बंगलादेशको मतपरिणामबाट के सिक्ने ? : RajdhaniDaily.com


गत २९ माघमा सम्पन्न १३औं संसदीय निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै लामो राजनीतिक अन्योल र अस्तव्यस्तता चिर्दै बंगलादेश फेरि निर्वाचनमार्फत् लोकतान्त्रिक प्रक्रियामा फर्किएको छ । तथापि, सार्वजनिक भएको चुनावी नतिजा भने धेरैको अनुमानभन्दा फरक देखियो । नेपालमा जस्तै बंगलादेशमा पनि जुलाई २०२४ मा जेनजी भनिने युवा विद्यार्थीको समूहले आन्दोलन चर्काएका थिए । त्यस विद्यार्थी विद्रोहले तत्कालीन प्रधानमन्त्री शेख हसिनाको सरकार ढलेको थियो । त्यसपछिको पहिलो आमनिर्वाचन अहिले सम्पन्न भएको हो । निर्वाचनमा आन्दोलनले जन्माएका नयाँ राजनीतिक दल र नयाँ नेताहरूको वर्चश्व हुनसक्ने आंकलन गरिएको थियो । तर, परिणाम भने सोचेभन्दा फरक आएको छ ।

बंगलादेशको निर्वाचन आयोगको तथ्यांकअनुसार हालै सम्पन्न संसद्ीय निर्वाचनमा बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) गठबन्धनले स्पष्ट बहुमत प्राप्त गरेको छ । यो बंगलादेशको एउटा पुरानो राजनीतिक दल हो । यो गठबन्धनले संसद्को कुल ३०० सिटमा २१२ सिट जितेको छ । योस“गै बीएनपी पार्टी अध्यक्ष तारिक रहमान त्यहाँको नयाँ प्रधानमन्त्री बनेका छन् । यस चुनावमा इस्लामवादी नेतृत्वको जमात–ए–इस्लामी गठबन्धनले ७७ सिट जितेको छ ।

यसैगरी, गत जुलाईमा भएको युवा क्रान्तिबाट उदाएका नयाँ पुस्ताले नेतृत्व गरिरहेको नेसनल सिटिजन पार्टी (एनसीपी)को गठबन्धन जम्मा ६ सिटसहित तेस्रो स्थानमा सीमित बनेको छ । बाँकी सिट स्वतन्त्र उम्मेदवारले जितेका छन् । मोहम्मद युनुस नेतृत्वमा रहेको अन्तरिम सरकारले १५ वर्ष सत्तामा रहेको हसिनाको अवामी लिग पार्टीलाई चुनावमा भाग लिनबाट प्रतिबन्ध लगाएको थियो । निर्वाचनमा करिब ५९ प्रतिशत मत खसेको दावी गरिएको छ । बंगलादेशको संसद््को कुल ३५० सिटमध्ये ५० सिट महिला प्रपितनिधित्वका लागि आरक्षित छ ।

यसपटक चुनावी मैदानमा एकातिर दशकौं सत्तामा रहेको बीएनपी पार्टी थियो भने अर्कोतिर सन् २०२४ को जेनजी आन्दोलनबाट उदाएका नयाँ पुस्ताले नेतृत्व गरेको पार्टी एनसीपी थियो । सामाजिक सञ्जालमा चर्चित देखिने धेरै अनुहार एनसीपी पार्टीबाट चुनावमा उम्मेदवार बनेका थिए । तर, उनीहरू पराजित हुनप-यो । यस निर्वाचनमा सबैभन्दा बढी चर्चामा रहेकी स्वतन्त्र उम्मेदवार डा. तस्निम जारा थिइन् । उनको फेसबुकमा ७४ लाखभन्दा बढी ‘फलोअर्स’ छन् । तथापि, ढाका–९ बाट चुनाव लडेकी उनले जितेका उम्मेदवारसँग दोब्बरभन्दा धेरै अर्थात् ६६ हजार ५ सय २८ मतान्तरले पराजित हुनुप-यो । उनी जम्मा ४४ हजार ६ सय ८४ मत पाएर तेस्रो स्थानमा चित्त बुझाउन बाध्य भइन् ।

