News Summary
Generated by OK AI. Editorially reviewed.
- नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले धार्मिक गुरुहरूको साइत अनुसार अपरान्ह १२:३४ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ लिए।
- प्रधानमन्त्री बालेन्द्र शाहले शपथ ग्रहण समारोहमा आमा पुस्ता र छोरीलाई अंगालो हालेर आत्मीयता देखाए।
- बालेन्द्र शाहले नयाँ पुस्ताको नेतृत्व गर्दै भ्रष्टाचार र असमानताविरुद्ध गीतमार्फत सामाजिक सन्देश दिएर राजनीतिक क्षेत्रमा उदाएका थिए
दृश्य १ :
गणतन्त्र स्थापनापछि नेपालका प्रधानमन्त्रीको शपथको स्थल हो- राष्ट्रपति कार्यालय शीतल निवास । प्रधानमन्त्री चयन भएपछि राष्ट्रपति कार्यालयले नै शपथको कार्यक्रम बनाउँथ्यो । जुन समयमा उपयुक्त व्यवस्थापन गर्न सकिन्छ त्यो समयमा राष्ट्रपतिले प्रधानमन्त्रीलाई शपथ खुवाउँथे ।
तर, यो पटक शीतल निवासलाई आफूखुसी समयको चाँचोपाँजो मिलाउने सुविधा थिएन । किनकी, नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले धार्मिक गुरुहरूले निकालेको अपरान्ह १२:३४ को साइत अनुसारको समयमा शपथ लिन चाहे, त्यो पनि शंखनादसिहत हिन्दुपरम्पराअनुसारको स्वस्ती वाचन र बौद्ध गुरुहरुको मंगलपाठ सहित ।
त्यसैले राष्ट्रपति कार्यालयले शुक्रबार अपरान्ह ठीक १२: ३४ बजे बालेन्द्र शाहले शपथ पत्र वाचन गर्ने गरी समय तय गर्यो ।
राष्ट्रपति कार्यालयका एक अधिकारीका अनुसार ठीक साइतमा शपथ पत्र वाचन गर्नका लागि त्योभन्दा अघि उद्घोषकले बोल्ने समय, शंखनाद, स्वस्ती वाचन र मंगलपाठका लागि लाग्ने कुल समय अनुमान गरिएको थियो । यो काम करिब १२:३१ मिनेटमा सकिएको थियो ।
तर, साइतको मुख्य समय आइपुग्न अझै तीन मिनेटको समय बाँकी नै थियो । त्यो समयमा प्रधानमन्त्रीले शपथ पत्र लिए । यता राष्ट्रपति रामचन्द्र पौडेलले भने आफ्नो नाडीमा लगाएको घडी पटक पटक हेरे ।
१२ :३२ मा शपथ सुरू भयो । यसरी तोकिएको साइत १२: ३४ मै प्रधानमन्त्रीको शपथ सम्पन्न भयो । ‘यसअघि शीतल निवासमा यो खालको प्रबन्ध गरिन्थ्यो’ राष्ट्रपति कार्यालयका एक अधिकारीले भने,’ तर प्रधानमन्त्रीले आफ्नो चाहना अनुसार जे गर्ने भन्नुभयो त्यही अनुसार राष्ट्रपतिले समय ख्याल गरेर शपथ गराउनुभएको हो ।’
बालेन्द्र शाह प्रधानमन्त्री बन्ने निश्चित भएसँगै प्रधानमन्त्री कार्यालयहरूका कुर्सी टेबल देखिका सेटअप पनि वास्तुअनुसार मिलाइयो । यता पनि करिब सवा दुई बजेको साइतमा प्रधानमन्त्रीले कार्यभार सुरु गरे । त्यस्तै प्रधानमन्त्री निवास बालुवाटारमा पनि पुजापाठ गरेर प्रवेश गरे ।
दृश्य : २
शीतल निवासको शपथ मञ्चमा बालेन्द्र शाहका बुवाआमा पुस्ताका पाँच जना शीर्ष व्यक्तिहरू थिए- राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, निवर्तमान प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल ।
यस्तो मञ्चमा करिब ३६ वर्ष उमेरका शाहले शपथ लिएर कुर्सी अदलबदल गर्ने बेला निवर्तमान प्रधानमन्त्री कार्कीलाई अंगालो हाले । कार्कीले पनि शाहलाई हार्दिकतासाथ अंगालो मारेर केहीबेर अडिइन् । शपथ लिएपछि त्यही मञ्चमा पुगेका आफ्ना परिवारजनसँग फोटो खिच्नेक्रममा आफ्नी करिब साढे दुई वर्षकी छोरीलाई पनि शाहले अंगालो मारे, काखमा बोके ।
000
