प्रकाश दाहाल र सीता दाहाल नाम गरेको मठ त चल्छ भने बीपी र पुष्पलाल नाम गरेका त कैयन् मठ चल्ने नै भए ! यी सयौं मठमा सयौं मठाधीश महन्त र सहायक महन्तहरू छन् । यी महन्तहरूको ‘सादगी पूर्ण’ जीवन ठूलो भोग विलासका साथ चल्छ । कतैबाट बीपी र पुष्पलालले हेरिरहेका भए केके देखे होलान् ?!

(Visited 6 times, 1 visits today)





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School