प्रकाशित मिति : असार २३, २०८१ आईतबार
बेलायतका निवर्तमान प्रधानमन्त्रीले डेलिभरी ड्राइभरको काम सुरु गरेको भन्दै एउटा तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । जसमध्ये पोस्ट कमिंग्स इफेक्ट नामको फेसबुक पेजमा शेयर गरिएको एउटा फोटोमा ३८ हजारभन्दा बढीले रियाक्ट गरेका छन् भने ७ हजारभन्दा बढीले कमेन्ट गरेका छन् । त्यस्तै १२ हजारभन्दा बढीले शेयर गरेका छन् ।
जुलाई ३ मा गरिएको उक्त पोष्टमा ऋषि सुनकले जुलाई २ मा डेलिभरी ड्राइभरको रूपमा आफ्नो नयाँ जागिरको लागि अभ्यास गर्दै गरेको र यो जागिर सोमबारबाट सुरु हुने लेखिएको छ । चुनाव अगाडिको यो पोष्ट हेर्दा व्यंग्यात्मक देखिन्छ । तर धेरैले ऋषि सुनकले साँच्चिकै प्रधानमन्त्रीबाट हटेपछि डेलिभरी ड्राइभरको काम सुरु गरेको सोंचेर प्रतिकृयाहरु दिइरहेका छन् । जुन भ्रमपूर्ण रहेको छ ।
राजनीतिक नेता भनेको पदमुक्त भएपछि डेलिभरी ड्राइभरका रुपमा काम सुरु गर्ने ऋषि सुनक जस्तो हुनुपर्ने भन्दै कैयन नेपालीहरुले समेत यो पोष्ट शेयर गरेका छन् भने कमेन्ट समेत गरेका छन् । तर यो तस्वीर न त ऋषि सुनक पदमुक्त भएपछिको हो, न त उनले डेलिभरी ड्राइभरका रुपमा काम सुरु गरेका छन् ।
खसोखासले यो तस्वीरको फ्याक्ट चेक गर्दा यो तस्वीर बेलायतको चुनाव हुनुभन्दा अगाडि जुलाई २ को तस्वीर रहेको पाइएको छ । गेटी इमेजमा रहेको यो तस्वीर बकिङ्घमशायर, इङ्गल्याण्डमा ऋषि सुनक चुनावी अभियानका क्रममा रहेको बेला खिचिएको हो ।
गेटीमा दिइएको तस्वीर बर्णन अनुशार उनले बकिंघमशायरमा जुलाई २, २०२४ मा कन्जरभेटिभको आम चुनावी अभियान कार्यक्रम अघि मोटरवे सर्भिस स्टेशनमा आफ्नो टिमको लागि म्याकडोनाल्डको ब्रेकफाष्ट अर्डर गरेका थिए । फिल नोबलले खिचेको यो तस्वीर जुलाई २ विहान ६ बजेतिरको हो । गेटीमा सुनक म्याकडोनाल्डमा भएका बेला खिचिएका अन्य तस्वीरहरु पनि छन् । यो तस्वीर जुलाई २ का समाचारहरुमा नै ब्यापक भएको थियो ।
तरपछि केही प्यारोडी एकाउन्टहरुले पनि सुनकले डेलिभरी ड्राइभरका रुपमा काम सुरु गरेको भन्दै यो तस्वीर हालेका थिए । तर कतिपयले सुनकले साँच्चीकै डेलिभरी ड्राइभरका रुपमा काम सुुरु गरेको पत्याउँदै रिपोष्ट समेत गरेका छन् भने कतिपयले सुनकले आफ्नो परिवारका लागि म्याकडोनाल्ड किनेको भन्दै पोष्ट गरेका छन् । जुन भ्रमपूर्ण रहेको छ ।