नेपाली कांग्रेस, नेकपा (एमाले) जस्ता पुराना र नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका नयाँ दलले देशको भलाइका लागि बिपीको मेलमिलाप नीति अवलम्बन गर्नु जरुरी देखिन्छ। वर्तमान सरकारले घोषणा गरेको चुनाव सफल बनाउन पनि आपसी मेलमिलाप अत्यावश्यक छ।
वर्तमान अवस्थामा बिपी कोइरालाको मेलमिलाप नीति हिजोको भन्दा अझ आवश्यक राजनीतिक मामिला बन्दै गएको देखिन्छ। मेलमिलापको अर्थ सबैसँग हार्दिकता कायम राख्नु भन्ने बुझिन्छ। घरपरिवार वा समाज, राष्ट्रिय वा अन्तर्राष्ट्रिय क्षेत्रमा मिलनलाई सुखद पक्ष मानिन्छ। राजनीति सबै क्षेत्रको केन्द्रविन्दु भएका कारण बिपीको मेलमिलाप नीति राजनीतिमा अझ बढी टड्कारो छ।
गत भदौ २३ गते राजनीतिक बाछिटाहरूको अर्थ बुझी राजनीतिक दबाब राष्ट्रमा सिर्जना नगरी जनताको आक्रोश साम्य पार्न सकेको भए २४ को घटना हुने थिएन। सञ्चार जगत्मा प्रतिबन्धको भाषा प्रयोग नगरी मेलमिलापको शैली अपनाएको भए देशमा दुर्घटना हुँदैनथ्यो। कहिलेकाहीं लडाइँमा हार बेहोर्दा पनि जित हुन्छ भन्ने बिपीको सिद्धान्त त्यसबेलाको सरकारले लागु गर्नुपथ्र्यो। पेलाहा मनोवैज्ञानिक असर र मुठभेटको राजनीतिले प्रवेश पायो। २०८१ चैत १५ गतेको तीनकुनेको घटनालाई साम्य पार्न लागु गरिएको अस्त्रको प्रयोगले काम गर्नुपर्छ भन्ने आशय प्रस्ट रूपमा त्यसबेलाको सरकारको मनसाय थियो।
तर राजनीतिमा दम्भले काम गर्दैन, जति सहमति र एकताले काम गर्छ। नेपाली राजनीति छिमेकी मुलुकहरू बंगलादेश, श्रीलंका, पाकिस्तानी जनताको भन्दा फरक छ। युवाहरूमा राष्ट्रप्रतिको माया छ। जनआन्दोलनका उपलब्धि पूर्ण रूपमा सुरक्षित राख्न पनि उत्तिकै जिम्मेवारी बोध छ। उच्चशिक्षा हासिल गरेर पनि स्वदेशमा काम नपाउनु सरकारका नजिकका मानिस र जिम्मेवार व्यक्तिले करोडौं भ्रष्टाचार गरी अकुत सम्पत्ति कमाएर समाजमा भड्किलोपन देखाउनुलाई सर्वसाधारणले रुचाउन्नन्। राष्ट्रमा कामको अवसर प्रशस्त देखिए पनि नातावाद र व्यक्तिवाद हाबी भएका कारण युवामा आक्रोश र नैराश्य एकैसाथ देखापर्यो। सरकार र नागरिकबिचको विकाससम्बन्धी संवाद कहिल्यै हुन पाएन। मेलमिलापको नीति आवश्यक भएर पनि यसको थालनी नहुँदा देशले क्षति बेहोरी रहेछ दिन प्रतिदन।
एकै दिन एकै समय देशमा अकल्पनीय घटना हुनु, ७६ जना व्यक्तिले मृत्युवरण गर्नुलाई सामान्य मानिँदैन। त्यो दु:खद दिनलाई सम्झन पनि सक्दिनँ। त्यो दिन म अमेरिकामा थिएँ। नेपालको खराब खबर हावा भएर फैलिरहेको थियो। नेपालीप्रति हेर्ने दृष्टिकोणमा मनोवैज्ञानिक रूपमा फरकपन प्रस्ट देखिन्थ्यो। अमेरिकीहरू धेरै बोल्दैनन्, अनुहार पढेर कूटनीतिक तवरले भाषाको प्रयोग बढी गर्छन्। त्यहाँ केही राजनीतिक व्यक्ति र प्राध्यापकसँग भेटघाटका क्रममा नेपालको राजनीतिक घटनाक्रमबारे गहिरो चर्चा भयो। नेपाली नागरिक, नेपालको प्राकृतिक सौन्दर्यको राम्रो चर्चा गरे, तर नेताहरूको कुरा गर्दा बोल्न चाहेनन्। ह्वाइटहाउस घुम्न आएकी स्नेगलकी महिलाले त नेपाल देश धेरै राम्रो तर नेपालका नेता भ्रष्टचारीसमेत भनेको सुन्दा मैले टाउको निहुरिएको छ अनुभूति गरेँ।