यसैगरी, पञ्चगढ–१ मा विद्यार्थी आन्दोलनका प्रमुखमध्ये एक सरजिस आलम आफ्ना प्रतिस्पर्धीस“ग १८ हजारअन्तरले पराजित भए । उनको फेसबुकमा ३१ लाख ‘फलोअर्स’ छन् । सामाजिक सञ्जालमा चर्चित बनेका अधिकांश उम्मेदवारको जमानत जफत भएको छ । यसबाट सामाजिक सञ्जाल क्षेत्रमा उनीहरूलाई त्यहाँका नागरिकले पछ्याए पनि राजनीतिक क्षेत्रमा भने योग्य ठानेनन् भनेर बुझ्न सकिन्छ ।

अहिले हाम्रो मुलुक नेपालमा समेत ‘नेता’ बन्ने होडबाजी नै चलेको छ । विशेषगरी गत २३ र २४ भदौको जेनजी आन्दोलनपछि मुलुकको नेतृत्व ‘म गर्छु’ भन्दै विभिन्न क्षेत्रसम्बद्ध व्यक्ति अघि सरेका देखिन्छन् । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको अन्तरिम सरकारले आगामी यही २१ फागुनमा प्रतिनिधिसभा निर्वाचन तोकेको छ । यसपछि राजनीतिक दलसम्बद्ध व्यक्तिमात्र नभई शिक्षक, विद्यार्थी, व्यापारी, उद्योगी, चिकित्सक, इन्जिनिएर, पत्रकार, कलाकार हुँदै सामाजिक सञ्जालका सक्रिय प्रयोगकर्तासमेत चुनावी मैदानमा होमिएका देखिन्छन् । पुराना प्रमुख राजनीतिक दलदेखि नयाँ भर्खरै दर्ता भएका दलमा समेत नयाँ अनुहार नेता बन्ने दौडमा छन् ।

राजनीतिक नेतृत्वले कुनै एक संघसंस्थाको मात्र जिम्मेवारी लिदैनन् । उनीहरूका काँधमा पूरै मुलुकको जिम्मेवारी रहेको हुन्छ । यसक्षेत्रका नेता जनताका प्रतिनिधि बनेर देश, समाज वा समुदायका लागि निर्णय गर्ने र दिशा तय गर्ने भूमिकामा रहन्छन् । उनीहरू आमजनताको आवाज उठाउने, नीति, नियम र कानुन निर्माण एवं कार्यान्वयन गर्ने, देश विकास र सुशासनका लागि काम गर्ने जिम्मेवारीबाट बाधिएका हुन्छन् । यतिमात्र होइन, उनीहरू आफ्ना कामप्रति उत्तरदायी र जवाफदेहीसमेत बन्नुपर्ने हुन्छ । यसबाट के प्रष्ट हुन्छ भने राजनीतिक नेतृत्व सरल र सहज भने पक्कै हुँदैन ।

पछिल्लो समय मुलुकमा सामाजिक सञ्जालले जन्माएका नेताको चर्चा परिचर्चा बढेको देखिन्छ । उनीहरूका अभिव्यक्ति, हाउभाउ एवंं क्रियाकलाप फेसबुक, इन्स्टाग्राम, टिकटक, भाइबर, एक्स (ट्विटर), ह्वाट्सएप, युट्युबजस्ता सामाजिक सञ्जालमा छाएका छन् । फेसबुक, टिकटकजस्ता सञ्जालमा ‘फलोअर्स’ बटुल्ने, लाइक, कमेन्ट र सेयरमा रमाउने उनीहरूको बानी परेको छ ।

यसैलाई आधार बनाएर चुनाव जित्ने घोषणासमेत गर्न पछि परेका छैनन् । यसबाट स्थापित पुराना दलका नेतासमेत झस्केका देखिन्छन् । कतिपयले यसैलाई सिको गरेकोसमेत भेटिएको छ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आफ्ना पोस्ट, भिडियो, पोडकास्ट र अपलोड गरिएका सामग्रीमा लाइक, कमेन्ट र सेयर गर्न सार्वजनिक आह्वानसमेत गरेका थिए ।

