पैसा तिरेर खरिद गरिएको जारको पानी स्वस्थ्य ठानेर नागरिकले पिउने गर्छन् तर सबै जारका पानी स्वस्थ्य छैनन्। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको अनुगमनमा खानेपानी उत्पादन गर्ने कम्पनीले प्रशोधित पिउने पानी उत्पादन मापदण्ड सम्बन्धी निर्देशिका, २०७४ पालना नगरेको, पुराना र कुच्चिएका जार प्रयोग गर्ने गरेको र केही जारमा मानवस्वास्थ्यका लागि अत्यन्त हानिकारक एमोनिया ग्यास भेटिएको जनाइएको छ। यसैगरी उक्त निर्देशिका अनुसार रेकर्डमा राख्नुपर्ने अभिलेख पनि नराखेको जनाइएको छ।
खानेपानीको जारमा एमोनिया ग्यास भेटिनु भनेको अत्यन्त संवेदनशील भएको विज्ञहरू बताउँछन्। उनीहरूका अनुसार पानीमा एमोनिया ग्यास मिसियो भने त्यसले मानव स्वस्थ्यलाई निकै हानि गर्छ।
विभागकी प्रवक्ता बालकुमारी शर्माले केही दिन अघि आफूहरूले गरेको अनुगमनको क्रममा केही खानेपानी उत्पादन कम्पनीहरूले प्रशोधित पिउने पानी उत्पादन मापदण्ड सम्बन्धी निर्देशिका, २०७४ पालना नगरेको, पुराना र कुच्चिएका जार प्रयोग गर्ने गरेको जस्तो कैफियत भेटिएको बताइन्।
विभागका प्राविधिक कर्मचारीहरूले केही दिनअघि शितल जल उद्योग कागेश्वरी गोठाटार र कृष्ण बेभरेज, मनोहरामा गई जारमार्फत खानेपानी आपूर्ति गर्ने कम्पनीमा अनुगमन गरेका थिए। अनुगमनपछि विभागले जारी गरेको विज्ञप्तिमा ती कम्पनीमा कार्यरत कामदारहरूले कामदारको व्यक्तिगत सरसफाइ अन्तर्गत पन्जा नलगाइ जार भर्ने गरेको र निर्देशिकासमेत पालना नगरेको जनाइएको छ।
सरसफाइ गरी स्वच्छ र गुणस्तरीय पानी मात्र बिक्री वितरण गर्न तथा प्रशोधित पिउने पानी उत्पादन मापदण्ड सम्बन्धी निर्देशिका, २०७४ बमोजिमका प्रावधानहरू पालना गरी खाद्य स्वच्छता कायम गर्न विभागले निर्देशन दिएको छ।
विभागले जारी गरेको विज्ञप्तिमा कृष्ण वेभरेज कम्पनीमा उत्पादित जारको पानी मोबाइल खाद्य प्रयोगशाला भ्यानको किटमा परीक्षण गर्दा एमोनिया पोजेटिभ भेटिएको जनाइएको छ। साथै उक्त कम्पनीमा कार्यरत कामदारहरूले व्यक्तिगत सरसफाइ अन्तर्गत पञ्जा नलगाइ खानेपानीको जारमा पानी भर्ने गरेको भेटिएको विज्ञप्तिमा उल्लेख छ।
विभागका कर्मचारीहरूले केही दिन अघि होटल तथा रेष्टुरेन्टहरूमा गई अनुगमन गरेका थिए। अनुगमनको क्रममा होटल, रेष्टुरेन्ट, किराना पसल र मासु पसलहरूमा सेवाग्राहीले प्रयोग गर्ने उपभोग्य खाद्य पदार्थ र खाना गुणस्तरहीन भएको पाइएको छ।
रातारात धनी बन्ने आशमा कतिपय होटल मालिक तथा खाद्यान्न तयार गर्ने कम्पनी तथा व्यक्तिहरूले मानव जीवनमा खेलवाड गर्दा यस्तो अवस्था आएको हो। यतिबेला उपभोक्ताहरूले उपभोग गर्ने हरेक सामग्रीमा शंका गर्नुपर्ने स्थिति आएको छ। जसरी बजारीकरण बढ्दै छ, त्यही अनुपातमा बजारमा गुणस्तरहीन तथा अखाद्य सामग्रीहरू पनि भेटिन थाल्नु चिन्ताको विषय हो। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका कर्मचारीहरूले पछिल्लो समय बजार अनुगमनको कामलाई तीव्र बनाएका छन्।
हरेक दिन कहीँ न कहीँ अनुगमन गरिरहेका हुन्छन् तर सबैजसो अनुगमनमा केही न केही कैफियत भेटिएकै हुन्छ। होटल तथा रेष्टुरेन्टमा सरसफाइ नभएको, बासी खाना भएको, तयारी खाद्य वस्तु नछोपी राखिएको, प्याकेटमा उल्लेख भए अनुसार तौल नमिलेको जस्ता कैफियत भेटिनु सामान्य भइसकेको छ।
कानुनी व्यवस्था के छ?
खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ मा खाद्य स्वच्छता तथा गुणस्तरको विषयमा विभिन्न मापदण्ड राखिएको छ। साथै अनुगमनको क्रममा गुणस्तरीहन तथा दूषित खाद्यवस्तु भेटिए सजायको व्यवस्था पनि गरिएको छ तर गुणस्तरहीन र दूषित खाद्यवस्तुको विषयमा फरक–फरक सजाय गर्ने व्यवस्था गरिएको छ।
कानुनमा गुणस्तरहीन खाद्यवस्तुको तुलनामा दूषित खाद्यवस्तु भेटिए होटल तथा रेष्टुरेन्ट सञ्चालकहरूलाई बढी सजाय हुने व्यवस्था छ। ‘गुणस्तरहीन खाद्यवस्तु प्रयोग गरे मान्छेको ज्यान जाँदैन तर दूषित खाद्यवस्तु प्रयोग गरे ज्यान नै जाने सम्भावना हुन्छ। त्यसैले सजायको मात्रा फरकफरक भएको हो’, प्रवक्ता शर्माले भनिन्।
गुणस्तरहीन खाद्यवस्तु भेटिए त्यसको सुनवाइ सम्बन्धित जिल्लाको प्रमुख जिल्ला प्रशासन अधिकारीको कार्यकक्षमा पुग्छ। दूषित खाद्यवस्तु भेटिए उक्त मुद्दा सम्बन्धित जिल्लाको जिल्ला अदालतमै लग्ने व्यवस्था गरिएको छ। कतिसम्म भने दूषित खाद्यवस्तु भेटिए होटल तथा रेष्टुरेन्ट सञ्चालकहरूलाई जेल सजाय समेतको व्यवस्था गरिएको छ।
ऐनमा सडेगलेको, फोहोरमैला मिसिएको वा विषाक्त अवस्थामा राखिएको वा तयार पारिएको, मानव उपभोगको लागि अनुपयुक्त हुने गरी केही वा सम्पूर्ण भाग कुनै रोगी वा रोगकारक पशुपन्छी वा हानिकारक वनस्पतिबाट बनेको, मानव स्वास्थ्यलाई असर गर्ने रोगकारक सूक्ष्म जिवाणु वा हानिकारक तत्त्व वा रसायनको मात्रा तोकिएको अधिकतम सीमाभन्दा बढी भएको खाद्यान्न उत्पादन, प्रशोधन, निकासी पैठारी, सञ्चय राख्न वा बिक्री वितरण गर्न वा गराउन हुँदैन भन्ने उल्लेख छ।
यसैगरी जीवनाशक विषादीको अवशेष, पशुजन्य औषधिको अवशेष, जिवाणुजन्य विष, प्राकृतिक वा कृत्रिम विषजन्य पदार्थ (टक्सिन), हर्मोन वा मनोद्दीपक (साइकोट्रपिक) रसायनको प्रयोग गरेको, तत्कालीन वा दीर्घकालीन असर पुर्याउन सक्ने तोकिएको अधिकतम सीमाभन्दा बढी विकीरणयुक्त खाद्य समग्री पनि बिक्री वितरण तथा उत्पादन गर्न नमिल्ने व्यवस्था ऐनमा गरिएको छ।
