बाँच्ने एउटा लय


‘निकै पुरानो घरको भित्ताबाट

खुइलिएझैं रङ

उक्किएझैं भित्ता

अनुहारबाट खुसीका सबै सबै पत्रहरू झरेर

अनुहार पहिरो झरेको

उराठ पाहुनाजस्तो बन्दा पनि

खुसीका नौला रङहरूले जीवन उज्यालो बनाउन

कसरी सकिन्छ

गणेश दाइ!

प्रश्न थुप्रै थिए तर मूल प्रश्न, प्रश्नमै सीमित रह्यो गणेश दाइ!

गणेश दाइ, अर्थात् गणेश रसिक!’

कति मजाले जवाफ फर्काउनुहुन्थ्यो तपाईं, हरेक प्रश्नको। केही पनि थाहा नपाएझैं सबै कुरा थाहा पाउने तपाईं। तपाईंसँग कुनै पनि प्रश्न सोध्दा तपाईंको अनुहार प्रश्नको भारले थिचेको देखिन्नथ्यो, सधैंको एकनास- एकरूपता। न अचाकली दुःखको कुनै आभास न भरमार खुसीको रेखा। सधैं यथावत अनुहार, समान भाव! पीडालाई लुकाएर प्रतिक्रियाविहीन जीवन बाँच्न कसैले तपाईंबाट सिकून्!

‘पीडाको सुनामीले जीवनलाई

लेखेटी लखेटी पिट्दापिट्दै

पीडा आफैं कहालिएर

मान्छेको जीवनबाट कसरी भाग्न सक्छ

गणेश दाइ!’

वास्तवमा, पीडा एउटा अनुभूतिको अवस्था रहेछ क्यारे! गणेश दाइको जीवन-यात्राले यही भन्छ। प्रत्येक पीडाहरूलाई उहाँले यसरी चपाउनुभयो, निल्नुभयो र पचाउनुभयो कि त्यो पीडा भन्ने जिनिस हेरेको हेर्‍यै भयो।

‘आँखाको किनार

अनि

ओठका डिलभत्काउँदै गरेको दुःखको बाढी

आफैँ हार खाएर

कसरी मान्छेदेखि भाग्छ

गणेश दाइ!’

एक होइन, दुई होइन, परिवारका चार जना सदस्यहरूलाई दुर्घटित रूपमा र जीवनको सबैभन्दा प्रिय आफ्नी प्रेमिका – जीवनसँगिनीलाई आकस्मिक रूपमा गुमाउनुपर्दा कोचाहिँ मान्छे सद्दे रहिरहन सक्छ? सम्भवतः जोकोही पनि बहुलाएर हिँडिसक्थे होलान्। तर तपाईं? पक्कै हो, यस किसिमको पीडाको घेराबाट कोही पनि उम्किन सकेका छैनन्, सक्दैनन् नै। र पनि त्यो घेराबाट सबैले उम्कने निष्फल चेष्टा गरिरहेका हुन्छन्।

‘दुःख, पीडा र सन्तापले

यो संसार हायलकायल बनिरहेको बेला

तपाईंले दुःख, पीडा र सन्तापलाई

काबुमा राखेर

सपेराले सर्प नचाएझैं

मनभरि घाउ नचाएर

अनुहारभरि हाँसिरहनुभएको छ’

आहा, तपाईंको मन्द मुस्कान! संगीतको गुञ्जन मिसिएको विनम्र–मसिनो आवाज! कसले सक्छ त्यसरी बोल्न? कसले सक्छ त्यसरी बोल्न? मनभित्र उर्लिरहेछ ज्वारभाटा। तर, शान्त तपाईंको सामुद्रिक चाल!

‘मान्छेका क्रूर कष्टहरूलाई

भान्साको फोहोर बढारेझैं

जीवनबाट आपत बढार्न

कसरी सक्छ

गणेश दाइ!’

तपाईं सधैं स्वच्छ बाँचिरहनुभयो। हो, तपाईंको शरीरभरि अस्वस्थ नसाहरू थिए, रक्तसञ्चारका अशक्त धमनीहरू थिए। तर, ती के थिए र! त्योभन्दा कहाँ हो कहाँ धेरै मानसिक अस्वस्थताको सगरमाथा थियो तपाईंभित्र। फेरि पनि तपाईं बोली, व्यवहार, चरित्रमा खुबै स्वस्थ बाँच्नुभयो। अहँ, कतै पनि तपाईंले आफू उभिएको सहारामा कुनै अवरोधको सामना गर्नु परेन। गरेकै भए पनि कहींकतै अलिकति पनि समस्या नआएझैं चुपचाप-चुपचाप अविरल यात्रा गरिरहनुभयो। हेर्नुस् त मलाई! तपाईं र ममा कति अन्तर छ?

‘मेरो मनमा सानो घाउ लागेको छ

चहर्‍याएर रातमा जून हेर्न सक्दिनँ

दिनमा उज्यालो देख्न सक्दिनँ

तपाईंले जीवनमा पहिरै पहिर हिँडेर  

समथर बाँच्नुभएको छ’

म! अर्थात् हामी सबै त्रसित छौं। डराइरहेछौं – जीवनको उबडखाबड यात्रा गर्न। मृत्युको भय बोकेर, सारौं कि नसारौं – प्रत्येक पाएला चालिरहेछौं। तर, हिँड्न पनि त जान्नुपर्दो रहेछ, जीवनमा। कति जानेको तपाईंले हिँड्न– – यात्राको लय समातेर!