विशेषगरी पुराना दल र तिनका नेताले लामो समय मुलुकमा सत्ताको बागडोर सम्हाले पनि कुनै ठोस उपलब्धि हासिल गर्न नसकेको आक्रोश युवापुस्तामा छ । यही आक्रोशको फाइदा उठाएर केही स्वार्थ समूह सक्रिय भएको देखिन्छ । कुनै आस्था, विचार र सिद्धान्त नभएका व्यक्तिसमेत अगाडि बढेका देखिएका छन् । उनीहरूस“ग कुनै ठोस दृष्टि, उद्देश्य एवं कार्यदिशासमेत देखि“दैन । यसबावजुद मुलुकको नेतृत्व ‘आफूले गर्ने’ भन्दै हि“डेका छन् । मुलुकका सबै समस्या ‘क्षणभरमै समाधान गरिदिने’ उनीहरूको दावी छ ।

कतिपय उम्मेदवारले चुनावमा आफ्नो जित भएपश्चात् शिक्षा, स्वास्थ्य, खानेपानी सित्तैमा पाइने, गाउँघरमा पुलपुलेसा, बाटोघाटो, सडक, प“धेरा रातारात बनाइदिने, उद्योग कलकारखाना खोल्ने, रोजगारी दिने आदि बाचा गर्दै हि“डेका देखिन्छन् । कतिपयले भारी बोकिदिने, किसानका बारीमा हलो जोत्ने, विरामी लिएर अस्पताल जाने, मठमन्दिर धाउने, नाच्नेगाउने आदिइत्यादी गर्नमा व्यस्त छन् । जसरी पनि जनताको मन जितेर चुनावमा निर्वाचित दाउमा उम्मेदवारले गर्न मिल्ने–नमिल्ने, बोल्न मिल्ने–नमिल्ने, गर्न हुने–नहुने सबै काम गरेका छन् । यस्ता क्रियाकलापबाट बन्ने नेताबाट भोलिका दिन मुलुकले निकास पाउ“ला ? भनेर आशा गर्ने ठाउँ देखि“दैन । उनीहरूले के बुझ्नुपर्छ भने ‘भन्नु र गर्नु’मा आकाश जमिनको फरक छ । यसको गतिलो उदाहरण युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीलाई लिन सकिन्छ ।

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनबाट चयन हुने जन प्रतिनिधिको मुख्य काम नयाँ सरकारको गठन गर्ने, कानुन निर्माण गर्ने, राष्ट्रिय नीति तथा कार्यक्रममाथि छलफल र अनुमोदन गर्ने, बजेट निर्माण, अनुमोदन एवं कार्यान्वयनमा संलग्न हुने, जनताको आवाज संसद्मा पु-याउने, सरकारलाई जवाफदेही बनाउनेजस्ता रहेका छन् । यसका लागि आवश्यक निम्नतम ज्ञान, अनभव र क्षमता पनि नभएका जनप्रतिनिधि चुनिएको खण्डमा अहिले भएकै संरचनासमेत भताभुंग हुन बेर लाग्दैन । चुनावमा निर्वाचित हुने, मन्त्री बन्ने अनि पजेरो चढेर राष्ट्रिय झण्डा फर्फराउदै हि“ड्नेमात्र सपना देखेर नेता बन्न खोजेकाबाट सचेत हुन जरुरी देखिएको छ । कसैले भन्दैमा मुलुकमा रातारात परिवर्तन हुने होइन । यसका लागि ठोस योजना, संकल्प र समय आवश्यक पर्छ ।

मुलुकको कुनै कानुनमा भ्रष्टाचार गर्न पाइन्छ लेखिएको छैन । यसबावजूद भ्रष्टाचार फैलदै जानुले समस्या व्यक्तिमा मात्र नभई विद्यमान प्रणाली र प्रवृतिमा समेत भन्ने पुष्टि छ । यसको निराकरणका लागि हरेक क्षेत्रमा रहेको व्याप्त वेथिति हटाउनुपर्ने आवश्यकता छ । निडर, अनुभवी, दुरदर्शी एवं इमान्दार व्यक्तिले मात्र यसको नेतृत्व गर्न सक्छ । आगामी चुनावमा यस्तै व्यक्ति नेताका रूपमा चुनिने आशा आमनागरिकले गरेका छन् ।