बालेनले आफू पद बहाल गर्दा जसरी साइत हेरे यो उनको व्यक्तिगत छनौटको विषय हो । त्यस्तै आमा पुस्ताकी सुशीला कार्की तथा अढाइ वर्षकी छोरीलाई एउटै अंगालोमा बेरे यो उनको आत्मीयता र सम्मान हो ।
तर, यी दुई दृश्यको बृहत अर्थ छ ।
अहिले बालेन शाहले जस्तो अवस्थामा प्रधानमन्त्रीको जिम्मेवारी हातमा लिएका छन्, यो राष्ट्रिय राजनीतिमा सबै प्रकारका विकल्पहरू समाप्त भएपछि देश सम्हाल्न ठूलो जनमतले उनलाई भरोसा गरेको अवस्था हो ।
आमा र छोरी पुस्तालाई जसरी उनले आत्मीयता साट्न अंगालो हाले, त्यसैगरी उनीमाथि मुलुकभरका सबै पुस्तालाई जोड्ने सेतु बन्न सकुन् भन्ने कामना गरिरहेको अवस्था पनि हो ।
नागरिक अगुवा समेत रहेका पूर्वप्रमुख निर्वाचन आयोग भोजराज पोखरेल भन्छन्-‘जति धेरै जनसमर्थन र बहुमत छ त्यति धेरै आशा गरिएको छ । यो आशालाई विश्वासमा लिएर जानुपर्छ ।’
बालेन्द्र शाहको उदय नेपाली राजनीतिमा केवल व्यक्तिको व्यक्तित्वको उकालो यात्रा मात्र होइन । यो एउटा युगान्तकारी परिवर्तनको संकेत पनि हो ।

चार वर्षअघिसम्म काठमाडौंको र्याप सांगीतिक क्षेत्रमा सीमित रहेका, पेशाको रुपमा इन्जिनियरिङको काम गरिरहेका व्यक्ति छोटो अवधिमै मुलुकको शासनको बागडोर सम्हाल्ने स्थानमा आइपुगेका छन् ।
यो परिवर्तन आकस्मिक जस्तो लागेपनि यसको जरा नेपाली समाजमा गहिरो रूपमा जमेको असन्तोष, निराशा र परिवर्तनको आकांक्षासँग जोडिएको छ।
बालेनको पृष्ठभूमि परम्परागत राजनीतिज्ञहरूको भन्दा बिल्कुल फरक छ। इन्जिनियरिङ अध्ययन गरेका, गीत–संगीतमार्फत सामाजिक सन्देश दिने र डिजिटल माध्यममा सक्रिय रहने उनको पहिचानले उनलाई नयाँ पुस्ताको प्रतिनिधि बनायो ।
उनीसँग विगतका राजनीतिज्ञको जस्तो शासन व्यवस्था परिवर्तनका आन्दोलनमा क्रममा जेलनेल भोगेको अनुभव छैन ।
उनले भ्रष्टाचार, असमानता र अविकासका विषयलाई गीतमार्फत उठाएका थिए । जुन पछि राजनीतिक एजेन्डाका रुपमा रूपान्तरण भए । तिनै एजेण्डालाई बोकेर उनी यो स्थानमा आइपुगेका हुन् ।
२०७९ सालको स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा उनको जितले स्थापित राजनीतिक शक्तिहरूलाई गम्भीर चुनौती दिएको थियो ।
उनले ठूला दलका अनुभवी उम्मेदवारलाई पराजित गर्नु जनताले पुरानो राजनीतिक शैलीलाई अस्वीकार गरेर नयाँ विकल्प रोजेको स्पष्ट सन्देश थियो ।
विशेषगरी युवाहरू, विदेशमा रहेका नेपालीहरू र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले उनको अभियानलाई व्यापक समर्थन गरेका थिए ।

त्यही समर्थनको बलमा प्रधानमन्त्रीसम्म बन्न सफल भएका बालेनको नेतृत्वको वास्तविक परीक्षा अब सुरू भएको छ ।
लोकप्रियता र नागरिक अपेक्षाबीचको दूरी निकै ठूलो हुन्छ । मेयरको रूपमा काम गर्दा बालेनले प्रशासनिक सुधारमा ध्यान केन्द्रित गरे ।
उनले आफैं फिल्डमा पुग्ने, निर्माण कार्यको गुणस्तर जाँच्नेदेखि बैठकहरू पारदर्शी बनाउने जस्ता कामले फरक छवि बनाएका थिए ।
यसले पारदर्शिता र उत्तरदायित्वको सन्देश दिएपनि दीर्घकालीन प्रणाली निर्माणमा भने अब उनले आफ्नो परख देखाउनुपर्नेछ ।
जसरी महानगरमा उनी आशावादी पात्रको रुपमा देखा परे, अब मुलुक सञ्चालन गर्ने सवालमा पनि त्यो भन्दा अब्बल देखिनुपर्ने छ ।
बालेनको चुनौती उनको नेतृत्व शैली हो । उनी परम्परागत सञ्चार माध्यमभन्दा सामाजिक सञ्जालमा बढी निर्भर छन् । फेसबुक, एक्स लगायतबाट सिधै जनतासँग संवाद गर्छन् । यो शैली आधुनिक र प्रभावकारी पनि बनेको छ । तर कहिलेकाहीँ असंयमित अभिव्यक्तिका कारण उनी विवादित पनि बनेका छन् । शब्दशैली र भाषाका कारण कतिपयले उनको परिपक्वतामाथि पनि प्रश्न उठाउने गरेका छन् ।
