बादलको विवादित अभिव्यक्तिले एमालेमा तरंग



१८ चैत, काठमाडौं । प्रतिनिधिसभाको पहिलो बैठकमा संसदीय दलका नेता रामबहादुर थापा बादलले विवादित अभिव्यक्ति दिएपछि एमालेमा तरंग आएको छ । एमालेले लिँदै आएका शासकीय अडानहरूको विपरीत हुनेगरी बादलले नेपाली सेना, कर्मचारी देखि विदेशी निकायहरूलाई समेत आरोपित गरेका थिए ।

उनले जनताको अभिमतबाट निर्वाचित भएर आएको सभाको समेत अवमूल्यन गरी सम्पूर्ण परिणाम षड्यन्त्र र यी निकायहरूको मिलेमतोमा आएको खालको अभिव्यक्ति दिएका थिए ।

जुन अभिव्यक्तिप्रति एमालेकै शीर्ष नेताहरूले आपत्ति जनाएका छन् । पार्टीको कार्यबहाक अध्यक्ष समेतको जिम्मेवारी सम्हालिरहेका बादलले यस्तो अभिव्यक्ति दिएपछि एमालेले शुक्रबार दिउँसोका लागि पार्टी कार्यालय च्यासलमा सचिवालयको आकस्मिक बैठक बोलाएको छ । बैठकमा बादलको अभिव्यक्तिबारे छलफल हुनेछ ।

बुधबार मात्र बादल एमाले संसदीय दलको नेता चयन भएका थिए । पार्टीभित्र उनको नेतृत्वमा प्रश्न उठ्दाउठ्दै पनि उनलाई संसदीय दलको नेता बनाइएको थियो ।

प्रतिनिधि सभाको आज बसेको पहिलो बैठकमा थापाले ६ मिनेट १७ सेकेण्ड बोलेका थिए । हरेकजसो हरफमा एमालेका तर्फबाट भन्दै बालेका थापाले निर्वाचन परिणामप्रति गम्भीर शंका गरे थिए ।

उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सामाजिक सञ्जाल मार्फत सचिवालय बैठकमा थापाको अभिव्यक्तिप्रति गम्भीर छलफल हुने र उचित निष्कर्ष निकाल्ने जानकारी दिएका छन् । सचिवालय बैठक बस्ने जानकारी समेत उपाध्यक्ष पौडेलले सामाजिक सञ्जालबाटै दिएका थिए ।

‘प्रतिनिधि सभाको आजको बैठकमा नेकपा एमालेका दलका नेताको हैसियतमा मा.रामबहादुर थापाले ब्यक्त गर्नुभएको विचार पार्टीको स्थापित नीति र मान्यता विपरीत छन् । यस सम्बन्धमा भोलि आयोजना गरिएको नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठकमा गम्भीरतापूर्वक छलफल हुने र उचित निर्णय हुने अपेक्षा गरेको छु,’ पौडेलले फेसबुकमा लेखेका छन् ।

थापाको संसद सम्बोधनप्रति उपाध्यक्ष पौडेलभन्दा पहिले उपमहासचिव योगेश भट्टराईले आपत्ति जनाएका थिए । थापाको संसद् सम्बोधनको खण्डन गर्दै भट्टराईले नेपाली सेना, न्यायालय, कर्मचारीतन्त्र सहित राज्यका संयन्त्रहरुप्रति एमालेको सम्मान र विश्वास रहिरहने सन्देश दिएका थिए ।

‘… नेपाली सेना लगायतका सुरक्षा अंगहरु, न्यायालय लगायतका संवैधानिक अंगहरु र कर्मचारीतन्त्रप्रति हाम्रो पार्टीको कुनै पनि वैरभाव छैन, त्यसप्रति हाम्रो पार्टीको सम्मान र विश्वास रहिरहनेछ,’ भट्टराईले लेखेका छन्, ‘संसद वा सडक, सत्ता पक्ष वा प्रतिपक्ष कुनैपनि भूमिकामा पार्टीको यो धारणा यथावत रहनेछ ।’

निर्वाचन पराजयको ठोस् समीक्षा गरेर जनताको विश्वास आर्जन गर्ने बाटोमा एमाले जाने पनि भट्टराईले स्टाटसमा उल्लेख गरेका छन् ।

संसद्को सम्बोधनमा कार्यबाहक अध्यक्ष थापाले रास्वपाको जादुमय जितमा सेना, कर्मचारी, सुशीला कार्की नेतृत्वको सरकार, गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोग, बारबरा फाउण्डेसन लगायतको भूमिका रहेको निष्कर्ष सुनाएका थिए ।

