पछिल्ला राजनीतिक घटनाक्रमबाट वाक्क दिक्क बनेका जनताले राजनीतिलाई फोहोरी खेलको रुपमा लिने गरेका छन् । यही फोहोरी राजनीतिबाट भ्रष्टाचार गरेर देशलाई गरिबीतिर धकेलिएको भन्दै आम नेपाली नागरिक राजनीतिबाट आजित बनेका छन् । केही युवाहरु गुणस्तरीय शिक्षा र रोजगारी खोजीमा त केही परिवारको भोको पेट भर्नका लागि नै विदेशिन बाध्य छन् ।
पुराना र विभिन्न पदको भोगचलन गरिसकेका नेताबाट परिवर्तन आशा मारिसकेका जनतामा भर्खरै राजनीतिमा प्रवेश गरेका नयाँ राजनीतिक व्यक्तित्वहरुलाई हेरेर जनतामा थोरै आशाको किरण भने पलाएको छ । अब भने राजनीतिमा ती अनुहारले लामो समयदेखि चल्दै आएको बेथितिलाई रोक्दै नयाँ थिति बसालेको हेर्ने सपना जनताले देख्न थालेका छन् ।
यसको गतिलो उदाहरण हो, दुई वर्ष अघि मात्र उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) । रास्वपाका सभापति रवि लामिछानेलाई सञ्चारकर्मी हुँदा बनाएको छविका कारण नै उनी जनतामा लोकप्रीय छन् । युवा र आशलाग्दो देखेर उनको पार्टीले २०७९ मा भएको संघ चुनावमा २१ सिट जितेर नेपालको चौँथो ठूलो दल नै बन्न सफल भएको छ । रविसँगै रास्वपाका सम्पूर्ण सांसद र नेताहरुमा जनताले ठूलो आशा राखेका छन् । यद्यपी समयसमयमा रवि मुद्दामामिलामा फसी रहँदा कहिले पुराना दल, कहिले परिस्थिती त कहिले रविसँगै पनि जनता रुष्ट बन्ने गरेका छन् ।
तर राजनीतिको फोहोरी खेलमा दुङ दुङ गन्हाएर बसेका नेताहरु मात्र हामिसँग छैनन् । हिलोबाट फुलेको कमलको फूल झै हुर्किरहेका छन् ती नेता हरु जसमा पछिल्लो समय जनताको ठूलो आशा र भरोसा रहेको देखिन्छ । आज हामी स्थानीय तहमा रहेका केही नेताको कुरा गर्दैछौँ जसमा कोही चर्चित छन् त कोहि कम चर्चामा । तर उनीहरुले आफ्नो सिमित स्रोत साधन र अधिकारको उपभोग गर्दै अझैपनि हामी विकास र समृद्धीतर्फ अघि बढ्न सक्छौँ है भन्ने सन्देश दिइरहेका छन् ।
नेपालमा ७५३ स्थानीय तह छन् । ती स्थानीय तहमध्ये आज हामी त्यस्ता जनप्रतिनिधिका कुरा गर्दैछौँ । जो पालिकाको प्रमुख वा उपप्रमुखको हैसियतले कार्यरत छन् । तर उनीहरुले एउटा मेयरले पालिकाको सिमित क्षेत्र र अधिकारको दायरामा बसेरपनि धेरै काम गर्न सक्छ भन्ने कुरा प्रमाणीत गरिदिएका छन् । अझै धेरै अधिकार भएको पदमा बसेर काम गरेमा देशको मुहार फेर्नसक्ने क्षमता उनीहरुमा रहेको कुरा आफ्नो कामले प्रमाणित गरिरहेका छन् । ती मध्ये सबैभन्दा लोकप्रीय र चर्चित मेयर हुन्ः
बालेन शाह