कोही व्यक्ति चुनावी मैदानमा उत्रि“दैमा नेता बन्न सक्दैन । सामान्य अर्थमा नेता भन्नाले नेतृत्व गर्ने व्यक्ति बुझिन्छ । यस्ता व्यक्ति, जसले अरूलाई मार्गदर्शन गर्छन्, प्रेरणा दिन्छन् एवं लक्ष्य प्राप्तिका लागि अरुसँग सहकार्य गर्दै अगाडि बढ्न सक्छन् । विभिन्न संघसंस्थामा यस्ता व्यक्ति सजिलै भेट्न र देख्न सकिन्छ । कोही शैक्षिक संस्थाको नेतृत्व गरेका छन, कोही बैंकिङ क्षेत्रमा अब्बल देखिएका छन् । कोही कलाकारिता क्षेत्रमा अगाडि देखिन्छन्, कोही पत्रकारिता क्षेत्रमा । यी व्यक्ति विभिन्न क्षेत्रमा सफल र अब्बल देखिए पनि राजनीतिक क्षेत्रको नेतृत्वस“ग भने तुलना गर्न मिल्दैन ।

राजनीतिक नेतृत्वले कुनै एक संघसंस्थाको मात्र जिम्मेवारी लिदैनन् । उनीहरूका का“धमा पूरै मुलुकको जिम्मेवारी रहेको हुन्छ । यसक्षेत्रका नेता जनताका प्रतिनिधि बनेर देश, समाज वा समुदायका लागि निर्णय गर्ने र दिशा तय गर्ने भूमिकामा रहन्छन् । उनीहरू आमजनताको आवाज उठाउने, नीति, नियम र कानुन निर्माण एवं कार्यान्वयन गर्ने, देश विकास र सुशासनका लागि काम गर्ने जिम्मेवारीबाट बाधिएका हुन्छन् । यतिमात्र होइन, उनीहरू आफ्ना कामप्रति उत्तरदायी र जवाफदेहीसमेत बन्नुपर्ने हुन्छ । यसबाट के प्रष्ट हुन्छ भने राजनीतिक नेतृत्व सरल र सहज भने पक्कै हुँदैन ।

जसरी अन्य पेशा एवं व्यवसायमा निम्नतम योग्यता, ज्ञान, अनुभव, धैर्यता एवं इमान्दारिता आवश्यक पर्छ । त्यसैगरी असल नेता बन्न पनि यी गुण आवश्यक छ । नेताले जनप्रतिनिधिमात्र नभई, एउटा अभिभावकको भूमिकासमेत निर्वाह गर्न सक्नुपर्ने हुन्छ । जसले मुलुकको रक्षास“गै आमनागरिकका समस्या सम्बोधन गर्न सकोस् । नेता असल व्यवस्थापक पनि हुन् । उनले सबै समस्याको समाधान विवेकपूर्ण तरिकाले गर्न सक्नुपर्छ । कठिन परिस्थितिमा पनि सही र समयमै निर्णय लिन सक्ने क्षमता हुनुपर्छ ।

नेतासँग भविष्यप्रति स्पष्ट योजना र लक्ष्य हुनुपर्छ । उसले आफ्नो समुदाय वा राष्ट्रलाई ‘कुन दिशामा लैजाने ?’ भन्ने स्पष्ट दृष्टि राख्नसक्ने हुनुपर्छ । समयअनुसार परिवर्तन स्वीकार्ने र नयाँ उपाय खोजी गर्नसक्ने नेतामात्र असल नेता बन्न सक्छन् । यसैकारण आगामी प्रतिनिधिसभा निर्वाचनमा सही नेता पहिचान गरेरमात्र मतदान गर्न जरुरी छ । बंगलादेशमा जस्तै पुरानै राजनीतिक दल सत्तामा आउनुपर्छ भन्ने होइन । तथापि, नयाँ अनुहारमा पनि सक्षम र सबल व्यक्तिमात्र चुन्न जरुरी देखिन्छ ।
(लेखकको निजी विचार हो)

(Visited 14 times, 1 visits today)





Source link

Leave a Comment