‘नेपालमा भाद्र २३ र २४ गते अवैधानिक ढंगबाट रास्वपाको अघोषित नेतृत्वमा रंग क्रान्ति सफलतापूर्वक सम्पन्न भयो । फागुन २१ गते आम निर्वाचन मार्फत निलो क्रान्तिलाई वैधानिकता प्रदान गरियो,’ थापाले भनेका छन्, ‘चैत १३ गते भव्य धार्मिक अनुष्ठान मार्फत श्री बालेन्द्र शाहज्यूलाई प्रधानमन्त्रीको शपथ गराइयो । यो ऐतिहासिक विजयका लागि रास्वपा तथा सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहज्यूलाई म नेकपा एमालेका तर्फबाट धेरै धेरै बधाई भन्न चाहन्छु ।’

अदृष्य विदेशी शक्तिहरुले पनि रास्वपालाई जादुमय जित दिलाउने भूमिका खेलेको बादलको निष्कर्ष थियो । ‘कुन उद्देश्य प्राप्तिका लागि हतियारबद्ध टीओबीहरु २३, २४ गते तिलस्मी रुपमा प्रकट भए ? कुन उद्देश्य प्राप्तिका लागि गैरकानूनी ढंगबाट पूर्वप्रधानमन्त्री तथा गृहमन्त्रीहरुलाई गिरफतार गरियो ?,’ थापाले प्रश्न गरेका थिए ।

लिखित भाषण पढेका थापाको सम्बोधन सार चाहिँ जनताको सही अभिमतबाट रास्वपाको उदय नभएको भन्ने छ । जबकी सामाजिक सञ्जाल मार्फत नेताहरुले पराजय स्वीकारे पनि पार्टीभित्र यसबारे औपचारिक समीक्षा हुन बाँकी छ ।

‘अहिलेसम्म एमालेको धारणा भनेको निर्वाचन शान्तिपूर्ण र निष्पक्ष भयो भन्ने नै हो,’ एक पदाधिकारी भन्छन्, ‘तर आज संसदमा हाम्रो सांसदले निर्वाचन प्रक्रियामै प्रश्न उठाउनेगरी बोल्नुभयो । यसबारे अब पार्टीभित्र छलफल हुन्छ ।’

उनका अनुसार थापाको अभिव्यक्ति खण्डन योग्य भएकैले आकस्मिक बैठक बोलाइएको हो ।

‘राज्यका संयन्त्रहरुलाई विश्वास गर्ने शक्ति हो, एमाले । अझ निर्वाचनका क्रममा कतैबाट पनि अहिलेसम्म धाधली भयो भन्ने रिपोर्ट आएको छैन । यस्तो अवस्थामा उहाँको अभिव्यक्ति खण्डन योग्य नै छ,’ उनी भन्छन् ।

यस्तो थियो बादलले संसद्‌मा गरेको सम्बोधन

सम्माननीय सभामुख महोदय,

सर्वप्रथम म राष्ट्रिय स्वाधीनता, लोकतन्त्र, गणतन्त्र, संघीयता, शान्ति र समृद्धिका आफ्नो अमूल्य जीवनको आहूति दिने भाद्र २३ र २४ लगायत सम्पूर्ण ज्ञात, अज्ञात शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।

सम्माननीय सभामुख महोदय,

नेपालमा भाद्र २३ र २४ गते अवैधानिक ढंगबाट रास्वपाको अघोषित नेतृत्वमा रंगक्रान्ति सफलतापूर्वक सम्पन्न भयो । फागुन २१ गते आम निर्वाचन मार्फत निलो क्रान्तिलाई वैधानिकता प्रदान गरियो । चैत १३ गते भव्य धार्मिक अनुष्ठान मार्फत श्री बालेन्द्र शाहज्यूलाई प्रधानमन्त्रीको शपथ गराइयो ।

यो ऐतिहासिक विजयका लागि रास्वपा तथा सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहज्यूलाई म नेकपा एमालेका तर्फबाट धेरै धेरै बधाई भन्न चाहन्छु ।

सम्माननीय सभामुख महोदय,

यो अभूतपूर्व विजयमा आन्तरिक रुपमा क-कसको निर्णायक भूमिका रह्यो, तथ्यहरुले के स्पष्ट गर्दछ भने मुख्य त नेपाली सेना, ब्यूरोक्रेसी, सुशीला सरकार, कार्की आयोग, बारबरा फाउण्डेसन एनजीओ आदि संस्था एवं पात्रहरुको यो विजयमा निर्णायक भूमिका रह्यो ।