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को परिचय दिइराख्नु नै पर्दैन । बालेनको नाम नै तरङ्ग पैदा गर्न काफी छ । व्यवसायिक रुपमा इन्जिनियर र ¥यापर रहेका बालेनले स्थानीय तहको दोस्रो चुनावमा स्वतन्त्र उम्मेदवारी दिएर काठमाडौंको महानगर पदमा जितेका हुन् । बालेनको जीतले जनताले पार्टीलाई नभइ राम्रो विकास गर्ने व्यक्तिलाई रुचाउन थालेको सन्देशसमेत प्रवाह गरेको थियो । ३२ वर्षको उमेरमा नै देशको राजधानी रहेको काठमाडौं महानगरपालिकाका मेयर बनेका बालेन आगामी नेपाली राजनीतिका आशलाग्दो नेता हुन् ।
काठमाडौं महानगरपालिकाबासीमात्र नभइ सिंगो नेपालका जनताले बालेनलाई आफ्नै मेयरसरह माया, साथ, सल्लाह दिने र आलोचना गर्ने गरेका छन् । बालेनलाई सामाजिक सञ्जाल फेसबुकमा मात्र २१ लाख भन्दा धेरैले फलो गर्छन् । सार्वजनिक रुपमा भाषण कम दिने बालेनले एकपटक सामाजिक सञ्जालमा केही पोष्ट गरेमा मात्र त्यसले तरङ्ग नै सिर्जना गर्ने गरेको छ । बालेनको नामको पपुलारिटिजस्तै उनको काम पनि गरिरहेका छन् । उनी महानगरका हरेक क्षेत्रमा विशेषज्ञको सल्लाह लिएर काम अघि बढाउँछन् । काम गर्नुभन्दा अघि प्रचार गर्ने नेताहरुको शैलीभन्दा विपरित रहेर बालेन काम गरिसकेपछि त्यसको जानकारी दिन्छन् । तर चाहेजस्तो काम गर्न संघ सरकार वा प्रधानमन्त्री नै वाधा बनेपनि उनी त्यसको विरोध गर्न हिच्किचाउँदैनन् ।
नीडर भएर कसैसँग नझुक्ने स्वभावले बालेन सबैको प्रीय बन्दै गएका हुन् । उनले फोहोर व्यवस्थापन, फुटपाथ व्यवस्थापन, सीपमुलक शिक्षा लगायत सामूदायिक विद्यालयको गुणस्तरमा सुधार, छात्रावृत्ती, स्वास्थ्यमा विपन्नको पहुँच, सहर शुन्दरिकरण लगायतका उल्लेखनीय काम गरेका छन् ।
हर्क साम्पाङ
बालेनपछि सबैभन्दा धेरै चर्चा हुने मेयर हर्क साम्पाङ हुन् । स्वतन्त्र उम्मेदवारी दिएर धरान उपमहानगरपालिकाको मेयरमा निर्वाचित भएका हर्क धेरैजसोको आलोचनामा पनि पर्छन् । मेयर भएर कार्यलयमा बसिरहनेभन्दा पनि हर्क आफै अघि लागेर आफ्ना जनतालाई श्रमदान गर्न लान्छन् । हर्कले शनिबारको दिनको नाम नै श्रमदान राखिदिएका छन् ।
धरानमा रहेको खानेपानीको समस्या समाधान गर्ने मुल एजेन्डा लिएर मेयर बनेका साम्पाङले धरानमा पानी ल्याउनका लागि ठूलो जनशक्ति श्रमदानबाट नै जुटाएका थिए । उनी शुक्रबारलाई सुधारबार भन्दै लागु औषध दुव्र्यसनी विरुद्ध सचेतना कार्यक्रम सञ्चालन गर्छन् । शनिबार बिहानै कुटो कोदालो लगायतका औजार लिएर खोला किनारतीर वृक्षरोपणमा जाने साम्पाङको काम हो । उनको यो कार्यशैलीले चिनका कम्युनिष्ट नेता माओ त्सेतुङको समेत झल्को दिने गरेको छ । कार्यालय समयमा भने उनी कार्यालयमा जनताको सेवामा तल्लिन देखिन्छन् ।
