बालबालिकाको उपचार गर्ने डाक्टरले आफ्नै ९ छोराछोरी गुमाइन



प्रकाशित मिति : जेष्ठ ११, २०८२ शनिबार

इजरायली सेनाले गाजाको खान युनिसमा रहेको एक चिकित्सकको घरमा हवाई आक्रमण गरेको छ।

खान युनिस शहरस्थित डा. आला अल नज्जारको घरमा भएको आक्रमणमा उनका १० मध्ये ९ जना छोराछोरीको मृत्यु भएको छ। उनी कार्यरत नासेर अस्पतालले उनका एक छोरा र श्रीमान् घाइते भएको पुष्टि गरेको छ।

नासेर अस्पतालमा कार्यरत बेलायती सर्जन ग्रेम ग्रुमले वर्षौंसम्म अन्य बालबालिकाको उपचारमा समर्पित एक आमाले आफ्नै ९ छोराछोरी एकै प्रहारमा गुमाउनु अकल्पनीय र निर्दयी घटना भएको बताएका छन्।

बालबालिकाको उपचार गर्ने डाक्टरले आफ्नै ९ छोराछोरी गुमाइन

बालबालिकाको उपचार गर्ने डाक्टरले आफ्नै ९ छोराछोरी गुमाइन

इजरायली सेनाले उक्त प्रहार “खान युनिस क्षेत्रमा आईडीएफ सैनिकहरूको नजिकै देखा परेका शंकास्पद व्यक्तिहरू”लाई लक्षित गरिएको बताएको छ। सेनाले उक्त क्षेत्रलाई खतरनाक युद्ध क्षेत्र घोषणा गरी नागरिकहरूलाई पहिले नै बाहिर जान आग्रह गरिएको पनि जनाएको छ।

तर, हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयका निर्देशक डा. मुनिर अलबुर्शले डा. आला अल नज्जारका श्रीमान् हम्दीले उनलाई काममा पुर्‍याएर घर फर्किएको केही मिनेटमै घरमा आक्रमण भएको बताएका छन्।

गाजा सिभिल डिफेन्सका प्रवक्ता महमूद बसालका अनुसार खान युनिसस्थित एक पेट्रोल पम्प नजिकैको घरबाट आठ शव र केही घाइतेहरू उद्धार गरिएको थियो। पछि अस्पतालले मृतक बालबालिकाको संख्या नौ भएको पुष्टि गर्‍यो।

संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले गाजामा अहिलेको अवस्था “युद्धको सबैभन्दा क्रूर चरण” भएको बताएका छन्। उनले इजरायलले मार्चदेखि लागू गरेको मानवीय सहायता नाकाबन्दीको समेत निन्दा गरेका छन्।

हालसालै इजरायलले नाकाबन्दी केही खुकुलो बनाएको छ, तर संयुक्त राष्ट्रसंघका अनुसार गाजामा दैनिक ५०० देखि ६०० ट्रक सहायता आवश्यक भए तापनि केही दर्जन ट्रक मात्र प्रवेश पाउने गरेका छन्। संयुक्त राष्ट्रसंघ समर्थित एक रिपोर्टमा गाजाको जनसंख्या भोकमरीको चरम जोखिममा रहेको बताइएको छ।

बालबालिकाको उपचार गर्ने डाक्टरले आफ्नै ९ छोराछोरी गुमाइन

यस युद्धको सुरुवात सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमा हमला गर्दा करिब १ हजार २०० मानिस मारिएका थिए र २५१ जना बन्धक बनाइएका थिए।

त्यसको जवाफस्वरूप इजरायलले गाजामा सैन्य अभियान सुरु गरेको थियो। गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म कम्तीमा ५३ हजार ९०१ जनाको मृत्यु भइसकेको छ, जसमा कम्तीमा १६ हजार ५०० बालबालिका छन्।





Source link

Leave a Comment