‘मेरो पैतालामा थोरै पहिरो टाँसिएको छ

म वारिबाट पारिजान सकेको छैन

तपाईं जीवनमा

आँसु नै आँसुको नदी तरेर

चुलीमा पुग्नुभएको’

खोई त तपाईंमा अलिकति पनि चुइँक्क निराशा देखिएको छैन। कदम कत्ति डगमगाएको छैन त! रत्तिभर विचलित हुनुभएको छैन। तपाईंभित्र रहेको आँसुसामु त्यो प…र देखिएको समुद्र के हो र? म हेर्छु आफैंलाई, पाउँदिनँ तपाईंजत्तिको एकरत्ति सहनशीलता।

‘मेरा आँखाका डिलमा

केही थोपा आँसु देखिएका छन्

म पीडाको बाढीमा डुबेझैं

जीवनदेखि गलेको छु।

पीडामा आफैं रूपान्तरित भएर

तपाईंजस्तो

पीडाको समुद्र फैलन कसरी सकिन्छ

गणेश दाइ!’

बाँच्ने एउटा लय
इलामको सूर्योदय नगरपालिका-९, रामफोकमा रहेको गणेश रसिकको घर, जहाँ बसेर उनले कैयौं कर्णप्रिय गीत  रचना गरे । तस्बिरहरू: भीम/नागरिक

सोच्छु, मान्छेको जात नै यस्तो, सधैंको असन्तुष्ट। यस्तोमा लोभिन्छु तपाईंको जीवन देखेर। र, तपाईंको जीवन–यात्रा देखाएर सम्झाउँछु–थपथपाउँछु आफूलाई। भन्छु– आफू दुःखी हुनुको कारण स्वयं आफैं नै हो।

‘विनाकारण आफ्नै जीवनले

घाइते बनाएको बेला

मान्छेहरूको मन हुरीको हावाजस्तो हुन्छ

तपाईं त यस्तो अवस्थामा पनि

शब्दलाई संगीतको रागमा नचाएर

जिन्दगीलाई नयाँ परिभाषा दिनुहुन्छ’

हो त, पुरानो भएर बाँच्नुमा जीवनको के सार्थकता ? प्रत्येक रातपछि बिहानीले नयाँ दिन लिएर आए जस्तो सधैं नयाँ भएर बाँच्नु पो बाँच्नु! तथापि, आफ्नो अनुहार त सधैं उही नै त हो, ऐना बदलिएर अनुहार कहाँ बदलिन्छ र! तर तपाईं सर्वथा आफ्नो दृष्टिकोण बदल्ने कुरा गर्नुहुन्छ। सत्य नबदलिएला तर मानेर हेर्ने हो भने अनुभूति पक्कै बदलिन्छ।

‘आफ्नै छायाले

जिन्दगीलाई बेपरवाह गिज्याइरहेको बेला

मान्छेलाई आफ्नै अनुहार पनि अप्रिय लाग्छ

र आफैंदेखि भाग्छ, मान्छे

तर गणेश दाइ

तपाईंले त यस्तो बेला पनि

हर मानिसलाई आँखाको नानीजस्तो बनाएर

जीवनलाई अझ रमाइलो हेर्नुहुन्छ

र, जीवनलाई कहिले अक्षरहरूमा

त कहिले संगीतमा खोज्नुहुन्छ’

वास्तवमा, जीवनलाई खोज्ने आधारहरू धेरै छन्। खोज्दाखोज्दै फेरि सिक्नुपर्ने पनि धेरै कुरा छन्, बुझ्नुपर्ने धेरै कुरा छन्। अनि, गर्न बाँकी धेरै कुरा छन्। त्यसो त गीतकार क्षेत्रप्रताप अधिकारी भन्थे–

‘जिन्दगीमा धेरै कुरा गर्न बाँकी छ

सबैभन्दा ठुलो कुरा मर्न बाँकी छ…’

तर, एउटा कुरा! मर्नअघि मलाई तपाईंले जस्तै गीत गाउने रहर छ–

‘गणेश दाइ!

तपाईंले झैं दुःख, पीडा र सन्तापलाई जितेर

यो समयको नायक बन्न मन छ, मलाई’

तपाईं त हिँड्नुभयो सारा दुःख–पीडा–सन्तापलाई छोडेर। अनन्त यात्रामा निस्कनुभयो। जाँदाजाँदै जीवन बाँच्ने कला, त्यसलाई अलपत्र पारेर जानुभयो।

‘भनिदिनुस्‌ न!

भयानक दुःखका

जुलुसहरूलाई लखेटेर

तपाईंले बाँचेजस्तो फूलको जिन्दगी

कसरी बाँच्न सकिन्छ!’

कुन त्यस्तो ऊर्जा थियो तपाईंभित्र ? कुन त्यस्तो अथाह शक्ति थियो तपाईंको मन–मस्तिष्कमा ?

‘गणेश दाइ

साँच्चै भनिदिनुस् न

जिन्दगी, दुःखमा पनि कसरी हाँस्न सकिन्छ?’

(कविता: ठाकुर बेलवासे, ‘पीडाको समुद्र अर्थात् गणेश रसिक’)

प्रकाशित: २४ जेष्ठ २०८२ ०७:५१ शनिबार





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School