बाढीपीडितका दुःख – ‘गाँसको भन्दा बासको चिन्ता, खुला आकासमुनी कुकुर र लामखुट्टेको त्रास’

बाढीपीडितका दुःख – ‘गाँसको भन्दा बासको चिन्ता, खुला आकासमुनी कुकुर र लामखुट्टेको त्रास’


प्रकाशित मिति : आश्विन १६, २०८१ बुधबार

हिलाम्मे भुइँमा निता सिजालीले मागेर ल्याएको जुटका बोरा बिच्छ्याउनुहुन्छ । रात परेपछि त्यही बोरामा बाबा, आमा र छोराछोरी लस्करै सुत्नुपर्छ । सुतिरहेको बेला कहिले कुकुर आएर सुत्छन्, कहिले लामखुट्टे कानमा भुनभुनाउँन थाल्छन् । कुकुर र लामखुट्टेको डरभन्दा पनि सिजालीलाई छोराछोरीको स्वास्थ्य र सुरक्षाको डरले चिन्तित बनाउँछ ।

आफन्तीको छाप्रोमा आश्रय पाउका सिजालीको परिवार चुक्कल बिनाको छाप्रोको भुइँमा रात बिताउन बाध्य छन् । “मान्छे र कुकुरमा केही फरक छैन । बाढीले घरबास सबै बगाएपछि अहिले कुकुरसँग रात बित्न थालेको छ । कुकुरलाई धपाउन सकिन्छ, यो वर्षाको समयमा छोराछोरीको स्वास्थ्य, सुरक्षा कसरी गर्ने भन्ने डर लाग्छ”, सिजालीले भन्नुभयो ।

शुक्रबार आएको बाढीले ललितपुरस्थित नख्खु खोला किनारमा रहेको छाप्रो बगाएपछि सिजालीको परिवार विस्थापित बनेको छ । सिन्धुली स्थायी घर भएर काठमाडौँमा मजदुरी गर्ने उहाँको परवारलाई अहिले न घर जाने अवस्था छ, न यहाँ सुरक्षित बस्ने व्यवस्था नै । बाढीले सबै बगाएर लगेपछि उहाँहरुको शरीरमा एक सरो लुगा बाहेक आफ्नो भन्ने केही छैन । आफन्तीको छाप्रोमा आश्रय पाउनु अहिलेको समयमा सौभाग्य भएको सिजालीले बताउनुभयो ।

खोलाले सुरुको दिन आँगन भिजाएको थियो । केही समयमा पानी सुकेपछि बाढी नआउने विश्वासले उहाँहरु राति मस्त निद्रामा पर्नुभयो । निदाएका बेला अनाचक आएको बाढीले बस्ती बगाएको सिजालीले बताउनुभयो । “खासै पानी नपर्ला भनेर ढुक्कले सुत्यौँ”, उहाँले भन्नुभयो, “खोलाले अचानक झुक्याएर आयो । सबै बगाएर लग्यो ।”

ललितपुरस्थित फूलबारी मार्ग—२५ मा बस्ने नरबहादुर सिजाले मगरको छ जनाको परवार अलपत्र परेको छ । “कहाँ बस्ने ? के खाने ?”, उहाँले प्रश्न गर्नुभयो, “दिनभरि उज्यालोमा डर लाग्दैन । रातपरेपछि खोलामा फेरी बाढी आयो भने छोराछोरी र श्रीमतीको सुरक्षा कसरी गर्ने भन्ने चिन्ताले सताउँछ । रातभरि निद्रै लाग्दैन ।” नख्खुखोला किनारामा छाप्रो बनाएर बस्दै आउनुभएका मगरको परिवार दिनभरि मजदुरी गरेर बेलुका हातमुख जोड्ने स्थितिमा समेत छैन ।

नख्खुखोला किनारमा अस्थायी टहरामा बस्दै आएका चतुरराम माझीलाई यतिबेला गाँसभन्दा बासको चिन्ताले सताएको छ । “वडाले खाना खुवाउँछ तर, कहाँ रात बिताउछौं भनेर सोध्दैन”, उहाँले भन्नुभयो, “फेरि पानी पर्यो भने ओत लाग्ने थलो छैन ।” माझीसँग शरीरमा एकसरो सर्ट र च्यातिएको पाइन्ट मात्रै छ ।

