‘बागलुङे जनता मलाई सांसद बनाउन आतुर छन्’


फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै गर्दा देशैभरि चुनावी माहोल तातेको छ। उम्मेदवारहरू आफ्नो एजेन्डासहित घरदैलो र प्रचारप्रसारमा व्यस्त छन्।

यसै क्रममा, नेकपा (एमाले) का तर्फबाट बागलुङ क्षेत्र नम्बर-१ का उम्मेदवार हिराबहादुर केसी पनि चुनावी दौडमा होमिएका छन्।

बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, काठेखोला गाउँपालिका र बरेङ गाउँपालिका समेटिएको यस क्षेत्रमा करिब ९८ हजार मतदाता रहेका छन्। एमाले वृत्तमा ‘बागलुङको हिरा, एमालेको मोती’ उपनामले चिनिने उनै उम्मेदवार केसीसँग आसन्न निर्वाचन र उनका योजनामा केन्द्रित रहेर नागरिकन्यूजले कुराकानी गरेको छ। प्रस्तुत छ कुराकानीको सम्पादित अंश:

तपाईंको चुनावी प्रचार-प्रसार कसरी अगाडि बढिरहेको छ ?

मेरो कार्यक्षेत्र र कर्मभूमि यही भूगोल भएकाले म सधैं जनताकै बीचमा छु। अहिले निर्वाचनको समय भएकाले मतदातासमक्ष औपचारिक रूपमा मत माग्न गइरहेको छु। अन्य समयमा जाँदा पार्टीको झन्डा र ब्यानर बोकिँदैनथ्यो, तर अहिले निर्वाचनको माहोल भएकाले अलि ठूलो समूहमा, ब्यानर, झन्डा र माइकिङसहित जनतामाझ गइरहेका छौं। त्यसैले, गाउँ-गाउँ र जनताका घरदैलोमा पुग्नु मेरा लागि कुनै नयाँ कुरा होइन, यो मेरो राजनीतिक जीवनको अविच्छिन्न अभियान नै हो। माघ ७ गतेदेखि यसलाई हामीले औपचारिक चुनावी अभियानको रूप मात्र दिएका हौं।

तपाईंको निर्वाचन क्षेत्र भौगोलिक रूपमा निकै विकट मानिन्छ। मतदातासमक्ष कसरी पुगिरहनुभएको छ ?

हो, बाहिरबाट हेर्दा वा बाहिरबाट आउने उम्मेदवारलाई यो भूगोल विकट लाग्न सक्छ। तर, यही भूमिमा जन्मेर, हुर्केर र यहीँ राजनीति गरेको हुनाले मलाई यहाँको भूगोल पटक्कै विकट लाग्दैन। म आजभन्दा ३० वर्षअघिको मेरो क्षेत्र र अहिलेको अवस्थालाई तुलना गर्छु। त्यतिबेला सदरमुकाममा मात्र गाडी पुग्थ्यो, अहिले मेरो क्षेत्रका ३७ वटै वडामा सडक सञ्जाल र गाडी पुगेको छ।

नेपालको मध्यपहाडको ‘लाइफलाइन’ मानिने मध्यपहाडी राजमार्ग बागलुङबाटै अघि बढ्छ। यसले ठाउँ-ठाउँमा बजार विस्तार गर्न सघाएको छ। हामी अवस्थाअनुसार गाडी, मोटरसाइकल र कतै हिँडेरै पनि मतदातासमक्ष पुगिरहेका छौं। म यस क्षेत्रका करिब सबैजसो घरधुरीमा पुगिसकेको छु।

घरदैलोका क्रममा मतदाताको प्रतिक्रिया कस्तो पाउनुभएको छ ?

मतदाताहरू मप्रति अत्यन्तै सकारात्मक हुनुहुन्छ। उहाँहरूले माया गरेर नै मलाई ‘बागलुङको हिरा, एमालेको मोती’ भन्नुभएको हो। अर्को कुरा के हो भने म दुई पटकका निर्वाचनमा चोट व्योहोरेको उम्मेदवार हुँ। दुईवटा निर्वाचनमा झिनो मतान्तरले पराजित भएँ। २०७० सालको संविधानसभा निर्वाचनमा युवा उमेरमै प्रतिस्पर्धा गर्दा र २०७९ को प्रदेश सभा निर्वाचनमा गठबन्धनविरुद्ध लड्दा थोरै मतले पछि परेको थिएँ।