हर्कलाई सामाजिक सञ्जालमा आठ लाख ७७ हजार भन्दा धेरैले फलो गर्छन् । तर उनको आलोचना गर्नेको सङ्ख्या पनि ठूलै छ । उनी जति काम गर्छन् सामाजिक सञ्जालमा पनि उति नै आफ्ना मनमा लागेका कुरा शेयर गरिहाल्छन् । उनको सामाजिक सञ्चालमा प्रयोग गर्ने शब्द छनौटका कारण बढीजसो आलोचनामा पर्ने गरेका हुन् । तर मेयर हुँ भन्ने पदको आडम्बर छाडेर जनताको सेवामा तल्लिन एउटा सामान्य जिवनशैलीमा बाँच्न सक्ने नेता चिप्ला भाषण गर्ने नेताभन्दा कयौँगुणा राम्रो हुन्छन् भन्ने कुरा हर्क साम्पाङलाई देख्दा महसुस हुन्छ ।
गोपाल हमाल
स्वतन्त्र उम्मेदवारीबाटै निर्वाचित भएर आफ्ना कार्यशैलीका कारण आफ्नो पालिकाबासीको मात्र नभइ देशै भरिका जनताले मन पराएका अर्का मेयर हुन् गोपाल हमाल । कैलालीको धनगढी उपमहानगरपालिकामा निर्वाचित हुनुभन्दा पहिला नै उनले आफ्नो क्षेत्रमा समाजसेवीको छवि बनाइसकेका थिए। जसकारण उनी धनगढीबासीका प्रीय छन् । धनगढीमा हमालले केही गर्न चाहेभने बलप्रयोग गरिहाल्न पर्दैन धेरै हदसम्म उनका जनतानै उनलाई सघाइहाल्छन् । धनगढीका प्रीय हमाललाई त्यहाँका मात्र नभई नेपाल भरिका जनतानै रुचाउँछन् । त्यसैलेल सामाजिक सञ्जाल फेसबुकमा ३ लाख १४ हजार भन्दा धेरै मानिसहरुले फलो गर्छन् ।
शुन्दर सफा धनगढी बनाउने लक्ष्य लिएर हमालले निरन्तर अघि बढेका छन् । हरियालीले भरिएको सफा धनगढी बनाउने लक्ष्य राखेका उनले सर्पको उद्दार, आमा बचाऔँ अभियान समेत सञ्चालनमा ल्याएका छन् । दमकल, एम्बुलेन्स र शवबाहन बसको सर्वसुलभतालाई विशेष ध्यानमा राखेका छन् । उनी भविष्यमा मेयरभन्दा बढी भएको हेर्ने चाहना आम जनताको छ ।
रेणु दाहाल
चितवनको भरतपुर महानगरपालिकाको मेयरको रुपमा दोस्रो कार्यकालमा रहेकी रेणु दाहाललाई नचिन्ने कमै होलान् । पूर्व प्रधानमन्त्री तथा नेकपामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी छोरी भएको कारणले उनको विशेष पहिचान छ । तर आफ्नो महानगरपालिका क्षेत्रमा रेणु आफ्नै कामका कारण लोकप्रीय छिन् । अन्य महानगरपालिकाको तुलनामा भरतपुर महानगरपालिका कार्यसम्पादन मूल्यांकनमा उत्कृष्ट रहँदै आएको छ । यहाँ हुने खर्चमा बेरुजु कम देखिने गरेको छ ।
रेणूले भरतपूरमा गरेको विकासका कारण पनि उनलाई दोस्रो कार्यकालका लागि पनि मेयरका रुपमा चुनेका थिए । रेणुले पूर्वाधार क्षेत्रमा गरेका विकासका काम अन्य पालिकाले पनि सिको गर्न आवश्यक छ । एउटा पालिकामा दुई कार्यकालसम्म मेयर हुन पाउने व्यवस्था छ । अब दोस्रो कार्यकालपछि रेणु केन्द्रिय राजनीतिमा आएमा पनि उनले जनताको लागि राम्रो काम गर्ने छिन् भन्ने कुरा उनको मेयरको जिम्मेवारीले नै देखाएको छ ।
चिरीबाबु महर्जन