यसैगरी ढाँटी वा झुक्याई खाद्य पदार्थको उत्पादन, प्रशोधन, निकासी पैठारी सञ्चय, ढुवानी वा बिक्री वितरणको लागि राख्न वा बिक्री वितरण गर्न वा गराउन हुँदैन भनी ऐनमा स्पष्ट व्यवस्था गरिएको छ।
यसैगरी कुनै उच्च गुणस्तरको खाद्य पदार्थमा अखाद्य पदार्थ वा न्यून गुणस्तरको खाद्य पदार्थ मिसावट गरी उच्च गुणस्तरको खाद्य पदार्थ हो भनी ढाँटी वा झुक्याई, बिक्री वितरण तथा उत्पादन गर्न नपाउने व्यवस्था कानुनमा गरिएको छ।
यसैगरी खाद्य सामग्री उत्पादन गर्दा सर्वसाधारणले बुझ्ने गरी नेपालभित्र उत्पादन भएका खाद्य पदार्थ भए उत्पादक तथा प्रशोधनकर्ताले र निकासी वा पैठारी गरिने खाद्य पदार्थ भए निकासी वा पैठारीकर्ताले नेपाली वा अंग्रेजी भाषामा लेख्नुपर्नेछ भनेर ऐनमा लेखिएको छ।
ऐनमा भनिएको छ, ‘नेपाली वा अंग्रेजी भाषाका अतिरिक्त अन्य कुनै भाषामा पनि त्यस्तो विवरण लेख्न सकिनेछ।’
के हाे पानीमा पाइएकाे एमाेनिया ग्यास?
अमोनिया अत्यधिक हानिकारक र विषाक्त ग्यास हो। यो नाइट्रोजन र हाइड्रोजन मिलेर बनेको कडा गन्ध आउने ग्यास हो। यसको सम्पर्कले छाला, आँखा, नाक र घाँटीमा गम्भीर जलन हुने, चिलाउने र फोका उठ्ने समस्या देखिन सक्छ। उच्च स्तरको सम्पर्कले गम्भीर श्वासप्रश्वास रोग, वाकवाकी, बान्ता र आन्तरिक अंगहरूमा क्षति पुर्याउन सक्छ।
अमोनियाको सम्पर्कमा आएपछि निम्तिने मुख्य जोखिमहरू यस्ता हुन सक्छन्ः
स्वास्थ्यमा पर्ने प्रभाव: सास लिँदा, यसले घाँटी र फोक्सोलाई क्षति पुर्याउँछ। यसले गर्दा सास फेर्न गाह्रो हुन्छ। छालामा पर्यो भने जलन र फोका उठ्ने समस्या देखिन सक्छ।
वातावरणीय प्रभाव र यसकाे प्रयोग: यो कृषि मल, रेफ्रिजरेसन, प्लास्टिक र रसायनहरूको निर्माण का क्रममा प्रयोग गरिन्छ। अमोनिया ग्यासको चुहावटले हावा र पानी दुवैलाई प्रदूषित गर्न सक्छ। एक पिपिएमभन्दा बढी एमोनिया पिउने पानीमा मिसियो भने मानव शरीरका लागि हानिकारक मानिन्छ।
सावधानीः अमोनियाको सम्पर्कमा पुगेका मानिसलाई तुरुन्तै ताजा हावामा लगिनुपर्छ र ध्यानपूर्वक उपचार गर्न सुरु गरी हाल्नुपर्छ।
प्रकाशित: २९ माघ २०८२ १०:२३ बिहीबार