केही दिनपछि न्युयोर्कस्थित ज्याक्सन हाइटमा अमेरिकाभरिका नेपाली मूलका चिकित्सकको भेला थियो। त्यहाँ पनि नेपालको घटनाबारे चिन्ता र चासो व्यक्त गरे। सरकार र जनताबिच हार्दिकता र मेलमिलाप नभएर यस्तो घटना घटेको हुन सक्ने तर्क गरे। तीन महिनाको पंक्तिकारको बेलायत बसाइँका क्रममा पनि विभिन्न क्षेत्रका प्रबुद्ध व्यक्तिसँग भेट भएको थियो। राजा वीरेन्द्र र दीपेन्द्रले पढेको इटन कलेजका प्राध्यापक ज्याक्सनले बिपीलाई सम्झँदै भने– बिपी दक्षिण एसियाकोे मिलनसार समाजवादी नेता थिए। युरोपका समाजवादी नेतासँग उनको राम्रो सम्बन्ध थियो।
एक युगमा नेपालमा दुईजना विचारक जन्मनु पनि अफाप हुने रहेछ। बिपी भविष्यद्रष्टा तथा समाजवादी सिद्धान्तका प्रखर वक्ता थिए। २०१५ सालको प्रथम आमनिर्वाचनमा नेपाली कांग्रेसले संसद्मा दुईतिहाइ मत ल्याएपछि देशको प्रधानमन्त्री नियुक्त भए। जुन कुरा तत्कालीन चलाख राजा महेन्द्रलाई मन परेको थिएन। परिणाम २०१७ पुस १ को घटना घट्यो। जननिर्वाचित प्रधानमन्त्री बिपी २०१७ सालदेखि २०२५ सालसम्म आठ वर्ष काठमाडौंको सुन्दरीजल कारागारमा नजरबन्द भए। २०२५ देखि २०३३ सालसम्म भारत निर्वासित भए। राष्ट्रभक्त बिपीले सिक्किमलाई भारतमा गाभेको, पाकिस्तानमा ध्रुवीकरण भई बंगलादेशका नामले छुट्टै राज्य खडा भएको राजनीतिक घटना नजिकबाट नियालेका थिए।
यता नेपालको आन्तरिक राजनीतिका कारण राजा र जनताबिचको सम्बन्ध चिसिँदै गएको महसुस गरी उनी मेलमिलापको नीति अवलम्बन गर्दै स्वदेश फर्के। त्यसबेला तत्कालीन सरकारले राज्यद्रोहसम्बन्धी पाँचवटा मुद्दा बिपीमाथि लगाएको थियो। यसको कुनै प्रवाह नगरी उनी स्वदेश त फर्किए तर उनी चढेको जहाज तत्कालीन उग्रवादीहरूले अवतरण गर्न दिएनन्। जहाज विराटनगर पुगी अवतरण गराइयो। तत्कालीन राजाले बिपीलाई जति दु:ख दिए पनि उनी मेलमिलापको नीति लिएर २०३३ पौस १६ गते स्वदेश आएकाले नेपाली कांग्रेस पार्टीले उनको साहसिक कदमको कदर गर्दै यस दिनलाई राष्ट्रिय मेलमिलापको दिन भनेर सम्झना गर्दै आइरहेको छ। बिपीको यो सिद्धान्तलाई देशमा भएका सबै दलले राष्ट्रिय उत्सवका रूपमा अपनाउनुपर्ने हो।
बिपीका लागि कारागार राजनीतिक पाठशाला बन्यो। २०३३ पुस १६ बाट दुई वर्षसम्म त्यसबेलाको सरकारले पुन: कारागार चलान गर्यो। क्यान्सर रोगका कारण बिपी शिथिल भइसकेका थिए। उपचारका लागि विदेश लैजानुपर्ने चिकित्सकको सल्लाहअनुसार तत्कालीन राजा वीरेन्द्रले बिपीलाई कारागारमुक्त गरिदिए।