तर, अब उनी यस्तो प्रत्येक प्रश्नहरूको जवाफ दिनुपर्ने जिम्मेवारीमा पनि आइपुगेका छन् । किनकी उनी अहिले लोकतान्त्रिक संसदीय व्यवस्थाको प्रधानमन्त्री बनेका छन् । लोकतान्त्रिक व्यवस्थामा नेतृत्व हुनुको अर्थ केवल निर्णय लिनु मात्र होइन, सहकार्य र संवाद गर्ने शैली पनि हो ।

अहिले यसैपनि राजनीति संगालिइसकेको छैन । चुनावी जीतले रास्वपालाई अभूतपूर्व अवसर आएको छ । तर, यो अवसरलाई परिणाममा बदल्न खुम्चिएर सानो बनेको शक्तिको पनि सहयोग लिनुपर्ने हुनसक्छ ।
भदौ २३ र २४ को जेननी विद्रोहको क्रममा उनको भूमिका पनि जोडिएको थियो । केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध भएको आन्दोलनका बेला उनले युवाहरूलाई समर्थन गरेका थिए।
आन्दोलन हिंसात्मक भएपछि वार्ता र संवादका लागि उनले भूमिका खेलेका थिए । जसरी विगतमा शासकीय अव्यवस्थाका कारण उनी लगायतका युवा सडकमा आउनुपरेको थियो अब त्यो स्थिति आउन नदिने भूमिका खेल्नुपर्ने जिम्मेवारी पनि उनमा छ ।
यतिबेर मुलुक भूराजनीतिक रुपमा पनि असहज अवस्थामा छ । त्यसैले अन्तर्राष्ट्रिय सम्बन्धलाई पनि उनले संगालेर लैजानुपर्ने छ ।
नेपाल दुई ठूला छिमेकी भारत र चीनबीचमा छ । भारत र चीनका आ-आफ्ना स्वार्थहरू पनि छन् । यी स्वार्थहरूलाई चिर्दै राष्ट्रिय हितको पक्षमा निर्णय गर्नुपर्ने जिम्मेवारी पनि उनमा छ ।
विगतमा उनले भारत र चीनले लिपुलेक पासबाट व्यापार नाका खुल्ला गर्ने दुई देशको विरोध स्वरुप चीन भ्रमण नै रद्द गरेका थिए ।
त्यस्तै भारतले नेपालको भूमि पनि समेट्नेगरी नयाँ नक्सा जारी गरेपछि उनले महानगरमा आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका थिए ।

अब यस्तो अवस्थामा प्रतिक्रियाको भन्दा व्यावहारिक कूटनीतिको कौसल प्रयोग गर्नुपर्ने आवश्यकता छ । अहिले उनको नेतृत्वलाई अन्तर्राष्ट्रिय समूदायबाट बधाई र शुभकामना आइसकेको छ । उनको स्वीकार्यता भइसकेको छ । अब उनले सन्तुलित र परिपक्व विदेश नीति अपनाउनुपर्नेछ।
बालेनका लागि सबैभन्दा ठूलो शक्ति युवापुस्ताले उनीप्रति गरेको विश्वास हो । अहिले संसद्मा पनि उनको पुस्ताका सांसदहरूको बर्चस्व छ ।
मन्त्रपरिषद्मा पनि उनको पुस्ताका मन्त्रीहरूकै बाहुल्यता छ । अहिले तुलनात्मक रुपमा शैक्षिक रुपमा अब्बल व्यक्तिहरू पनि प्रवेश गरेका छन् ।
चुनावी वाचापत्रमा मेरिटोक्रेसी लागू गर्ने प्रतिबद्धता जनाएका छन् । यदी यो प्रतिबद्धता लागू गरे भने युवाहरूको ठूलो विश्वास आर्जन गर्न सक्छन् ।
उनको उदयले नेपालमा लामो समयदेखि बृद्ध पुस्ताले चलाउँदै शासन पनि बदलिएको छ । क्षमताभन्दा पनि उमेर हेरेर जिम्मेवारी दिने र केही निश्चित व्यक्तिहरूको मात्र हालिमुहाली हुने प्रणालीमा पनि ब्रेक लागेको छ ।
बालेन शाह पुरानो संरचना र नयाँ आकांक्षाबीचको सेतु बनेका छन् । उनको सफलताले नेपाली राजनीतिलाई नयाँ दिशा दिन सक्छ, तर असफलताले फेरि निराशा पुनराबृत्त हुन सक्छ । त्यसैले उनले आफ्नो लोकप्रियतालाई व्यवहारमा रुपान्तरण गर्नुपर्नेछ । उनले आवेग र एकल निर्णयमा भर नपरी संयमता र सहकार्यका नीतिहरूलाई प्राथमिकता दिए भने इतिहास बदल्न सक्छन् ।