अहिले म तेस्रो पटक जनतासामु मत माग्न आएको छु। यस पटक मतदाताले मलाई न्याय गर्नुहुनेछ भन्ने पूर्ण विश्वास छ। मैले पहिलो निर्वाचनमा करिब ३० प्रतिशत मतदातालाई व्यक्तिगत रूपमै चिनेँ, दोस्रोमा थप ३० प्रतिशत र यसपटक थप २० प्रतिशतलाई नजिकबाट चिनेको छु। यसरी करिब ८० प्रतिशत मतदातालाई म नामबाटै सम्बोधन गर्न सक्छु।

उहाँहरूले पनि हिराबहादुर केसीलाई एमालेको नेता भनेर चिन्नुहुन्छ। अनि अरु कुनै उम्मेदवारको यस प्रकारको स्ट्रेन्थ हुन्छ ? मतदातासँगको यही प्रगाढ र व्यक्तिगत सम्बन्ध नै मेरो जितको प्रमुख आधार हो।

तपाईंले निर्वाचन जितेपछि बागलुङको विकासका लागि के-कस्ता योजना अघि सार्नुहुन्छ ?

यस जिल्लाको भूगोलसँग नजिकबाट परिचित भएकाले यहाँको विकास र समृद्धिको स्पष्ट खाका मसँग छ। यो जिल्ला प्राकृतिक स्रोत र सम्भावनाको ठूलो खानी हो। केवल यसको समुचित उपयोग हुन सकेको छैन।

खासगरी, मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोरले सिर्जना गरेका अवसरलाई हामीले समृद्धिसँग जोड्नुपर्छ। कालीगण्डकी करिडोरले हामीलाई दक्षिणी छिमेकी भारतको सुनौली नाकासँग नजिक बनाएको छ भने उत्तरी छिमेकी चीनसँग पनि हाम्रो भौगोलिक निकटता छ। यी दुवै सम्भावनालाई उपयोग गरेर बागलुङलाई दुई छिमेकीबीचको व्यापारिक केन्द्रका रूपमा विकास गर्न सकिन्छ।

यहाँको अनुकूल मौसमलाई ध्यानमा राख्दै मेडिकल कलेज स्थापना गरी मध्यपहाडमै डाक्टर उत्पादन गर्ने थलो बनाउन सकिन्छ। पर्यटकीय रूपमा पनि बागलुङ कालिका मन्दिर, पञ्चकोट, संसारकोट, बेलढुङ्गा, भकुण्डे भैरव, जैमिनी धाम र घोडाबाँधे जस्ता प्रशस्त गन्तव्यहरू छन्। मुक्तिनाथ र जोमसोम जाने हजारौं पर्यटकलाई कम्तीमा एक रात बागलुङमा बास बसाउने वातावरण बनाउनु मेरो प्राथमिकता हुनेछ।

गाउँघरमा पुग्दा जनताको अवस्था कस्तो पाउनुभयो ?

गाउँघर धेरै सकारात्मक छ। स्वच्छ हावा पानी। स्वस्थ्य जनजीवन। धौलागीरी हिमालको काखमा रहेको मेरो निर्वाचन क्षेत्रका सकारात्मक पक्ष हुन्। तर, गाउँमा एउटा फरक दृष्य पनि देखिँदै गएको छ। त्यो भनेको रित्ता घर। ताला लागेका घर। झार र रुखले छापिएका जीर्ण बस्तीहरू। अर्थात, यो ठाउँ छोडेर बसाइँ सर्नेको संख्या ठुलो छ। बसाइँसराइलाई अवसरको रूपमा विकास गर्नुपर्छ भन्ने मेरो धारणा छ।

बसाइँसराइका कारण बाँदर आतंक पनि बढेको छ। यसले पाकेको बाली सखाप पारिरहेको छ। यसको व्यवस्थापन मेरो जिम्मेवारी हो। बैदेशिक रोजगारी र बसाइँसराइले खाली भएका घरगाउँमा बाँदर र बदेंलजस्ता बन्यजन्तु बढेका छन्। यसको व्यवस्थापन गर्नु र नीतिगत रूपमै यसलाई सम्बोधन गर्नु मेरो जिम्मेवारी हुनेछ।

जङ्गली जनावरको आतङ्क नियन्त्रण गरेपछि यहाँका खाली जमिनलाई सुन्तला, किबी, ओखरजस्ता बहुवर्षीय फलफूल खेतीमा उपयोग गरी बागलुङलाई फलफूलको ‘हब’ बनाउने मेरो योजना छ। यी बहुवर्षीय फलफूलका बगैंचा मेरो उद्देश्य हुन्। यिनै सम्भावनाबाट मेरो क्षेत्रलाई फलफूलको हब बनाउँछु।

यस निर्वाचनमा माओवादी र समाजवादीसमाहित नेकपासँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ। एमाले एक्लै लड्दा चुनौती भारी हुँदैन ?