नेपाली कांग्रेसबाट उम्मेदवारी दिएर चिरीबाबु महर्जन ललितपुर महानगरपालिकामा मेयरको दोस्रो कार्यकाल सम्हालिरहेका छन् । नम्र र शालिन व्यवहार भएका तथा ज्ञान र अनुभवले भरिएका सँधै हसिँलो मुद्रामा देखिन्छन् ६६ वर्षीय मेयर महर्जन । उनी मेयर हुनुभन्दा पहिले ललितपुर वडा नं ३ का वडाध्यक्षमा तीनवटा कार्यकाल सम्हालिसकेका छन् । सम्पदाले भरिएको ललितपुरका सम्पदाको संरक्षण र पुनर्उथ्थानलाई उनले विशेष जोड दिएका छन् । चिरीबाबुलाई आफ्नो महानगरबासीले के चाहन्छन् भन्ने राम्रोसँग ज्ञात छ ।
ललितपुरलाई सफा, शुन्दर कायम राख्दै देशको राजधानीमा रहेको महानगरपालिकाको चुनौती, समस्यालाई बुझ्दै त्यसको समाधान चिरीबाबुले गरेका छन् । चिरीबाबुलाई मेयर पाएर ललितपुरले निकै प्रगतिसमेत गरेको छ । नेपाली राजनीतिमा आगामी दिनमा उनको थप योगदानको अपेक्षासमेत जनताले गरेका छन् ।
सुनिता डंगोल
३१ वर्षीय सुनिता डंगोल काठमाडौं महानगरपालिकालकी उपमेयर हुन् । स्थानीय तह निर्वाचन २०७९ मा सबैभन्दा धेरै मत र मतान्तर पाउने रेकर्ड राख्दै निर्वाचित भएकी सुनिता आगामी नेपाली केन्द्रीय राजनीतिमा स्थानीय तहबाट उदाउन सक्ने नेता हुन् । नेकपा एमालेबाट उपमेयर पदमा उम्मेदवारी दिएको बेलामा मेयर उम्मेदवार बालेन शाहको विषयमा दिएको भाषणका कारण उनी आलोचनमा समेत परेकी थिइन् । तर पछि उनै बालेन मेयर हुँदा उनी उयमेयरमा बिजयी भइन् ।
काठमाडौंको उपमेयरमा निर्वाचित भएपछि उनले पार्टीको नभइ महानरवासीको उपमेयर बनेको बताएकी थिइन् । जुन कुरा उनको व्यवहारमा समेत देखिएको छ । अन्य स्वतन्त्र उम्मेदवार भएको स्थानीय तहमा जस्तो काठमाडौं महानगरपालिकामा मेयर र उपमेयर नमिल्ने समस्या छैन । वडाध्यक्षहरुसँग मतभेद भइरहेको समयमा समेत सुनिताले मेयर बालेनलाई राम्रो साथ दिएकी छिन् ।
सार्वजनिक कार्यक्रममा मेयर बालेन शाह खासै नदेखिने भएकाले त्यस्ता ठाउँमा सुनिताको उपस्थिति देखिन्छ । उनको वाक शैली र व्यवहारसमेत प्रभावित बनाउने किसिमको छ । उनी अन्तराष्ट्रियस्तरमा समेत सशक्त रुपमा काठमाडौंलाई प्रतिनिधित्व गर्दै आएकी छिन् । आफ्नो सुनिताले उपमेयरको पदबाट पूरा गर्नुपर्ने जीम्मेवारीलाई पूरा गर्दै मेयरलाई दिएको साथका कारण उनी जनताको सेवाका लागि खटिएकी जनप्रतिनिधि हुन् भन्ने कुरा पुष्टी गरेको छ।
सुनिल प्रजापति
नेपाल मजदुर किसान पार्टीबाट निर्वाचित भएर दोस्रो पटक भक्तपुर नगरपालिकाको मेयर पद सम्हालिरहेका छन् सुनिल प्रजापति । उनले २०७९ मा भएको स्थानीय तह निर्वाचनमा अन्य मेयरका उम्मेदवारको जमानत रकम फिर्ता हुने भोट पनि आउन दिएनन् । सारा भक्तपुरबासीको मत पाएर विजयी उनले भक्तपुरका लागि साँच्चैनै उल्लेखनीय काम समेत गरेका छन् । उनको नेतृत्वमा भक्तपुर नगरपालिका दक्षिण एसियाको उत्कृष्ट १० सांस्कृतिक नगरभित्र समेटिएको छ । नगरपालिका आफ्नै विद्यालय, कलेज, अस्पताल सञ्चालनमा गरेर नागरिकलाई सुविधा दिएका छन् ।
