प्रकाशित मिति : जेष्ठ १, २०८२ बुधबार
राष्ट्रपति इमानुएल म्याक्रोनले फ्रान्सले युक्रेनमा रुसको आक्रमणका कारण ‘तेस्रो विश्वयुद्ध’ सुरु गर्न नचाहेको बताएका छन् ।
उनले म्याराथन टेलिभिजन प्रस्तुतिमा आफ्नो जनादेशको बाँकी दुई वर्षका लागि आफ्ना लक्ष्यहरू प्रस्तुत गर्दै महत्त्वपूर्ण मुद्दाहरूमा जनमत सङ्ग्रहको प्रतिबद्धता जाहेर गरे ।
सन् २०१७ मा आमूल परिवर्तनको वाचा गर्दै सत्तामा आएका म्याक्रोनले संविधानअन्तर्गत अनुमति दिइएको अधिकतम दुई कार्यकाल पूरा गरेपछि सन् २०२७ मा पदबाट राजीनामा दिनेछन् ।
विशेष गरी संसदीय चुनाव गराउने आफ्नो निर्णयले उल्टो प्रभाव पारेपछि, अति–दक्षिणपन्थी दललाई संसद्मा सबैभन्दा ठूलो दल बनाएर र आफ्नै दललाई अल्पसङ्ख्यक उपस्थितिमा सीमित गरेपछि पछिल्लो वर्षमा कहिलेकाहीँ म्याक्रोन ल्याम डक (अर्थात शक्तिविहीन) जस्तै देखिएका छन् ।
तर, हालैका महिनाहरूमा रुसले युक्रेनमा गरेको आक्रमणबाट सुरु भएको तीन वर्षे युद्धको अन्त्य गर्न खोज्दा अन्तर्राष्ट्रिय मोर्चामा उनको उपस्थितिबाट उत्साहित नयाँ ऊर्जावान म्याक्रोन देखिएका छन् ।,
“हामीले युक्रेनलाई आफ्नो रक्षा गर्न मद्दत गर्नुपर्छ तर हामी तेस्रो विश्वयुद्ध सुरु गर्न चाहँदैनौँ”, म्याक्रोनले तीन घण्टाभन्दा बढी समयसम्म चलेको अन्तर्वार्तामा भने, “युद्ध बन्द हुनुपर्छ र युक्रेन वार्तामा जान सक्ने सकेसम्म उत्तम अवस्थामा हुनुपर्छ ।”
तर, म्याक्रोनले संयुक्त राज्य अमेरिकाले गरेजस्तै फ्रान्स अन्य युरोपेली देशहरूसँग उनीहरूको क्षेत्रमा आणविक हतियारले सशस्त्र फ्रान्सेली लडाकु विमानहरू तैनाथ गर्न छलफल सुरु गर्न तयार रहेको बताए ।
“अमेरिकीहरूसँग बेल्जियम, जर्मनी, इटाली, टर्कीमा विमानहरूमा बम छन्”, उनले भने, “हामी यो छलफल सुरु गर्न तयार छौँ । म आउने हप्ता र महिनाहरूमा यसको ढाँचा बहुत विशिष्ट तरिकाले परिभाषित गर्नेछु ।”