त्यसैले ती संस्था तथा पात्रहरुलाई पनि म नेकपा एमालेका तर्फबाट धेरै धरै बधाइ भन्न चाहन्छु ।

सम्माननीय सभामुख महोदय,

यो जादुमय विजयका लागि बाह्य दृष्टिले कसकसले निर्णायक भूमिका निर्वाह गरे ? असंख्य तथ्यहरुले के स्पष्ट गर्दछ भने अदृष्य शक्तिहरु, टीओबी, एआई, एल्गोरिदम, गोयबल्सहरु, जसले राष्ट्रियता, लोकतन्त्र, गणतन्त्र, संघीयता, शान्ति र समृद्धिका नायकहरुलाई खुंखार खलनायक र हत्याराको रुपमा स्थापित गरे ।

जसले देश जलाउने र आफ्नो राष्ट्रिय पहिचान मेटाउने खलपात्रहरुलाई महानायक बनाए । ती संस्था र पात्रहरुले नै बाह्य रुपमा यो जादुमय निर्णायक भूमिका खेले । त्यसैले यस ऐतिहासिक क्षणमा म ती सबै पात्रहरुलाई पनि नेकपा एमालेका तर्फबाट धेरै धेरै बधाई भन्न चाहन्छु ।

सम्माननीय सभामुख महोदय,

यो चमत्कारिक विजयले केही असाधरण प्रश्नहरु जन्माएको छ । कुन उद्देश्य प्राप्तिका लागि सिंहदरबार, शितल निवास, बालुवाटार, सर्वोच्च अदालत, राजनैतिक नेतृत्व र निजी निवासहरु, प्रहरी चौकी, व्यवसायिक प्रतिष्ठानहरु सुनियोजित ढंगबाट जलाइयो । कुन उद्देश्य प्राप्तिका लागि कसले ती अवोध विद्यार्थीहरुलाई निषेधित क्षेत्र तोड्न उक्साइयो ?

कुन उद्देश्य प्राप्तिका लागि हतियारबद्ध टीओबीहरु २३, २४ गते तिलस्मी रुपमा प्रकट भए ? कुन उद्देश्य प्राप्तिका लागि गैरकानूनी ढंगबाट पूर्वप्रधानमन्त्री तथा गृहमन्त्रीहरुलाई गिरफतार गरियो ? कुन उद्देश्य प्राप्ति गर्न राजनीतिक नेतृत्वहरुलाई गिरफतार गर्ने प्रपञ्ज रिचिँदैछ ?

कुन उद्देश्य प्राप्तिका निम्ति देशब्यापी रुपमा दमन चक्र र राज्य आतंक मच्याइँदैछ ? कुन उद्देश्य प्राप्तिका लागि विद्यार्थी तथा पेशाकर्मीहरुको संगठित हुन पाउने मौलिक अधिकारहरुलाई बलात् खोसिँदैछ ? कुन उद्देश्यका लागि मिडिया ट्रायल, साइबर आतंकको सिर्जना गरिँदैछ ?

सम्मानीय सभामुख महोदय,

निश्चय पनि यी प्रश्नहरुको भविष्यले सही जवाफ दिदै जानेछ । तर यी प्रश्नहरु र यस्तै यस्तै प्रश्नहरु हामी सम्पूर्ण तागत सहित राज्यलाई सोध्नेछौं । निरन्तर यो गरिमामय सदनमा आवाज घन्काउनेछौ ।

सम्मानीय सभामुख महोदय,

यो ऐतिहासिक क्षणमा प्रतिपक्षको भूमिका निर्वाह गर्ने जनादेश बोकेर आउनु भएका नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, श्रम संस्कृति पार्टी, राप्रपा र स्वतन्त्र माननीयज्यूहरुलाई धेरै धेरै बधाई र शुभकामना भन्न चाहन्छु ।

सम्माननीय सभामुख महोदय,

अन्त्यमा, यो अभूतपूर्व विजयले पराजित पक्षलाई पनि गम्भीर शिक्षा दिएको छ । यसले आफ्ना कमकमजोरीहरुलाई सच्याउने अवसर दिएको छ । यो पराजय फगत अस्थायी हो । पराजित सेनाले छिट्टै सिक्दछ । त्यसले पराजयलाई छिट्टै विजयमा बदल्न सक्दछ ।

धन्यवाद ।





Source link

Leave a Comment