नगरबासीलाई उच्च शिक्षाका लागि बिनाब्याज ऋण, निःशुल्क रगत, घरघरमा नर्सिङ सेवा, फोहर प्रसोधन गरि किसानलाई मल उपलब्ध गराउने काम उनले गरेका छन् । उनले गरेका कामले सुनिलजस्तो नेता भक्तपुरलाई मात्र नभइ सिंगो नेपाललाई नै चाहिएको छ ।
निमा ग्याल्जेन ह्योल्मो
नेपाली कांग्रेसबाट उम्मेदवारी दिएर निर्वाचित भएका निमा ग्याल्जेन ह्योल्मो सिन्धुपाल्चोकको हेलम्बू गाउँपालिकाको अध्यक्षको दोस्रो कार्यकाल सम्हालिरहेका छन् । भौगोलिक रुपमा विकट रहेको क्षेत्रमा पनि सम्भावना खोजिरहेका जनप्रतिनिधि हुन् ह्योल्मो । बालबालिकामाथी भविष्य देख्ने भएका कारण पनि ह्योल्मोलाई अरु सामान्य जनप्रतिनिधि भन्दा फरक बनाउँछ ।
हेलम्बू जस्तो विकट क्षेत्रमा पनि उनले हरेक बालबालिकासम्म उच्च शिक्षाको पहुँच पुर्याएका छन् त्यो पनि निशुल्क । जुनसुकै कक्षामा पढ्ने बालबालिकालाई बराबर मानेर उनले दिवा खाजाको व्यवस्था मिलाएका मात्र छैनन् यातायातको व्यवस्थासमेत गरेका छन् । टाढा टाढाबाट पढ्न जाँदा बिचैमा अध्ययन गर्न बालबालिकाले नछाडुन् भनेर सबै बालबालिकालाई एकैठाउँमा अध्ययन गराउन होस्टलसहितको एकीकृत सिकाई केन्द्र सञ्चालनमा ल्याएका छन् । गाउँपालिकामा नै विद्यार्थीले चाहेको विषयमा उच्च शिक्षासम्म निःशुल्क पढाउने उनले व्यवस्था मिलाएका छन् । हेलम्बुलाई पर्यटकीय सम्भावना भएको क्षेत्रको विकास र प्रचारलाई प्राथमिकतामा राखेका छन् । उनले कृषि, स्वास्थ्य, पूर्वाधार विकासमा पनि अन्य गाउँपालिकाका लागि उदाहरणीय काम गरेका छन् ।
शुक्र चुमान
तनहुँको आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमान ३४ वर्षको उमेरमा माओवादीबाट निर्वाचित भएका एक युवा जनप्रतिनिधि हुन् । सरल व्यवहार र लवाइखवाइ तथा साधारण जीवनशैलीमा रमाउने चुमान गाउँपालिकाको विकासको निम्ति लागि परेका छन् ।
चुमानले अस्पताल नै नभएको गाउँपालिकामा डायलाइसिस सुविधा उपलब्ध गराएर डायलाइसिस बनाउने पहिलो गाउँपालिका बनाएका छन् । पृथ्वी राजमार्गको किनारामा रहेका ढुङ्कामा विभिन्न आकृति कुँदेर पहरालाई पनि पर्यटकीय क्षेत्र बनाएका छन् । विद्यार्थीहरुका लागि यातायातको सुविधादेखि कतारमा गाउँपालिकामा उत्पादन भएको सयपत्री निर्यातसम्मको काम उनले गरेका छन् । नबिकेको सयपत्रीलाई अगरबत्ती बनाउने व्यवस्था मिलाइदिएका छन् । किसानहरुले उत्पादन गरेको कृषि उपजको लागि बजारको व्यवस्थापन गर्न कृषि हाट बजार सञ्चालनमा ल्याएका छन् । उनले छोटो समयमा स्थानीयबासीलाई विकास सम्भव छ भन्ने आभाष गराएका छन्