आफन्ती कहाँ आश्रय लिएर रात कटाउँदै आउनुभएका माझीले अहिले राहतको नाममा आश्वासनबाहेक केही नपाएको बताउनुभयो । “सरोकार भएका निकायले आश्वास मात्र नदिएर तत्काल हामी जस्ता पीडितलाई राहतको व्यवस्था गर्नुपर्छ । यही अवस्था रहिरहे हाम्रो स्वास्थ्यमा पनि समस्या आउन थाल्नेतर्फ सचेत हुनपर्ने आवश्यकता छ”, उहाँले भन्नुभयो ।

ललितपुरस्थित आदिनाथ मार्ग घर भएका आनन्द दासले खोलाले बगाउने चिन्ता हटे पनि घरमा भएका सामान चोरी हुने चिन्ताले सताउन थालेको बताउनुभयो । बाढीले घर डुबानमा परेपछि आमासँगै उहाँलाई हेलिकप्टरले उद्धार गरेर सुरक्षित स्थानमा ल्याएको थियो । आफूहरु सरक्षित भए पनि घरमा रहेका सामान असुरक्षित भएका भन्दै उहाँले ग्यासको सिलिन्डर चोरी भएको जानकारी पाएको बताउनुभयो ।

बाढीपीडितका दुःख – ‘गाँसको भन्दा बासको चिन्ता, खुला आकासमुनी कुकुर र लामखुट्टेको त्रास’

“बाढीको हिलो र माटो पसेर ढोका बन्द गर्न मिल्दैन । हिलोले सबै डुबेको छ । राति ग्यास चोरी भएछ”, दासले भन्नुभयो । बाढीले थलिएको बस्तीका सर्वसाधारण सबै त्रासमा रहेका बताउँदै उहाँले सरोकार भएका निकायले तत्काल पीडितलाई उचित बासको व्यवस्था गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

रामेछाप घर भएकी सरस्वती बस्नेत बुधबार डोजरले खन्दै गरेको बस्तीका सामान कोट्याउदै हुनुहुन्थ्यो । घर र सात वटा गाईसहितको गोठ बगर बनेपछि उहाँको पेट पाल्ने आधार खोसिएको छ । “डोजरले खनिरहँदा केही सामान भेटिन्छ कि भनेर दिनभरी कुरेर बसेँ, केही हाता लागेन”, उहाँले भन्नुभयो, “सातमध्ये तारवटा गाई मृत भेटिएका छन् ।” सरस्वतीको परिवारले दुई वर्ष अघि गाईपालन व्यवसाय सुरु गरेको थियो । रु १४ लाख ऋण लिएर गाईपालन थाल्लेको भन्दै उहाँले लगानीसमेत उठ्न नपाउँदै गाई बगरमा मिसिएका बताउनुभयो ।

“बिमा गरेको १३ दिन मात्र भएको थियो । स्वदेशमा आयआर्जन गरेर जीविकोपार्जन गर्ने योजना बनाएर गाईपालन सुरु गरेका थियौँ । सबै सपना र रु १४ लाखको लगानी बेला बाढीले बगाएको छ”, सरस्वतीले भन्नुभयो । अब ऋण तिर्नका लागि मुग्लान पस्नुपर्ने उहाँले बताउनुभयो । “दुई चार रुपैँया कमाएर स्वदेशमा बस्ने रहर पलाएको थियो”, उहाँले भन्नुभयो, “अब केही रहेन । ऋण तिर्न विदेशीनु बाहेक अरु विकल्प पनि छैन ।”

नख्खुखोला किनार घर भएकी निर्मला धामी बगरमा दराज खोज्दै हुनुहुन्थ्यो । पाँच तोला सुनका गहनासहित दराज खोलाले बगाएको भन्दै भेटिन्छ कि भन्ने आशले खोजी गरेको धामीले बताउनुभयो । जीवनभरको कमाइ माटोमा विलिन भएको भन्दै अब कसरी जीविकोपार्जन गर्ने भन्ने चिन्ता लाग्न थालेको उहाँले गुनासो पोख्नुभयो । “बाढीबाट बाँचियो, अब के खाएर जीवन निर्वाह गर्ने ?”, उहाँले प्रश्न गर्नुभयो, “दसैँको मुखमा सुकुम्बासी हुनुपर्यो ।”

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School