बिपीको मेलमिलाप सिद्धान्तले राजनीतिक दर्शन बोकेको देखिन्छ। सो सिद्धान्तको मस्यौदा जगन्नाथ आचार्य निर्वासित भएको ठाउँ भारतको दरभंगामा गरिएको थियो। तत्कालीन युवा नेताहरू हरिहर विरही, स्मृतिनारायण चौधरी (धनुषा), रामचन्द्र तिवारी (महोत्तरी) ले आफ्नै रोहबरमा मेलमिलाप नीतिको सुरुवाती ड्राफ्ट गरेको स्मरण गराउनुभएको थियो जगन्नाथ आचार्यले। त्यसअघि २०३० सालमा मधुवनीमा सरोज कोइरालाको हत्या गरिएपछि युवाआक्रोश बढ्दै गएको बेला बिपीले शान्त रहन भारतको पटनाबाट सन्देश पठाउनुभएको थियो।
बिपी नेपालको भूराजनीतिक अवस्थाअनुसार समावेशी तवरले पार्टीमा र सरकारमा कार्यकर्ताको छनोट गर्न सिपालु थिए। २००७ सालमा धनमानसिंह परियारलाई पार्टीको महामन्त्री बनाए। त्यसपछि परशुनारायण चौधरीलाई महामन्त्री बनाइयो। यसैगरी २०१६ सालमा आफ्नो मन्त्रीमण्डलमा सबै वर्ग र जातजातिलाई सम्मान गर्दै योगेन्द्रमान शेरचन, दिवानसिंह राई, प्रेमराज आङदेम्बे, मीनबहादुर गुरुङ, द्वारिकादेवी ठकुरानी, शिवराज जोशीलगायतका इमानदार व्यक्तिलाई समावेश गरेका थिए। बिपीले कृष्णप्रसाद भट्टराई सभामुख र महेन्द्रनारायण निधिलाई उपसभामुखको जिम्मेवारी तोकेका थिए।
झट्ट सुन्दा के हो मेलमिलाप नीति ? भन्ने पनि लाग्न सक्छ। तर कांग्रेस, नेकपा (एमाले) जस्ता पुराना र हालै पुष्पकमल दाहाल, माधव नेपाल, भीम रावलसहितका नेताहरू मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका नयाँ दलले देशको भलाइका लागि बिपीको मेलमिलाप नीतिको अवलम्बन गर्नु नितान्त जरुरी देखिन्छ। वर्तमान सरकारले चुनावको घोषणा गरे तापनि आपसी मेलमिलापको कमी छ। एकथरी संसद् पुनस्र्थापनाको माग लिएर सर्वोच्च अदालत पुगेका छन्, अर्काथरीले सरकारको औचित्यमाथि पनि प्रश्न उठाइरहेका छन्। यही भदौ २४ को त्रासदीपूर्ण घटनाले सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवन जलेर पुनर्निर्माणको क्रममा छन्। व्यापारिक मल र नेताका घर जलेर खरानी भएका छन्। मेलमिलाप नीतिका सूत्रधार बिपी निवास, २०४६ को जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहको चाक्सीबारी भवन, सन्तनेता कृष्णप्रसाद भट्टराईको बाडेगाउँस्थित आश्रममा आगो लगाएर आस्थाका धरोहरहरू ध्वस्त पारे। जनताका मनमा शान्ति, सुख र अमनचैन कायम छैन। नागरिकहरू किंकर्तव्यविमूढ बनिरहेछन्।
यता नेपाली कांग्रेसको पन्ध्रौं महाधिवेशन सम्पन्न गर्न नेताहरूलाई सकस परिरहेछ। मेलमिलापको नीति कायम गरिनुपर्ने हो। देश तथा पार्टीमा समेत संकट पर्नै लागेको बखत हातेमालो गर्नैपर्ने हो। तर पार्टीभित्र नाम चलेका नेतामा कुर्सीको मोहका लागि दम्भ बढेको देखिन्छ। गाउँ तहदेखि जिल्ला, प्रदेश र केन्द्रसम्म ध्रुवीकरण देखा परिरहेछ। यस्तो बेला संसद्मा ठुलो मानिएका दलले बिपीको मेलमिलाप सिद्धान्त अंगीकार गर्ने कि नगर्ने ? नैतिक प्रश्न खडा भएको छ।
प्रकाशित: १५ पुस २०८२ १०:३५ मंगलबार