हुँदैन। विगतको निर्वाचनमा पनि एमाले महा-गठबन्धनविरुद्ध एक्लै लडेको हो र झिनो मतले मात्र पराजित भएको हो। गठबन्धनको जैमिनी र बरेङ पालिकामा केही प्रभाव भए पनि हामीलाई जित्ने हैसियतमा उहाँहरू हुनुहुन्न। बागलुङ नगरपालिका र काठेखोला क्षेत्रमा हाम्रो बलियो पकड छ। यो वामपन्थी रुझान राख्ने जिल्ला हो।

त्यसैले यहाँ विगतका निर्वाचनहरूमा जनमोर्चाले जित्थ्यो। २०६४ को निर्वाचनमा जनमोर्चा र हाम्रो गठबन्धनमा करिब ६५ प्रतिशत मत हामीले पायौं। अहिले जनमोर्चाका चित्रबहादुर केसीले जित्दाको बेला होस वा एमालेका सूर्य पाठक वा गोविन्दजीले जित्दा वामपन्थ तिर नै मानिसहरू झुकेका थिए। यस पटक एमाले यहाँको मूलधारको वामपन्थी पार्टी बन्छ।

एमालेभित्रको आन्तरिक सन्तुलनले तपाईंको चुनावी अभियानलाई असर गर्दैन ?

एमालेको आन्तरिक सन्तुलन के भएको छ र ? भर्खरै महाधिवेशन सकेका हौं। कमरेड केपी शर्मा ओली अध्यक्ष हुनुहुन्छ। मैले केन्द्रीय सदस्यमा प्रतिपर्धा गरेको हो। अलिकति मत पुगेन। तर, यस जिल्लाबाट मना केसी, डा. सूर्य पाठक, लिलाबहादुर थापाजस्ता हस्तीहरू केन्द्रमा हुनुहुन्छ। मना केसी त मेरो निर्वाचन परिचालन कमिटीको कमाण्डर हो। डा. पाठकको भूमिका पनि एकदम प्रभावकारी छ। हामी भावनात्मक रूपले एक छौं। जसले गर्दा हामीले सोचेको परिणाम ल्याउँछौं।

तपाईंले निर्वाचन जित्ने दाबी गरिरहनु भएको छ। यसको आधार के हो ?

तपाईंले मसँग अन्तर्वार्ता गर्नुअघि पक्कै पनि यहाँका मतदाता, बुद्धिजीवी र सञ्चारकर्मीसँग परामर्श गर्नुभयो होला। उहाँहरूले पनि यसपटक हिराबहादुरले चुनाव जित्दैछ भन्ने सन्देश दिनुभयो होला।

तपाईंलाई अघि नै भने म ठक्कर खाएको मान्छे हुँ। हरेका नकारात्मक घटनाले सकारात्मक सन्देश दिन्छन्। हरेक हारले जितको संकेत गर्दछन्। मैले यस पटक दुवै शिक्षा र संकेत पाएको छु। यस क्षेत्रका मतदाताले यसपटक संघीय संसदमा वारेस दिएर पठाउनुहुनेछ। मैले बागलुङ जिल्ला कमिटीको दुई कार्यकाल अध्यक्ष हुँदा पार्टीका लागि, समाजका लागि, जनताका लागि धेरै काममा सहजिकरण गरेको छु। स्थानीय मञ्चहरूमा उल्लेख्य भूमिका निर्वाह गरेको छु। त्यसैले मलाई यहाँका मतदाताले सांसदको रूपमा देख्न चाहिरहेका छन्।

डायस्पोरामा पनि बागलुङको मत धेरै छ नि ?

ठीक हो। बागलुङबाट अध्ययन वा पेशा गर्नका लागि ठूलो संख्यामा युवाहरू युरोप, अमेरिका, जापान जस्ता देश जानु भएको छ। यस अघिका निर्वाचनमा पनि त्यहाँ रहेका मतदाता मतदान गर्न आउनुहुन्थ्यो। हाम्रो टोलटोलका समितीहरू छन् डायस्पोरामा। उहाँहरूले दिने सन्देश र घरपरिवारमा प्रवाह गर्ने सूचनाले कहीँकतै मत प्रभावित हुन्छ। उहाँहरूले यस पटक युवा उम्मेदवार हिराबहादुर केसीलाई मतदान गर्न सबैलाई आह्वान गर्नुभएको छ। यो पनि मेरो जितको आधार हो।

प्रकाशित: १७ फाल्गुन २०८२ १९:५२ आइतबार





Source link

Leave a Comment